अमेरिकाले अप्रिल ६ सम्म इरानी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने



प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार

अमेरिकाले अप्रिल ६ सम्म इरानी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने

फोटो: एएफपी/रासस

अमेरिकाले इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने आफ्नो पूर्वघोषणालाई थप १० दिनका लागि लम्ब्याएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार इरानले सुरुमा आफ्ना ऊर्जा संरचनामाथि हुन सक्ने आक्रमण रोक्न सात दिनको समय मागेको थियो। तर उनले उक्त समयसीमा बढाएर १० दिन पुर्‍याएको र अन्तिम मिति अप्रिल ६ तय गरिएको बताएका छन्।

ट्रम्पले भने, “उनीहरूले मेरो टोलीमार्फत मलाई निकै नम्रतापूर्वक सोधे ‘के हामीलाई केही थप समय मिल्छ?’ किनकि हामी भोलि रातिकै कुरा गरिरहेका थियौँ, जुन धेरै छिटो हुन्थ्यो। यदि उनीहरूले गर्नुपर्ने काम गरेनन् भने, म उनीहरूका विद्युत् केन्द्रहरू ध्वस्त पारिदिनेछु।”

उनले थपे, “उनीहरूले सात दिन मागेका थिए, तर मैले भनेँ ‘म तपाईंहरूलाई १० दिन दिन्छु,’ किनकि उनीहरूले मलाई जहाजहरू दिएका थिए।”

यसअघि ट्रम्पले इरानी ऊर्जा स्थलहरूमा आक्रमण गर्ने चेतावनी दिँदै हर्मुज जलमार्ग खोल्न इरानलाई ४८ घण्टाको समय दिएका थिए। पछि उनले उक्त समयसीमा पाँच दिन बढाएर शुक्रबारसम्म पुर्‍याएका थिए। अहिले राष्ट्रपति ट्रम्पले सो समयावधिलाई पुनः विस्तार गरेका हुन्।

हाल इरानी र अमेरिकी अधिकारीहरूबीच मध्यपूर्वको युद्ध अन्त्य गर्ने विषयमा वार्ता भइरहेको बताइएको छ। अमेरिकाले वार्तामा प्रगति भएको दाबी गरे पनि इरानले भने वार्ता नै नभएको जिकिर गर्दै आएको छ।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गरेपछि सो क्षेत्रमा युद्ध जारी छ। उक्त आक्रमणमा इरानी सर्वोच्च नेता अली खामेनीलगायत उच्च पदस्थ नेताहरू मारिएका छन्।

बदलामा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा निरन्तर आक्रमण गर्दै आएको छ।





Source link

Leave a Comment