प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार

अमेरिकामा हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने इरानी खेलाडीहरूको सुरक्षाको पूर्ण प्रबन्ध गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्रु जुलियानीले यस ग्रीष्ममा अमेरिकामा आयोजना हुने विश्वकप प्रतियोगितामा इरानी राष्ट्रिय फुटबल टोलीलाई स्वागत गरिने बताए। उनले इरानी खेलाडीहरू सुरक्षित रहने कुरामा आश्वस्त पारेका छन्।
टेक्सासमा आयोजित ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’ मा उनले भने, “अहिले हामी इरानी टोली आउने अपेक्षा गरिरहेका छौँ। अमेरिकामा बसोबास गर्ने इरानी समुदायका लागि आफ्नो देशलाई समर्थन गर्ने यो राम्रो अवसर हो।”
इरानका समूह चरणका खेलहरू लस एन्जलस र सिएटलमा तय भएका छन्। यसअघि इरानको खेलकुद मन्त्रालयले आफ्ना राष्ट्रिय टोली र खेलाडीहरूलाई “शत्रुतापूर्ण देशहरू” मा हुने प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाउने संकेत गरेको थियो।
दुई हप्ताअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी टोलीको “जीवन र सुरक्षा” को चिन्ता व्यक्त गर्दै उनीहरू अमेरिका आउनु उपयुक्त नहुने बताएका थिए, जसले विवाद उत्पन्न गरेको थियो। त्यसको एक हप्तापछि इरानी अधिकारीहरूले आफ्ना खेलहरू मेक्सिकोमा सार्न अनुरोध गरेका थिए। तर फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफा ले उक्त अनुरोध अस्वीकार गरिदियो।
जुलियानीका अनुसार राष्ट्रपति अझै पनि इरानी टोलीलाई स्वागत गर्ने पक्षमा छन्। ट्रम्पको प्रारम्भिक टिप्पणी इरानी महिला फुटबल टोलीका सदस्यहरूले अस्ट्रेलियामा शरण लिने विचार गरिरहेका बेला आएको थियो, जहाँ उनीहरूले आफ्ना परिवारलाई इरानमा धम्की दिइएको आरोप लगाएका थिए।
यद्यपि, जुलियानीले अमेरिकी गृह सुरक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी) बन्द रहेमा विश्वकपको तयारीमा असर पर्न सक्ने चेतावनी पनि दिएका छन्। प्रतियोगिता सुरु हुन अब मात्र ७७ दिन बाँकी छ।