प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै डिपार्टमेन्ट अफ जस्टिसमा ठूलो फेरबदल देखिएको छ। महान्यायाधिवक्ता पाम बोन्डीले कार्यभार सम्हालेको पहिलो ६ महिनामै विभागले २३ हजार भन्दा बढी आपराधिक मुद्दाहरूलाई अभियोजन नगरी बन्द गरिदिएको छ। तथ्याङ्कको विश्लेषण अनुसार यो संख्या विगतका प्रशासनहरूको तुलनामा निकै बढी र असामान्य छ।
डिपार्टमेन्टले बन्द गरेका मुद्दाहरूमा गम्भीर प्रकृतिका भ्रष्टाचार, आतंकवाद र कर्पोरेट ठगीका अनुसन्धानहरू रहेका छन्। विशेषगरी न्यू जर्सीका मजदुर युनियनहरूमाथिको ठगी अनुसन्धान, भर्जिनियाको एक नर्सिङ होममा भएको बिरामी दुर्व्यवहारको घटना र क्रिप्टोकरेन्सी कम्पनीहरूविरुद्धका छानबिनहरू रोकिएका छन् ।
सन् २०२५ को फेब्रुअरी महिनामा मात्रै करिब ११ हजार मुद्दाहरू खारेज गरिएका थिए, जुन सन् २००४ पछिको सबैभन्दा उच्च मासिक रेकर्ड हो।
यसको मुख्य कारण ट्रम्प प्रशासनको प्राथमिकतामा आएको परिवर्तनलाई मानिएको छ। डिपार्टमेन्टले ह्वाइट-कलर क्राइम र कर्पोरेट भ्रष्टाचार विरुद्धका स्रोतहरू कटौती गरेर अध्यागमन सम्बन्धी मुद्दाहरूमा केन्द्रित गरेको छ।
पहिलो ६ महिनामा अध्यागमनसम्बन्धी मुद्दाहरू झन्डै तीन गुणाले बढेर ३२ हजार पुगेका छन्। पूर्व सरकारी वकिलहरूका अनुसार, दशकौंदेखि चल्दै आएका कतिपय जटिल अनुसन्धानहरूलाई पनि डिपार्टमेन्टले ‘अपर्याप्त प्रमाण’ वा ‘स्रोतको प्राथमिकता’भन्दै अचानक बन्द गरिदिएको छ।
जस्टिस डिपार्टमेन्टले भने यसलाई कार्यक्षमता बढाउने र पुराना मुद्दाहरूको व्यवस्थापन गर्ने रणनीतिको रूपमा बचाउ गरेको छ। डिपार्टमेन्टका अनुसार सन् २०२३ भन्दा अगाडिका थाती रहेका मुद्दाहरूलाई हटाएर प्रणालीलाई चुस्त बनाउन यो कदम चालिएको हो। यद्यपि, डिपार्टमेन्टबाट राजीनामा दिएका वा निकालिएका करिब ३०० कर्मचारीहरूले एक खुला पत्र लेख्दै ट्रम्प प्रशासनले कानुनी शासन र निष्पक्ष न्यायको आधारभूत मान्यतामाथि ‘ह्याम्मर’ प्रहार गरिरहेको आरोप लगाएका छन्।