अमेरिकामा हिटवेभको कहर; १० लाख घरमा बिजुली अवरुद्ध



प्रकाशित मिति : २० असार २०८३, शनिबार

अमेरिकामा हिटवेभको कहर; १० लाख घरमा बिजुली अवरुद्ध

Photo: Documerica/ Unsplash

अमेरिकाले आफ्नो स्थापनाको २५०औँ वार्षिकोत्सव मनाउन सुरु गरिरहँदा देशका विभिन्न राज्यहरूमा झण्डै १० लाख घरधुरी अन्धकारमा परेका छन्।

बिजुली आपूर्ति अनुगमन गर्ने वेबसाइट ‘पावरआउटेज’का अनुसार, तीव्र आँधीबेहरी र अत्यधिक गर्मीका कारण मध्य-पश्चिम र उत्तर-पूर्वी क्षेत्रका ८ लाख ४२ हजारभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको छ। प्राविधिकहरू विद्युत सुचारु गर्न प्रयासरत रहेकाले यो संख्या दिनभर थपघट भइरहने बताइएको छ। यो तथ्याङ्क केवल घरधुरीको भएकाले प्रभावित हुने मानिसहरूको वास्तविक संख्या निकै ठूलो हुने अनुमान गरिएको छ।

शनिबार पनि धेरै क्षेत्रहरूमा खराब मौसम र उकुसमुकुस गराउने गर्मी जारी रहने मौसम पूर्वानुमान छ। अमेरिकाका करोडौँ नागरिक यतिबेला देशव्यापी रूपमा फैलिएको तीव्र लुसँग जुधिरहेका छन्।

अत्यधिक गर्मीकै कारण फिलाडेल्फियामा शुक्रबार तय गरिएको ऐतिहासिक ‘सल्युट टु इन्डिपेन्डेन्स परेड’ रद्द गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यस्तै, जुलाई ४ को बिहान १०:३० बजे राजधानी वासिङ्टन डिसीको डाउनटाउनमा आयोजना हुने भनिएको मुख्य ‘अमेरिकाज इन्डिपेन्डेन्स डे परेड’ पनि शुक्रबार अबेर आयोजकहरूले रद्द गर्ने निर्णय गरे।

आयोजकको आधिकारिक वेबसाइटमा जारी विज्ञप्ति भनिएको छ, “वासिङ्टन डिसी क्षेत्रमा जारी अत्यधिक गर्मीका कारण जुलाई ४, २०२६ को परेड खेदका साथ रद्द गरिएको छ। राष्ट्रिय मौसम सेवाले डिसी क्षेत्रका लागि ‘अत्यधिक गर्मीको चेतावनी’ जारी गरेको छ, जहाँ तापक्रम सूचकांक ११०°F देखि ११५°F (करिब ४३°C देखि ४६°C) सम्म पुग्ने अनुमान गरिएको छ।

विज्ञप्तिमा यो निर्णय राष्ट्रिय निकुञ्ज सेवा डिसी नगर सरकार र ‘फ्रीडम २५०’ सँगको सघन परामर्शपछि सहभागी, दर्शक र कर्मचारीहरूको सुरक्षालाई सर्वोपरी ठानेर लिइएको उल्लेख छ।

गर्मीका कारण रेल ट्र्याक र प्रणालीमा आउने प्राविधिक समस्यालाई मध्यनजर गर्दै अमेरिकी रेल सेवा ‘एमट्र्याक’ ले आफ्ना १० वटा मुख्य रेल सेवाहरू (ट्रेन नम्बर ८८, १०६, १०७, १४२, १५९, १६३, ६६६, ६६७, ६*९४ र ६९५) पूर्ण रूपमा रद्द गरेको छ।

यसैगरी, वासिङ्टन डिसीस्थित नेसनल मलमा आयोजना भइरहेको ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ र ‘फिफा फ्यान जोन’ खुल्ने समय पनि शनिबार दुई घण्टा ढिलो गरी दिउँसो १२ बजेका लागि सारिएको छ।





Source link

Leave a Comment