प्रकाशित मिति : २० असार २०८३, शनिबार

अमेरिकामा बसोबास गर्दै आएका सफल नेपाली व्यवसायी समीर महर्जन आज प्रवासमा नेपाली उद्यमशीलताको एक सशक्त उदाहरणका रूपमा चिनिन्छन् । न्युयोर्कको ज्याक्सन हाइटस्थित चर्चित गहना पसल क्विन्स डाइमन्ड एन्ड ज्वेलरीका सञ्चालक महर्जनले पत्नी सूर्य महर्जनसँग मिलेर व्यवसायलाई नेपाली मात्र नभई दक्षिण एसियाली समुदायबीच एक विश्वसनीय ब्रान्डका रूपमा स्थापित गरेका छन् । सन् २००८ मा स्थापना भएको यो व्यवसायले विशेषगरी नेपाली मौलिक र परम्परागत डिजाइनका गहनामार्फत आफ्नो अलग पहिचान बनाएको छ ।
उनले कोभिड–१९ महामारीपछि व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै अनलाइन अर्डर, सेम–डे डेलिभरी र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष बिक्रीजस्ता नवीन सेवा सुरु गरे । जसले व्यवसायलाई नयाँ उचाइमा पु¥याएको छ । उनको व्यापार अहिले अमेरिकाका विभिन्न राज्यमा विस्तार भइसकेको छ । व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका महर्जनसँग गरिएको यो कुराकानीमा उनको संघर्ष, सफलता र भविष्यको दृष्टिकोणबारे विस्तृत चर्चा गरिएको छ ।
तपाईंले अमेरिकामा पहिलो पुस्ताका आप्रवासीका रूपमा आफ्नो समुदायलाई कसरी देख्नुहुन्छ ?
इतिहासले आफैंलाई दोहो¥याउने गर्छ । तर, त्यही मानिसहरूका लागि जसले आफू कहाँबाट आएका हुन् भन्ने सम्झिरहन्छन् । अमेरिकामा पहिलो पुस्ताका आप्रवासीका रूपमा म प्रायः आफ्नो समुदायलाई अनिश्चितताको एउटा बोझ बोकेर संघर्ष गरिरहेको देख्छु । हामी निरन्तर मेहनत गर्छौं– धेरैजसो अवस्थामा आफ्ना शैक्षिक योग्यताभन्दा निकै तलका कामहरूमा । र, आफ्ना अमेरिकामा जन्मिएका सन्तानहरूसँगको सांस्कृतिक दूरी बढ्दै गएकामा चिन्तित हुन्छौं । तर, जब म हाम्रो समुदायलाई हेर्छु– म संघर्षरत आप्रवासी समूह देख्दिनँ । म त संसारकै सबैभन्दा लचिलो उद्यमीहरूको सन्तान देख्छु ।
आधुनिक विश्वव्यापीकरणको युगभन्दा धेरै अघि काठमाडौं उपत्यका हिमाली सिल्क रोडको धड्कन थियो । हाम्रा पुर्खा (नेवार व्यापारीहरू) बाँच्न मात्र होइन, पृथ्वीका सबैभन्दा कठिन भूभागहरूमा फस्टाएका थिए । १३औं शताब्दीदेखि उनीहरूले तिब्बती पठारदेखि भारतका मैदानसम्म फैलिएका व्यापारिक सञ्जालहरू स्थापना गरेका थिए ।
हामी अरनिकोका सन्तान हौं । जसले नेपाली प्रतिभालाई चीनको युआन राजवंशसम्म पु¥याए । हामी राजा जयस्थिति मल्लका सन्तान हौं (शासनकाल १३८२–१३९५) । जसले काठमाडौं उपत्यकालाई एकीकृत गर्दै मध्यकालीन नेपाली समाजको आधार तयार पारे । उनका प्रमुख योगदानहरूमध्ये गुठी प्रणाली एक दीर्घकालीन उदाहरण हो । जसले पुस्तौंसम्म सामुदायिक स्रोत व्यवस्थापन, सामाजिक तथा धार्मिक जीवनको संरक्षण र निरन्तरताको सुनिश्चितता ग¥यो । एकताबद्ध र संरचित समाजले कसरी संस्कृति र अर्थतन्त्र दुवैलाई जोगाउन सक्छ भन्ने यसको शक्तिशाली उदाहरण आज पनि कायम छ ।
त्यही प्रणालीले यस्तो सुदृढ आर्थिक आधार निर्माण ग¥यो जुन शताब्दीयौंसम्म टिक्यो । पूर्वी नेपालको ठूलो इलाइची र जडीबुटी (इलाम र ताप्लेजुङ) होस् वा पश्चिमका हिमाली क्षेत्र (जुम्ला र डोल्पा)का यार्सागुम्बा र नुनका करवान । नेपालले सधैं पृथ्वीको माटोलाई सुनमा बदल्ने कला जानेको छ ।
तपाईंको अमेरिका यात्रा कसरी सुरु भयो ?
म त्यही पुख्र्यौली व्यापारिक सोच लिएर सन् २००५ मा अमेरिका पुगें । न्युयोर्कको डाइमन्ड डिस्ट्रिक्टमा ८ बाई ३ फिटको सानो स्टलबाट यात्रा सुरु भयो । सजिलो थिएन । तर, अमेरिकाको प्रणाली मन लगाएर काम गर्नेहरूका लागि बनाइएको छ । त्यही सानो स्टलबाट हामी जुनाउ (अलास्का), त्यसपछि ज्याक्सन हाइट्स, मेरिल्यान्ड, क्यालिफोर्निया हुँदै अहिले टेक्सासको डल्लाससम्म विस्तार भयौं ।
यो कुरा म घमण्डका लागि होइन, आशाका लागि बाँडिरहेको छु । हामी अहिले अमेरिकामा हाम्रो आफ्नै सिल्क रोड युगमा छौं । जसरी भारतीय गैरआवासीय समुदाय (एनआरआई) मजदुरबाट सीईओ र प्रविधि नेतासम्म पुगे । नेपाली समुदाय पनि त्यही यात्रामा छ । अध्ययनहरूले देखाउँछन् कि चिनियाँ, बंगलादेशी, भारतीय सबै आप्रवासी समुदायहरूले पहिलो पुस्तामा यस्तै संघर्ष भोग्छन् । हामी एक्ला होइनौं र उनीहरूझैं हामी पनि उठ्नेछौं ।
अमेरिकामा नेपाली समुदायभित्र के समस्या छन् ?
हामीले विश्वव्यापी सफलता हासिल गर्नुअघि आफ्नै घर सफा गर्नुपर्छ । अहिले हाम्रो समुदायका संस्थाहरू प्रायः शक्ति संघर्षले विभाजित छन् । अमेरिकामा मात्रै सयौं संस्थाहरू छन् । तर, आन्तरिक गुटबन्दीका कारण धेरै अव्यवस्थित अवस्थामा छन् ।
यदि हामीले दोस्रो पुस्तालाई उज्ज्वल भविष्य दिन चाहन्छौं भने सत्तामुखी मानसिकताबाट टाढा हुँदै बुद्धको दर्शनतर्फ फर्कनुपर्छ । जहाँ ज्ञानले नेतृत्व गर्छ । करुणाले व्यवहारलाई आकार दिन्छ । हामीले आफ्ना युवालाई मार्गदर्शन गर्नुपर्छ । परम्परा र उनीहरूको अमेरिकी यथार्थबीच सहमतिको सोचमार्फत पुल निर्माण गर्नुपर्छ ।
विश्व बजारमा नेपालीको बलियो पक्ष के हो ?
हाम्रो नैतिकता, हाम्रा उत्पादन र हाम्रो पुँजी बलियो पक्ष हो । नेपालीहरू संसारकै सबैभन्दा इमानदार, मेहनती र सबैलाई मन पर्ने मानिसका रूपमा चिनिन्छन् । उच्चस्तरीय गरगहना र कपडादेखि हाम्रो पहाडका जैविक सम्पदा इलाइची, टिमुर, चियासम्म विश्व नेपाली उत्पादनको प्रतीक्षामा छ । हाम्रो धन चलायमान रहनुपर्छ । जब हामी एकार्कामा र आफ्ना जडमा लगानी गर्छौं, समृद्धिको चक्र सिर्जना हुन्छ।
अमेरिकामा रहेका नेपालीका लागि सन्देश के छ ?
हामी एक दुर्लभ र निर्णायक क्षणमा बाँचिरहेका छौं । नेपालको २०२६ को निर्वाचनमा आएको परिवर्तनले केवल नेतृत्व मात्र बदलेको छैन । यसले स्थिरता, जवाफदेहिता र भ्रष्टाचारमुक्त भविष्यप्रतिको विश्वास पुनः जागृत गराएको छ । धेरै समयपछि आशा टाढाजस्तो लाग्दैन । यो हातमै पुगेको अनुभूति हुन्छ ।
यो हाम्रो समय हो । विदेशमा बस्ने हाम्रा लागि टाढा बसेर हेर्ने समय होइन । यो आफ्ना जरा, आफ्ना मानिस र आफ्नो उद्देश्यसँग पुनः जोडिने समय हो । किनकि, हामी जतिसुकै टाढा पुगे पनि नेपाल हाम्रो भित्र बस्छ । भावनात्मक रूपमा मात्र होइन, आर्थिक, सामाजिक र आध्यात्मिक रूपमा पनि ।
नेपाली उत्पादनको महत्त्व के हो ?
विश्व नेपालले दिन सक्ने कुराको प्रतीक्षामा छ । हाम्रो नैतिकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । इमानदारी, सहनशीलता र विनम्रताका कारण नेपालीहरू विश्वभर विश्वास गरिन्छन् । जब संसारमा सत्यनिष्ठा दुर्लभ बन्दै छ त्यही मूल्य हाम्रो प्रतिस्पर्धात्मक लाभ हो ।
हाम्रा उत्पादनहरूले हाम्रो भूमिको आत्मा बोकेका छन् । पुस्तौंको सीपले बनेका गरगहना, संस्कृति र पहिचानले बुनेका वस्त्र र पहाडका प्राकृतिक उपहार इलाइची, टिमुर, चिया– प्रत्येक उत्पादनले एउटा कथा भन्छ । विश्व बजार ती कथाहरू खोजिरहेको छ ।
हाम्रो पुँजी केवल पैसा होइन । यो गति, विश्वास र आस्था हो । जब हामी नेपाल, आफ्ना समुदाय र एकार्कामा लगानी गर्छौं, हामी केवल व्यवसाय बनाउँदैनौं । समृद्धिको चक्र निर्माण गर्छौं । जसले परिवार उकास्छ । उद्योग बलियो बनाउँछ । भविष्यका पुस्ताले गर्व गर्ने राष्ट्र बनाउँछ ।
रणनीतिक सोचबारे तपाईंको सन्देश के हो ?
हामी व्यापारी, निर्माता र दूरदर्शीहरूको वंशबाट आएका हौं । हाम्रा पुर्खाहरूले पहाड पार गरे । सम्बन्ध बनाए । शून्यबाट अवसर सिर्जना गरे । त्यो आत्मा आज पनि हामीभित्र जीवित छ ।
आउनुहोस्, हामी नहिच्किचाऔं । आउनुहोस्, हामी शंका नगरौं । आउनुहोस्, हामी साहस, इमानदारी र एकतासाथ उठौं । किनकि, यो अवसर मात्र होइन । यो जिम्मेवारी हो । र, यो नेपालको विश्वव्यापी यात्राको सुरुवात मात्र हो ।
मेरो प्रिय नेपालीहरूका लागि म के सन्देश दिन चाहन्छु भने भैरव महाराजको संरक्षणमा हामी डर त्यागेर अवसर अँगाल्ने शक्ति पाउँछौं । हाम्रो इतिहास नै हाम्रो प्रतिस्पर्धात्मक लाभ हो । सिल्क रोडदेखि संसारका उच्चतम शिखरसम्म हाम्रा पुर्खाहरूले देखाएका छन् । कुनै भूभाग अत्यन्त कठोर हुँदैन । कुनै अवरोध असम्भव हुँदैन ।
आजको भूभाग भनेको विश्व अर्थतन्त्र हो । हामीसँग आवश्यक लचिलोपन, ज्ञान र साहस छ । जसले हामीलाई विश्वका जटिल बजारहरूमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ । प्रविधि, व्यापार वा नवप्रवर्तन हरेक क्षेत्रमा नेपाली उत्कृष्टताका लागि स्थान छ ।
आर्थिक सफलता तब सबैभन्दा अर्थपूर्ण हुन्छ जब त्यो इमानदारी र उद्देश्यसहित प्राप्त हुन्छ । दयालुतासाथ नेतृत्व गरौं । कठोर परिश्रम गरौं । हाम्रो संस्कृतिको पहिचान इमानदारीलाई जोगाऔं । संसार अवसरले भरिएको छ । आउनुहोस्, त्यसमा आफ्नो स्थान बनाऔं ।
हार नमानौं । दबाबमा नझुकौं । हामी यसका लागि बनेका हौं । एकताबद्ध भएर विनम्रता र मेहनतका साथ हामी हाम्रो सामूहिक सपनालाई विश्वस्तरको यथार्थमा बदल्नेछौं । किनकि, अन्तत कुनै पनि समुदायको साँचो शक्ति केवल उसको इतिहासमा होइन, उसले आफ्नो भविष्य कसरी मिलेर निर्माण गर्छ भन्नेमा हुन्छ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)