अमेरिकामा सोसल सेक्युरिटी र ४० क्रेडिटको गणित: नेपाली समुदायले जान्नैपर्ने कुराहरू



प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार

अमेरिकामा सोसल सेक्युरिटी र ४० क्रेडिटको गणित: नेपाली समुदायले जान्नैपर्ने कुराहरू

अमेरिकामा बसोबास गर्ने र त्यहाँको श्रम बजारमा आबद्ध नेपाली समुदायका लागि ‘सोसल सेक्युरिटी’ भविष्यको एउटा मुख्य आर्थिक आधार हो। विशेष गरी नेपाली आप्रवासीहरूबीच “४० क्रेडिट” को विषयलाई लिएर धेरै चर्चा, चासो र कतिपय अवस्थामा अन्योलता समेत देखिने गरेको छ।

अमेरिकामा सोसल सेक्युरिटी सञ्चालन गर्ने सरकारी निकाय सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनका अनुसार, अवकाश पछि पेन्सन र मेडिकल सुविधा पाउनका लागि ४० क्रेडिट अनिवार्य हुन्छ। तर, यो ४० क्रेडिट वास्तवमा के हो र यसका भ्रम तथा यथार्थहरू के-के हुन् भन्नेबारे विस्तृतमा बुझ्न आवश्यक छ।

धेरैलाई लाग्न सक्छ कि ४० क्रेडिट पाउनका लागि अमेरिकामा ४० वर्ष नै काम गर्नुपर्छ, तर यो पूर्णतः एउटा भ्रम मात्र हो। नियम अनुसार तपाईंले वर्षभरि जतिसुकै धेरै कमाए पनि एक वर्षमा अधिकतम ४ क्रेडिट मात्र कमाउन सक्नुहुन्छ। यसरी वर्षमा ४ क्रेडिटका दरले आवश्यक ४० क्रेडिट पुर्‍याउन सानो-तिनो वा पूरा समय गरेर न्यूनतम १० वर्ष काम गरे पुग्छ। यी १० वर्ष लगातार हुनुपर्छ भन्ने छैन।

सन् २०२६ को नियम अनुसार प्रत्येक १,८९० डलर वैध आम्दानी बराबर १ क्रेडिट पाइन्छ। अर्थात्, वर्षभरिमा जम्मा ७,५६० डलर कमाउनासाथ तपाईंको यो वर्षको ४ क्रेडिट सुरक्षित हुन्छ, जुन रकम मुद्रास्फीति अनुसार हरेक वर्ष केही डलरले परिवर्तन भइरहन्छ।

क्रेडिटको संख्यालाई लिएर अर्को ठूलो भ्रम यो छ कि धेरै क्रेडिट कमाएमा अवकाशपछि धेरै पैसा पाइन्छ। यथार्थमा, ४० क्रेडिटले तपाईं पैसा पाउनका लागि योग्य मात्र हुनुभएको हो। तपाईंले मासिक कति पेन्सन पाउनुहुन्छ भन्ने कुरा तपाईंको जीवनभरिको, विशेष गरी बढी कमाउनुभएको ३५ वर्षको औषत आम्दानी र कुन उमेरमा पेन्सन दाबी गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्छ, क्रेडिटको संख्यामा होइन।

त्यसैगरी, अमेरिका छोडेमा वा केही समय काम गर्न बन्द गरेमा कमाएको क्रेडिट हराउँछ भन्ने डर पनि धेरैमा देखिन्छ। तर तपाईंले कमाएको क्रेडिट तपाईंको सोसल सेक्युरिटी नम्बर मा सधैँका लागि सुरक्षित रहन्छ। यदि तपाईंले ५ वर्ष काम गरेर छोड्नुभयो र केही वर्षपछि फेरि काम सुरु गर्नुभयो भने बाँकी क्रेडिट त्यहीँबाट थपिँदै जान्छ।

अवकाश पेन्सनका लागि ४० क्रेडिट अनिवार्य भए पनि, यदि कोही व्यक्ति काम गर्दागर्दै अपाङ्ग भएमा वा उसको मृत्यु भएमा, उमेर अनुसार कम क्रेडिट अर्थात्क मसेकम ६ क्रेडिट भए पनि उसको परिवार वा उसले सरकारी सहयोग पाउन सक्छ। साथै, विवाहित महिला वा पुरुषको आफ्नो ४० क्रेडिट नपुगेको अवस्थामा पनि यदि आफ्नो जीवनसाथीको क्रेडिट पुगेको छ भने, उनीहरूको ‘वर्क रेकर्ड’का आधारमा आधा रकमसम्म दाबी गर्न सकिने कानुनी प्रावधान रहेको छ।

नगदमा काम गर्ने वा आफ्नै सानातिना व्यवसाय गर्नेहरूले ट्याक्स फाइल गर्दा आम्दानी लुकाउने वा फाइल नै नगर्ने गर्दा सोसल सेक्युरिटी क्रेडिट चढ्दैन। वैध रूपमा कर तिरेको आम्दानीले मात्र क्रेडिट दिलाउने हुँदा ट्याक्स फाइल गर्दा हेलचेक्र्याइँ गर्नु हुँदैन। सरकारी रेकर्डमा कहिलेकाहीँ रोजगारदाताको गल्तीले तपाईंको आम्दानी विवरण छुट्न सक्ने भएकाले समय-समयमा सरकारी वेबसाइटमा गएर आफ्नो क्रेडिट विवरण रुजु गर्नु बुद्धिमानी हुन्छ।

कुनै वर्षको आम्दानी विवरण सच्याउनका लागि सरकारले ३ वर्ष, ३ महिना र १५ दिनको समयसीमा तोकेको हुन्छ, त्यसैले अमेरिकामा आफ्नो भविष्य सुरक्षित गर्नका लागि ४० क्रेडिटको यो गणितलाई बुझ्नु र समयमै सही रूपमा कर भुक्तानी गर्नु प्रत्येक आप्रवासीका लागि अनिवार्य छ।





Source link

Leave a Comment