प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार

अमेरिकाको ह्वाइट हाउस नजिकै गोली चलेको आवाज सुनिएपछि अनुसन्धान सुरु भएको छ। आइतबार सबेरै गोलीको आवाज सुनिएपछि त्यहाँको सुरक्षा निकायले छानबिन थालेको हो।
स्थानीय समयअनुसार मध्यरातपछि वासिङटन डीसीको लाफायेट पार्क क्षेत्रमा गोली चलेको सूचना प्रहरीले पाएको थियो। त्यसपछि सुरक्षाकर्मीहरूले तत्काल घटनास्थल र वरपरको क्षेत्रमा खोजी अभियान चलाएका थिए।
अहिलेसम्म कुनै पनि संदिग्ध व्यक्ति फेला नपरेको र कोही पनि घाइते नभएको जनाइएको छ। सुरक्षाकर्मीहरूले एक संदिग्ध व्यक्ति र सवारी साधनको खोजी गरिरहेका छन्। यस घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजधानीमै थिए।
सुरक्षा निकायका अनुसार ह्वाइट हाउसको नियमित गतिविधि सामान्य रूपमा चलिरहेको भए पनि हाल सुरक्षा व्यवस्था थप कडा पारिएको छ। अनुसन्धानका क्रममा केही समयका लागि आसपासका सडकहरू बन्द गरिए पनि पछि ती पुनः सञ्चालनमा आइसकेका छन्।
सुरक्षा निकायका एक प्रतिनिधिले अनुसन्धान अझै जारी रहेको बताएका छन्। राष्ट्रपति ट्रम्प प्रायजसो सप्ताहान्तमा ‘मार-अ-लागो’ जाने गरे पनि यसपटक उनी राजधानीमै बसेका छन्।
ह्वाइट हाउसका सञ्चार निर्देशकले पनि इस्टरको अवसरमा ट्रम्प निरन्तर ह्वाइट हाउस र ओभल अफिसमा काम गरिरहेको जानकारी दिएका छन्।