प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार

ब्राजिलका पूर्व गुप्तचर एजेन्सी प्रमुख तथा पूर्व सांसद अलेक्जान्द्रे रामागेमलाई अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरेको छ । एक ब्राजिलियन सिनेटरले सोमबार यसबारे जानकारी दिँदै रामागेमलाई अमेरिकामा राजनीतिक शरण दिन आग्रह गरिएको बताएका छन्।
सन् २०२३ मा पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका समर्थकहरूले गरेको कथित कू प्रयासमा संलग्न भएको आरोपमा रामागेमलाई सेप्टेम्बरमा १६ वर्षको जेल सजाय सुनाइएको थियो। ब्राजिलको संघीय प्रहरीले सजाय कार्यान्वयन हुनुअघि नै उनी देश छाडेर फरार भएको जनाएको थियो।
सिनेटर जोर्ज सेइफले सामाजिक सञ्जालमार्फत आफूले ब्रासिलियास्थित अमेरिकी दूतावासलाई जानकारी गराउँदै रामागेमलाई हिरासतमा नराख्न अनुरोध गरेको बताएका छन्। उनले रामागेम आफ्नो देशमा ‘राजनीतिक उत्पीडन’को शिकार भएको दाबी गरेका छन्।
आइसको अनलाइन बन्दी विवरण प्रणालीमा सोमबार रामागेम हिरासतमा रहेको देखिएको थियो, तर उनलाई कुन स्थानमा राखिएको छ भन्ने खुलाइएको छैन।
“राष्ट्रपति बोल्सोनारो, उनका छोराहरू र सहयोगीहरूमाथि भइरहेको राजनीतिक दबाब अब विदेशी भूमिमा निर्वाचित जनप्रतिनिधिसम्म पुगेको छ,” सेइफले भने, “हामीले अमेरिकी दूतावासलाई दिएको कागजातमा रामागेम र उनको परिवारलाई राजनीतिक शरण दिनुपर्ने सबै आधारहरू प्रस्तुत गरेका छौं।”
यसअघि, कू सम्बन्धी मुद्दामा दोषी ठहरिएपछि रामागेमलाई डिसेम्बरमा ब्राजिलको संसद् सदस्य पदबाट पनि पदमुक्त गरिएको थियो।
यता, ब्राजिलको संघीय प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा नाम नखुलाई ‘ब्राजिलको न्याय प्रणालीबाट फरार एक अभियुक्तलाई आइसले पक्राउ गरेको’ जनाएको छ। उक्त व्यक्तिमाथि सशस्त्र आपराधिक समूहमा संलग्नता, कू प्रयास तथा कानूनी शासनलाई हिंसात्मक रूपमा उल्ट्याउने प्रयासजस्ता गम्भीर आरोप रहेको उल्लेख गरिएको छ।
प्रहरीका अनुसार ती अभियुक्तलाई ब्राजिलको सर्वोच्च अदालतले हालै यिनै तीनवटा आरोपमा सजाय सुनाएको थियो, जुन आरोपहरू रामागेममाथि पनि लागेका थिए।