प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस
अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै जारी कागजातविहीन आप्रवासीमाथि धरपकड अलाबामा राज्य तीव्र बनिरहेको छ । ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ को सुरुवाती करिब साढे दुई महिनामा (मार्च १० सम्म) मात्रै अलाबामाबाट १,७९५ जना आप्रवासी पक्राउ परेका छन्। तुलनात्मक रूपमा सन् २०२५ को अक्टोबर मध्यसम्म ५,७४६ जना पक्राउ परेका थिए, जसले यो वर्ष गिरफ्तारी दर उल्लेखनीय रूपमा बढेको देखाउँछ।
पक्राउ परेकामध्ये करिब आधा (९०३ जना) ‘कोल्याट्रल’ श्रेणीका छन् भने ८९१ जनालाई लक्षित अपरेसनमार्फत समातिएको हो। समातिनेहरूमध्ये पुरुषहरूको संख्या अत्यधिक (८७ प्रतिशत) रहेको छ। उमेर समूह हेर्दा सन् १९९० र २००० को दशकमा जन्मेका युवाहरूको बाहुल्यता छ। चिन्ताको विषय भनेको यस वर्ष मात्रै ९ जना नाबालकसमेत हिरासतमा परेका छन्, जसमा ८ र १० वर्षका बालबालिका पनि समावेश छन्।
राष्ट्रियता अनुसार हेर्दा सबैभन्दा धेरै मेक्सिकोका ६९० र ग्वाटेमालाका ५४० नागरिक पक्राउ परेका छन्। यसबाहेक भारतका १७ र नेपालका १ जना नागरिकसमेत सूचीमा छन्। साथै, चीन, ब्राजिल, कोलम्बिया र भेनेजुएलाका नागरिकहरू पनि उल्लेख्य संख्यामा पक्राउ परेका छन्।
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को तथ्याङ्कअनुसार पक्राउ परेकामध्ये २८१ जना सजाय भोगिसकेका अपराधी हुन् भने ६५७ जनामाथि आपराधिक मुद्दा विचाराधीन छ। यद्यपि, अघिल्लो वर्षको तथ्याङ्कले देखाएअनुसार अधिकांश आप्रवासीहरू ट्राफिक नियम उल्लंघन (२६ प्रतिशत) जस्ता सामान्य कसुरमा समातिएका थिए। हत्या, यौन हिंसा वा हतियारसम्बन्धी गम्भीर अपराधमा संलग्न हुनेहरूको संख्या ५ प्रतिशतभन्दा कम रहेको छ।
हालसम्म पक्राउ परेकामध्ये झण्डै आधालाई अमेरिकाबाट फिर्ता पठाइसकिएको छ। ५२० जनाले स्वेच्छाले देश छोडेका छन् भने ३६७ जनालाई जबरजस्ती निष्कासन (डिपोर्ट) गरिएको छ। बाँकी ८७० जनाको मुद्दा अझै प्रक्रियामै रहेको छ।