अमेरिकामा अध्यागमन एजेन्टको गोली प्रहारबाट एक आप्रवासीको मृत्यु



प्रकाशित मिति : २९ असार २०८३, सोमबार

अमेरिकामा अध्यागमन एजेन्टको गोली प्रहारबाट एक आप्रवासीको मृत्यु

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकाको मेन राज्यस्थित तटीय सहर बिडेफर्डमा सोमबार बिहान आइस एजेन्टको गोली प्रहारबाट एक कार चालकको मृत्यु भएको छ। होमल्यान्ड सेकुरिटीका अनुसार गुडिरहेको सवारी साधनमाथि अध्यागमन अधिकारीहरूले गोली चलाएको एक हप्ताभित्रको यो दोस्रो घातक घटना हो।

मृत्यु हुने व्यक्तिको पहिचान २६ वर्षीय कोलम्बियाली नागरिक जोन सेबास्टियन गुएरेरोको रूपमा भएको छ। अमेरिकी सिनेटर एङ्गस किङका प्रवक्ताका अनुसार होमल्यान्ड सेकुरिटीका सेक्टरी मार्कवेन मुलिनले सुरुमा ती चालक नै पक्राउ पुर्जी जारी गरिएका लक्षित व्यक्ति भएको दाबी गरेका थिए। तर, केही घण्टापछि मन्त्री मुलिन आफैँले सिनेटर किङलाई फोन गरेर आफ्नो जानकारी सच्याउँदै एजेन्टहरूले खोजिरहेको व्यक्ति र गोली लागेर मृत्यु भएका व्यक्ति फरक परेको स्वीकार गरेका छन्।

अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा सोमबार बिहान करिब ७ बजे देशनिकालाको सूचीमा रहेका एक व्यक्तिको ठेगाना निगरानी गर्ने क्रममा त्यहाँबाट निस्किएको गाडीलाई एजेन्टहरूले रोक्न खोजेको उल्लेख छ। त्यस क्रममा चालकले गाडीलाई सुरक्षाकर्मीतर्फ कुदाएर “हतियारको रूपमा प्रयोग गर्न खोजेपछि” आत्मरक्षार्थ गोली चलाउनुपरेको दाबी सरकारी अधिकारीहरूको छ।

यद्यपि, प्रत्यक्षदर्शीहरूको बयान र सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले सरकारी दाबीमाथि प्रश्न उठाएका छन्। घटनाको समयमा एजेन्टहरूले कुनै बडी क्यामेरा प्रयोग गरेका थिएनन्। घटनास्थल नजिकै बस्ने एक स्थानीय बासिन्दाका अनुसार सादा पोशाकमा रहेका दुई एजेन्टमध्ये एक जना यसले मलाई गाडीले किच्न खोज्यो भन्दै चिच्याइरहेका थिए भने अर्का एजेन्टले उनलाई शान्त हुन र सम्हालिन भनिरहेका थिए। कारको अगाडिको सिसामा गोलीका कैयौँ प्वालहरू देखिएका छन्।

यस घटनालाई लिएर मेन राज्यकी गभर्नर जेनेट मिल्स, बिडेफर्डका मेयर लियाम लाफाउन्टेन र अन्य जनप्रतिनिधिहरूले गम्भीर आपत्ति जनाउँदै घटनाको पूर्ण, निष्पक्ष र पारदर्शी उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्।

अमेरिकाभर पछिल्ला हप्ताहरूमा आप्रवासीहरू विरुद्धको धरपकड र पक्राउ तीव्र पारिएको छ। मेन राज्यमा पनि गत जनवरीदेखि ‘अपरेशन क्याच अफ द डे’ नाममा ठुलो संख्यामा आप्रवासीहरूलाई हिरासतमा लिइएपछि स्थानीय समुदायमा पहिलेदेखि नै त्रासको वातावरण थियो। यो दुःखद घटनापछि स्थानीय नागरिक र आप्रवासी अधिकारवादी संस्थाहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।





Source link

Leave a Comment