प्रकाशित मिति : २९ असार २०८३, सोमबार

Photo: Brittani Burns/ Unsplash
बढ्दो महँगी र जीवनयापन खर्चका कारण अमेरिकी परिवारहरू ठूलो आर्थिक संकटमा पर्न थालेका छन्। एक नयाँ अनुसन्धान प्रतिवेदन अनुसार, लाखौँ अमेरिकीहरू अहिले दैनिक खाद्यान्न किन्न समेत ऋण लिने वा आफ्नो भविष्यका लागि राखिएको बचत रित्याउने अवस्थामा पुगेका छन्।
गैर-नाफामूलक थिंक ट्याङ्क ‘अर्बन इन्स्टिच्युट’ ले गरेको अध्ययन अनुसार, खाद्यान्न किन्न क्रेडिट कार्ड प्रयोग गर्ने कामदार उमेरका २५ प्रतिशतभन्दा बढी वयस्कहरूले मासिक बक्यौता पूर्ण रूपमा तिर्न सकेका छैनन् भने कतिपयले न्यूनतम भुक्तानी समेत छुटाएका छन्। त्यस्तै, करिब १० प्रतिशत नागरिकले खाद्यान्नका लागि अहिले किन्नुहोस्, पछि तिर्नुहोस् जस्ता अल्पकालीन ऋणको सहारा लिएका छन्। तीमध्ये एक तिहाइले गत वर्ष समयमै किस्ता तिर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनका अनुसार, करिब २० प्रतिशत वयस्कहरूले दैनिक खर्चका लागि नभई आपतकालीन अवस्थाका लागि सुरक्षित राखेको आफ्नो दीर्घकालीन बचत खाद्यान्न किन्नकै लागि खर्च गर्नुपरेको स्वीकारेका छन्।
परिवारहरूले बाँच्नका लागि खानैपर्छ र आधारभूत आवश्यकता पूरा गर्नैपर्छ, अर्बन इन्स्टिच्युटकी सार्वजनिक नीति विज्ञ एवं अनुसन्धानकी सह-लेखक कासान्ड्रा मार्टिनचेकले भनिन्, तर अब उनीहरूमाथि खाद्यान्नसँगै ऋण भुक्तानीको अतिरिक्त भार थपिएको छ। यसले भविष्यमा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने र आर्थिक रूपमा पुनः सबल बन्ने क्षमतामा अवरोध पुर्याउनेछ।”
विगत पाँच वर्षमा अमेरिकामा खाद्यान्नको मूल्य ३२ प्रतिशतले बढेको छ। यसले गर्दा खाद्य सुरक्षा र उपलब्धता सर्वसाधारणको मुख्य चिन्ताको विषय बनेको छ। संस्थाले १८ देखि ६४ वर्ष उमेर समूहका ७,५०० वयस्कहरूमा गरेको सर्वेक्षणका आधारमा यो निष्कर्ष निकालेको हो।
यो प्रतिवेदनले विगत पाँच वर्षदेखिको उच्च महँगीका कारण सिर्जित आर्थिक दबाबलाई प्रस्ट पार्छ। विशेषगरी सन् २०२६ मा इरान युद्धका कारण ऊर्जा संकट चुलिँदा उपभोक्ता मूल्य तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको छ र महँगी पुनः बढेको छ।
गत मे महिनामा गरिएको एउटा जनमत संग्रहमा ७५ प्रतिशतभन्दा बढी अमेरिकीहरूले आफ्नो आम्दानी महँगीको अनुपातमा बढ्न नसकेको बताएका थिए। पछिल्लो समय मूल्यवृद्धिको तुलनामा ज्याला वृद्धि न्यून हुँदा सर्वसाधारणको क्रयशक्ति कमजोर बन्दै गएको छ।
सन् २०२३ को तुलनामा क्रेडिट कार्डमार्फत खाद्यान्न किनेर न्यूनतम भुक्तानी समेत गर्न नसक्नेहरूको संख्या १.६ प्रतिशतले बढेको छ। प्रतिशत सानो देखिए पनि जनसंख्याको हिसाबले यो लाखौँको संख्या हो, जसले सर्वसाधारणमा गहिरिँदै गएको आर्थिक संकटलाई संकेत गर्छ।
समयमा न्यूनतम भुक्तानी नगर्दा उपभोक्ताहरूले थप आर्थिक भार व्यहोर्नुपर्ने हुन्छ। वित्तीय परामर्शदाता संस्था ‘नर्डवालेट’ का अनुसार, पहिलो पटक भुक्तानी छुट्दा ३० डलर र त्यसपछिका अन्य ढिलाइमा ४१ डलरसम्म जरिवाना लाग्छ। यसका साथै, सामान्य अवस्थाको २४ प्रतिशत ब्याजदर बढेर जरिवाना स्वरूप ३० प्रतिशतसम्म पुग्न सक्छ।
अध्ययनले विपन्न र मध्यम वर्गीय परिवारहरू महँगीको मारमा बढी परेको देखाएको छ। न्यून र मध्यम आय भएका १२ प्रतिशत क्रेडिट कार्ड प्रयोगकर्ताले गत वर्ष भुक्तानी छुटाएका छन्, जुन उच्च आय भएका वर्गको तुलनामा तीन गुणा बढी हो।
यसैबीच, अमेरिकामा ‘फूड स्ट्याम्प’ भनिने पूरक पोषण सहायता कार्यक्रममा आबद्ध हुनेहरूको संख्यामा पनि भारी गिरावट आएको छ। सन् २०२५ मा रिपब्लिकनहरूले ल्याएको “वान बिग ब्युटिफुल बिल एक्ट” मार्फत राहत पाउनका लागि नयाँ कार्यसर्तहरू लागू गरेपछि यो गिरावट आएको हो।
गत मार्च महिनाको तथ्याङ्क अनुसार, हाल ३ करोड ७० लाख मानिस मात्र यस कार्यक्रममा आबद्ध छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ५० लाखले कम हो।
न्यून र मध्यम आय भएका परिवारहरूको बजेटको ठूलो हिस्सा भान्सा र खाद्यान्नमा खर्च हुन्छ, मार्टिनचेक भन्छिन्, “त्यसैले खाद्यान्नको मूल्य थोरै मात्र बढ्दा पनि उनीहरूको आर्थिक सन्तुलन बिग्रन्छ र जीवन चलाउन गाह्रो हुन्छ।