सन् २०२० मा एउटा समाचारले चर्चा पाएको थियो, भारतभर। समाचार थियो– दक्षिण भारतीय राज्य तमिलनाडुमा अवस्थित हिल स्टेशन ‘कुन्नूर’को स्थानीय ‘डि सिवान’ बारे। उनी नीलगिरिका ग्राम हुलाक कार्यालयमा कार्यरत हुलाकी थिए, जसले दश वर्षसम्म लगातार एउटै बाटोलाई पछ्याउँदै, जङ्गलको सघनतालाई चिर्दै, चिप्लो खोलानाला र जँघारहरूलाई तर्दै, विभिन्न कठिनाइहरूको सामना गर्दै, हरेक दिन पन्ध्र किलोमिटरको पदयात्रा गर्थे, दुर्गम तथा विकट गाउँहरूमा पत्रहरू पुर्याउन।
जङ्गल किनारमा अवस्थित गाउँका गाउँलेहरू उनको व्यग्र प्रतीक्षा गर्थे, पत्रका लागि। कहिलेकाहीँ पत्रसँगै पेन्सनको पैसा समेत हुने गर्थ्यो। कहिले उनले घरमा कोही मान्छे भेट्दैनथे। घरमै कुरेर अथवा त्यस व्यक्तिलाई गाउँमा खोजेर भए पनि पत्र बुझाउथे र आफ्नो धर्म निभाउथे। एक प्रकारले उनले ती मान्छेका आत्माहरू लिएर हिंडिरहेका थिए।
उनले आफ्नो लामो कार्यकालमा एक दिन पनि बिदा लिएनन्। उनको चिन्ता थियो, ‘मैले नै पत्र पुर्याएन भने, अरू कसले पुर्याइदिने ? जङ्गलमा हिंड्ने जोखिम कसैले लिनै खोज्दैनन्। मलाई राम्रोसँग थाहा छ, यी पत्रभित्र जिन्दगी लुकेका हुन्छन्।’ कहिलेकाहीं पुर्याउनुपर्ने एउटा मात्रै पत्र हुन्थ्यो। तर, पनि उनी निस्किन्थे, उक्त पत्रको गन्तव्य च्यापेर जङ्गलको गहिराइमा, आफ्नो मुटु हत्केलामा राखेर। जङ्गल उनको निमित्त घर झैं भइसकेको थियो, जसले उनलाई हरेक दिन मुस्कुराउँदै स्वागत गर्थ्यो।
नीलगिरि पर्वतको रेलवे ट्रयाकमा होस् अथवा जङ्गलको गर्तमा बाटो पहिल्याउने क्रममा होस्, उनले थुप्रैपटक हात्ती, भालु, सर्प तथा अन्य जनावरहरूसँग सामना गर्नुपर्यो। आफूअघि भेटिने ती जनावरहरूलाई उनी अभिवादन गर्दै आफ्नो बाटोको लम्बाइ नाप्थे। उनका अनुसार ‘अरूको घरभित्र प्रवेश गर्न अनुमति लिनुपर्छ। उनीहरू हाम्रो बीचमा होइन, हामी उनीहरूको बाटोमा आएका हौं।’
उनी घर फर्किंदा साँझ पर्थ्यो। उनकी पत्नी जहिल्यै चिन्ता र डर बोकेर उनको प्रतीक्षामा बस्थिन्। जङ्गलभित्र मोबाइलको नेटवर्क हराउने गर्थ्यो। उनलाई पनि डर थियो, कहिले केही अमंगल भयो भने ? त्यसैले उनले दुईचार पटक आफ्नी पत्नीलाई पनि साथमा लिएर गएका थिए, आफू हिंड्ने बाटो र जङ्गल चिनाउन। उनी पत्नीलाई भन्ने गर्थे, ‘यदि म अबेरसम्म पनि घर फर्किइनँ भने, मलाई खोज्न यही बाटो हुँदै हिंड्नू। म यतैकतै भेटिनेछु।’
लगभग तीस वर्षपछि सेतो दाह्री-जुँगा र कपाल बोकेर अन्तत: उनले ६५ वर्षको उमेरमा अवकाश लिए। जब उनको बारेमा समाचार बाहिरियो, विभिन्न क्षेत्रका मान्छेहरूले सोसियल मिडिया मार्फत उनको प्रशंसा गरे। उनको कामप्रतिको इमानदारी र समर्पण देखेर सबै नतमस्तक भए। थुप्रैले उनलाई आर्थिक सहयोग पनि गरे। केहीले उनलाई ‘पद्मश्री’बाट सम्मानित गरिनुपर्ने तर्क पनि राखे।
पहाडहरूको किनारकिनार डुल्ने हो भने, यस्ता असाधारण कहानीहरू अगन्य भेटिन्छन्। तर, ‘सिवान’को कहानी भने मेरो मस्तिष्कपटमा पुन: टाँसिन आएको थियो, चाइनिज फिल्म ‘पोस्टमेन इन दि माउन्टेन्स्’ हेरिसकेपछि। उक्त फिल्मले पनि भर्खरै मात्र अवकाश प्राप्त गरेका एक हुलाकीको कहानीलाई भन्छ, जो अन्तिम पटक पत्रहरू पुर्याउन पहाड उक्लिन्छन्, साथमा छोरो र कुकुर लिएर।
सन् २०२३ मा नेपालमा पनि त्यस्तै विषयवस्तुलाई उनेर फिल्म ‘हल्कारा’ आएको थियो, जसले विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा स्थान र सम्मान पाएको थियो। फिल्मले ‘राम’ नामक पात्रको कथालाई कहन्छ, जसलाई अतीतको आघातले लखेटिरहेको हुन्छ। ऊ आफ्नो त्यही कालो छायाँबाट भाग्न विदेश पलायन हुन चाहन्छ। तर, गाउँकै हुलाक कार्यालयमा हल्काराको रूपमा काम गर्न बाध्य हुन्छ। कथा र राम दुवैले त्यही बिन्दुबाट फिल्ममा फरक दिशा पाउँछन्।
टेलिफोन र इन्टरनेटले हाम्रो जीवनमा प्रवेश पाउनुअघि हामी हस्तलिखित पत्र तथा पोष्टकार्डहरू मार्फत संसारका कुना–कुनामा रहेका आफ्ना आफन्तजनसँग सञ्चार गर्थ्यौँ। हाम्रै बुबाको पालासम्म पनि पत्रको प्रभाव प्रभावकारी थियो। अहिले पनि थुप्रै स्थानहरूमा पत्रहरू एकअर्कालाई जोड्ने माध्यम बनेका छन्।
नेपालमा हुलाक सेवाको प्रारम्भ ठ्याक्कै कहिलेबाट भएको थियो, त्यसलाई प्रमाणित गर्ने कुनै पनि किसिमका अभिलेखहरू छैनन्। तर, इतिहासविद्हरूका अनुसार सन् १८७५ को वरिपरिबाट त्यसको थालनी भएको मानिन्छ। पृथ्वीनारायण शाहको शासनकालमा घोडाद्वारा राज्यको विभिन्न स्थानमा पत्र पुर्याइन्थ्यो। नेपालमा आधुनिक हुलाकी सेवाको सुरूआत भने सन् १८७८ मा राणा प्रधानमन्त्री रणोद्दीप सिंहद्वारा भएको थियो। उनले पहिलो हुलाक कार्यालयको स्थापना गरे, जसको नाम नेपाल हुलाक घर थियो। पहिलो हुलाक टिकट सन् १८८१ मा जारी गरिएको थियो।
पुरातन समयमा, मान्छेहरूले गुफामा अनेक प्रकारका चित्रहरू कोरेर, आगो बालेर धुवाँलाई संकेतको रूपमा प्रयोग गरेर अथवा ढ्याङ्ग्रो बजाएर आदिम विधिहरू मार्फत एकअर्कासँग सूचना, सन्देश आदानप्रदान गर्ने गर्थे। इतिहासकार ‘हेलानिकस’का अनुसार पहिलो पटक हस्तलिखित पत्र फारसी रानी ‘एटोसा’ले ईसापूर्व ५०० मा पठाएको मानिन्छ। त्यसैले मान्न सकिन्छ, हजारौं वर्षदेखि नै इतिहासमा अक्षरहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।
सन् २०१३ मा आएको मराठी फिल्म ‘पोस्टकार्ड’ अर्को एउटा सुन्दर उदाहरण हो, जसले पत्रलाई बोकेर हिंड्ने हुलाकीको जीवन कथालाई फरक ढङ्गले देखाउँछ। उक्त फिल्ममा हुलाकीको नजरबाट तीनवटा यस्ता पात्रहरूको कथालाई देखाइन्छ, जो पत्रको प्रतीक्षामा बेचैन भएर बाँचिरहेका हुन्छन्।
पत्रले टाढा–टाढा रहेका मान्छेहरूलाई नजिक लिएर आउने काम गर्छ। त्यसले साथमा भएर पनि टाढा भएकाहरूलाई कसरी नजिक बनाउँछ, ‘पोस्टमेन इन दि माउन्टेन्स्’ले सरल र सुन्दर तरिकाले देखाएको छ। फिल्मले सन् १९८० तिरको चीनको पश्चिमी हुनान प्रान्तको कथालाई पहाडहरूको फेदमा कोरेको छ। लेखक ‘पेङ्ग ज्यामिङ्ग’को छोटो कथा ‘पहाड, मान्छे र कुकुर’मा आधारित फिल्म ‘पोस्टमेन इन दि माउन्टेन्स्’ले बुबा र छोराभित्र कैयौं समयदेखि गडिएर रहेका भावनाहरूलाई उप्काउने काम गरेको छ। फिल्म हेरिरहँदा मलाई कता-कता लेखक ‘बुद्धिसागर’को उपन्यास ‘कर्नाली ब्लुज’को पनि याद आएको थियो। बुबाछोराको सम्बन्धलाई लिएर त्यति गहिरोसँग चित्रण गरेको मैले सायदै अरू कुनै किताब पढेको अथवा फिल्म हेरेको थिएँ। ‘पोस्टमेन इन दि माउन्टेन्स्’ले मेरो त्यो तिर्खा मेटाइदिएको छ।
फिल्ममा कुनै पनि पात्रहरूले नाम पाएका छैनन्। सबै अनाम छन्, तर उनीहरू बीचको सम्बन्धले मीठो सम्बोधन र स्थान पाएका छन्।
बुबा तीन दिन लगाएर, लगभग ११५ किलोमिटरको यात्रा तय गर्छन्, हुनान प्रान्तका विकट गाउँहरूमा पत्रहरू पुर्याउन। कामले गर्दा उनी कैयौं समयसम्म आफ्नो घर-परिवारबाट टाढै रहन्छन्। त्यही दूरी र अन्तरले गर्दा बाबु–छोराबीच रहेको खाडलको आयतन फराकिलो हुँदै जान्छ। आमाको छत्रछायाँमा छोरो हुर्किंदै जान्छ। छोराले कहिल्यै बुबालाई ‘बुबा’ भनेर सम्बोधन गरेको छैन। बुबाले पनि राम्रोसँग कहिल्यै आफ्नो छोरालाई माया व्यक्त गर्न पाएका छैनन्। दुवै आ-आफ्ना नियतिको पिंजडामा कैद हुन अभिशप्त छन्। छोराको नजरमा उसको बुबा एक अपरिचित हो, जो कहिलेकाहीं महिनामा एकपटक मात्र घर आउँछ, ओठमा अप्राकृतिक मुस्कान टाँसेर। लाग्छ, उनीहरूबीच कुनै प्रकारको भावना नै बाँधिएको छैन। बुबाले पत्रहरूको माध्यमबाट मान्छेहरूलाई जोड्ने काम गर्छन्। तर, उनी भने आफ्नै छोराबाट क्रमशः टाढिंदै गइरहेका छन्।
शारीरिक दुर्बलताले गर्दा बुबाले हुलाकी सेवाबाट समयपूर्व नै अवकाश पाउँछन्। बुबाको कामलाई निरन्तरता दिन छोराले आफ्नो काँध अघि सार्छ। आमा चाहन्छिन्, छोरा गाउँमै खेती किसानी गरेर बसोस् अथवा शहर गएर बसोस्। कताकता उनीभित्र डर जमिरहेको छ, कतै आफ्नै लोग्नेको भाग्यलाई छोराले पनि अँगालिरहेको त छैन ? तर, छोरालाई बुबा जस्तै सामान्य हुलाकी जीवन बिताउनु छैन। ऊ हुलाक कार्यालयको ब्युरो प्रमुख हुन चाहन्छ, जुन उसको बुबा कहिल्यै हुन सकेन। बुबाको अनुपस्थितिले उसले अरू कामका मौकाहरूलाई विगतमा गुमाउनु परेको थियो। यही कारणहरूले पनि बुबाप्रति छोराको गुनासो र रोष रहेको छ।
छोरो पहिलो पटक पहाड उक्लिन जाँदैछ, पत्रहरू बोकेर। बुबाले उसलाई नक्सा कोरिदिएको छ, पुग्नुपर्ने बाटो र स्थानको। साथमा छ उनीहरूको बफादार कुकुर, जो छोरासँग जान अटेर गरिरहेको छ। कुकुर हरेक पटक बुबासँगै पहाड उक्लिन्थ्यो, सहयात्री बनेर। सायद त्यो पनि अवकाश लिन चाहन्छ, बुबा जस्तै। तर, चिन्ता र मायाले बुबालाई पगाल्छ। उनी कुकुर लिएर अन्तिम पटक पहाड उक्लिन्छन्, छोरालाई दिशा निर्देशन गर्न। सायद उनले पनि यस यात्रालाई मौकाको रूपमा लिन्छन्, आफ्नो छोरासँग सामीप्यता कस्नलाई। यसरी पहिलो पटक बाबुछोरा धेरै समयपछि एउटै बाटोमा बाँधिन्छन्।
उनीहरूको पहाडी क्षेत्रमा तीन दिनको यात्रा सुरू हुन्छ, जसले त्यो समयको ग्रामीण भेगको विकटतालाई देखाउँछ। बाटोभरि बाबुछोरा एकअर्कासँग बोल्दैनन्। दुवैको मौनताले उनीहरू बीचको तिक्ततालाई व्यक्त गर्छ। छोरो थकाइ लागेर पनि बुबालाई भन्न सक्दैन। ऊ आफूलाई बुबाको अघि कमजोर देखाउन चाहन्नँ। तर, बुबाले उसको मनोदशालाई सजिलैसँग पढ्न सक्छन्। छोरासँगको असामीप्य सम्बन्धले बुबालाई पनि ग्लानिले कोतरिरहेको हुन्छ। पछाडिबाट बाटो देखाइरहेको बुबालाई बेलाबेला नदेख्दा छोराको अनुहारमा उम्रिएको छटपटाहट र अत्यासले पनि कताकता अभिव्यक्त गर्छन्, बुबाप्रति उसको हृदयमा पनि अपरिभाषित प्रेम छ, जसलाई उसले आफूभित्रै बाँधेर राखेको छ।
आमालाई जसरी बुबालाई कहिल्यै पनि आफ्ना सन्तानहरूप्रति प्रेम र स्नेह राम्रोसँग दर्साउन–देखाउन आउँदैन। उनीहरू समाजको यस्तो प्रणालीसँग कसिएका हुन्छन्, जसले पारित गरिदिएको छ, ‘घरभित्र आफ्नाहरूसँग रहन घरबाहिर निस्किनुपर्छ कमाउन।’ सायद बाल्यावस्थाबाटै बुबाले लगाउनुभएको कठोरताको नकावलाई देखेर होला, हामी सन्तानहरू पनि कहिल्यै बुबासमक्ष उदाङ्ग भएर प्रेम व्यक्त गर्न सक्दैनौं। आमासँग जस्तो सहज सम्बन्ध हाम्रो बुबासँग कहिल्यै नहुँदोरहेछ।
म सानो छँदा बुबा अक्सर घर बाहिरै हुने गर्नुहुन्थ्यो, कामको सिलसिलामा। जब हुर्किंदै गइयो, बुबाको कामप्रतिको समर्पण र परिवारप्रतिको जिम्मेवारी थाहा पाइयो। प्रेम पनि परिस्थिति अनुरूप विभिन्न रूप र स्वरूप लिएर आउँदो रहेछ। सानो हुँदा रोइन्थ्यो, ठूलो भएपछि समाजले हामीलाई रून नदिंदो रहेछ। कठोर हुनुपर्ने रहेछ।
‘पोस्टमेन इन दि माउन्टेन्स्’ले पनि यही धारणलाई सल्काएको छ, पात्रहरूभित्र। यात्राभरि बाबुछोरा दुवै भरिएर हिंड्छन्, एकअर्काअघि कोही पोखिन मान्दैनन्।
विस्तारै यात्रामा बाटोमा गाउँका मान्छेहरू भेटिन थाल्छन्, जसलाई अभिवादन गर्दै बुबाले गर्वसाथ आफ्नो छोराको परिचय गराउँछन्। गाउँमा मान्छेहरूको भीड देखेर छोरो छक्क पर्छ। ती मान्छेहरू सबै बुबाको स्थान र पदभार सम्हाल्न आएको छोरालाई हेर्न जम्मा भएका हुन्छन्। बुबाले सबैलाई सम्बोधन गर्दै भन्छन्, ‘ऊ मेरो छोरा अबबाट तपाईंहरूको पत्रहरू उसैले नै ओसारपसार गर्छ। मलाई जस्तै उसलाई पनि विश्वास गरिदिनुहोला।’
त्यसपश्चात् बाबु–छोरा बीचको मौनता विस्तारै फुस्किंदै जान्छ। छोराले महसुस गर्दै जान्छ, बोल्ने मान्छे साथमा हुँदा यात्रा सहज हुँदै जाने रहेछ। बुबाले बाटो र स्थान चिनाउँदै जान्छन्। ती बाटोहरूमा आफूसँग घटेका घटना सुनाउँदै जान्छन्। छोराको हरेक जिज्ञासाहरूलाई मेटाउँदै जान्छन्। खोला तर्दै, हुस्सुलाई चिर्दै, हरिया खेतहरूको बीचमा उकालो-ओरालो गर्दै, चीनको ग्रामीण सुन्दरताको अवलोकन गर्दै यात्रा चलिरहन्छ।
यात्रामा बाबु–छोराबीच नोक-झोंक, हँसिमजाक चल्दै जान्छन्। छोराले बुबाको फरक र नयाँ रूपलाई देख्छ, जसलाई उसले कहिल्यै देख्न पाएको हुँदैन। उसलाई बोध हुँदै जान्छ, बुबाले पत्र होइन, भावना बाँडिरहेका रहेछन्। बुबाले कहिल्यै प्रशासनबाट नपाएको प्रेम र सम्मान गाउँलेहरूबाट पाएका रहेछन्। बुबालाई गाउँलेले परिवारको आफ्नै सदस्य झैं शिष्टाचार देखाउँदा रहेछन्। उहाँले यी विकट पहाडहरूको खोंचमा बस्नेहरूको हृदयमा एकप्रकारले जीवन फुकिदिएका रहेछन्। कम अवधिमै छोराले अनुभवी बुबाबाट थुप्रै कुराहरू सिक्न र बुझ्न पाउँछ। छोराको बुबालाई हेर्ने दृष्टिकोण विस्तारै परिवर्तन हुँदै जान्छ।
हुलाकीहरूसँग राम्रो वाचनशक्ति र लेखन कला हुन आवश्यक रहेछ। अक्षरहरू चिन्न नसक्नेहरू, अन्धोहरू, आँखा कम देख्नेहरूलाई पत्र पढेर सुनाउनुपर्ने हुन्छ, मीठो तरिकाले। कहिलेकाहीं तिनै व्यक्तिहरूको लागि पत्रको प्रत्युत्तर पनि लेखिदिनुपर्ने हुन्छ, मीठो शैलीमा। हुलाकीहरूको झोलामा खुसीसँगै दु:ख पनि हुन्छन्। उनीहरूले मुस्कान र आँसु दुवै बोकेर हिंडिरहेका हुन्छन्। हुलाकी फगत कामदार मात्रै होइन। उनीहरूले पत्र मात्रै बोक्दैनन्, सम्बन्ध बोक्छन्। संवेदनाहरू बोक्छन्। ‘पोस्टमेन इन दि माउन्टेन्स्’ले यी सबै आयामलाई आफूभित्र समेटेको छ।
मराठी फिल्म ‘पोस्टकार्ड’मा एउटा दरिद्र वृद्ध पात्र छ, जसले भगवान्लाई पत्र लेख्छ, १००० रूप्पे सहयोग माग्दै, ऋण तिर्न। उनको पत्र पढेर हुलाकी भावुक हुन्छ। उसले जेनतेन ७०० रूप्पे जति जम्मा पार्छ र भगवानको तर्फबाट वृद्धलाई दिन्छ। वृद्ध खुसी हुन्छन्। उनलाई दृढ विश्वास हुन्छ, भगवान् वास्तवमै छन्। उनले त्यो पैसा दिनुपर्ने मान्छेलाई बुझाउँछन्। तर ३०० रूप्पे जति पैसा पुग्दैन। उनलाई लागेको थियो, भगवानले पूरै १००० रूप्पे पठाइदिएका हुन्। बाँकी ३०० कमाउन उनी काम गर्छन्। तर, थला पर्छन्। मर्नुभन्दा अघि उनले भगवानलाई पुन: पत्र लेख्छन्, ‘भगवान्, तिमी छौ भन्ने मलाई विश्वास छ। तिमीले मलाई पैसा पठाएर सहयोग गर्यौ। उपकार गर्यौ। तर, हुलाकीले मलाई छल गर्यो। ३०० रूप्पे उसैले खायो। मलाई धोका दियो। त्यस्तो खराब मान्छे तिमी किन जन्माउँछौं भगवान् ?’
मान्न सकिन्छ, ‘पोस्टमेन इन दि माउन्टेन्स्’ बाबु–छोराको भावनात्मक-करूणाजनक यात्रा हो। एकअर्काको अघि-पछि हिंडिरहँदा बाबु–छोरा दुवै परस्परमा आफैंलाई खोज्न थाल्छन्। यो आत्मिक यात्राभन्दा फरक पर्दैन। बुबा अतीतमा फर्किएर आफ्नो छोरा खोज्न थाल्छन्। छोरो तिनै पहाडको बाटोहरूमा बुबालाई खोज्न थाल्छ। लामो समय कला निर्देशक भएर काम गरेका हु जिनाइको यो फिल्म कविता झैं लाग्छ, आफ्नै लय र गतिमा बगिरहेको। फिल्मले मनमोहक प्राकृतिक सौन्दर्य मात्रै देखाउँदैन, परम्परागत चिनियाँ संगीत र नाचको पनि स्वाद चखाउँछ।
‘पोस्टमेन इन दि माउन्टेन्स्’ तराजु झैं लाग्छ, जसले हामीलाई हाम्रै सम्बन्धहरू पनि तौलिन बाध्य बनाउँछ।
छोरालाई सानो छँदा लाग्थ्यो, बुबा धेरै नै ठूला छन्। जब ऊ जवान हुँदै जान्छ, बुबा सानो लाग्दै जान्छ। छोराहरूले जब आफ्ना बुबालाई बोकेर हिंड्न सक्षम हुन्छन्, त्यसले बयान गर्छ, छोरा अब ठूलो भइसकेको छ। छोराले आफ्नो बुबालाई बोकेर खोला तारिरहँदा बुबा आफ्नो अतीतको गर्तमा पुरिन पुग्छन्। आफ्नो छोरालाई काँधमा बोकेको उनले सम्झिन्छन्। उनका आँखा रसाउन थाल्छन्। छोराले ती आँसुका ढिक्काहरू महसुस गर्न सक्छ। बुबाले आफूलाई पोख्छन्, ‘मैले जीवनभर पत्रहरू ठाउँ-ठाउँमा पुर्याएँ। तर, मलाई कसैले पनि पत्र पठाएनन्, तिम्रो आमाले बाहेक। तिम्रो आमाले तिमी जन्मिएको खबर लेखेर पत्र पठाएकी थिइन्। मैले सबै कर्मचारीहरूलाई भोज ख्वाएर आफ्नो खुसी साटें।’
छोराले आफूभित्र वर्षौं पहिले बनाएको बुबाको कठोर र निष्ठुर रूप भत्किंदै जान थाल्छ। उसले पहिलो पटक आफ्नो बुबालाई ‘बुबा’ भनेर सम्बोधन गर्छ। उक्त दृश्यले हरकोहीको अन्त:स्करणलाई स्पर्श गर्न सक्छ।
‘पोस्टमेन इन दि माउन्टेन्स्’ निकै शान्त र हलुका लाग्छ, आकाशमा पौडिरहेको बादल झैं। अझ प्रकृतिको सुन्दर परिदृश्य र अद्भुत संगीतले थप जीवन फुकिदिएको छ, फिल्ममा। यसले सम्बन्धहरूलाई बुझाउन थप अर्को परिभाषा दिएको छ, ‘यी पहाडहरूमा बस्ने मान्छेहरूको जीवन कठिन छन्। तर, उनीहरू खुसी छन्। किनभने उनीहरूसँग सपना छन्। सपना भएकाहरू कहिल्यै दु:खी हुँदैनन्। यी हुलाक मार्गहरू पनि त्यस्तै हुन्। जति कठिन छन्, जिन्दगीका फरक–फरक आयाम चिनिंदै गइन्छन्। यही बाटोमा भेटिन्छन् असल गुणका मान्छेहरू। आफ्नो काम र जीवनको उद्देश्य यस्तै कठिनाइहरूमा भेटिन्छन्।’
फिल्मले मान्छे, जनावर र भूगोलको सम्बन्धलाई एउटै भाषामा बाँधेको छ। जब बतासले पत्रहरू उडाउन थाल्छ, घुँडाको चोटको बाबजुद बुबा दौडिन्छन्, पत्रहरूको पछि। उनीसँगै दौडिन्छ, कुकुर पनि। उनीहरूको कामप्रति लगाव र समर्पण मात्रै देखिंदैन, ती पत्रहरूको महत्व पनि देखिन्छ, जसको प्रतीक्षामा कैयौं अनिंदा आँखाहरू बसेका हुन्छन्। छोराले बुझ्छ, यी अक्षरहरूमा आत्माहरू अल्झिएका छन्।
यसरी एउटा अविस्मरणीय यात्रा समाप्त हुन्छ, बाबु–छोराको। यात्रामा उनीहरूले आफूलाई भेट्छन्। एकअर्कालाई भेट्छन्। फिल्मको अन्त्यले झनै भावुक बनाउँछ। त्यसले पछिसम्मै हाम्रो हृदयहरूमा गहिरो प्राभव पार्न सफल हुन्छ। जब अर्को यात्राको लागि छोरो एक्लै घरबाट निस्किन्छ, बुबा उसलाई टाढैबाट एकनासले हेरिरहन्छन्। सायद उनले सोच्छन्, छोराले अब मैले बाँचेको जिन्दगी बाँच्नुपर्छ र मैले उसको। हामीले सम्बन्धमा सम्बोधन पायौं तर हाम्रो भूमिका परिवर्तन भएको छ।
‘पोस्टमेन इन दि माउन्टेन्स्’ झरी परेको बेला पहाडहरूबीच लागेको इन्द्रेणी झैं लाग्छ, सुन्दर।