सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा


१७ असार, काठमाडौं । ग्रीष्मयाम बोकेको हावाले माइतीघर मण्डला बेसरी तताएको छ। आफूमाथि भएका अन्यायविरुद्ध आवाज उठाउँदै सरकारसँग न्याय माग्न सडक आसपास शीतल खोज्दै आन्दोलनकारीहरू गमिरहेका छन् ।

यत्तिकैमा बिजुलीबजार साइडदेखि केही सुस्तावासीहरू आफ्नो जग्गाको लालपुर्जालगायत आफूलाई नागरिक दर्ज गराउने कागजपत्रहरू बोकेर आन्दोलनरत देखिन्छन्। कसैले सुस्ताको माटो पोको पारेर मानौँ राजधानीलाई चिनारी गर्नका लागि ल्याइदिएका छन्।

यही आन्दोलनकारीहरूको समूहमा छन् एक वयोवृद्ध । ८० नाघेको उनको शरीरमा अझै पनि गोलीका खतहरू छन् ।

ती खत कुनै व्यक्तिगत दुश्मनीका निशान होइनन्, नेपालको सीमा जोगाउने सङ्घर्ष गर्दाका प्रमाण हुन्। चार दशकअघि सुस्ताको माटो जोगाउन उनले आफ्नै छातीमा गोली थापे।

तर आज, जीवनको उत्तरार्धमा आइपुग्दा उनी फेरि अर्को लडाइँ लडिरहेका छन्- यसपटक सीमा जोगाउन होइन, आफू नेपाली भएको प्रमाणित गर्न र आफ्नै राज्यले आफ्ना नागरिकको आवाज सुनोस् भनेर।

अझै पनि मुन्नाको शरीरमा गोलीका डरलाग्दा खतहरू देखिन्छन्। उनको उमेर र शरीरले भोग्नुपरेको चोट भूगोलको सीमान्तमा बसेर देश र परदेश दुवैको ताडना खाएकाहरूको प्रतिनिधि बन्न पुगेको छ।

यही आग्रह बोकेर वयोवृद्ध शरीर घिसार्दै उनी पनि माइतीघर मण्डला आइपुगेका छन् र फेरि एकपटक आफूलाई सडकमा उभ्याएका छन् । उनी हुन्- मुन्ना खान ।

छातीका गोलीका खत पुराना भइसके, तर मुन्ना खानको सङ्घर्ष अझै पुरानो भएको छैन।

हुन त यो समय उनको अझै पनि आफ्नो राष्ट्रियताको परीक्षा दिइरहने उमेर होइन। देशको भूगोलभित्र ससम्मान बाँच्न पाउनुपर्‍यो भनेर चिच्याइरहनुपर्ने समय होइन। यो उनको रहर पनि होइन।

‘अझैसम्म हामीले छातीमा बन्दुक थापेर बाँच्नुपरेको छ। तर, अझै हामी नै देशको अनागरिक भएर बाँच्नुपर्ने। यो दोहोरो व्यवहार किन ?’ उनी सरकारलाई प्रश्न गर्छन्।

सुस्तावासीहरू १६ असारमा काठमाडौँ आइपुगेका हुन्। भारतीय एसएसबीको निरन्तर आखेटबाट आजित भएर आफ्नो समस्या सरकारलाई सुनाउन उनीहरू यहाँ आइपुगेका हुन्।

यसअघि १४ असारमा बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। अभियानका प्रतिनिधिहरूले सरकारको निरन्तर उपेक्षाका कारण निर्णायक आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

उनीहरूका अनुसार, यस विषयमा पटक-पटक प्रधानमन्त्रीको सचिवालयसँग समय माग्दा पनि सुनुवाइ हुन सकेको छैन।

०००

आम मानिसको जसरी आफ्नो भूगोल र भूगोलका सांस्कृतिक तत्त्वहरूसँग सम्बन्ध हुन्छ, खान त्यसको अपवाद हुनै सक्दैनन्।

मुन्ना खानका अनुसार, २०२१/२२ सालतिर सुस्तामा उनीहरूको व्यवस्थित बसोबास भएको थियो। त्यसबेला किशोर गुरुङको नेतृत्वमा तत्कालीन राजा महेन्द्रले सीमा क्षेत्रमा बस्नका लागि पूर्वसैनिक तथा पूर्वप्रहरीहरूलाई जग्गा वितरण गरेका थिए।

उनी भन्छन्, ‘मेरो बाजे पनि प्रहरी सेवामा हुनुहुन्थ्यो। त्यसैले त्यतिबेलाको सरकारले डेढ बिघा जग्गा पनि दिएको रहेछ।’

२०२९ सालमा उक्त जग्गाको औपचारिक नापजाँच गरिएको थियो।

त्यसपछिका केही वर्ष सामान्य रूपमा बिते पनि २०३४ सालको बाढीले सुस्ताको इतिहासमा कहिल्यै नमेटिने पीडा थपिदियो।

२०३४ सालमा आएको विनाशकारी बाढीले सुस्ताको सम्पूर्ण बस्तीलाई नै बगाइदियो। पूर्वसैनिक, प्रहरी परिवारका साथै मुसहर र मुस्लिम समुदाय गरी त्यतिबेला त्यहाँ करिब ४८० घरधुरी बसोबास गर्थे।

बाढीले घरबारविहीन बनाएपछि विस्थापित परिवारहरूलाई त्रिवेणी, सगुवा मारी, पठेया गला र फर्सैया गरी चार फरक स्थानमा पुनःस्थापना गरिएको थियो। यसरी बाढीको प्रकोपपछि सुस्ताका बासिन्दाहरू विभिन्न क्षेत्रमा छरिन बाध्य भए।

बाढीपछिको सबैभन्दा गम्भीर समस्या नागरिकताको अभावका रूपमा देखापर्‍यो। नागरिकता नहुँदा त्यस क्षेत्रका करिब ८० घरधुरीले राज्यबाट पाउने अधिकारबाट वञ्चित हुनुपरेको र ‘सुस्तावासी’ भनी चिनिनुपरेको पीडा मुन्ना खान पोख्छन्।

सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा

२०३८ सालमा उनी तत्कालीन बडाहाकिम काजीमानको नेतृत्वमा टोली लिएर सुस्ता फर्कने अनुमति माग्न पुगे। सुस्ता नेपालकै भूभाग भएकाले त्यहाँ बसेर भूमि रक्षा गर्ने उद्देश्यसहित ३६ घरधुरीले पुनः बसोबास सुरु गरेका थिए।

त्यस समय जग्गाको सर्जमिन गर्ने क्रममा भारतीय पक्षबाट निरन्तर दबाब र प्रलोभन आउन थाल्यो। भारतीय पक्षले उनीहरूलाई नेपाली पहिचान त्यागी भारतीय आधार कार्ड लिन, बैंक सुविधा र जग्गाको लालपुर्जा पाउने लोभ देखाउँदै भारतीय बन्न दबाब दियो।

मुन्ना खान र उनको समुदायले भने भारतीय प्रलोभनलाई पूर्ण रूपमा अस्वीकार गरे। उनले भारतको झण्डा स्वीकार गर्नुको सट्टा नेपालको झण्डा बोकेर आफ्नो अस्तित्व जोगाउने अडान लिए।

‘हामीलाई आफ्नो राष्ट्रियता नै प्यारो हो। हाम्रो भूभाग कसैको प्रलोभनअगाडि केही होइन,’ उनी भन्छन्।

यस्तो अडान राखेबापत उनले कठोर मूल्य चुकाउनुपर्‍यो। उनले आफ्नो बुबालाई भारतीय पक्षले पक्राउ गरी जेलमा राखेको घटना स्मरण गरे। यही घटनापछि उनको परिवारमाथि भारतीय पक्षबाट निरन्तर दमन र दबाबको शृङ्खला सुरु भयो।

०००

२०४० सालतिर खेत जाेतीरहेका बेला मुन्ना खानको ट्याक्टर र गाडीमाथि भारतीय पक्षबाट आक्रमण भयो। खेत जोत्ने क्रममा चालक र सहचालकलाई नियन्त्रणमा लिई गाडीमा आगो लगाइएको उनी सम्झन्छन्।

त्यसपछिको सबैभन्दा भयावह घटना ३० भाद्र २०४० को आइतबार साँझ घट्यो। करिब २८-३० जनाको सशस्त्र समूहले अन्धाधुन्ध गोली चलाए। उक्त भिडन्तमा मुन्ना खानले राइफल खोसेर आत्मरक्षामा आक्रमणकारीलाई नै प्रहार गरेका थिए।

सो क्रममा उनलाई छ वटा गोली लागे। घटनामा परी उनको पक्षका तीनजनाले ज्यान गुमाए भने दुईजना गम्भीर घाइते भए। उनका आफ्नै भेनाको पनि यस क्रममा मृत्यु भयो।

‘तर, मैले जति प्रयास गर्दा पनि सबैको ज्यान बचाउन सकिनँ,’ उनी भन्छन्।

अझै पनि मुन्नाको शरीरमा गोलीका डरलाग्दा खतहरू देखिन्छन्। उनको उमेर र शरीरले भोग्नुपरेको चोट भूगोलको सीमान्तमा बसेर देश र परदेश दुवैको ताडना खाएकाहरूको प्रतिनिधि बन्न पुगेको छ।

आन्दोलनमै उपस्थित उनका छोरा सलाम खान भन्छन्, ‘हामी नै सीमाको सुरक्षार्थ खटिएका छौँ। अनि, हाम्रो नै राष्ट्रियताको बारम्बार परीक्षा हुन्छ। हामी त दोहोरो मारमा छौँ।’

सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा

उक्त घटनापछि सुस्ताको सुरक्षा व्यवस्थामा कडाइ गरियो। कम्तीमा १२० जना सशस्त्र सुरक्षाकर्मी त्यहाँ तैनाथ गरिए। सुरक्षा व्यवस्थालाई स्थायी बनाउने उद्देश्यले मुन्ना खानले नै प्रहरी चौकीका लागि एक बिघा जग्गा दान गरे।

जहाँ हाल सुविधासम्पन्न चौकी सञ्चालनमा छ। अहिले उक्त क्षेत्रको अवस्थामा धेरै सुधार भई पूर्वाधारहरू पक्की भइसकेका छन्।

सुस्ता बचाउ अभियानमार्फत उनीहरूले राज्यसमक्ष सातबुँदे माग राखेका थिए। जसमा मुख्य गरी पुल, विद्यालय, बाटोघाटोको निर्माण तथा नदी तटबन्धको आवश्यकतालाई जोड दिइएको थियो। उनका अनुसार सातमध्ये चारवटा मागहरू पूरा भइसकेका छन् र बाँकी तीनवटा मागहरू पूरा गर्न राज्यको विशेष पहल आवश्यक छ।

०००

मुन्ना खान राज्यबाट भोग्नुपरेको विभेद र नागरिकताको पीडालाई निकै मार्मिक रूपमा प्रस्तुत गर्छन्। उनले २०३३ सालमै नागरिकता पाउनुपर्ने योग्यता पूरा गरे पनि वञ्चित हुनुपर्‍यो। २०३६ सालमा मात्र लालपुर्जा प्राप्त गरे। उनका दुई छोराले नागरिकता पाए पनि आफू भने नागरिकताविहीन छन्।

आफ्नो भूमिको रक्षार्थ सङ्घर्षमा होमिएका मुन्ना खानलाई तत्कालीन समयमा पूर्वमन्त्री कमल थापाले ‘जिउँदो सहिद’ कै नाम दिएका थिए। तर, नागरिकताको सवालमा राज्यको उदासीनताले उनलाई गहिरो क्षोभ थपेको छ।

उच्च शिक्षा हासिल गरेका मुन्ना खानका दुई छोराको बाल्यकाल सुस्ताको असहज परिस्थितिले गर्दा कष्टकर रह्यो। छोरा सानो छँदा भारतीय पक्षले विद्यालयबाटै अपहरण गरी लगेको घटनाले उनको परिवारमाथि भएको दमनको सीमा स्पष्ट पार्छ।

अब आफ्नो जीवनको उत्तरार्धमा रहेका उनी सुस्ताको भविष्य र अधिकारको सङ्घर्षलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छन्। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको भूमि र अस्तित्व जोगाउनुपर्ने उनको अठोट अझै पनि उत्तिकै दृढ छ।

मुन्नाको आफ्नो लामो आयु सुस्ताकै संघर्षमा व्यतीत भयो। आफ्ना व्यक्तिगत सपनाहरू सुस्ताकै लडाइँमा ओझेल परे। बेलाबेला स्वजनहरूले यस कुरालाई नसम्झाएका पनि होइनन्।
‘आजसम्म सुस्ता-सुस्ता भनेर लाग्दा तपाईंले के पाउनुभयो भनेर सोध्नेहरू पनि छन्। यो कुराले मलाई नपिरोल्ने चाहिँ होइन,’ उनी सम्झन्छन्।

मुन्ना यसरी नै आन्दोलनका लागि काठमाडौँ आइपुगेको ७-८ चोटी भइसकेको छ। तर पनि आफ्नो आवाज सरकारले नसुनेको देख्दा उनी अचम्मित छन्। राज्यको संवेदनहीनतालाई उनले नजिकबाट नियालेका छन्। यद्यपि, पुराना सरकारहरूको तुलनामा नयाँ सरकारप्रति आफू आश्वस्त रहेको बताउँछन्।

‘पुराना सरकारहरूका लागि त हामी भोट मात्र थियौँ। तर नयाँ सरकारले हाम्रो समस्या बुझिदिन्छ भनेर हामीलाई आशा छ। हामीसँग हाम्रो समस्याको बारेमा संवाद गरेर मात्र हामीलाई पठाओस्,’ सरकारसँग संवादको अपेक्षा राख्दै उनी भन्छन्।





Source link

Leave a Comment