प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार

अमेरिकाले इरानमाथि पुनः हमला गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार जलमार्ग नजिकै एक व्यापारिक मालवाहक जहाजमाथि इरानले बिहीबार गरेको आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको हो।
अमेरिकी सेनाले आफ्ना लडाकु विमानहरूले इरानका क्षेप्यास्त्र तथा मानवरहित विमान (ड्रोन) भण्डारण स्थल र तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ।
सेनाका अनुसार व्यापारिक जहाजमाथि गरिएको आक्रमणले युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन गरेको छ। यद्यपि, अमेरिकी अधिकारीहरूले यो कारबाही पूर्ण रूपमा युद्ध पुनः सुरु भएको सङ्केत नभएको बताएका छन्।
उता, इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिकी आक्रमणको जवाफस्वरूप यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ। तर, अमेरिकाले त्यसको पुष्टि गरेको छैन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिंसाको जवाफ हिंसाले नै दिइने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो। हामीले आफ्नो प्रतिबद्धता पूरा गरेका छौँ। यदि सम्झौताको कार्यान्वयनबारे कुनै असहमति छ भने वार्ताबाट समाधान खोज्नुपर्छ। तर हिंसाको जवाफ हिंसाले नै दिइनेछ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ड्रोन आक्रमणलाई “युद्धविराम सम्झौताको मूर्खतापूर्ण उल्लङ्घन” को संज्ञा दिएका थिए। तर उनले यस घटनापछि अमेरिका पुनः व्यापक युद्धमा फर्किने वा नफर्किनेबारे स्पष्ट धारणा व्यक्त गरेका थिएनन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले हर्मुज जलमार्गबाट गुज्रिरहेका जहाजहरूलाई लक्षित गरी कम्तीमा चारवटा एकतर्फी आक्रमण गर्ने मानवरहित विमान प्रहार गरेको बताएका थिए। तीमध्ये एउटा मानवरहित विमानले ठूलो तथा महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रहार गरेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार जहाजमा केही क्षति पुगे पनि यात्रा जारी राख्न सफल भएको थियो भने अमेरिकी सेनाले बाँकी तीनवटा मानवरहित विमान खसालेको थियो।
केही घण्टापछि ट्रम्पले उक्त घटनाले लामो समयसम्म चलेको सैन्य कारबाहीपछि पनि इरानसँग केही सैन्य क्षमता बाँकी रहेको देखाएको टिप्पणी गरे। उनले भने, “उनीहरूसँग धेरै होइन, केही क्षमता अझै बाँकी छ। उनीहरू युद्ध जितिरहेका छैनन्, तर अझै पनि आक्रमण गर्न सक्छन्।”
अमेरिका र इरानबीच हर्मुज जलमार्ग पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने समझदारी भएपछि यो पहिलो सुरक्षा घटना हो। इरानले हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रणलाई वार्ताको महत्त्वपूर्ण माध्यमका रूपमा लिएको छ।
