पातालकी पाइलट


उनको सपना थियो, पाइलट बन्ने। सपना देख्ने प्रेरणा थियो, आफ्नै बाबुको पेशागत जीवन। समयले उनलाई पाइलट त बन्न दिएन; तर पनि उनी आफूले छानेको पेशामा पूर्ण सन्तुष्टिका साथ हरेक दिन रमाउँदै काम गरिरहेकी छिन्। उनी हुन्, भावना भण्डारी र उनले चुनेको पेशा हो- ‘एट्टिन ह्विलर ट्रक ड्राइभर’, त्यो पनि नर्थ अमेरिका (क्यानडा) मा।

उनीसँग पहिलो भेट सन् २०१४ तिर भएको थियो; त्यतिबेला नै उनी त्यो विशाल ट्रक चलाउने व्यक्ति हुन् भन्ने थाहा पाएर पङ्क्तिकार रोमाञ्चित भएकी थिएँ। किनकि, नेपालमा जन्मिएर हुर्केको मानिस, आफ्नो परिवेशभन्दा धेरै टाढा पुगेर त्यहीं पनि महिलाहरूको सङ्ख्या कम हुने पेशामा कार्यरत रहनु भनेको पक्कै सजिलो थिएन। त्यसैले कुराकानी गर्न खोजें, तर त्यतिबेला उनी तयार थिइनन्। शायद, नेपाली समाजले जुनसुकै पेशा र कामलाई सम्मानजनक दृष्टिकोणले नहेर्ने भएर पो हो कि !

भावनाका बुबा कर्णेल मदन केसी नेपालमा हेलिकप्टर उद्धारकका रूपमा प्रशंसित व्यक्ति हुन्। उनले इतिहासकै सबैभन्दा उच्च हेलिकप्टर उद्धारको कार्य पूरा गरेर अन्तर्राष्ट्रिय रेकर्ड समेत राखेका छन्। भावना सानो छँदा उनी बुबासँगै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टमा, सैनिक ब्यारेक भएको स्थानमा पुगिरहन्थिन्। त्यहाँ राखिएको हेलिकप्टर उड्दा र अवतरण हुँदा उनको बालमस्तिष्कले पाइलट बन्ने खाका कोरिसकेको थियो।

उनले देख्ने र सोच्ने भनेकै प्लेन/हेलिकप्टर उडाउने सपना थियो। उनी भन्छिन्, ‘मलाई लागेको रहर, घरपरिवारमा डर बनिदियो, विशेषगरी मेरो मामुलाई। छोरीलाई यताउता लगाउनुभन्दा पनि विवाह गरेर पठाउँदा ठिक हुन्छ भन्ने लाग्यो। फेरि त्यतिबेला नेपालमा भइरहने साना प्लेन दुर्घटना र दुइटा ठूला प्लेन- थाई एअर र पीआईए क्र्यासका घटनाले त मेरो सपनामा ब्रेक नै लाग्यो।’

उनी भन्छिन्, ‘जब मेरा साथीहरू डाक्टर, इन्जिनियर बन्छु, यो बन्छु, त्यो बन्छु भन्थे, म चाहिं ‘पाइलट बन्छु’ भन्थें। मैले त्यो प्रेरणा ड्याडीबाटै लिएकी थिएँ। ड्याडीले गरेको उद्धार कार्यहरूका समाचार टेलिभिजनमा हेरिन्थ्यो; घरमा पनि ड्याडीका साथीहरू आउँदा कुराकानीको माहोल नै त्यस्तै हुन्थ्यो।’

स्मरणीय छ, नेपालमा १६ साउन २०४९ मा नुवाकोट जिल्लाको घ्याङफेदीमा थाई एअरवेजको एअरबस ए३१० दुर्घटना भएको थियो; जसमा सवार ९९ यात्री र १४ जना चालक दलका सदस्य गरेर कुल ११३ जनाको मृत्यु भएको थियो। त्यसैगरी ५९ दिनको अन्तरालमा २०४९ असोज १२ गते ललितपुर जिल्लाको भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल (पीआईए) को एअरबस ‘ए३००’ दुर्घटना भएको थियो। कराँचीबाट काठमाडौं आउँदै गरेको उक्त प्लेन अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार १६७ जनाको मृत्यु भएको थियो। शायद, त्यो दुर्घटना नेपाली आकाशमा भएको अहिलेसम्मकै ठूलो हो।

समयक्रममा उनको विवाह इन्जिनियर सञ्जीव भण्डारीसँग भयो। विवाह पश्चात् भावना अमेरिका पुगिन्; त्यसपछि बसाइँ सरेर क्यानडा। उनले त्यहाँ विविध क्षेत्रमा काम गरिन्। आफ्नै बिजनेस पनि खोलिन्; तर किन हो, ट्रक देख्दा उनी मुग्ध हुन्थिन्। उनलाई ट्रक चलाउने रहर लाग्थ्यो; तर ‘चलाउन सक्छु कि सक्दिनँ’ भन्ने सोच पनि आउँथ्यो।

एक दिन छोरीलाई स्कूल पुर्‍याउन गएको बेलामा ट्रक चलाउन सिकाउने कम्पनीको गाडी पछाडि उनको गाडी रोकिएछ, त्यहाँ उनले उक्त कम्पनीको नम्बर देखिछन्। ‘मैले तुरुन्तै त्यो नम्बरमा फोन गरें र सोधें- ‘केटी मान्छेले पनि ट्रक चलाउँछन् ?’ उनी भन्छिन्। उनलाई त्यतिबेलासम्म केटीले ट्रक चलाउँछन् कि चलाउँदैनन् भन्ने पनि थाहा रहेनछ। स्मरण रहोस्, यहाँ व्यापारिक प्रयोजनका लागि पेशागत रूपमा चलाइने ‘हेभी ट्रक ड्राइभिङ’ को कुरा गरिंदैछ।

एकपटक मलाई इमिग्रेसन अफिसमा समेत भने- हामी हरेक दिन धेरै जना ड्राइभर देख्छौं, तिमीजति खुसी हुँदै आएको एकदम कम मात्रै देख्न पाइन्छ।’

छोरीलाई स्कूल छाडेर उनी सिधै ड्राइभिङ स्कूल पुगिछन्। स्कूलका मालिक युकेबाट आएका पञ्जाबी रहेछन्। युकेमा बस्दा एउटा डाक्टर नेपाली परिवारसँग घनिष्ठता जोडेका उनी नेपालीलाई अत्यन्तै स्नेह गर्दा रहेछन्। भावना नेपाली हो भन्नेबित्तिकै स्कूल सञ्चालकले झनै उत्साहित बनाउँदै भनेछन्, ‘कस्ता-कस्ता मानिसले ट्रक चलाएका छन्, तिमीले किन नसक्नु !’

तर, ‘एट्टिन ह्विलर ट्रक ड्राइभिङ’ लाई पेशा बनाउनु खेलाँची कुरा होइन। त्यसका लागि ‘एअर ब्रेक’ अनुमोदन भएको ओन्टारियो क्लास ‘एजी लाइसेन्स’ हुनुपर्छ। त्यो लाइसेन्स भएको व्यक्तिले मात्रै फुलसाइज एट्टिन ह्विलर चलाउन पाउँछ। ओन्टारियोको मिनिस्ट्री अफ ट्रान्सपोर्टेसनले प्रदान गर्ने ड्राइभिङ लाइसेन्सलाई १२ क्याटागोरीमा बाँडेको छ; उक्त १२ मध्ये तीन मुख्य क्याटागोरी हुन्- यात्रु, व्यावसायिक र मोटरसाइकल। त्यसमा कुन सवारी कुन क्याटागोरीको लाइसेन्सले चलाउन पाइन्छ भनेर निर्धारण गर्ने मात्रै होइन कि ‘क्लास ए लाइसेन्स’ ले कतिसम्मको तौल भएको ट्रेलर तानेर चलाउन पाउने हो भन्ने पनि तोकेको हुन्छ।

उक्त सवारी साधन चलाउने व्यक्तिले पहिले मेडिकल जाँच पास गर्नुपर्छ। त्यसपछि एअर ब्रेक सिस्टममा सिपालु हुनुपर्दछ, अनि मात्रै सैद्धान्तिक ट्रेनिङ शुरु हुन्छ। हेभी ड्युटीका ट्रकहरूमा सामान्य कारहरूमा जस्तो फ्ल्युडले चल्ने हाइड्रोलिक ब्रेक नभएर कम्प्रेस्ड एअर ब्रेक हुन्छ। ती सबैका लागि म्यान्डेटरी इन्ट्री लेभल ट्रेनिङदेखि लिएर सैद्धान्तिक, व्यावहारिक, यार्डमा ट्रक पार्क गर्ने, एअर ब्रेक लगायतका विधामा कम्तीमा १०३ देखि ११५ वा २०० घण्टासम्मको तालिम प्राप्त गरेको हुनुपर्दछ। त्यति गरेर पनि काम पाइन्छ भन्ने छैन।

त्यो पहिलेको कुरा थियो, भावनाका अनुसार अहिले त ६ महिनाको कलेज कोर्स नगरी ट्रक ड्राइभरको लाइसेन्स पाइँदैन। त्यो कोर्स खर्चिलो पनि हुन्छ।

ट्रक चलाउन थालेपछि पनि हरेक पाँच वर्षमा ‘एअर ब्रेक’ को परीक्षा दिनुपर्छ। उच्च रक्तचाप भयो भने लाइसेन्स ‘रिभोक’ (खारेज) हुन्छ।

ट्रक चलाएको बेलामा टिकट (जरिवाना) पायो भने ड्राइभरले मात्रै पाउने होइन कि चलाएको ट्रकको कम्पनीले समेत पाउँछ। टिकट पनि सस्तो हुँदैन, २०० देखि केही हजार डलरसम्म हुन सक्छ। स्पिडिङ, रेड लाइट, प्यासेन्जरले सिटबेल्ट नलगाएमा २ देखि ६ प्वाइन्टसम्म पाउन सक्छन्। ९ प्वाइन्ट पुगेपछि ओन्टारियो मिनिस्ट्री अफ ट्रान्सपोर्टेसनमै हाजिर हुन जानुपर्छ र १५ प्वाइन्ट पुग्यो भने लाइसेन्स नै निलम्बित हुन्छ।

र, हरेक पटक ड्राइभरले टिकट पाउँदा कमर्सियल भेहिकल अपरेटर्स रजिस्ट्रेसनमा मनिटर भइरहेको हुन्छ। जसले गर्दा कम्पनीको ‘क्यारियर सेफ्टी रेटिङ’ नै घट्छ। त्यसैले कम्पनीहरूले पनि राम्रो चालक नभइकन किन नियुक्ति दिन्छन् र !

भावनाको कम्पनी यस मामिलामा अझै कडा छ भन्ने उनलाई लाग्छ। उनी भन्छिन्, ‘यदि मैले मेरो गल्तीका कारणले टिकट पाएँ भने ट्राफिकको टिकटको त पैसा बुझाउनुपर्छ नै, मलाई मेरो कम्पनीले पनि फाइन गर्छ।’

उनी आफ्नो पेशालाई धेरै सम्मान दिन्छिन् र कामको आनन्द उठाउँछिन्। हुन पनि, कामलाई बोझ ठानेर गर्ने हो भने त्यो पहाड चढेसरह हुन्छ भने आत्मसन्तुष्टिका रूपमा अँगाल्दा सहज हुन्छ। ‘कम्तीमा ३०० पटक निवेदन हालेपछि मैले पहिलो पटक ट्रक चलाउन पाएकी हुँ।

‘पहिलो पटक ट्रकको स्टेयरिङ समाएर बस्दा त हाम्रो नेपालको सानो जहाजको ककपिटमा बसेको जस्तै लाग्यो। केनवर्थ कम्पनीको ट्रक थियो, एकदमै रमाइलो लाग्यो। आफूले रहर गरेर पाएको काम थियो।’

भावनाकै भनाइ अनुसार, ट्रकको लाइसेन्स लिने समयमा मानिसहरू १५/१६ पटक पनि फेल हुन्छन् रे; तर उनले एकै पटकमा पास गरिछन्। ‘बरु कारको लाइसेन्स लिन जाँदा एकपटक फेल भएकी थिएँ, ट्रकको त एकै पटकमा पास गरें। जिन्दगीमा पहिलो पटक एकै पटकमा सफलता हासिल गरेको विषय नै त्यही होला !’ हाँस्दै आफ्नो अनुभव सुनाउँछिन्।

उनी भन्छिन्, ‘मैले २५ वर्षको उमेरदेखि घरबाहिर काम गर्न थालेको, फरक-फरक कामहरू गरें; तर यो पेशामा जति खुसी अरू कुनै काम गर्दा पनि लागेको छैन। एकपटक मलाई इमिग्रेसन अफिसमा समेत भने- हामी हरेक दिन धेरै जना ड्राइभरहरू देख्छौं, तिमीजति खुसी हुँदै आएको एकदम कम मात्रै देख्न पाइन्छ।’

भावनालाई परिवारबाट पनि आफ्नो खुसी र सन्तुष्टिको क्षेत्रमा काम गर्न कुनै रोकटोक भएको छैन। खालि उनकी आमालाई भने छोरीले ‘म ट्रक ड्राइभर बन्छु’ भन्दा चित्त बुझेको रहेनछ। उहाँले भन्नुभएको रहेछ, ‘म बाचुन्जेल नगर; म मरेपछि जेसुकै गर।’

उनले ट्रक चलाउन शुरु गरेको सन् २०१२ देखि हो। सन् २०२४ को मे महिनासम्ममा उनले २० लाख किलोमिटरसम्म ट्रक चलाइसकेकी छिन् र हालसम्म उनको ड्राइभिङ रेकर्ड राम्रो रहेको छ। उनको ट्रक गाडीका इन्जिनहरू लिएर हप्तामा तीन-चार पटक क्यानडाबाट अमेरिका पुग्छ। यसका लागि हरेक पटक जाँदा र आउँदा इमिग्रेसनबाट पास हुनुपर्छ।

यदि छोटो दूरीको सामान ढुवानी गर्नुछ भने त दिनको दुई-तीन पटकसम्म इमिग्रेसनबाट ओहोरदोहोर गर्नुपर्छ। उनका अनुसार, उनी क्यानडामा त १० प्रतिशत पनि ट्रक चलाउँदिनन्; ९० प्रतिशत समय अमेरिकातिरै जान्छिन्। विगत ४/५ वर्षदेखि क्यानडाको ओन्टारियो प्रान्तको विन्डसरदेखि अमेरिकाको केन्टकीसम्म फोर्ड कम्पनीको इन्जिन लिएर जान्छिन्; कारण, उनी अटो पार्ट्समा काम गर्छिन्। उनीहरूले सामान ढुवानी गर्दा ट्रक चलाएर सामान पुर्‍याइदिने मात्रै हो; लोड/अनलोडको कार्य उनीहरूले गर्नुपर्दैन।

‘दिनको एघार घण्टाभन्दा बढी ट्रक चलाउन पाइँदैन; एघार घण्टा भएपछि हामीले ब्रेक लिनैपर्छ। त्यतिबेला हामी (ट्रक ड्राइभरहरू) तोकिएको ट्रक पार्क गर्ने ठाउँमा ट्रक पार्क गरेर ‘स्लीपर क्याब’ (सुत्ने कोठा जस्तो स्थान) मा सुत्छौं।’ स्लीपर क्याब (जसलाई छोटकरीमा स्लीपर भनिन्छ), त्यो चालकको क्याबिन (गुड्ने भाग) सँगै जोडिएको हुन्छ। त्यहाँ बेड, साना खालका क्लोजेट वा क्याबिनेट, फ्रिज, टेलिभिजन तथा माइक्रोवेभ समेत हुन्छ।

त्यसरी पार्किङ लटमा रात बिताउँदा यौन हिंसा हुने वा अन्य कारणले डर लाग्दैन त ? भन्ने प्रश्नको जवाफमा भावना भन्छिन्, ‘त्यस्तो कुराको त चान्स नै छैन। ट्रक ड्राइभर भनेपछि सोही क्षेत्रमा काम गर्नेहरूले सम्मान गर्छन् भने बाहिरका मानिसहरू डराउँछन्। पहिलोचोटि ट्रक चलाउँदा मैले आफूलाई एकदमै शक्तिशाली महसुस गरें; रेस्पेक्ट पनि उत्तिकै पाएँ। त्यस्तो पाउँछु भनेर त म आफैंले पनि सोचेकै थिइनँ’, उनी भन्छिन्।

नर्थ अमेरिकामा महिलाहरूले सन् १९१८ देखि ट्रक चलाउन थालेका रहेछन्; त्यो पनि बाध्यतावश। किनकि, प्रथम विश्वयुद्धका कारणले पुरुषहरू युद्ध क्षेत्रमा जानुपरेकोले अमेरिकाको विसकन्सिन राज्यस्थित ‘फोर ह्विल ड्राइभ अटो कम्पनी’ ले १५० जना महिलाहरूलाई जागिर दिएको रहेछ। त्यतिबेला ट्रक ड्राइभरको लाइसेन्स लिने प्रथम महिला लुएला बेट्स रहिछन्।

त्यो समयदेखि ट्रक ड्राइभर महिला देखिए पनि सो पुरुषहरूले नै आधिपत्य जमाएको पेशा हो। विभिन्न औद्योगिक प्रतिवेदन- ‘विमेन इन ट्रकिङ इन्डेक्स’, ‘एटीआरआई रिसर्च’ आदिका अनुसार व्यावसायिक ट्रक चालकहरूमा महिलाहरूको सङ्ख्या केवल ४ देखि ९.५ प्रतिशत मात्रै देखिन्छ।

अझ त्यसमा पनि लामो दूरीमा एट्टिन ह्विलर चलाउने महिलाहरू ४ प्रतिशत मात्रै छन्। ट्रकिङ एजेन्सी भनेको श्वेत जातिको बाहुल्य भएको पेशा हो। तथ्याङ्क अनुसार कुल चालकहरूमध्ये ५७ देखि ५८.५ प्रतिशत ट्रक चालकहरू श्वेत जातिका छन् भने महिला चालकहरूमा पनि श्वेत महिला चालकहरूकै बाहुल्य बढी छ। त्यसपछि हिस्प्यानिक र तेस्रोमा अश्वेत महिलाहरू पर्दा रहेछन्।

महिलाहरू उक्त पेशामा कम हुनुका कारणमध्ये पहिलो त पुराना ट्रकका सिट, पेडल र स्टेयरिङ ह्विलहरू औसत पुरुषको उचाइ र शारीरिक बनावट अनुसार डिजाइन गरिनु हो। सन् २०१५ अगाडि म्यानुअल गियरमा मात्रै ‘रोड टेस्ट’ दिनुपर्ने भएकोले महिलाहरूको सङ्ख्या एकदम कम देखिएको बताउँछिन् भावना।

सन् २०१५ पछि अटोमेटिक ट्रकमा टेस्ट दिन पाउने भएपछि पहिलेको तुलनामा सजिलो भयो। अन्य कारणहरूमा- घरबाट हप्तौंसम्म पनि बाहिर रहनुपर्ने हुन सक्छ, त्यसले गर्दा पारिवारिक सन्तुलन मिलाउन गाह्रो हुन्छ; धेरै ट्रक स्टपहरूमा महिलाहरूका लागि छुट्टै बाथरुम वा नुहाउने ठाउँहरूको सुविधा नहुने; पार्किङ स्टपहरू सुनसान ठाउँमा हुने हुनाले महिलाहरू आफैं पनि सुरक्षाको कमी महसुस गर्ने आदि कारणले यो क्षेत्रमा आउन सकेका छैनन्।

भावना हक्की र निडर स्वभावकी भएकीले उनले शारीरिक वा यौन उत्पीडन भएको महसुस गर्न नपरे तापनि पुरुष बाहुल्य क्षेत्र भएकाले कार्यस्थल वा तालिमका क्रममा मौखिक वा मानसिक उत्पीडनका घटनाहरू हुँदैनन् भनेर विश्वास गर्न गाह्रै हुन्छ।

अमेरिकन ट्रान्सपोर्टेसन रिसर्च इन्स्टिच्युटको प्रतिवेदन अनुसार करिब १७ प्रतिशत महिला चालकहरूले कार्यस्थलमा हरेक दिन लैङ्गिक विभेद वा उत्पीडनको सामना गर्छन्; जबकि पुरुषहरूको हकमा यो दर ८.४ प्रतिशत मात्र छ। सङ्घीय निकाय फेडरल मोटर क्यारियर सेफ्टी एडमिनिस्ट्रेसनको ‘क्राइम प्रिभेन्सन फर ट्रकर्स’ अध्ययन अनुसार ५९ प्रतिशत महिला चालकहरूले कार्यस्थल वा तालिमका क्रममा अपमानजनक शब्द वा गालीगलौजको सामना गरेका छन्।

केही मानिसहरूले नेपालमा ‘म त साथीको एट्टिन ह्विलर ट्रकमा पूरै नर्थ अमेरिका घुमें’ भनेर गफ गरेको पनि सुनिन्छ; तर १८ ह्विलरमा चालक बाहेक अन्य यात्रु चढ्नका लागि ओन्टारियो मिनिस्ट्री अफ ट्रान्सपोर्टेसनले लागू गरेको कडा नियम पालना गर्नुपर्दछ। त्यसका लागि लिखित स्वीकृति चाहिन्छ। त्योसँगै यात्रा गर्ने मानिसको इन्स्योरेन्स हुनुपर्दछ। क्यानडाको नेशनल सेफ्टी कोड अनुसार कमर्सियल मोटर भेहिकलमा आधिकारिक बाहेकका व्यक्तिले यात्रा गर्न पाउँदैनन्।

भावनालाई परिवारबाट पनि आफ्नो खुसी र सन्तुष्टिको क्षेत्रमा काम गर्न कुनै रोकटोक भएको छैन। खालि उनकी आमालाई भने छोरीले ‘म ट्रक ड्राइभर बन्छु’ भन्दा चित्त बुझेको रहेनछ। उहाँले भन्नुभएको रहेछ, ‘म बाचुन्जेल नगर; म मरेपछि जेसुकै गर।’ सन् २०१० मा आमाको दुर्घटनामा परेर मृत्यु भएछ। आमाको मृत्युले दिएको पीडाबाट निस्कन उनलाई धेरै गाह्रो भएछ। ट्रक चलाउन थालेपछि बल्ल ‘ट्रमा’ बाट मुक्ति मिलेको जस्तो लागेछ।

अधिकांश नेपाली (विशेषगरी नेपालमा बस्ने) लाई त ‘ट्रक ड्राइभर पेशा’ अझै पनि हेयको दृष्टिकोणले हेर्ने पेशा जस्तो लाग्छ। क्यानडा पुगेर पनि ‘ट्रक ड्राइभर बनेकी रहिछ’ भनेर कसैले होच्याएको वा परिवारले ‘यस्तो पेशा नअँगाल !’ भनेर कहिल्यै सुन्नु परेन ?

‘अहँ, मेरो परिवारको कुनै पनि सदस्यले मलाई ‘किन यस्तो काम गरिस्’ भनेर प्रश्न गरेन। मेरा ससुरा (स्व.) चिफ इन्जिनियर तेजसिंह भण्डारी त सबैभन्दा धेरै खुसी होइबक्सन्थ्यो। पहिले मलाई ‘उहाँहरूलाई चित्त दुख्छ कि’ भनेर डर लाग्थ्यो, तर उहाँले त झन् धेरै सपोर्ट गरिस्यो। मेरो श्रीमान् सञ्जीव जो आफैं पनि इन्जिनियर हुनुहुन्छ, उहाँले पनि मलाई सधैं सपोर्ट गर्नुभयो। यदि सञ्जीवले नैतिक समर्थन नगरेको भए म यो फिल्डमा टिक्नै सक्दिनथें। किनकि, ट्रकिङ फिल्ड ‘मेल डोमिनेटेड’ (पुरुष बाहुल्य) फिल्ड हो।’

भावनासँग पहिलो पटक भेट्ने कसैले पनि ‘उनको पेशा ट्रक ड्राइभर हो’ भनेर विश्वास नगरेकोमा उनलाई हाँसो लाग्छ। यसको पनि राज रहेछ। अधिकांश मानिस ‘ट्रक ड्राइभर’ भन्यो कि छोटो पाइन्ट लगाएको, ट्याटु खोपेको, कपाल पनि राम्ररी नकोरेको जस्तो महिला होलिन् भनेर सोच्ने रहेछन्। तर भावना भने सधैं मोडल जस्तै भएर हिंड्ने, सारी-ब्लाउज र शृङ्गारको परिधानमा झकिझकाउ हुन मन पराउने; अनि त मानिसहरूले पत्याउँदै नपत्याउने रहेछन् !

केही वर्ष अगाडि क्यानडाको ब्राम्पटनमा नेपालीहरूले आयोजना गरेको कार्यक्रममा ‘पहिलो नेपाली महिला ट्रक चालक’ को अवार्ड दिन बोलाएका रहेछन्। त्यहाँ उनको परिधान देखेर मानिसहरू छक्क परे रे ! उनकै अनुसार उनी बच्चामा त्यस्ती थिइनन् रे; आफूलाई ‘टमब्वाइ’ भन्न रुचाउँथिन् रे ! उनको जीवनमा आफूलाई ‘फेमिनिन’ (नारीसुलभ) बन्न प्रेरणा दिनेचाहिं भारतीय सिनेमाका अभिनेता सलमान खान परेछन्।

उनी सन् १९९९ मा अमेरिकाको टेक्सास राज्यको ड्यालसमा रहिछन्। त्यतिबेला त्यहाँ सलमान खान कार्यक्रममा आएका रहेछन्। कार्यक्रम प्रस्तोताहरूसँगको चिनजानका कारणले उनी पनि ‘शो’ मा पुगेकी रहिछन्। ब्याकस्टेजमा उनलाई त्यहाँका मेकअप आर्टिस्टले चिनेको कारणले मेकअप गरिदिएछन्। सलमान खानले उनलाई देखेर भारतीय भन्ठान्दै हिन्दीमा बोलेछन्। उनले पनि हिन्दीमै ‘म इन्डियन होइन, नेपाली हुँ’ भनेर जवाफ फर्काइछन्। त्यो सुनेपछि सलमानले ‘नेपाली पनि यति राम्री हुन्छन् !’ भनेछन्।

उनलाई के चाहियो र ! जवान केटीलाई भारतको चर्चित अभिनेताले त्यसो भनिदिएपछि ‘हो न हो, म त्यही मेकअपले राम्री देखिएकी हुँ’ भनेर मेकअप आर्टिस्टलाई ‘मलाई के-के लगाइदिएका थियौ ?’ भनेर सोधिछन्। त्यतिबेला उनी र उनको अर्की साथी दुवैले त्यो आर्टिस्टले दिएको लिस्ट बोकेर मेकअपको सामान किन्न गएछन्। स्टोरमा सामान किनेर बिल हेर्दा त पूरै ५९८ डलर भएछ। यो प्रसङ्गमा हाँसोको फोहरा छुटाउँदै उनी भन्छिन्, ‘सन् १९९९; सलमान खानको कारणले ड्यालसमा ५९८ डलर खर्च गरेपछि मलाई ‘फेमिनिन फिल’ आएको हो।’

यसरी, आकाशको पाइलट बन्ने सपनालाई साकार पार्न नसके पनि पातालको पाइलट बनेर खुसहाल जिन्दगी बिताउने उनी जस्ता महिला, त्यसमा पनि नेपाली कति होलान् कुन्नि ! तर, उनी पङ्क्तिकारका लागि प्रेरणाकी स्रोत बनेकी छन्। त्यसैले, सन् २०१४ मा गर्न खोजेको कुराकानी सन् २०२६ मा अर्थात् १२ वर्षपछि भए पनि गरेरै छाडें।





Source link

Leave a Comment