प्रकाशित मिति : १३ असार २०८३, शनिबार

Photo: Brian Wangenheim/ Unsplash
अमेरिकाको केन्टकी राज्यमा भारी वर्षापछि आएको विनाशकारी बाढीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ। बाढीले पुलहरू बगाएको, सडकहरू डुबानमा पारेको र घरहरू जलमग्न बनाएपछि दर्जनौँ मानिसहरूको उद्धार गरिएको छ। मौसमविद्हरूले अझै थप भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
शनिबार दिनभर खोज तथा उद्धार कार्य जारी रह्यो। गभर्नर एन्डी बेशियरले ज्याक्सन काउन्टीमा एक जना र म्याडिसन काउन्टीमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। म्याडिसन काउन्टीमा ज्यान गुमाउनेहरूमा एक पुरुष र एक महिला रहेका छन्, जो पानीले भरिएको घरको भूमिगत कोठामा थुनिएर डुबेका थिए। यसअघि गभर्नर बेशियरले बाढीले गाडी बगाउँदा एक चालकको मृत्यु भएको बताएका थिए।
केही क्षेत्रमा ६ देखि ७ इन्चसम्म वर्षा भएपछि गभर्नरले संकटकाल घोषणा गर्दै थप स्रोतसाधन परिचालन गरेका छन्। साँझपख दोस्रो चरणको भारी वर्षा हुने सम्भावना रहेकाले उनले नागरिकहरूलाई सतर्क रहन र रातिको समयमा अत्यावश्यक कामबाहेक गाडी नलगाउन आग्रह गरेका छन्।
अध्याँरो भएपछि स्थिति अझ खराब हुन सक्छ। त्यसैले कृपया सम्भव भएसम्म राति गाडी नचलाउनुहोला,”गभर्नर बेशियरले भने।
ड्रोन भिडियोहरूमा केन्टकीको रिचमण्ड क्षेत्रमा एउटा खोला थुनिएर बस्तीमा पस्दा व्यापक क्षति भएको देखिएको छ। केन्टकीमा विगत केही वर्षयता लगातार यस्ता प्राकृतिक विपत्तिहरू आइरहेका छन्। यसअघि सन् २०२५ को सुरुवातमा २४ घण्टाभन्दा कम समयमा एक महिना बराबरको वर्षा हुँदा ठूलो क्षति भएको थियो भने सन् २०२२ को अभूतपूर्व बाढीमा दर्जनौँ मानिसले ज्यान गुमाएका थिए।
बाढीबाट बढी प्रभावित बुलिट काउन्टीमा सुरक्षित स्थानतर्फ स्थानान्तरण सुरु गरिएको छ। त्यहाँ अधिकारीहरूले एउटा बाँधलाई नजिकबाट नियालिरहेका छन्। बाँधको एक हिस्सा पहिरोले बगाए पनि बाँध अहिलै फुट्ने अवस्थामा नरहेको आपतकालीन व्यवस्थापन अधिकारीहरूले जनाएका छन्।
रिचमण्डस्थित मिलन चर्च बाढीका कारण भत्किएको छ। प्रहरीले सार्वजनिक गरेका तस्बिरहरूमा डुबेका सडकहरू र पानीमा पूर्ण रूपमा तैरिरहेका गाडीहरू देख्न सकिन्छ। रिचमण्डका मेयर रोबर्ट ब्लाइथका अनुसार सहरका मुख्य चोकहरू पूर्ण रूपमा ठप्प छन् र स्थानीयहरू छिमेकीको घरमा पानी पसेको भन्दै चिन्तित छन्।
हाल बुलिट, म्याडिसन, मीड, मर्सर र स्पेन्सर लगायतका पाँचवटा काउन्टीमा स्थानीय संकटकाल घोषणा गरिएको छ। राज्यभर कम्तीमा १२ वटा मुख्य सडकहरू बन्द छन् भने जेसामिन काउन्टीमा धेरै पुलहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
गभर्नर बेशियरले भने, “हामीले हाम्रा केही नागरिकहरू गुमाइसकेका छौँ। म अब थप क्षति भएको हेर्न चाहन्नँ। यो आँधी हामीले सोचेभन्दा निकै शक्तिशाली र खतरनाक साबित भएको छ।”
