प्रकाशित मिति : १३ असार २०८३, शनिबार

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओक्लाहोमाका पूर्व ‘स्टेट ट्रुपर’ लेन्स श्रोयरलाई आइसको आगामी निर्देशकका रूपमा मनोनीत गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत अध्यागमन प्रवर्तन एजेन्सीको नेतृत्वका लागि श्रोयर उपयुक्त पात्र भएको बताएका हुन्। पूर्व अमेरिकी मरीन समेत रहेका श्रोयरलाई ट्रम्पले वास्तविक कार्यक्षेत्रको अनुभव भएका देशभक्त र दशकौँदेखि गम्भीर अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सफल प्रमाणित नेता भनी प्रशंसा गरेका छन्।
श्रोयर र नवनियुक्त ‘होमल्याण्ड सेक्युरिटी’ मन्त्री मार्कवेन मुलिन एउटै गृह राज्य ओक्लाहोमाका हुन्। पूर्व कांग्रेस सदस्य समेत रहेका मुलिनले यसै महिनाको सुरुमा ‘नेशनल शेरिफ्स एसोसिएसन’ को एउटा कार्यक्रममा श्रोयरलाई मञ्चमै बोलाएर आफ्ना नजिकका साथीका रूपमा चिनाएका थिए।
शनिबार मन्त्री मुलिनले एक विज्ञप्ति जारी गर्दै श्रोयरको २९ वर्षे लामो सेवाकालीन यात्रा र अमेरिकी अध्यागमन प्रवर्तन कार्यक्रममा संघीय तथा राज्यस्तरका साझेदारहरूसँग उनले गरेको कामको सराहना गरे। मुलिनले भने, राष्ट्रपति ट्रम्पको यो छनोट उत्कृष्ट छ। लेन्सको सबल नेतृत्व र प्रत्यक्ष अनुभवले आइसका कर्मचारीहरूलाई आपराधिक पृष्ठभूमि भएका कागजातबिहीन विदेशीहरूलाई देश निकाला गर्न तथा मातृभूमिको सुरक्षा गर्न थप सशक्त बनाउने कुरामा म विश्वस्त छु।
यदि सिनेटबाट अनुमोदित भएमा, श्रोयरले यस्तो समयमा आइसको कमान्ड सम्हाल्नेछन्, जब ट्रम्पको कडा अध्यागमन नीतिका कारण अमेरिकी नागरिकहरू उनीप्रति असन्तुष्ट देखिन्छन्। यसअघि आप्रवासीहरूलाई पक्राउ गर्न अमेरिकी सहरहरूमा ठूलो संख्यामा संघीय अधिकारीहरू परिचालन गरिँदा जनस्तरमा तनाव बढेको थियो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका तिनै झडपका क्रममा यस वर्षको सुरुमा मिनियापोलिसमा दुई अमेरिकी नागरिकको गोली लागेर मृत्यु समेत भएको थियो।
ट्रम्प ठूलो संख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने मुख्य एजेन्डासहित ह्वाइट हाउस फर्किएका हुन् र आइसनै यस योजनालाई कार्यान्वयन गर्ने मुख्य निकाय हो। यो एजेन्सी गत वर्ष प्राप्त ७५ अर्ब डलरको एकमुष्ट बजेटका कारण तीव्र विस्तारको क्रममा छ, जसले गर्दा १२,००० नयाँ अधिकारीहरू भर्ना गर्न र हिरासत क्षमता बढाउन सम्भव भएको छ।
गत मार्चमा कार्यभार सम्हालेका मन्त्री मुलिनले आफ्नो विभागलाई विवाद र सञ्चारमाध्यमको नकारात्मक हेडलाइन्सबाट टाढा राख्ने प्रतिबद्धता जनाएका छन्। अध्यागमनको मामिलामा उनले केही नरम शैली अपनाउने संकेत गरे पनि अन्ततः उनी आप्रवासी देश निकाला गर्ने राष्ट्रपतिको प्राथमिक योजनाकै पक्षमा उभिने देखिन्छ।
पूर्व वरिष्ठ आइस अधिकारी क्लेयर ट्रिकलर-म्याकनल्टीका अनुसार विगतमा यस पदमा प्रायः अधिवक्ताहरू नियुक्त हुने गरे पनि कहिलेकाहीँ राज्य र स्थानीय कानून प्रवर्तन अधिकारीहरूलाई पनि मनोनीत गर्ने गरिएको छ। श्रोयरको ओक्लाहोमा पृष्ठभूमिका कारण यो छनोटमा मन्त्री मुलिनको प्रत्यक्ष प्रभाव रहेको उनको अनुमान छ। उनले भनिन्, अहिले आइसमाथि सबैको नजर रहेकाले मन्त्री मुलिन त्यहाँ आफूले पूर्ण विश्वास गर्न सक्ने व्यक्तिलाई राख्न चाहन्छन्।
अर्का वरिष्ठ पूर्व अधिकारी जोन टोरेसका अनुसार श्रोयरका लागि सिनेटबाट अनुमोदन पाउनु चुनौतीपूर्ण भए पनि संघीय तहको सट्टा राज्य र स्थानीय स्तरमा काम गरेको उनको अनुभव यस पटक फाइदाजनक हुन सक्छ। टोरेसले थपे, उनीसँग कुनै राजनीतिक पूर्वाग्रहको दाग छैन, जसले गर्दा उनले विगतका प्रशासनका लागि काम गरेको भन्दै प्रश्न उठाउने ठाउँ रहँदैन।
गत मे महिनाको अन्त्यमा तत्कालीन निर्देशक टोड लियोन्सले राजीनामा दिएपछि श्रोयरको मनोनयन सार्वजनिक भएको हो। हाल निजी कारागार सञ्चालक कम्पनीका पूर्व कार्यकारी डेभिड भेन्चुरेलाले एजेन्सीको कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। एक डीएचएस अधिकारीका अनुसार श्रोयरको नाम सिनेटबाट स्वीकृत नभएसम्म भेन्चुरेला नै कार्यवाहक पदमा रहनेछन्।
अध्यागमन नीति र एजेन्सीको कामकारबाहीलाई लिएर अमेरिकामा चलिरहेको तीव्र राजनीतिक ध्रुवीकरणका कारण ओबामा प्रशासनयता आइसले सिनेटबाट अनुमोदित स्थायी निर्देशक पाउन सकेको छैन।
