२ चैत, काठमाडौं । सन् २०१६ को जून महिनामा, तिब्बती फिल्म निर्देशक ‘पेमा छेदेन’लाई चीनको छिङहाइ प्रान्तको राजधानी सीनिङको विमानस्थलमा प्रहरीले हिरासतमा लिएको थियो। आफ्नो छुटेको सामान लिन विमानस्थलको आगमन क्षेत्रमा प्रवेश गर्न खोज्दा उनको सुरक्षा कर्मचारीहरूसँग विवाद भएको थियो। विवाद बढ्दै जाँदा प्रहरीले उनलाई सार्वजनिक व्यवस्था विथोल्ने आरोपमा पाँच दिनको प्रशासनिक हिरासतमा राखेको थियो।
हिरासतमा रहँदा उनलाई चक्कर आउने, छातीमा असजिलो महसुस हुने, औंलाहरू सुन्निने जस्ता स्वास्थ्य समस्याहरू देखा परेका थिए। त्यसलै उनलाई अस्पताल भर्ना गरिएको थियो। उक्त घटनाले चिनियाँ फिल्म उद्योगमा व्यापक चासो र चिन्ता उत्पन्न गराएको थियो। चिनियाँ फिल्म निर्देशक संघले प्रहरीको बल प्रयोगबारे स्पष्ट पार्न र घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान पनि गरेको थियो।
पेमा छेदेन तिब्बती भाषामा फिल्म बनाउने पहिलो चिनियाँ निर्देशक हुन्। उनका फिल्महरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रशंसा पाएका छन्। उनको हिरासत र त्यसपछिको स्वास्थ्य अवस्थाले तिब्बती समुदाय र समर्थकहरूमा एकाएक चिन्ता बढाएको थियो। उनको मृत्यु सन् २०२३ मे ८ मा ५३ वर्षको उमेरमा हृदयघातका कारण भएको थियो। हिरासतमा हुँदा चिनियाँ प्रहरीहरूले गरेको कठोर व्यवहारका कारण उनी कमजोर भएका थिए। उनको मृत्युको कारण पनि त्यही हुनसक्ने धेरैले अहिले पनि अनुमान लगाउने गर्छन्।
‘स्नो लिओपार्ड’ केवल एउटा तिब्बती समाज वा हिउँचितुवासँग सम्बन्धित कथा मात्र होइन, यो मानव अस्तित्वको गहिराइलाई खोतल्ने फिल्म हो।
उनले मृत्यु हुनुभन्दा केही महिना अघि मात्र बनाएर सकेका थिए, ‘स्नो लिओपार्ड’, जसमा हिउँचितुवा र एक युवा तिब्बती भिक्षुबीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रस्तुत गरिएको छ। उनको यो अन्तिम फिल्म हो।
संसारभर विभिन्न धर्महरूले जनावरहरूलाई देवताको प्रतीक अथवा उनीहरूको अवतारका रूपमा पुज्ने चलन रहेको छ। उनीहरूलाई पुज्नु धार्मिक मात्र नभएर सांस्कृतिक, नैतिक तथा पर्यावरणीय कारणहरूले पनि प्रेरित गर्छ, त्यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई मजबुत बनाउने, धर्मलाई जीवित राख्ने र केही लोपोन्मुख प्रजातिहरूको संरक्षण गर्न सहयोग पुर्याउने काम गर्दै आएको छ। यही सहअस्तित्वका कारण मान्छे र जनावर आजसम्म एकैसाथ बाँचिरहेका छन्।
तिब्बती बौद्ध धर्ममा हिउँचितुवालाई पवित्र जनावरको रूपमा पुज्ने गरिन्छ। केही चिनियाँ मिथक तथा लोककथाहरूमा त्यसलाई बुद्धिमानी, शक्ति र साहसको प्रतीकका रूपमा पनि चित्रित गरिएको छ। त्यसैले चीनमा हिउँचितुवालाई सांस्कृतिक, पारिस्थितिकीय तथा संरक्षणका हिसाबले निकै महत्वपूर्ण जनावर मान्ने गरिन्छ। तर, त्यसको कारणले हिमाली समुदायलाई भने बेलाबेलामा गाह्रो हुने गरेको छ।
हिमाली क्षेत्रमा चराउने भेडाबाख्रा, चौंरीगाई र अन्य घरपालुवा जनावरहरू हिउँचितुवाको प्रमुख शिकार बन्ने गर्छन्। कतिपय गाउँलेको आर्थिक स्रोत नै पशुपालन भएकाले हिउँचितुवाको आतङ्कले उनीहरू ठूलो समस्या तथा घाटामा पर्न जान्छन्। केही गाउँले(गोठालाहरूले हिउँचितुवालाई मार्ने कोसिस पनि गर्छन्। त्यसैले हिउँचितुवाबाट प्रभावित गाउँले(गोठालाहरूलाई सरकारले क्षतिपूर्ति पनि दिंदै आइरहेको छ।
एकरात भोकाएको हिउँचितुवा भेडाको खोरमा पसेर नौ वटा भेडालाई मारिदिन्छ। तिनीहरूको रगतको मातले लट्ठ परेको हिउँचितुवा त्यहीं अन्य जीवित भेडाहरूको बीचमा निदाउँछ।
चिनियाँ प्रान्त छिङहाइको माडोइ काउन्टीको तिब्बती भूमिमा कोरिएको पेमा छेदेनको फिल्म ‘स्नो लिओपार्ड’, त्यही लोपोन्मुख जनावर हिउँचितुवामा आधारित रहेको छ। फिल्मले गहिरो भावनात्मक कथा उनेको छ, जहाँ परम्परा, आध्यात्मिकता, आधुनिकता र मानव(वन्यजन्तु बीचको सम्बन्धलाई देखाइएको छ।
एकरात भोकाएको हिउँचितुवा भेडाको खोरमा पसेर नौ वटा भेडालाई मारिदिन्छ। तिनीहरूको रगतको मातले लट्ठ परेको हिउँचितुवा त्यहीं अन्य जीवित भेडाहरूको बीचमा निदाउँछ। जब बिहान भेडा गोठालो ‘जिनपा’ले थाहा पाउँछन्, हिउँचितुवा देखेर क्रोधित हुन्छन्। उनले उक्त चितुवालाई त्यही खोरमा कैद गरेर राख्छन्। जबसम्म सरकारले मरेको नौ वटा भेडाको क्षतिपूर्ति दिंदैन, उनले चितुवालाई नछाड्ने मनसाय बनाउँछन्। यदि कुनै क्षतिपूर्ति नआए चितुवालाई मारिदिने धम्की समेत दिन्छन्।
हिउँचितुवा दुर्लभ तथा संरक्षित जनावर भएको हुँदा त्यसलाई मार्नु कानूनी रूपमा प्रतिबन्धित रहेको छ। जब त्यो खबर बाहिर आउँछ, एक स्थानीय चिनियाँ टेलिभिजन पत्रकार टोली घटनास्थलमा पुग्छ। विस्तारै सरकारी अधिकारी, प्रहरीहरू पनि त्यहाँ आइपुग्छन्। उनीहरू र स्थानीय समुदायका मानिसहरूबीच तनाव बढ्दै जान्छ।
त्यसैबीच, जिनपाको भाइले हिउँचितुवालाई बचाउन खोज्छन्। उनी तिब्बती बौद्ध भिक्षु हुन्छन्। वन्यजन्तुहरूप्रति गहिरो श्रद्धा राख्ने उनलाई सबैले ‘हिउँचितुवा भिक्षु’ भनेर चिन्ने गर्छन्। उनी चितुवालाई मुक्त गर्नुपर्ने धार्मिक तथा आध्यात्मिक कारणहरू प्रस्तुत गर्छन्। उनको दाइ जिनपाले भने सरकारले उचित क्षतिपूर्ति नदिएसम्म चितुवालाई नछाड्ने अडान लिन्छन्। पत्रकारहरूको लागि त्यो एउटा रोचक समाचार बन्न पुग्छ। सरकारी अधिकारीहरूको लागि त्यो कानूनी तथा प्रशासनिक समस्या भइदिन्छ। भिक्षु भने चितुवालाई जनावर मात्र नभएर एक आध्यात्मिक अस्तित्व मान्छन्। तिनै भिन्नभिन्न विचारहरूले गर्दा विवाद झनै चर्किंदै जान्छ।

पेमा छेदेनको ‘स्नो लिओपार्ड’ प्रकृति र आधुनिक मानव समाजको टकराव, स्थानीय संस्कार र सरकारी नियमहरूबीचको द्वन्द्व तथा बौद्ध धर्मको करुणा र वास्तविक जीवनका कठिनाइहरूलाई राम्रोसँग बुझाउने माध्यम बनेको छ। फिल्मले बौद्ध दर्शन, प्रकृति र आधुनिक समाजका जटिलताहरूलाई गहिरो ढंगले उजागर गरेको छ। निर्देशक पेमा छेदेनको निधन अघिको अन्तिम फिल्म भएकाले पनि यो अझ गहिरो र अर्थपूर्ण लाग्छ।
‘Rams’ले भेडाको कथा भन्छ, ‘स्नो लिओपार्ड’ले हिउँचितुवाको। दुवै फिल्मका सांस्कृतिक तथा भौगोलिक पृष्ठभूमि फरक भए पनि तिनले उठाउने प्रश्नहरू गहिरा र सार्वभौमिक छन्।
यो एउटा हिउँचितुवा बचाउने संघर्षको कथा मात्र नभएर आध्यात्मिकता, परम्परा, कानूनी संरचना र आधुनिक समाजबीचको गहिरो द्वन्द्वलाई उजागर गर्ने एक गहन अध्ययन बनेको छ। फिल्मले हामीलाई परम्परागत तिब्बती जीवनशैली र सरकारी हस्तक्षेप बीचको जटिल सम्बन्धलाई पुनर्विचार गर्न बाध्य बनाउँछ।
केही समयअघि ‘ग्रिमुर हाकोनार्सन’द्वारा निर्देशित आइसल्यान्डिक फिल्म ‘Rams’ हेरेको थिएँ। फिल्मले शान्त, सुन्दर र शक्तिशाली कथा कहन्छ, जसले परिवार, समाज र अस्तित्वको गहिराइलाई खोतल्ने काम गर्छ। त्यसले पनि ‘स्नो लिओपार्ड’मा झैं मानव(प्रकृति सम्बन्ध, परम्परा, आधुनिकताको टकराव र परिवारभित्रको भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेको छ। तिनीहरूबीच धेरै विषयगत समानता छन्। ‘Rams’ले भेडाको कथा भन्छ, ‘स्नो लिओपार्ड’ले हिउँचितुवाको। दुवै फिल्मका सांस्कृतिक तथा भौगोलिक पृष्ठभूमि फरक भए पनि तिनले उठाउने प्रश्नहरू गहिरा र सार्वभौमिक छन्।
निर्देशक पेमा छेदेनलाई तिब्बती सिनेमाको संस्थापक पनि मानिन्छ। उनका फिल्महरू संसारभरका फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेका छन्। ‘स्नो लिओपार्ड’ पनि भेनिस फिल्म फेस्टिभल र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। उनले आफ्नो करिअरभरि तिब्बती पहिचान, राज्यसत्ता र सांस्कृतिक अस्तित्वका कथाहरू उतार्दै आएका थिए। ‘स्नो लिओपार्ड’लाई यी सबै विषयहरूको संयोजन मान्न सकिन्छ। एउटा सामान्य द्वन्द्व जस्तो लागे पनि फिल्ममा हामी कुनै पनि एउटा पक्षलाई सही वा गलत भन्न सक्दैनौं। फिल्मभरि नैतिकताको परिभाषा पटक–पटक परिवर्तन भइरहन्छन्। फिल्ममा देखाइएका तिब्बती भू–दृश्यहरू, संवादको मौनता तथा हिउँचितुवाले प्रतीकात्मक रूप बोकेका छन्।
‘स्नो लिओपार्ड’ केवल एउटा तिब्बती समाज वा हिउँचितुवासँग सम्बन्धित कथा मात्र होइन, यो मानव अस्तित्वको गहिराइलाई खोतल्ने फिल्म हो। निर्देशकले आध्यात्मिकता, सामाजिक यथार्थ र राज्यव्यवस्थाको टकरावलाई अद्भुत रूपमा प्रस्तुत गरेका छन्।