प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार

एफबीआई, विदेश मन्त्रालय र रक्षा मन्त्रालय लगायत प्रमुख अमेरिकी एजेन्सीहरूले आफ्ना कर्मचारीहरूलाई लागत कटौती प्रमुख एलन मस्कको पछिल्लो इमेलको जवाफ नदिन निर्देशन दिएका छन् । मस्कको विभागले कर्मचारीहरुले अघिल्लो हप्ता के उपलब्धी गरे भन्नेबारे जवाफ माग्दै कर्मचारीहरुलाई इमेल गरेको थियो । जवाफ नदिए जागिर गुमाउने जोखिम रहेको चेतावनी दिइएको थियो ।
रक्षा मन्त्रालयको आफ्ना मन्त्रालय माताहतका कर्मचारीहरुको कामको मूल्यांकन गर्ने जिम्मा आफूहरुको भएको उल्लेख गर्दै कर्मचारीहरुलाई मस्कको विभागको इमेलको जवाफ नदिन निर्देशन दिएको हो । ट्रम्प प्रशासनले झण्डै २० लाख कर्मचारीहरुलाई इमेल गर्दै सोमबारसम्म जवाफ नदिए काम गुम्ने खतरा रहेको चेतावनी दिएको थियो । जसले संघीय कर्मचारीहरुभित्र अराजकता र भ्रमको नयाँ स्तर श्रृजना गरेको थियो ।
रोबर्ट एफ केनेडी जुनियरको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयले भने आफ्ना ८० हजार कर्मचारीहरुलाई मस्कको विभागको इमेलको जवाफ दिन निर्देशन दिएको थियो । त्यस अगाडि मन्त्रालयका एक उच्च अधिकारीहरुलेभ ने जवाफ नदिन सुझाव दिएका थिए । यो बीचमा कर्मचारीहरु भने अन्यौलमा परेका छन् ।
एलन मस्कको विभागले शनिबार ४८ घण्टाको डेडलाइन दिदै कर्मचारीहरुलाई इमेल पठाएको हो । सोमबार राती ११ बजेर ५९ मिनेटभित्र जवाफ दिनुपर्ने डेडलाइन दिइएको छ । अन्यथा जागिर जाने चेतावनी दिइएको छ । मस्कले आइतवार आफ्नो पछिल्लो अनुरोधलाई आधारभूत पल्स जाँच भनेका छन् ।