मण्डनदेउपुरलाई कविता उपहार


‘आन्तरिक पर्यटन प्रवर्धनका साथै शब्द सिर्जनामा मण्डनदेउपुर’ भन्ने नारालाई सार्थक पार्न हामी मण्डनपुरको भूमिमा जम्मा भएका छौं। प्रभाती बिहानीमा उज्यालो मुहार लिएर हिँडेका स्रष्टा पदयात्रीहरूको उपस्थिति बडो उत्साहजन हुँदैछ। खस्रे गाउँमा अवस्थित होमस्टेमा स्वादिष्ट खाना खाएपछि हाम्रो पदयात्रा आरम्भ भएको छ। साथमा हुनुहुन्छ द्वारपालेश्वर माविका विव्यसका अध्यक्ष शिवराम बजगाईं र सदस्य रेनु बजगाईं।

हामी स्थानीयलाई सुन्दैछौं। छलफलको विषय छ ‘नगरकोट आएका पर्यटकलाई मण्डनदेउपुरको रमणीय स्थलमा पनि कसरी आकर्षित गर्ने। यहाँका प्राकृतिक, ऐतिहासिक स्थलहरूको स्थलगत भ्रमण गराउन के कस्तो योजना निर्माण गर्नुपर्छ।’

स्थानीय भेगको शिक्षा, स्वास्थ्य, बाटोघाटो, मठमन्दिर, इतिहास, पर्यटन, पर्यावरण, मनोविज्ञान, राजनीति, अर्थतन्त्र र वैदेशिक रोजगारकै वरिपरि हाम्रो कुराकानी जोडिएको छ।

झ्वामल्याङझ्वामल्याङ गर्दै हिँडेको सामूहिक आवाज सुन्छु। त्यो अनौठो आवाज चिरपरिचित लाग्छ। पुलुक्क हेर्छु बाटो मास्तिर। मोटर गुड्ने बाटोमा झ्याम्म परेका रुखहरू हिँडेको आभास हुन्छ। अहो ! स्याउला र घाँसले छोपिएर हिँडेका मानव आकृतिहरू। सम्मानले हेर्छु, घाँसका भारी बोकेर हिँडेका स्थानीय दिदीबहिनीहरूलाई। ती हरिया घाँसेभारीको आवाजले मलाई उडाएर पुर्‍याउँछ पूर्वस्मृतिमा।

भोर्लाको लहरामा फल्ने टाटा लिन म पनि यसैगरी हिँडेकी छु मटेरीको जंगलमा। रानीचुरीको फेदबाट मटेरी खोल्साको तीरैतीरै घाँस बोकेर हिँड्ने साइँली, माइँली, रूबी, चिने, कान्छा, तारा नजिकै आएर मलाई बोलाउँछन्। काभ्रेको भूगोलमा हिँडिरहेकी म झल्याँस्स हुन्छु। अतीतको जंगलमा टाटा पोलेर खाएको स्वाद अघाएको पेटमा पनि मिठो लाग्छ। यी दृश्य हेर्दा बडो आनन्दी भएकी छु। मण्डनदेउपुरको यात्राबाटै बारम्बार पुगेकी छु मेरो प्यारो जन्म घर, सिन्धुलीको भिमान। त्यसैले पनि यो यात्रा मलाई अमूल्य लाग्दैछ।

स्थानीय देवीको मन्दिरलाई परिक्रमा गरेर हामी हिँड्दैछौं तल तल। तोरी फुल्ने मौसम छ। तोरीबारीभन्दा पनि सुन्दर भएको छ मेरो मन। मन रंगिएपछि पो देखिँदो रहेछ रंगीन संसार। सम्पूर्ण प्रकृति बडो सुन्दर लाग्दैछ। विशालताको रहस्य बोकेर होला, आकाश निक्खर निलो देखिएको। कतै कतै देखिन्छ शिला सुन्तला। गीत, भजन गाउँदै हामी हिँडेका छौं निरन्तर। पहिलो गन्तव्य छ द्वारपालेश्वर माध्यमिक विद्यालय।

हामी पुगेका छौं भौतिक पूर्वाधारले सुसम्पन्न द्वारपालेश्वर मावि। स्रष्टा साथी एन्जल निलु विद्यालयकी शिक्षकसँग तस्बिर खिच्दै हाँसेको दृश्यले म पनि नजिक पुग्छु। लाग्छ ‘कतै त मैले देखेकी हुँ यिनलाई’ स्मृति धूमिल छ। स्मृति घाँटीमा आएर अड्किएको छ। उकुसमुकुस हुन्छ। स्मृति छ्याङ्ङ नभएसम्म सकस हुने भयले नजिकै गएर सोध्छु, ‘मैले तपाईंलाई कतै देखेको हो ?’ मेरो कुरा सुनेर उहाँ पनि भन्नुहुन्छ, ‘मलाई पनि त्यस्तै लागिरहेको छ। त्यो चस्मा खोल्नु त ठम्याउँछु कि!’

मैले चस्मा खोलेर हेरेँ। उहाँले मलाई चिन्नुभयो, ‘अनिता दिदी होइन ? गुर्जुधाराको। लौ ! हामी त कतिचोटि सँगै बसेर पञ्चमीको पूजा गरेको, इच्छा दिदीको घरमा ! बिर्सिनुभयो ?’ मैले ग्वामल्याङ्ङ अँगालो हालेँ।

स्कुलको भौतिक संरचना देखेर दङ्ङ परेकी छु। तुलना नगरौं भन्दा पनि आफूले पढेको त्यो समयको स्कुल आँखै अगाडि टुप्लुकिन्छ। अहिले शिक्षामा कति लगानी रहेछ भन्ने कुरा गाउँ गाउँमा बनेका यस्ता सुविधासम्पन्न भवनहरूले देखाउँदै छन्। द्वारपालेश्वर माविका प्रधानाध्यापक बलेन्द्र भट्टले खादा लगाएर हाम्रो स्वागत गर्नुभयो। हृदय सम्मानले भरियो।

हामी अब अर्को गन्तव्यतिर मोडिएका छौं। घाम पनि मजाले लागेको छ। द्वारपालेश्वर मावि नजिकै अर्को मन्दिर देखियो। हामी सबैजना भक्तिको थाली लिएर त्यतैतिर गयौं। सेतीदेवी र कालीदेवीको मन्दिर रहेछ। एकातिर भोग नलिने सेतीदेवी शान्त भएर विराजमान भएजस्तो लाग्यो अर्कातिर भोग लिने कालीदेवी उग्र भएर उभिएजस्तो लाग्यो। हामी मन्दिर दर्शन र परिक्रमा गरेर जंगलको बाटो ओरालो झर्‍यौं।

पदयात्रीका लागि सजिलो होस् भनेर सिमेन्टको सिँढी निर्माण गरिएको रहेछ। तिनै सिँढी हुँदै हामी तल झर्‍यौं। जंगलमा भेटिएका पानीअमला खाँदै हामी ओरालिएका छौं। पानी बोक्न बिर्सिएछ। तिर्खाले प्याक प्याक भएका छौं। अहिले रुबी सत्याल सँगसँगै हुनुहुन्छ। हिँड्दै जाने क्रममा सँगै हिँड्ने साथी बदलिरहन्छ, फेरिरहन्छ।

जंगल टुङ्गिनेबित्तिकै गाउँ टुप्लुक्क देखियो। धारामा स्थानीय दिदी लुगा धोइरहनुभएको रहेछ। कालो पाइप मात्रको धारा। हामीले धारामा चिसो पानी खाने आँट गरेर धारामै मुख जोत्यौं। रूबी भन्नुहुन्छ, ‘यसरी पानी खानुको मजा नै बेग्लै छ।’

मलाई पनि फेरि मेरो प्यारो बालापन याद आयो। उबेला जरुवामा घोप्टो परेर खाएको पानी स्मरण भयो। ठुटे रुखनेरको जरुवाको त्यो आदिम स्वाद दुरुस्तै मण्डनदेउपुरे धाराबाटै पाएँ। धारा थन्क्याउँदा धारा उछुट्टिएर स्थानीय दिदीको जिउमै बग्यो। धन्न शान्ति दिदी रहिछन्, तर्सिइन् मात्र।

निरन्तर हिँड्न नसक्दा गाडी पनि रोडमा आउँछ। काठमाडौंबाटै गाडी सिजर्भ गरेर लगेका छौं। अहिले हामी चारपाँच जना गाडीमा उक्लियौं। हामीलाई गाडीले महाकाली माविको आँगनसम्म लग्यो। तर निकैबेरसम्म पनि हाम्रा साथीहरू नआएपछि केही माथि उक्लियो गाडी। तर कोही पनि त देखिएनन्। शारदा म्यामले भने सस्तो स्कुस किन्नुभयो। गाडीमा तिलको लड्डु पनि मर्कायौं। अमलाको तितौरा साथै सुन्तला खाइसक्नेबित्तिकै हाम्रा साथीहरू पनि टुप्लुक्कै आइपुग्नुभयो। अब भने हामी सबैजना जम्मा भयौं।

महाकालिका माविमा हाम्रो भव्य स्वागत हुँदैछ। बिहानदेखि नै साथमा हुनुहुन्छ विद्यालयका प्रधानाध्यापक पुष्पराम सापकोटा। विद्यार्थी भाइबहिनीहरू उत्साहका आँखाले हामीलाई हेर्दैछन्। विद्यार्थीहरू विद्यालय प्राङ्गणमा जम्मा भएका छन्। गंगा भेटवाल सरले निकै उम्दा तरिकाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थी बहिनीहरू कविता वाचनका लागि अगाडि आए। निर्भीक भएर अगाडि आएका उज्याला छोरीहरूलाई देखेर मेरो मन दङ्गियो।

कविहरूको उत्साह निकै प्रेरणादायी लाग्यो। अझ सशक्त कविता सुनाउँदा त मेरो आँखाबाट हर्षका मोतीहरू बरर झरे। एउटी छात्राले ‘रजस्वला’ शीर्षकको कविता वाचन गर्दा त वातावरण नै स्तब्ध भयो। चारैतिर आँखा डुलाएँ। छात्रहरू पनि त छन् विद्यालयमा तर किन आएनन् कविता लिएर अगाडि। छात्र र छात्राहरूको कविता सुन्न पाएको भए त अझ सुनमा सुगन्ध नै हुनेथियो।

शिक्षकहरूको मुहारमा पनि सन्तुष्टिको आभा फैलियो जब स्रष्टा अतिथिहरूका अगाडि आफ्ना विद्यार्थीहरूले दह्रो प्रस्तुति दिए। स्रष्टा पदयात्रीहरूले पनि आआफ्नो रचना सुनाउँदा विद्यालयको वातावरण निकै ऊर्जामय बन्यो। साना साना बालबालिकाहरू पनि धीरतासाथ कार्यक्रमभरि शान्त भएर उभिएको देख्दा, नियम र अनुशासनमा पनि यहाँका विद्यार्थी अब्बल नै रहेछन् भन्ने महसुस भयो। पदयात्रामा कविता भन्छु भनेर नयाँ कविता लिएर आएकी थिएँ तर तत्काल मैले आफ्नो निर्णय बदलेँ।

बालमनोविज्ञानलाई बुझेर मुनामा प्रकाशित बाल कथा सुनाएँ। समय र सन्दर्भ मिल्यो। शान्त भएर बालबालिकाहरूले कथा सुने। हृदयमा महाकाली माविलाई बोकेर हामी पनि कुन्ताबेँसीमा बास बस्न हिँड्यौं।

कुन्ताबेँसी होटल सापकोटाहरूकै रहेछ। थकाइले लोथ भएको शरीर कतिखेर पसारौं भएका बेला चिया पनि पर्खिन सकिनँ। शोभा शरभ, शारदा पराजुली, एन्जल निलु र म एउटा कोठातिर लाग्यौं। सेतो खोल ओडेर बसेको बाक्लो सिरक, तनक्क तन्काएको तन्ता देखेर मन तातो भयो। दिनभरि हिँडेको लुगा थन्क्याएर चिसो पानीले हातगोडा धुँदा पनि बडो सन्तोष प्राप्त भयो। खाना पनि उस्तै स्वादिलो खाएर हामी कोठामा आयौं। डाक्टर शशी थापा पनि हामीसँग गफिनुभयो निकैबेर। रमाइला रमाइला कुराकानीमा हृदय खोलेर हाँस्यौं। एउटा कोठामा चारजनालाई थियो सुत्ने व्यवस्था। बिहान सात बजे तयार भएर निस्किनुपर्ने योजना छ। १९ जना नै आआफ्ना कोठामा यसरी नै आनन्दको ओछ्यानमा भुसुक्कै निदायौं।

बिहान चाँडै निद्रा खुल्यो। आफ्नो नित्य काम सकेर ध्यान, प्राणायाम र कसरत पनि गर्न भ्याएँ। बिहानको शान्त वातावरणमा बिस्तारै हल्लाखल्ला मिसिँदै गयो। सबै कोठामा बत्ती बल्दै गयो। आवाज गुन्जिँदै थियो। हिँड्नलाई तयार भएर हामी तल ओर्लियौं। चिया र चना टेबुलमै आयो। मिठो चिया र स्वादिलो चनाले लामो समयसम्म गोडामा ऊर्जा दिन्छ भन्ने विश्वासले हामीले होटल छोड्यौं। हामीलाई स्वागत गर्न नगर उपप्रमुख पनि आउनुभएको। स्थानीय बुद्धिजीवीहरू लगाएर पुष्पराम सर पनि समयमै आउँदा विलम्ब भएन यात्रा। गाडीबाटै जाने निर्णय भयो केही परसम्म।

हामी दनुवार बस्तीको अवलोकन गर्दैछौं। मैले देखेको दनुवार बस्ती कति सुन्दर थियो। हाम्रै घरमा बस्थे दनुवार दाइ। नाम रक्सा माइला थियो। रक्सा दाइलाई झलक्क सम्झिएँ।

दनुवारहरू इमानदार लाग्थे। कमलामा नुहाउन जाँदा दनुवार दाइहरूले खोलामा जाल फ्याँकेर माछा मारेको हेरिरहन्थेँ। माछा मार्ने साधन पनि सफा पारेर घाममा सुकाउँथे। उनीहरूको घरनजिकैको झ्याङमा सुकाएको हुन्थ्यो खोँगी, ढडिया र फुर्लुङ। कम्मरमा फुर्लुङ बाँधेका हुन्थे। माछा राख्ने सानो फुर्लुङमा जिउँदा माछा छटपटिँदै खोलामाथि नै आफ्नो प्राण त्याग्न विवश हुन्थे। सफा सुग्घरमा पनि पारङ्गत नै देखिन्थे दनुवारहरू।

भिमानदेखि कटारीसम्म मैले देखेकी थिएँ दनुवार बस्ती। मामाघर जाँदा डकाहाभन्दा अलि तल बाटोमा देख्थेँ सुन्दर दनुवार बस्ती। सेतो कमेरो माटोले पोतेको घर मलाई कतै कथामा वर्णित देवीदेउताका घरझैं लाग्थ्यो। कतिचोटि त्यो बाटो हिँड्दा पनि मैले ती घरका मान्छेलाई देखिनँ। तर साथमा हिँडेका कान्छी दाइ बाटैमा डर देखाउँथे। अनिता नानी ! बाघ पनि बन्न सक्छन् दनुवारका मुखिया। यी त कडा धामी हुन्छन्। छिटो छिटो हिँड, ढिलो गर्नुहुँदैन यहाँ !’ कान्छा दाइको कुरा सुनेर मेरो सातो जान्थ्यो। तन्त्र विद्यामा पारङ्गत भएको कुरा रक्सा दाइले धुनी ताप्दा कयौंपटक सुनाएका अद्भूत कथाहरू मण्डनपुरको दनुवार गाउँबाट पुनः सुन्दैछु।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School