नेपाल र भारतबीच सदियौंदेखि ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध छ । तर केही दिनअघि मात्र भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा घटेको घटनाले एउटा गम्भीर प्रश्न उब्जाएको छ ।
‘हाम्रो विश्वविद्यालयको बजेट नेपाल सरकारको समग्र बजेटभन्दा ठूलो छ, हामीसँग खेल्न नआउनू,’ यो तिक्ततापूर्ण अभिव्यक्तिले मात्र केआईआईटी विश्वविद्यालयको नेपाली विद्यार्थीप्रतिको असंवेदनशिलता मात्र उजागर गर्दैन, यसले सम्पूर्ण नेपाली विद्यार्थीकै सुरक्षामाथि प्रश्न खडा गर्छ ।
हाम्रा विद्यार्थीले भारतमा कति सुरक्षित र सम्मानजनक वातावरण प्राप्त गर्न सक्छन् ? केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना केवल एक विद्यार्थीको जीवन समाप्ति मात्र होइन, सम्पूर्ण नेपाली विद्यार्थी समुदायको अस्तित्व र सुरक्षाको गम्भीर चिन्ता हो ।
प्रकृतिले विश्वविद्यालय प्रशासनलाई आफू दुर्व्यवहारबाट पीडित भएको विषयबारे दिएको जानकारीलाई गम्भीरतापूर्वक नलिइँदाको परिणाम नै अहिलेको भयानक घटना हुन पुगेको थियो । उनले मानसिक र शारीरिक उत्पीडनको सामना गरिरहेकी थिइन्, जसलाई विश्वविद्यालय सम्वद्ध नेतृत्वले गहन रुपमा लिएर समाधानको लागि प्रभावकारी कदम चाल्न सकेन ।
यस्तो अवस्थामा, विश्वविद्यालयको जिम्मेवारी के हो ? के उनीहरू आफ्ना विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिन्छन् ? भन्ने जस्ता गम्भीर प्रश्न उठेका छन् । प्रकृतिको मृत्युले एकपटक फेरि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले सामना गरेका चुनौतीलाई उजागर गरेको छ।
केआईआईटी घटनाबाट पाठ सिक्दै भविष्यमा यस्ता पीडादायी घटना दोहोरिन नदिन नेपाली शैक्षिक संस्थाप्रतिको विश्वास मजबुत बनाउनु आवश्यक छ ।
प्रकृतिको मृत्युपछि केआईआईटीका नेपाली विद्यार्थीले सकेको ताकतका साथ विश्वविद्यालय प्रशासनसँग न्याय र जवाफदेहिताको माग गरे । तर विश्वविद्यालय प्रशासनले मागलाई बेवास्ता गर्दै उनीहरूलाई क्याम्पस नै छोड्ने आदेश दिनु चरम अत्याचारको नमुना हो । त्यस्तो निर्णय गर्नुअघि विद्यार्थीको भविष्यलाई कता लैजान्छ, सोच्नु पर्छ कि पर्दैन ?
त्यति मात्र होइन, नेपाल सरकारको प्रतिक्रियापछि भारतीय दूतावासले सुरक्षित गन्तव्यमा फर्काउन गरेको व्यवस्था केवल औपचारिकताको लागि मात्र जस्तो देखिन्छ । विद्यार्थीका वास्तविक मागको सम्बोधन लक्षित देखिँदैन ।
यो दु:खद घटनाले केवल व्यक्तिगत पीडा मात्र होइन, सम्पूर्ण शिक्षा प्रणालीको असफलता पनि उजागर गर्छ । प्रकृति लम्सालको मृत्युले भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।
हजारौं नेपाली विद्यार्थी भारतीय विश्वविद्यालयहरूमा उच्च शिक्षाका लागि जान्छन्, तर त्यहाँ राष्ट्रियताको नाममा हुने भेदभाव, प्रशासनिक असहयोग र कुशल व्यवस्थापनको अभावले विद्यार्थीहरू असुरक्षित देखिन्छन् ।
जब विश्वविद्यालयहरुले विद्यार्थीमाथि भेदभाव र असमान व्यवहार गर्छन्, यो गम्भीर चिन्ताको विषय बन्छ । प्रकृति मृत्यु प्रकरणले यही वास्तविकतालाई उजागर गरेको छ । कुनै पनि विद्यार्थीको जीवन र भविष्यको मूल्याङ्कन केवल शैक्षिक प्रगतिको आधारमा हुँदैन, बरु यसमा सामाजिक र भावनात्मक अवस्थाहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ।
यदि कुनै शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरूको सुरक्षा र भलाइको संरक्षण गर्न असफल हुन्छ भने, त्यो केवल एकल घटना मात्र होइन, बरु सम्पूर्ण सामाजिक र शैक्षिक व्यवस्थापनमा असफलता हो । नेपालको शिक्षा प्रणालीले बाह्य देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि विकल्पहरू बढाउनुपर्छ ।
प्रकृतिको मृत्युले नेपाल र भारत दुवैलाई नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न सहकार्य र समन्वय अनिवार्य देखाएको छ। नेपाल सरकारले भारतीय अधिकारीहरूसँगको सार्थक समन्वयमार्फत विद्यार्थीको अधिकार संरक्षणका लागि पहल गर्नुपर्छ, जसले भारतीय विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षामा यथेष्ट ध्यान दिन बाध्य गराओस् ।
विश्वविद्यालयले विद्यार्थी सहायता प्रणाली स्थापना गर्नुपर्छ । जसअन्तर्गत परामर्शदाता र समस्या समाधान केन्द्रहरू अनिवार्य छन् । कानुनी सहायता उपलब्ध गराउने व्यवस्था पनि मिलाइनुपर्छ, जसले कुनै पनि आपतकालीन स्थितिमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न सकोस्।
सुरक्षित, समावेशी र सम्मानजनक शिक्षा प्रणालीको विकास गर्नु सबैको जिम्मेवारी हो । भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न साझा प्रतिवद्धताको खाँचो छ ।
नेपाल सरकार र विश्वविद्यालयहरूले केआईआईटी घटनाबाट भविष्यका लागि सुरक्षित र समावेशी शिक्षा प्रणालीका सीमाहरू विस्तारका लागि समयमै पाठ सिक्नुपर्छ । यसले केवल विद्यार्थीको शैक्षिक प्रगतिको संरक्षण मात्र गर्दैन, दुवै देशका लागि दीर्घकालीन स्थिरता र सामाजिक सद्भावको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
शिक्षण संस्थाहरूले केवल शैक्षिक सफलताका लागि मात्र होइन, विद्यार्थीको मानसिक र भावनात्मक स्वास्थ्यको सुरक्षामा पनि ध्यान दिनुपर्छ । जब कुनै विद्यार्थीको जीवन संकटमा छ, तब शिक्षण संस्थाले जिम्मेवारिपूर्ण व्यवहार देखाउनुपर्छ र तिनीहरूको समस्यामा सहानुभूति जनाउनुपर्छ ।
यो घटनाले नेपाल र भारतका सरकार तथा विश्वविद्यालयहरूको ध्यान आकर्षित गरेको छ । तर जबसम्म सरकार र विश्वविद्यालयहरू विद्यार्थीको सुरक्षाका लागि ठोस कदम चाल्दैनन्, तबसम्म समाज तथा र शिक्षा अभ्यासमा सुधारको आशा गर्न सकिँदैन ।
नेपाल जस्ता अविकसित र विकासशील राष्ट्रका विद्यार्थीहरू विश्वविद्यालयका साथी, शिक्षक तथा प्रशासनबाट शारीरिक र मानसिक यातनाको शिकार हुने गरेको पाइन्छ । जो परिवारबाट टाढा र असहाय छन्, उनीहरूको सुरक्षा र अधिकारलाई बेवास्ता गरिन्छ । उत्पीडन, भेदभाव, शारीरिक हिंसा र बलात्कार समेतका रिपोर्ट प्राप्त हुने गरेका छन्, जसको विरुद्ध कुनै प्रभावकारी कदम चालिँदैन ।
यसो हुनु भनेको मानवअधिकार र कूटनीतिक सम्बन्धहरूको पूर्ण उपेक्षा पनि हो । जसले विद्यार्थीको मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यमा गहिरो असर पुर्याउँछ । यसलाई चाँडो र प्रभावकारी रूपमा समाधान गर्नु आवश्यक छ ।
आज हामीलाई आफ्नै घर नजिकका र आफ्नै मुलुकका कलेज मन पर्न छाड्यो । जब कुनै विद्यार्थी आफ्नो देशको सहजता छोडेर विदेशमा अध्ययन गर्न जान्छ, उसले धेरै चुनौतीको सामना त गर्नैपर्छ । र, भाषा, संस्कृति र स्वीकृतिका लागि संघर्ष पनि।
अब हामीले केआईआईटी घटनाबाट पाठ सिक्दै र भविष्यमा यस्ता पीडादायी घटना दोहोरिन नदिन नेपाली शैक्षिक संस्थाप्रतिको विश्वास थप मजबुत बनाउनुपर्छ । यसका लागि नेपालका विश्वविद्यालयहरुको गुणस्तर र तालिकाबद्ध क्रियकलापको सुनिश्चिता गर्नुपर्छ ।
जबसम्म विद्यार्थीले स्वदेशी विश्वविद्यालयप्रतिको लगावलाई घनिभूत बनाउँदैनन्, तबसम्म अन्याय, भेदभाव वा उपेक्षाको शिकार भइनै रहन्छन् ।
नेपालका विश्वविद्यालयहरूले अहिले कम लागतमा उत्कृष्ट शिक्षा उपलब्ध गराइरहेका छन् । तर नेपाली शैक्षिक परामर्शदाताले प्रायः विद्यार्थीको शैक्षिक आवश्यकता र भविष्यलाई प्राथमिकता दिनुको सट्टा केवल भारतका विश्वविद्यालयमा पठाउन प्रेरित गरिरहेका छन् । उनीहरूले बढी कमिसनको खेलमा विद्यर्थीमा भ्रम सिर्जना गरेका छन् । यसले परामर्शदाताहरूको नैतिक जिम्मेवारीलाई कमजोर बनाएको छ, विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासमा गम्भीर खेलवाड गरेको छ ।
सुरक्षित, समावेशी र सम्मानजनक शिक्षा प्रणालीको विकास गर्नु हामी सबैको जिम्मेवारी हो । भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्नका लागि साझा प्रतिवद्दताको खाँचो छ । केवल विरोध र आलोचना मात्र होइन, राष्ट्रिय शैक्षिक सुधारका लागि ठोस कदम चाल्नु आवश्यक छ ।
(डा. तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिष्ट्रार हुन् ।)