सगरमाथाजस्तै सगरमाथा आँखा अस्पताल


भारत विहार राज्य मधुवनीका ५६ वर्षीय मोहम्मद सलिम एक्कासि नदेख्ने समस्या निम्तिएपछि अतालिँदै नजिकको अस्पताल पुगे। त्यहाँ जाँचपछि डाक्टरले तत्कालै सुविधासम्पन्न अस्पताल जान सुझाए। उनी विहारको राजधानी पटना पुगे। तर, त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि छिमेकीको सल्लाहमा लहान आइपुगे।

सगरमाथा चौधरी आँखा अस्पताल लहानमा जाँच गर्दा उनको आँखाको पर्दामा पुगेको पाइयो। ‘उपचारमा आउन ढिला गरेको भए उहाँको आँखाको ज्योति नै गुम्ने थियो,’ सगरमाथा चौधरी आँखा अस्पतालका रेटिना विशेषज्ञ डा. सञ्जीव चौधरीले भने, ‘क्षतिलाई सुधार गर्ने र थप फैलिन नदिन लेजरलगायत पद्धतिबाट उपचार थालिएको छ। उपचारपछि दृष्टिमा सुधार आइरहेको सलिमले बताए।

‘उनको आँखाको दृष्टि सम्पूर्ण गुम्नबाट जोगाउन सफल भएका छौं,’ डा. चौधरीले भने, ‘उहाँ उपचारमा आउन निकै ढिला गरिसक्नुभएकाले नियमित भिजन फर्काउन त कठिन छ। तर, अर्काको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थाबाट भने उहाँ जोगिनुभएको छ।’

गत जेठ ६ गते खोटाङ ऐसेलुखर्कका १० वर्षीय लालबहादुरले पहिलो पटक संसार देखे। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि आँखाको पट्टी खोल्दा लालबहादुका दुवै आँखाले पहिलोपल्ट संसार देख्यो। सँगै आएकी उनकी आमा सुशीला भक्कानिँदै छोरालाई अँगालोमा बेस्सरी च्यापेर धित मर्नेगरी रोइन्।

उनले भनेकी थिइन्, ‘आँसुले दुःख पखालेपछि खुसी महसुस गर्दै छु। सपनामा पनि सोचेकी थिइनँ मेरो छोराले एक दिन संसार देख्नेछ। तर, भगवान् बनेर आएका डाक्टरले चमत्कार गरिदिनुभयो। ‘मेरो छोराको आँखाले १० वर्षपछि दुनियाँ देख्यो,’ उनले अस्पताललाई धन्यवाद दिँदै भनिन्, ‘आँखा देख्ने आस मारिसकेका हामी जस्ता कैयौं आमाहरूको मलिन अनुहारमा खुसी ल्याइदिने अस्पताल र डाक्टरको भलो होस्।’

उनी अस्पतालप्रति कृतज्ञ हुनुको कारण थियो। ऐसेलुखर्कबाट झन्डै १५ घण्टा लामो यात्राको क्रममा उनी पहिलो पटक मोटर (गाडी) चढेकी थिइन्। उनका लागि गाडी चढ्नु पनि सपना जस्तै थियो। उनको यो सपना पनि यस आँखा अस्पतालले आफ्नै खर्चमा पूरा गरिदियो। र, उपचारदेखि खानेबस्ने सम्पूर्ण खर्च पनि अस्पतालले नै बेहोरिदियो। लालबहादुर जन्मँदै दुवै आँखा नदेख्ने थिए।

दुवै आँखा नदेख्ने यथार्थ सुशीलाले लालबहादुर जन्मेको ६ महिनापछि नै थाहा पाएकी थिइन्। एकहोरो हेरिरहने, कसैले बोलाउँदा पनि टोलाइरहने छोरा आँखा नदेख्ने शंका लागेपछि सुशीला रन्थनिँदै डाक्टरकोमा पुगेकी थिइन्। त्यहाँका डाक्टरले लालबहादुर आँखा नदेख्ने भनिदिएपछि उनी चिन्तित बनेकी थिइन्। र, डाक्टरको जवाफ सुनेर निराश हुँदै सुशीला घर फर्केकी थिइन्। न उपचार खर्चको जोहो हुन्थ्यो न उनी छोराको उपचारका लागि सोच बनाउँथिन्। तर, यस अस्पतालको सम्पर्कमा आएपछि सारा सपना क्षणभरमै पूरा भएको पनि सुशीलालाई सपना जस्तै लाग्छ। उनले भावुक हुँदै भनिन्, ‘डाक्टर र यस अस्पतालाई सधैं मनमस्तिष्कमा याद राख्छु।’

‘अस्पतालबारे गाउँमै धेरै तारिफ सुनेकी थिएँ,’ सुशीलाले सम्भिइन्, ‘सुनेभन्दा कैयौं गुणस्तरीय उपचार र व्यवहार पाएँ। ऐसेलुखर्कबाट लहानसम्म खानेबस्ने र यातायातको सम्पूर्ण खर्च बेहोरेर मेरो छोरालाई संसार देखाइदिने यस अस्पतालको गुन बाँचुन्जेल याद राख्छु, यो अस्पताल आइपुग्दा अर्कै देश आएजस्तो अनुभूति भयो भने फर्किंदा आफ्नै घर छोडेर गइरहेकी छु जस्तो भयो। अस्पतालमा दुई दिनको बसाइ जीवनभर नभुल्ने गरी मनमस्तिष्कमा रह्यो,’ उनले भनिन्। अहिले छोरा आफ्नो भरोसा बनेको उनले फोनमा सुनाइन्।

उचाइ चुम्दै सगरमाथा आँखा अस्पताल

लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत डेढ करोडभन्दा बढीले उपचार सेवा लिएका छन्। यस प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार ४२ वर्षको अन्तरालमा प्रणालीअन्तर्गत देशविदेशका गरी एक करोड ५२ लाख ६६२ जनाले आँखा तथा कान उपचार गराइसकेका छन्।

सगरमाथा चौधरी आँखा अस्पतालमा मात्रै ८४ लाख ७१ हजार ३८० जना आँखा तथा कान बिरामीको उपचार भइसकेको छ। यस अवधिमा समग्रमा २३ लाख ६७ हजार ६८० आँखा तथा कान बिरामीको शल्यक्रिया भएको छ। सगरमाथा चौधरी आँखा अस्पतालले मात्रै १४ लाख ५० हजार ८३७ आँखा तथा कानका बिरामीको शल्यक्रिया गरेको छ।

लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र प्रदेश १ मा विराटनगर आँखा अस्पताल छन्। वाग्मती प्रदेश, प्रदेश १ र मधेस प्रदेशमा ३० वटा भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालनमा रहेको उनले बताए।

४२ वर्षमा सगरमाथा चौधरी आँखा अस्पतालले १४ लाख ५० हजार ८३७ आँखाका बिरामीको शल्यक्रियामार्फत दृष्टि फर्काइदिएको सोही अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले नागरिकलाई बताए।

अस्पतालले दुई वर्षदेखि सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा पनि दिँदै आएको छ। यस वर्षदेखि यो अस्पताल आइएसओ प्रमाणित अस्पताल बनेको छ। त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवासको व्यवस्था उपलब्ध छ। प्रबन्धक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन्। ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि विश्वस्तरको छ,’ उनले भने।

वरिष्ठ प्रबन्धक रोशनका अनुसार देशका सबै जिल्लाबाट र भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन्।

‘भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छन्। तर भारतीय बिरामीका लागि समेत भरोसा बनेको छ सगरमाथा चौधरी आँखा अस्पताल,’ रोशनले भने। उनका अनुसार भारतलगायत स्थानबाट पत्र लेखेर ‘संसार देख्ने आस मारिसकेका हामीलाई संसार देखाउने अस्पताल र आदरणीय चिकित्सकलाई धन्यवाद’ भनी आभार व्यक्त गरेका पत्रहरू आइरहन्छन्। यी धन्यवादसहित पठाइएका पत्र स्मरणीय रहेको अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले बताए।

भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रतिको विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भिडले नै पुष्टि गर्छ। ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ,’ नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरीले भने। प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन्। ‘तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीय पक्षलाई पुष्टि गर्छ,’ उनले भने। शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेशका लागि ‘चिकित्सा पर्यटन’को बलियो स्रोत भएको प्रदेशमुख्यमन्त्री सतिशकुमार सिंहले बताए।

अहिलेसम्म कुनै विवादमा नपरेको उक्त अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ। विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुन्छन्। यस प्रकारको चिकित्सा पर्यटन (मेडिकल टुरिजम) ले मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको मुख्यमन्त्री सिंहले बताए। यो अस्पताल सगरमाथाजस्तै नेपालको नाम विश्वभरमा चम्काएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताए। सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ।

अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३२० चिकित्साकर्मी एवं प्रशासनिक कर्मचारी छन्। यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या सात लाख दुई हजार दुई सय र शल्यक्रिया गराउनेको संख्या ६५ हजार ९३३ छ। जसमा यस वर्ष मोतिबिन्दुको शल्यक्रिया गराउनेको संख्या ४२ हजार २३६, कोर्निया (आँखाको पुतली) शल्यक्रिया तीन हजार ५८१, आँखाको पर्दा (रेटिना) पाँच हजार ८० र ग्लुकोमा तिन हजार ८४४ छ। अक्लोप्लास्टिकको शल्यक्रिया २७ सय ११ र डेढोपनको शल्यक्रिया ९७ जनाको गरिएको छ।

यसभन्दा अघिल्लो वर्ष जचाउन आउने बिरामीको संख्या पाँच लाख ७१ हजार पाँच र शल्यक्रिया गराउनेको संख्या ६२ हजार ७७७ थियो। गत वर्षको तुलनामा यस वर्ष जचाउन आउने बिरामीको संख्या २३ प्रतिशत र शल्यक्रिया गराउन आउने बिरामीको संख्या पाँच प्रतिशतले वृद्धि भएको अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले बताए। अस्पताल प्रशासनका अनुसार अस्पतालका संस्थापक निर्देशक डा. एलब्रेच्ट हेनिङको आविष्कार फेको प्रविधि विश्वभरका नेत्र विज्ञहरूले प्रयोग गर्दै आएका छन्। यो प्रविधि मोतिबिन्दुको शल्यक्रिया गर्ने प्रभावकारी प्रविधि हो।

अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र नगरी लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गतका लहान र विराटनगर अस्पतालले वार्षिक तिन करोड रूपैयाँबराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए। लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढडेढ करोड रूपैयाँबराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले जानकारी दिए।  अन्धोपन निवारण आफूहरूको मूल मन्त्र भएको उनले बताए।  

प्रकाशित: ४ फाल्गुन २०८१ ०७:०५ आइतबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School