१० वर्षसम्म एकता र विभाजनको शृङ्खलामा अल्मलिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन माघ अन्तिम साता काठमाडौंमा सम्पन्न गर्यो ।
नीति र नेतृत्व दुवै टुङ्ग्याउनेगरी आयोजित महाधिवेशनमा स्वयं डा. बाबुराम भट्टराई पनि मतदानबाट अध्यक्ष चुनिए । भट्टराईलाई उनकै विद्यार्थी संगठनका पूर्वअध्यक्ष नेत्र चापागाईंले चुनौती दिएका थिए ।
यद्यपि चापागाईं पराजित भए जुन नतिजा अनपेक्षित थिएन। तर चापागाईं भने आफ्नो उम्मेदवारीले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको तर्क गर्छन् । सँगसँगै अर्कोपटक अध्यक्ष बन्ने आत्मविश्वास पनि आएको बताउँछन्, ‘मलाई विश्वास छ– अर्कोपटक बाबुराम भट्टराई नै चुनाव लड्नुभयो भने पनि उहाँलाई पराजित गरेर वैकल्पिक राजनीतिक नेतृत्व गर्न सक्छु ।’
उनै चापागाईंसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीः
हार त अपेक्षित नै थियो । तपाईले नजित्ने निश्चित रहेको चुनाव किन लड्नुभएको ?
हाम्रो एजेण्डा लोकतान्त्रिक थियो, हाम्रो संगठन चाहिँ लोकतान्त्रिक थिएन । त्यसकारण पार्टीको प्रथम महाधिवेशनमा लोकतान्त्रिक शक्ति हो भनेर स्थापित गर्न मैले उम्मेदवारी दिएको हो ।
दोस्रो– उषाकिरण तिमेल्सेना, भीम रावल लगायतलाई देशको सत्तारुढ पार्टीले स्टाटस लेखेबापत, चुनाव लडेबापत कार्बाही गर्ने, यता माओवादी पार्टीमा पनि बीसौं वर्ष त्यस्तै भइरहने भइरहेकाले पार्टीहरूको आन्तरिक लोकतन्त्र संकटमा परेको देखिन्छ ।
र, त्यसले पार्टीहरूलाई खराब बनाइरहेको छ । दल राम्रो नभएसम्म देश राम्रो बनाउन सकिंदैन । त्यसैले हाम्रो पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्छ र त्यसको सन्देश प्रथम महाधिवेशनबाट दिनुपर्छ भन्ने थियो ।
तेस्रो– शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मुद्दाहरू राजनीतिक दल र क्याबिनेटमा पनि छलफल भएको छैन । हाम्रो महाधिवेशनमा पनि छलफल हुने छाटकाँट नदेखेपछि यी मुद्दा लिएर चुनाव लडेको हो ।
मलाई विश्वास छ– अर्कोपटक बाबुराम भट्टराई नै चुनाव लड्नुभयो भने पनि उहाँलाई पराजित गरेर वैकल्पिक राजनीतिक नेतृत्व गर्न सक्छु ।
उम्मेदवारी दिएपछि कतै चुनाव जिति पो हालिन्छ कि जस्तो भएन ?
००७ सालको क्रान्तिका बेलामा पनि कोइरालाहरू झण्डै ३५ वर्षकै हाराहारीमा हुनुहुन्थ्यो । माओवादी जनयुद्ध गर्दा पनि अधिकांश १५ देखि २५ वर्षका युवाहरू बन्दुक बोकेर लागेर जनयुद्धलाई उचाइमा पुर्याउनु भएको हो ।
अस्ति भर्खर साझा विवेकशीलमा २५ देखि ३५ वर्षसम्मका साथीहरूले नेतृत्व गर्नुभयो । यसपटक पनि मैले बाबुराम भट्टराईले पुस्तान्तरणको बहस दश वर्षदेखि गरिरहनुभएको हो र मतदाताले मलाई छनोट गर्नुहुन्छ भन्ने विश्वासको साथ उठेको हो । तर आम प्रतिनिधिहरूले मन दिनुभयो, मत दिनु भएन । अर्कोपटक मलाई मत पनि दिनुहुन्छ भन्ने विश्वास छ ।
अहिले चाहिँ विश्वास जितेँ भन्ने अवस्थामा मात्र रहनु भयो ?
यसपटक प्रतिनिधि साथीहरूको सुझाव के छ भने यो तपाईको पहिलो प्रयत्न हो, हामी तपाईलाई निराशा बनाउँदैनौं । अर्को पटक चाहिँ तपाईलाई जिताउँछौं, त्यो स्तरको तयारी गर्नुस् भन्नु भएको छ । मलाई विश्वास छ– अर्कोपटक बाबुराम भट्टराई नै चुनाव लड्नुभयो भने पनि उहाँलाई पराजित गरेर वैकल्पिक राजनीतिक नेतृत्व गर्न सक्छु ।
तर माओवादी पृष्ठभूमिबाट आएका नेताहरूलाई चुनाव परिवेशको सामना कस्तो हुने रहेछ ?
अरु राजनीतिक दलको महाधिवेशन पनि हेरेँ । उम्मेदवारी घोषणा गरिरहँदा जुन खालको व्यक्तिगत गालीगलौजमा उत्रने मान्छेहरू थिए, क्याम्पेन गरेरै त्यो उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्न नदिने गरिन्थ्यो । तर बाबुराम भट्टराईबाट त्यस्तो दबाब र प्रभाव आएन । मेरो उम्मेदवारीलाई अन्तिमसम्म हार्दिकतापूर्वक स्वीकार्नुभयो । सँगै भोट माग्ने वातावरण उहाँले पनि निर्माण गर्नुभयो । र पार्टी नयाँ र लोकतान्त्रिक शक्ति हो भन्ने सन्देश दिनुभयो ।
तपाईंले भनेजस्तै माओवादी पृष्ठभूमिबाट आएको नेतामा नेतृत्व ट्रान्सफरमा यो स्तरको हार्दिकता सकारात्मक लागेको छ ।
माओवादी पृष्ठभूमिका नजीर के हो भने नेतृत्वविरुद्ध बोल्नेको राजनीति सिद्धिन्छ नि ?
अहिले पनि त्यस्तै देखिन्छ माओवादीमा ।
अरु राजनीतिक दलको महाधिवेशन पनि हेरेँ । उम्मेदवारी घोषणा गरिरहँदा जुन खालको व्यक्तिगत गालीगलौजमा उत्रने मान्छेहरू थिए, क्याम्पेन गरेरै त्यो उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्न नदिने गरिन्थ्यो । तर बाबुराम भट्टराईबाट त्यस्तो दबाब र प्रभाव आएन ।
बाबुराम पनि माओवादी पृष्ठभूमिकै नेता हुन् । चुनाव लडेपछि पनि यही पार्टीमा रहन्छु भन्ने लाग्छ ?
यो पार्टीमा रहने मात्र होइन, अहिले जित्नुभएको साथीहरूलाई पनि अझै क्रियाशील बनाएर वैकल्पिक शक्तिको मूल शक्ति नै नयाँ शक्ति हो भन्ने बनाएर अर्को महाधिवेशनबाट नेतृत्व लिएर देशमा दुई तिहाइ शक्तिका रूपमा वैकल्पिक शक्तिलाई स्थापित गर्ने आँट लिएर उम्मेदवारी दिएको हो ।
तर कम्युनिष्टभित्र अन्तरविरोध अलग हुने देखिन्छ नि त ?
मलाई थुप्रैले भीम रावल बन्छ भनेर व्याख्या पनि गर्नुभएको थियो । तर न बाबुराम भट्टराई केपी ओली हुन्, न नेत्र चापागाईं भीम रावल । निर्वाचन भनेको हार्दिकता हो । त्यसकारण त्यस्तो संस्कृति हाम्रो महाधिवेशनमा देखिएन, त्यो नै पहिलो महाधिवेशनको सुखद् पाटो हो ।
महाधिवेशनको उपलब्धि भनेकै लोकतान्त्रिक अभ्यास भयो ?
पार्टीमा लोकतान्त्रिक अभ्यास भयो । समावेशी समानुपातिक प्रणाली मार्फत जित्ने सबैको सहभागिता भयो । र, नेपालमा पहिलो पटक नो भोटको अप्सन पनि राखेका थियौं ।
अध्यक्ष पदमै ५ वटा नो भोट पनि परेको छ । यो नेपालका निम्ति नयाँ अभ्यास हो ।
बाबुराम पञ्चायत विरुद्ध लड्नुभयो, राजतन्त्रविरुद्ध लड्नुभयो । प्रधानमन्त्री हुनुभयो । अहिले नाती उमेरका नेताहरूसँग चुनाव लडेर नेतृत्वमा आउँदा नयाँ सन्देश भन्न मिल्ने हो ?
उहाँले पनि बैठकमै पनि पुस्तान्तरणको कुरा राख्नुभएको हो । तपाईंहरू तेस्रो पुस्ताले नेतृत्व गर्नुस् भनेर सहजतापूर्वक प्रस्ताव राख्नुभएको हो । तर प्रतिनिधि साथीहरूले कम्तिमा पनि एक दुई वर्ष गाइड गरिदिनुस्, हामी अलिक परिपक्क भएको छैन भन्ने धेरै साथीहरूको मत भएको कारणले मात्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले सचिवालयको बैठकमा पनि तेस्रो पुस्ताले नेतृत्व गर्नुस् भनेर उहाँले प्रस्ताव नै राख्नुभएको हो ।
भन्नु चाहिँ भयो, गर्नु चाहिँ भएन … ?
सचिवालयको बहुमत साथीहरूले कम्तिमा पनि एक कार्यकाल वा कम्तिमा दुई तीन वर्ष राजनीतिक रूपले गाइड गरिदिनुपर्छ भनेर भनिसकेपछि उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
दोस्रो कुरा हलमा गइसकेपछि त बाबुराम भट्टराई, म र अरु कोही पनि प्रतिनिधि सार्वभौम हो । उहाँले उठ्न पाउनु हुन्न र म मात्रै उठ्छु भन्ने कुरा भएन । जो पनि उठ्न पाउँछ भन्ने मूल्य, मान्यता र सबैले प्रतिस्पर्धा गर्न पाउँछ भन्ने वातावरणलाई मैले नकारात्मक रूपमा लिएको छैन ।
र उहाँले जुन वैचारिक गाइड गरिरहनुभएको छ र त्यसमा पनि संगठनमा विकास गरेर हामी जान्छौं ।
बितेको दश वर्षमा नेतृत्वले गरेको गल्तीमा तपाईहरूबीच विमति छैन । तर त्यही नेतृत्व र संगठनबाट सुधार संभव छ ?
हामीले वैकल्पिक बनाउने तीन वटा कुरा गरेका थियौं । पुराना शक्तिहरूलाई रूपान्तरण गरेर, मुद्दा मिल्नेहरूसँग एकता गरेर र पूरै नयाँबाट सुरु गरेर वैकल्पिक शक्ति बनाउन सकिन्छ भन्ने २०७२ सालको प्रस्तावना हो ।
पुराना राजनीतिक शक्तिहरूसँग एकताबाट हुन्छ कि भनेर उपेन्द्र यादवसँग एकतादेखि जसपा निर्माणसम्मको कोर्स गरियो । संभवतः त्यो कोर्स असफल भयो । दोस्रो पुरानै माओवादी आन्दोलनलाई ट्रान्सफर गर्न सकिन्छ कि भनेर गत आमचुनावदेखि समाजवादी केन्द्र बनाउनेसम्मको कोर्समा काम गर्यो । त्यसमा पनि पुराना राजनीतिक शक्तिहरू सत्ता स्वार्थका कारणले एकता गर्ने र छलफल गर्दा हुन्छ भन्ने अनि सत्ता प्राप्त भएपछि पूरै पछाडि फर्कने गरे ।
अब हामी नयाँ वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्दै आफ्नै शक्तिका आधारमा वैकल्पिक शक्ति बनाउँछौं । यो तेस्रो पक्ष हो, र यहाँबाट पछाडि हट्दैनौं ।
त्यसले बाबुराम भट्टराई पनि त्यस्तै हो कि भन्ने जनतामा परेको छ । तर यो महाधिवेशनको जनादेश के हो भने पूरै नयाँ शक्ति नै बनाउने हो र नयाँ मान्छेहरूबाटै ल्याउने हो । अधिकांश युवाहरू (झण्डै ५० प्रतिशत युवा ४० वर्ष मुनिका) केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म जित्नु भनेको कोर्स बदलिएको सन्देश नै हो ।
अब हामी नयाँ वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्दै आफ्नै शक्तिका आधारमा वैकल्पिक शक्ति बनाउँछौं । यो तेस्रो पक्ष हो, र यहाँबाट पछाडि हट्दैनौं ।
पछाडि नहट्न महाधिवेशनको आदेश पनि हो । यदि बाबुराम भट्टराई पछाडि हट्नु भयो भने केन्द्रीय समितिले त्यस्तो म्याण्डेट दिन सक्दैन ।
तपाईहरूले नयाँ वैकल्पिक शक्ति बनाउने घोषणा गरेपछि अरू नयाँ आइसकेका छन् । फेरि तपाईँहरूमा वैकल्पिक शक्ति बन्ने आत्मविश्वास छ ?
नयाँ पार्टी र वैकल्पिक शक्ति अलग कुरा हो । नयाँ पार्टीहरू त आउँछन् । तर नयाँ वैकल्पिक शक्ति भनेको चाहिँ एजेण्डा सहितको नयाँ राजनीति नै हो । अहिले भएका रास्वपादेखि विवेकशीलसम्ममा सुशासन र समृद्धिको करा मात्रै छ । तर रेशम चौधरीदेखि सिके राउतसम्ममा पहिचानको समानताको मुद्दा मात्रै छ । समानता र सुशासनको मुद्दासँगै जोडेर लान सक्ने भनेको हाम्रो नयाँ शक्तिको डकुमेन्ट हो ।
कम्युनिष्ट भन्ने शब्द र पृष्ठभूमिका कारणले पनि तपाईहरू तनावमा हुनुहुँदो रहेछ हैन ?
हाम्रो पार्टी कम्युनिष्ट पार्टी होइन । उन्नत लोकतान्त्रिक पार्टी हो । जस्तो कांग्रेसको प्रतिनिधिमुलुक लोकतन्त्र हो । हाम्रो डाइरेक्ट डेमोक्रेसी हो । पार्टी सदस्यहरू पनि अध्यक्ष छान्न पाउने हाम्रो विधान हो । लोकतान्त्रिकभन्दा पनि अझ उन्नत शक्ति हो हाम्रो चाहिँ ।
कम्युनिष्ट चाहिँ मेरिटोक्रेसीमा आधारित जुन प्रणाली छ, त्यो चाहिँ पुरानो नै भइसक्यो । त्यही भएर कम्युनिष्टप्रति हाम्रो कुनै आकर्षण पनि छैन, हामी कम्युनिष्ट पार्टी पनि होइनौं ।
तर बाबुराम भट्टराई पनि त्यही पृष्ठभूमिबाट आएको हुनाले जनताले शंकाले हेर्ने वातावरण बन्यो । यो महाधिवेशनबाट त्यो निराकरण भएको छ ।
तर चुनाव आएपछि कहिले कम्युनिष्ट र कहिले कांग्रेससँग मिल्दा जनतामा अलमल छ नि ?
आमनागरिकले त्यसरी हेर्ने कुरालाई नकारात्मक लिन्न । किनकि लार्भाबाट पुतली बन्ने क्रममा जानेका बुझेका मान्छेले मात्रै त्यसबाट पुतली बन्छ भन्छन् । अथवा पुतली नबनेसम्म त पुतली बन्छ र भन्ने आशंका हुन्छ । हामीले यो दश वर्षसम्म लार्भाबाट पुतली बन्ने चरणमा थियौं । यो महाधिवेशबाट पुतली बन्यौं र उठ्छौं ।