नुवाकोटको विदुरस्थित ऐतिहासिक शेरा दरबारले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी कम्पनीका नाममा गएको विषय राजनीतिको शीर्ष तहमै बहस सुरु भएको छ। उक्त जग्गा सरकारका नाममा ल्याउने अन्तिम तयारी भइरहेका बेला नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले त्यसमाथि बहस थालेका हुन्।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा काम गरेका र उक्त पार्टीको केन्द्रीय सदस्यसमेत रहेका विकेश श्रेष्ठको अन्नपूर्ण फार्मिङका नाममा रहेको सो जग्गा सरकारले आफ्नो नाममा ल्याउने तयारी गरिरहेको छ। उक्त विषयमा अध्यक्ष दाहालले छानबिन गर्न माग गर्दै संसद्मा आफ्ना धारणा राखिसकेका छन्। ‘अहिले नुवाकोटको शेरा दरबारलाई चर्चामा ल्याइएको छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्ड (पुष्पकमल दाहाल) लाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ। सरकार खोजिरहेको छ– एउटै पनि अपराध गरेन त प्रचण्डले?’
आफूले वाइडबडी, गिरिबन्धु, यती र ओम्नीको चर्चा नगर्ने भन्दै उनले बिहीबारको संसद् बैठकमा सम्बोधन गर्दै भनेका थिए, ‘सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई। म यही रोस्ट्रमबाट भन्छु– शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरौं, मैबाट सुरु गरौं।’
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जवाफ फर्काउँदै सो जग्गा सरकारका नाममा आउने बताए। सदनमा बोल्दै दाहालले शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो संलग्नता भए छानबिन गर्न चुनौती दिएपछि रिमालले सामाजिक सञ्जालमार्फत त्यस्तो जवाफ दिएका थिए।
‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि, होइन र ? सिआइबीको छानबिनपछि अहिले त्यो जग्गा सरकारका नाममा ल्याउने प्रक्रियामा छ। संसद्मै प्रश्न उठाउनुभएकाले मात्र यति जानकारी दिएको हो है,’ रिमालले फेसबुकमा लेखेका थिए।
यो विषय राज्य व्यवस्था समितिको बैठकमा पनि उठिसकेको छ। समितिको पुस १८ गते बसेको बैठकमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष दाहालले शेरा दरबार प्रकरणमा आफ्नो संलग्नता नभएको र सरकारले छानबिन गरेर फिर्ता ल्याए समर्थन गर्ने बताएका थिए। सोही बैठकमा एमालेले शेरा दरबारबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेको थियो। ‘शेरा दरबारबारे भएको के हो? गृहमन्त्रीले स्पष्ट गर्नु आवश्यक छ,’ समितिको बैठकमा बोल्दै एमाले सांसद वासुदेव घिमिरेले भनेका थिए। घिमिरेले गृहमन्त्रीसँग जवाफ मागेपछि दाहालले समेत यसमा सत्यतथ्य छानबिन गरी सरकारका नाममा ल्याउनुपर्ने माग गरेका थिए।
नुवाकोटस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी जग्गा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका विकेश श्रेष्ठले अन्नपूर्ण फार्मिङका नाममा लालपुर्जा रहेको जग्गाको हदबन्दी छुटाएर आफ्नो नाममा ल्याएको थिए।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि औंला ठड्याउनेहरूले जग्गा र दरबार निलेको टिप्पणी गरेका थिए। माघ १४ गते एमाले संसदीय दलको बैठकमा यसको चर्चा गरेका थिए। शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा अन्नपूर्ण फार्मिङका नाममा गएको विषयलाई लक्षित गर्दै एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका थिए।
‘हामीमाथि औंला ठड्याउनेहरूको विषयमा अहिले म केही भन्न चाहन्नँ। घाँटीको नली पनि कत्रो होला? जग्गा पायो जग्गा नै कोप्ल्याक्कै, दरबार पायो दरबार नै कोप्ल्याक्कै निलेको छ, पेट पनि कत्रो होला?’ उनले संसद्मा सम्बोधन गर्ने क्रममा भनेका थिए।
नुवाकोटस्थित शेरा दरबार र यसले चर्चेको जग्गा अन्नपूर्ण फार्मिङका नाममा भएको र त्यसको स्वामित्व माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयमा रहेर काम गरिसकेका र माओवादीका पूर्वकेन्द्रीय सदस्य विकेश श्रेष्ठको नाममा रहेको खुलेपछि यसले राजनीतिक क्षेत्रमा तरंग ल्याएको हो। यद्यपि पूर्वप्रधानमन्त्री दाहालको सचिवालयले शेरा दरबारसँग दाहालको नाम जोडिनु आपत्तिजनक भएको भन्दै खण्डन गरेको छ।
अन्नपूर्ण फार्मिङको नाममा पुगेको जग्गाबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले प्रश्न उठाएपछि त्यसलाई सरकारका नाममा ल्याउन लागिएको हो। शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि त्यसको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए।
गौरीशंकर फार्मिङ नामको संस्था मिति २०२७ फागुन २८ स्थापित भएकोमा सो संस्थाले २०३६ असार १ मा गरेको निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर (केरमेट गरेर) अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो।
त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहका नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहका नाममा गएको देखिएको छ। ‘यहीँनेर कमजोरी देखिएको छ,’ सिआइबी स्रोतले भन्यो। २०५२ सालमा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ गते सेयर दाखिला खारेजीको निर्णयले विकेश श्रेष्ठ सेयर कित्ता संख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।
त्यसैगरी अजयकुमार सूर्यवंशी नाममा अर्को सेयर रहेको छ। सेयर कित्ता संख्या चार लाख ६० हजार ४१० को मूल्य चार करोड ६० लाख ४१ हजारमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोटको विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठको सेयर कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।
यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकको कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी चार जनाको नाममा ११ करोड १७ लाख ९१ हजार रूपैयाँमा सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठको छोरो मनोबल श्रेष्ठ सेयर कित्ता संख्या ९० लाखको मूल्य ९० लाख नयाँ सेयर धनी ल्याइएको थियो। हाल सेयर धनी तीन जना मात्रै छन्। यसको सेयर कारोबारमा पनि शंकास्पद रहेको सिआइबीको ठहर छ।
अन्नपूर्ण फार्मिङ प्रालिका नाममा कायम भएको जग्गाहरू विदुर नगरपालिका–२ स्थित कित्ता ८२ ,८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालिको नामबाट खरिद बिक्री भएर शेरा (रानी) को दरबारका रूपमा रहेको जग्गाहरूको प्रालिसँगै कारोबार भएको पाइएको छ।
दरबारसहितको फार्मिङ कम्पनीका नाममा बनाइएका जग्गाहरू आवादीमा तीन कित्ता छन् भने पर्ती (सरकारी) मा पाँच कित्ता छन्। जसमध्ये तीन कित्तामा पोखरी, एक कित्तामा केरा र एक कित्तामा बगैंचा रहेको जग्गाधनी स्रेस्ता किताबमा उल्लेख छ। पर्ती, पोखरी, केरा र बगैंचा भएका जग्गाहरू स्वतः सरकारी हुने भए पनि ती जग्गासमेत फर्मिङ प्रालिका नाममा नापी भएको पाइएको छ। यो नापी नै गलत रहेको सिआइबीले छानबिनका क्रममा औंल्याएको छ।
शेरा दरबारका रूपमा चर्चिएको जग्गाहरू कित्ता ७९, ८० र ८१ (८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बनाइएको) भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा करिब २० रोपनी जग्ग्गा बिक्री भएको पाइएको छ। जग्गाधनीहरूले ८१ नं. को कित्ता टुक्र्याएर वर्षा बस्नेतका दाइ तादी गाउँपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने वसन्तबहादुर बस्नेतलाई २०८० माघ १५ गते ९ आना जग्गा ५ लाख रूपैयाँमा बिक्री गरेको पाइएको छ।
८१ नम्बरको कित्ताबाट टुक्र्याएपछि बाँकी ६ रोपनी जग्गा बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को संयुक्त नाममा कित्ता नं. १७५३ बनाएर राखिएको छ। जग्गा खरिद गर्ने बस्नेत कानुन व्यवसायी हुन् भने नेकपा एकीकृत समाजवादी (नेकपा एस) का जिल्ला नेताका रूपमा पनि उनले आफूलाई चिनाउने गरेका छन्।
कित्ता नं. ७९, ८० र ८१ मा रहेका जग्गाहरूमा हेलेन शाहले बस्न बनाएको सुविधासम्पन्न आवासीय एकतले भवनका १० कोठा, दरबार सुरक्षार्थ २०२८ सालमा बनाइएको सैनिक आवास ब्यारेकका पाँच कोठा, गाडी राख्न बनाएको ग्यारेजसहितका संरचना रहेको र ती केही प्रयोगमा रहेको तथा केही जीर्ण भइसकेको देखिएको छ।
माओवादीले द्वन्द्वकालमा दरबारमा बम विस्फोट गराएका थिए। रानीको दरबारका रूपमा परिचित शेरा दरबारलाई २०५९ पुस १२ गते माओवादी केन्द्रले आगो लगाइदिएर क्षति पुर्याइदिएका थिए। माओवादीले उक्त दरबारमा आगो लगाउने समयमा दरबार रेखदेखका लागि स्थानीय ज्ञानकुमार डंगोलको परिवार दरबारभित्रै बस्दै आएको र आगलागीबाट उनीहरूको सबै धनसम्पत्तिसहित दरबारमा क्षति पुगेको थियो। दरबार त्यसपछि हाल भग्नावशेष अवस्थामा पुर्याइएको थियो। त्यसपछि माओवादीले नै कब्जा गरेर उक्त जग्गामा झन्डा गाडेको थियो।
प्रकाशित: २८ माघ २०८१ ०६:२० सोमबार