२० माघ, काठमाडौं । बालखैमा बाबु बितेका अनि आमाले पनि छाडेपछि सायद उनीजति टुहुरो यो संसारमा को थियो होला र ? बाबुको वियोग र लगत्तै आमाले पनि दोस्रो बिहे गरेर हिँडेपछि उनको हरिबिजोग नै भयो ।
तर, उमेर र दिमाग कलिलै भए पनि उनले हार मानेनन् । जीवनमा केही त गर्नैपर्छ भन्ने गाँठी कुरो मनमा बोकेर उनी सहारा खोज्दै हिँडे ।
सहारा खोज्दै जाँदा उनी क्रिस्चियनको सँगतमा पुगे । बिस्तारै चर्च धाउन थाले । १२ वर्षको बच्चोलाई त्यही चर्च नै त्यो बेला सबैभन्दा ठूलो सहारा बन्न पुग्यो । उनलाई खान–लाउन मात्र होइन, त्यो चर्चले पढाइ–लेखाइको जिम्मा पनि लिइदियो ।
त्यही चर्च नै उनको वास्तविक सहारा बनिदियो । हिन्दु परिवारमा जन्मिएको उनी त्यसपछि धर्म परिवर्तन गरेर क्रिस्चियन बने । यो उनको बाध्यता थियो । किनकि, उनका एकमात्र सहारा बाआमा दुवै जना नै उनीसँग थिएनन् ।
यो ६५ वर्षअघि २०१६ सालमा भक्तपुर कटुञ्जेमा जन्मिएका उनै रामचन्द्र तिमोथीको जीवनगाथा हो । जसले पीर, वियोग, संघर्ष र मिहिनेतको पहाड छिचोलेर आफूलाई अब्बल साबित गरेका छन् ।
कुनै बेला गाडी मर्मत गर्ने वर्कसपमा दैनिक ज्यालादारी मजदुरका रूपमा काम गरेर, ‘काम भनेको सानो–ठूलो हुँदैन, मिहिनेत र कर्म ठूलो हो’ भन्ने पनि पुष्टि गरे । रामचन्द्र गाडी वर्कसपमा काम गर्दा दिनको २० रुपैयाँ ज्याला पाउँथे । त्यो ज्यालाले उनको पेट बल्लबल्ल पालिन्थ्यो । तै पनि उनले कहिल्यै गुनासो गरेनन्, अनि कर्म गर्न पनि छाडेनन् ।
फेरि, एकछिन रामचन्द्रको बाल्यकालमा फर्किऔं ।
उनलाई चर्चले शरणमात्र दिएन, पढाइ–लेखाइ जिम्मा पनि लिएपछि बाध्य भएर धर्म परिवर्तन गरेका थिए ।
त्यसपछि त के चाहियो र ! धर्म परिवर्तन गरेपछि त उनलाई परिवारकै सदस्यले छिः छिः दुरदुर गर्न थाले । ‘कि घरपरिवार छाड्, कि धर्म छाड्’ भनेर दबाब दिए ।
अन्तिममा उनले परिवार छाडे, तर परिवर्तन गरेको धर्म छाडेनन् । ‘त्यसबेला म धर्मकर्म गर्न होइन, पढाइलाई निरन्तरता दिन चर्चको शरणमा पुगेको थिएँ,’ सम्झनाका गर्तमा पुग्छन् रामचन्द्र ।
तर, भक्तपुरमा रहेको जुन चर्चमा उनी जान्थे, त्यहाँ बस्ने सुविधा थिएन । त्यसपछि उनी काठमाडौं ज्ञानेश्वर चर्च गए । त्यहाँ उनी १४ दिन बसे । त्यसपछि उनले बुझे– चर्च भनेको त बस्ने ठाउँ होइन रहेछ !
अनि, उनी ललितपुर पाटनस्थित शान्तभवन अस्पताल पुगे । काम पनि पाए । हाल पाटन अस्पतालका नाममा सञ्चालित शान्तभवन अस्पताल त्यसबेला क्रिस्चियन मिसनले सञ्चालन गर्थ्यो ।
किशोर उमेरका रामचन्द्रले त्यहाँ ओपीडीमा बिरामीको फाइल बनाउने र बोतल सफा गर्ने काम पाए । ज्याला दिनको १२ रुपैयाँ थियो ।
तर, त्यो ज्यालाले मात्र उनलाई खान, बस्न र पढ्न पुग्दैनथ्यो । त्यसपछि खाली समय उपयोग गर्दै अस्पताल परिसरमै रहेको गाडी बनाउने वर्कसपमा काम गर्न थाले । उनी गाडीको डेन्टिङ पेन्टिङ र फर्निचरको काम गर्थे । त्यसबापत दिनको २० रुपैयाँ ज्याला पाउँथे ।
दिनमा दुइटा काम गरेर रामचन्द्र ३२ रुपैयाँ कमाउन सक्ने भए । २०२८–३० सालतिर त्यो राम्रै पैसा थियो ।
रामचन्द्रले त्यसरी हाड घोटेको पैसा कमाउन थिएन, पढाइलाई निरन्तरता दिन थियो । त्यही भएर उनी पाटन हाइस्कुलमा भर्ना भएर पढ्न थाले । दिनभरि काम गर्ने श्रमिक बालबालिकाले पढ्न पाउन् भनेर पाटन हाइस्कुलमा रातिको सिफ्टमा पढाइ हुन्थ्यो । त्यसरी दिनभरि श्रम गर्दै राति पढेर उनले एसएलसी पास गरे २०३२ सालमा ।
अनि, सुरु भयो किताब यात्रा
एसएलसी पास गरेपछि रामचन्द्र पढाइ र कामको खोजीमा जापान जान लागेका थिए । तर, उनका मामा डा. एडोन रोङगोनले उनलाई रोकिदिए ।
![गाडी मजदुर रामचन्द्रले खोलेको देशकै ठूलो प्रकाशनगृह गाडी मजदुर रामचन्द्रले खोलेको देशकै ठूलो प्रकाशनगृह](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/ekta-books-11.jpg)
रामचन्द्रलाई ‘तिमी किताब पसल खोल्छौ भने खोल’ भनेर मामाले आफूसँग पुरानो पसलमा भएको पुस्तक जिम्मा लगाए । किताब पसलमा काम गरेर अनुभव हासिल गरिसकेको हुनाले रामचन्द्रलाई यो काम गर्न सक्छु भन्ने हिम्मत आयो ।
रोङगोनले पाटन मंगलबजारमा किताब पसल खोलेका थिए– पाटन बुक सप । एसएलसी पास गरेर लेखपढ गर्न जान्ने भएको भान्जालाई उनले यही किताब पसलमा काम गर्दै पढ्न भने । त्यसपछि रामचन्द्रले त्यही किताब पसलमा काम गर्न थाले र मानभवन कमर्स क्याम्पसमा आईकम पढ्न थाले । मानभवन क्याम्पस पछि बानेश्वरको मीनभवनमा सर्यो र मीनभवन क्याम्पस भएको थियो । अहिले त्यसलाई नेपाल कमर्स क्याम्पस भनिन्छ ।
त्यहाँबाट आईकम पास गरेपछि उनले सरस्वती क्याम्पसबाट बीकम उत्तीर्ण गरे । त्यही बेला मामा व्यवसाय छाडेर विदेश गएपछि पसल नौ महिना बन्द भयो ।
आफू बाहिर हिँडिरहनुपर्ने र कर्मचारीको भरमा पसल छाड्दा नाफा नभएर घाटा हुन थालेपछि मामाले त्यो पसल फेरि सञ्चालन गरेनन् ।
त्यसपछि रामचन्द्रलाई ‘तिमी किताब पसल खोल्छौ भने खोल’ भनेर मामाले आफूसँग पुरानो पसलमा भएको पुस्तक जिम्मा लगाए । किताब पसलमा काम गरेर अनुभव हासिल गरिसकेको हुनाले रामचन्द्रलाई यो काम गर्न सक्छु भन्ने हिम्मत आयो ।
अर्कातिर, तत्काल लगानी पनि गर्नु नपर्ने भयो । सटर भाडामा लिएपछि पुस्तक र स्टेसनरी मामाको पुरानो पसलबाट बेच्न थाले । मामालाई बिस्तारै पैसा तिरे हुने भयो ।
मामाको पाटन बुक सपमा भएका पुस्तकको मूल्य १ लाख ८४ हजार मूल्यांकन भयो । मामाले त्यसमा ४ हजार छुट गरेर १ लाख ८० हजारमा हिसाब गरिदिए । त्यसपछि उनले पाटन मंगलबजारमै पुस्तक पसल खोले– हिसप बुक हाउस । यो उनको पहिलो व्यवसाय थियो ।
बेच्दै तिर्दै गर्ने सर्तमा पुस्तक र स्टेसनरी लिए पनि मामाले त्यो पैसा लिन मानेनन् । त्यसरी पैसा फिर्ता गर्न नपाएकोमा रामचन्द्रलाई पछुतो लागिरह्यो । त्यसैले आफ्नो व्यवसायको संस्थापकका रूपमा उनले आफ्ना मामालाई लिने गर्छन् ।
पछि मामाकी छोरीको विवाहमा उनले राम्रै रकम सहयोग गरे, त्यसैलाई मामाले दिएको बीउपूँजी फिर्ता गरेको रूपमा उनले सम्झने गरेका छन् ।
यसरी सुरु भयो ‘एकता बुक्स’
त्यहीबीच उनले भारत जम्सेदपुरको टाटा इन्स्टिच्युटमा एमबीए पढ्नका लागि छात्रवृत्ति पाए ।
भारत पढ्न जाँदा पुस्तक पसल कर्मचारीका भरमा छाडेर नजानू भनेर मामाले भनेका थिए । तर, उनलाई आफूले खोलेको व्यवसाय बन्द गर्न मन लागेन । र, कर्मचारीका भरमा छाडेर गए ।
१८ महिनामा एमबीए गर्दा उनले इन्टर्नसिपका लागि बैंगलोर, पटना र राँचीमा काम गर्ने मौका पाए । त्यहाँ रहेका ‘गुड बुक्स’ र ‘आइडियल बुक्स’ जस्ता किताब पसल पुगेर उनले पुस्तक व्यवसायबारे ज्ञान लिए ।
पढाइ सकेर नेपाल फर्केपछि भने उनले व्यवसायको आकार अझै विस्तार गर्ने सोच बनाए । त्यसपछि उनले काठमाडौं थापाथलीमा ‘एकता बुक्स’ सुरु गरे । यो २०३८ सालको कुरा हो ।
यो पसल गर्न भने उनले ३ लाख ५० हजार रुपैयाँ लगानी गरेका थिए । त्यसका लागि उनले भारत पढ्दा नै केही पैसा कमाएका थिए । जम्सेदपुर पढ्दा उनले साताको दुई दिन काम गर्न पाउँथे । त्यो समय काम गरेर कमाएको पैसा बचत गरेका थिए ।
त्यस्तै, ‘म व्यवसाय गर्छु’ भनेर प्रस्ताव हालेका उनलाई विश्वविद्यालयले बीउ पूँजीका रूपमा ५० हजार भारु दिएको थियो ।
परम्परागत किताब व्यापार गरेर सफल भइँदैन भन्नेमा रामचन्द्र ढुक्क थिए । त्यसैले उनले ख्यातिप्राप्त अन्तर्राष्ट्रिय प्रकाशकको डिलरसिप लिने कुरामा ध्यान लगाए ।
सोहीअनुसार उनले अक्सफोर्ड युनिभर्सिटी प्रेस, लङम्यान, म्याकमिलन पब्लिसर्स लगायतको डिलरसिप लिने प्रयास थाले । त्यसका लागि कुनै विश्वविद्यालयको प्राध्यापकको सिफारिस चाहिने रहेछ । त्यो काममा उनलाई अर्का मामा प्रा. डा. राजेन्द्रकुमार रोेङगोनले मद्दत गरे ।
उनले ती तीन पब्लिकेसनको डिलरसिप प्राप्त गरे । पछि क्याम्ब्रिज युनिभर्सिटी, पेयरसन एजुकेसन र अन्य प्रकाशनको पनि डिलरसिप हात पारे ।
नेपालमा विद्यालय तथा विश्वद्यिालयको पाठ्यक्रममा समेत समावेश भएका पुस्तक प्रकाशन गर्ने विदेशी प्रकाशकको डिलरसिप लिइसकेपछि उनको व्यापार राम्रै चलेको थियो ।
अनि निजी स्कुलका किताब नेपालमै हुन थाले प्रकाशन
ती प्रकाशनको मार्केटिङ गर्न भारतबाटै प्रकाशनका कर्मचारी आउँथे र विभिन्न विद्यालय तथा कलेज गएर प्रचार गर्थे । यसरी विदेशी प्रकाशनका पुस्तक बिक्री र बजारीकरण गरिरहेका रामचन्द्रलाई केही विद्यालयका प्रधानाध्यापकले नेपालमै पुस्तक छाप्न र बिक्री वितरण गर्न प्रोत्साहित गरे ।
त्यसो गर्नेमा अमर आदर्श स्कुलका प्रिन्सिपल वसन्तबहादुर श्रेष्ठ र आदर्श विद्या मन्दिरका एसएनबहादुर श्रेष्ठ थिए ।
‘कति विदेशी मान्छे लिएर प्रचार गर्न आउँछौ । नेपालै पुस्तक छाप, नेपालीलाई नै तयार गर न,’ उनीहरूको सुझाव थियो ।
पुस्तक त छाप्ने, तर कसले लेखिदिन्छ पाठ्यक्रममा आधारित पुस्तक ? त्यसबारे सल्लाह लिन उनले मामाहरू एडोन र राजेन्द्रलाई सम्झिए । एडोनले विराटनगरमा हिमाली प्रकाशन खोलेर महानन्द सापकोटा, माया ठकुरी लगायतका किताब छाप्ने गरेका थिए ।
मामाले गणितको पुस्तक त्यसबेलाका नामी प्राध्यापक प्रा. डा. राममान श्रेष्ठको नाम लिए, जसले स्वयं रामचन्द्रलाई पनि पढाएका थिए ।
प्राध्यापक श्रेष्ठले पुस्तक लेख्न असजिलो हुने बताएपछि उनलाई सहयोग गर्न मदराजा राजोपाध्याय तयार भए । त्यसपछि एकता बुक्सले पहिलोपटक कक्षा ८ देखि १० सम्मको गणित किताब छाप्यो ।
लेखकलाई १० प्रतिशत रोयल्टी दिने प्रथा पनि रामचन्द्रले नै सुरु गरे । त्यसो गर्दा पनि नेपालमा पाठ्यपुस्तकका लेखक पाइँदैनथे । कति पुस्तक त मामाहरू र आफैं लेखेर पनि छापे ।
‘सामान्य ज्ञानको पुस्तक र नैतिक शिक्षाका पुस्तक आफैं लेख्थेँ, शिशु कक्षाका नेपाली विषयको पुस्तक श्रीमतीले लेखिन्, स्वास्थ्य शिक्षासम्बन्धी पुस्तक मामाले लेख्नुभयो,’ उनी सम्झिन्छन्, ‘सुरुमा २–२ हजार प्रति किताब छाप्ने गरेका थिए, तर बिक्री नभएर घाटा पनि हुन्थ्यो ।’
त्यसपछि विस्थापित भए नेपाली स्कुलबाट विदेशी पुस्तक
त्यसबेलादेखि नै सरकारी विद्यालयका पुस्तक त सरकारले नै छापेर देशभरि पठाउने गर्थ्यो । तर, निजी विद्यालयका विद्यार्थीले भने विदेशमा प्रकाशन भएका पुस्तक पढ्नुपर्थ्यो । काठमाडौं लगायत सहरी क्षेत्रमा अक्सफोर्ड, क्याम्ब्रिज लगायत प्रकाशनका पुस्तक पढाइ हुन्थ्यो, तराईका अधिकांश विद्यालयमा भारतमा प्रकाशित पुस्तकको दबदबा थियो ।
यस्तो अवस्थामा निजी विद्यालयका विद्यार्थीलाई आवश्यक पुस्तक छाप्न थालेपछि ती पुस्तक बिक्री गर्न रामचन्द्र आफैं बिक्रीका लागि देश दौडाहामा जान्थे ।
‘त्यसबेला पूर्वतिर बाटोघाटो बनिसकेको थियो, यात्रा गर्न सजिलो थियो । तर, पश्चिमतिर बाटो राम्रो बनेको थिएन, खोलामा पुल पनि थिएन, भारतको बाटो हुँदै जानुपर्थ्यो,’ उनी सम्झिन्छन् ।
उनले धनुषा, सर्लाही, महोत्तरीतिर पुस्तक बेच्न मैथिलि भाषा सिक्नुपर्यो, बारा, पर्सा, रौतहट लगायतमा भोजपुरी सिकेर मार्केटिङ गर्थे ।
‘तराईतिर नेपालीका त पुस्तक नै पाइँदैनथ्यो । त्यही बेला हामीले महादेव अवस्थी र पारसमणि भण्डारीले लेखेको सरल नेपाली शृङ्खला प्रकाशन सुरु गर्यौं, वासुदेव त्रिपाठी सम्पादक हुनुहुन्थ्यो,’ उनी भन्छन् ।
यो शृङ्खलाका पुस्तक अहिले पनि प्रकाशन भइरहेका छन् । त्यस्तै, अंग्रेजी विषयका विद्यार्थीका ‘हेडवे इङ्लिस’ को शृङ्खला प्रकाशन सुरु गरे । यो पुस्तक पनि अहिलेसम्म प्रकाशन भइरहेको छ ।
एकता बुक्सको इतिहासमा यी दुई शृङ्खला सबैभन्दा बढी बिक्री भएका पुस्तक भएको उनको भनाइ छ । ‘हिसाबकिताब राखेको छैन, लाखौं प्रति बिक्री भए होलान्,’ उनी भन्छन्, ‘सबैभन्दा बढी बिक्री हुनेमा सरल नेपाली शृङ्खला नै हो । दोस्रोमा हेडवे इङ्लिस ।’
नेपालभरि किताब पुर्याउन १२ वर्ष
एकता बुक्सले प्रकाशन गरेका किताब देशभरि पुर्याउन १२ वर्षजति लागेको रामचन्द्र सुनाउँछन् । ‘त्यसबेला स्कुलको किताब कसैले छाप्दैनथ्यो,’ उनी भन्छन् ।
एकताले आफ्नो पदचिह्न नेपालमा मात्रै होइन, भारत, चीन लगायत धेरै देशमा विस्तार गरेको छ । भारतीय संस्करणका रूपमा सरल नेपाली शृङ्खला, हेडवे इङ्लिस लगायत पुस्तक भारतमै प्रकाशन र बिक्री वितरण हुँदै आएका छन् । चीन र अन्य देशमा पनि यी पुस्तक बिक्री हुने उनी बताउँछन् ।
अहिले थापाथली चोकैमा एकता बुक्सको ६ रोपनीमा फैलिएको कार्यालय र आठतले भव्य भवन छ । त्यसको चारतलामा त पुस्तक बिक्री कक्ष नै छ । पोखरामा पनि एकताको विशाल भवन छ, इटहरीमा पनि आफ्नै भवन छ । पाटन र नेपालगञ्जमा शाखा पुस्तक पसल छन् ।
एकताले आख्यानका किताब छाप्दैन । तर, गैरआख्यान प्रकाशन उनले २०५८ सालदेखि थाले । ‘ननफिक्सन र अन्य एकेडेमिक पुस्तक गरेर करिब ६ सय शीर्षक छन्,’ उनी भन्छन्, ‘नेपाली र अंग्रेजी डिक्सनरी पनि एकताको एउटा पहिचान नै हो ।’
फिक्सनमा भने बालसाहित्य मात्रै प्रकाशन गर्ने गरेको उनी बताउँछन् । ‘बालसाहित्यको बजार नेपालमा राम्रो छ,’ उनी भन्छन्, ‘नेपालमा त्यस्ता प्रेस पनि थिएनन् । किताब छाप्न दिल्ली कि बनारस जानुपर्थ्यो ।’
त्यसबेला केही पुस्तक शान्त मल्लको नेपाल लिथोग्राफिक कम्पनी र मोनाज अफसेट प्रेस लगायत केही मुद्रण कम्पनीमा पनि छापे ।
किताब सापटी लिएर खुलेको पसल देशकै ठूलो प्रकाशन
अहिले थापाथली चोकैमा एकता बुक्सको ६ रोपनीमा फैलिएको कार्यालय र आठतले भव्य भवन छ । त्यसको चारतलामा त पुस्तक बिक्री कक्ष नै छ ।
पोखरामा पनि एकताको विशाल भवन छ, इटहरीमा पनि आफ्नै भवन छ । पाटन र नेपालगञ्जमा शाखा पुस्तक पसल छन् ।
एकता बुक्स अन्तर्गत प्रकाशन, वितरण, शोरुम लगायत पाँच युनिट छन् ।
एकताको थापाथलीस्थित शोरुम नेपालकै सबैभन्दा ठूलो भएको रामचन्द्र बताउँछन् । हुन त पछिल्लो समय प्रकाशन र पुस्तक पसलको व्यापार पहिले जस्तो छैन । तर, एकताले नेपालको प्रकाशन उद्योगमा सफलताको सगरमाथा चढेको छ ।
तर, यो बाटो सजिलो थिएन, धेरै ओकाली–ओराली सामना उनले गरेका छन् । २०३८ सालमा एकता खोल्दा वर्षको २५–३० हजारको व्यापार हुन्थ्यो । त्यसबेला सामान सस्तो थियो । ‘२०–२५ हजारमा त एक ट्रक सामान आउँथ्यो,’ उनी भन्छन् ।
तर, उनले वर्षको २०–२५ करोडसम्मको व्यापार गरे ।
‘हाम्रा लागि २०४८ देखि २०५८ सालसम्म स्वर्ण युग थियो, हामीले जति प्रगति गर्यौं, त्यही बेलामा गर्यौं, आज जे छ, त्यही बेलाको व्यापारले दिएको हो,’ उनी भन्छन् ।
निजी स्कुलको पाठ्यपुस्तकको मूल्य सरकारले तोक्ने गर्छ । हरेक वर्ष कात्तिकमा उत्पादन खर्चका आधारमा प्रतिपेज लागत हिसाब गरेर पुस्तकको मूल्य तय गर्ने व्यवस्था सरकारले गरेको थियो । तर, १२ वर्षदेखि सरकारले त्यस्ता पुस्तकको मूल्य बढाइदिएको छैन ।
तर, उनको प्रगतिलाई उनकै समाजले धेरै सहेन । उनलाई नेपाली नागरिक नै होइन भनेर कसैले उजुरी हालिदियो । उनको नागरिकता छानबिन भयो । मुद्दा मामिला भयो । ‘मैले आफ्नै देशमा म नेपाली नागरिक हुँ भनेर अदालतमा प्रमाणित गर्नुपर्यो,’ रामचन्द्र दुःखी हुन्छन् ।
२०५८ सालदेखि २०६२ सालसम्म आफूले अकल्पनीय दुःख भोगेको उनको अनुभव छ । आफ्नै राज्यले आफूमाथि अन्याय गरेको उनी बताउँछन् ।
२०६२/६३ मा देशमा दोस्रो जनआन्दोलन भयो, गणतन्त्र आयो । तर, पुस्तक व्यापारमा भने उत्साह मरेर गयो । २०६२ देखि २०७२ सम्म देशमा जसरी अस्थिरता थियो, पुस्तक व्यापारमा पनि त्यही झल्कियो । तर, २०७२ पछि भने पुस्तक व्यवसाय धराशायी हुन थालेको छ,’ रामचन्द्र भन्छन् ।
पुस्तकप्रति सरकारको नीति नै छैन
ज्ञानमा आधारित समाज र राज्यमा पुस्तकको कति महत्त्व हुन्छ भनिरहनु पर्दैन । तर, नेपालले आजसम्म पुस्तकका बारेमा नीतिविहीन छ, अर्थात् अहिलेसम्म पुस्तक नीति नै बनाएको छैन ।
पुस्तकलाई हेर्ने नीति नै नभएपछि किताबका विषयमा सरकारले लहडी निर्णय गरिरहन्छ । नेपाल युनेस्कोको पक्ष राष्ट्र हो । युनेस्केको फ्लोरेन्स सम्झौताले पुस्तक आयातमा भन्सार लिनु हुँदैन भन्छ । तर, नेपालले २०७६ मा पुस्तक आयातमा १० प्रतिशत भन्सार लगाइदियो ।
विद्यार्थी र नागरिक समाजको विरोधपछि सरकारले त्यो निर्णय त फिर्ता लियो । तर, करका कारण केही महिना पुस्तक आयात नै बन्द भएपछि यसको व्यापार नराम्रोसँग प्रभावित भयो ।
सँगसँगै कोभिड–१९ महामारीले पनि पुस्तक व्यवसायको ढाड भाँच्यो । त्यसरी धराशायी भएको प्रकाशन र पुस्तक व्यवसाय अझै तंग्रिन नसकेको उनी बताउँछन् ।
अझै निजी स्कुलको पाठ्यपुस्तकका सन्दर्भमा त सरकारले प्रकाशकलाई हुनसम्मको अन्याय गरेको उनको भनाइ छ ।
निजी स्कुलको पाठ्यपुस्तकको मूल्य सरकारले तोक्ने गर्छ । हरेक वर्ष कात्तिकमा उत्पादन खर्चका आधारमा प्रतिपेज लागत हिसाब गरेर पुस्तकको मूल्य तय गर्ने व्यवस्था सरकारले गरेको थियो । तर, १२ वर्षदेखि सरकारले त्यस्ता पुस्तकको मूल्य बढाइदिएको छैन ।
पोखराको कप्लेक्समा उनले पुस्तकको हिस्सा घटाएर डिपार्टमेन्ट स्टोर, होटल र रेस्टुरेन्ट सुरु गरेका छन् । थापाथलीको आठ तलाको बुक स्टोरको माथिल्लो तला खाली गरेर अन्य प्रयोजनमा लगाउने तयारी गर्दै छन् ।
‘अन्तिमपटक २०६९/७० मा स्कुलको किताबको मूल्य तय भएको थियो । त्यसबेला कागजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो । त्यो बढेर २ सय रुपैयाँ प्रतिकिलोसम्म पुग्यो । मसीको मूल्य बढ्यो । कर्मचारीको तलब बढ्यो । तर, सरकारले किताबको मूल्य बढाइदिएन,’ रामचन्द्र गुनासो गर्छन् ।
जति किताब बेच्यो, उति घाटा बढ्ने भएपछि १ देखि १२ कक्षासम्मको किताब नछाप्ने निर्णयमा आफू पुगेको उनी बताउँछन् ।
‘सबै वस्तुमा उत्पादकले लागतका आधारमा मूल्य तय गर्छ, तर निजी स्कुलका विद्यार्थीलाई बेच्ने पुस्तकको मूल्य हामीले राख्न पाएका छैनौं,’ उनी भन्छन् ।
उनका अनुसार किताबको मूल्य बढाउँदा राज्यलाई कुनै हानि छैन । बरु, प्रकाशकहरूको आम्दानी बढ्यो भने राज्यलाई कर बढ्छ । तर, किन हो किताबको मूल्य १२ वर्षदेखि उही राखेको छ ।
पहिले–पहिले पनि भारतबाट आएका पुस्तक नेपालका स्कुलमा पढाइ हुन्थ्यो । ‘अब पनि नेपालका प्रकाशन बन्द गरेर भारतबाटै किताब ल्याउन खोजेकै त होइन ? मलाई शंका छ,’ उनी भन्छन् ।
दिगो होला पुस्तक व्यवसाय ?
रामचन्द्रले जति प्रगति गरे, एकता बुक्सबाटै गरे । किताबबाटै गरे । तर, यो बिन्दुमा आएपछि भने पुस्तक व्यवसाय दिगो होला कि नहोला भन्ने प्रश्न उनको मनमा खेलिरहन्छ ।
‘मेरा छोरीहरूले व्यवसाय हेर्न थालेका छन्, उनीहरू यसमा मात्रै भर पर्नु हुन्न, लगानी विविधीकरण गर्नुपर्छ भन्छन्,’ उनले सुनाए ।
पोखराको कप्लेक्समा उनले पुस्तकको हिस्सा घटाएर डिपार्टमेन्ट स्टोर, होटल र रेस्टुरेन्ट सुरु गरेका छन् । थापाथलीको आठ तलाको बुक स्टोरको माथिल्लो तला खाली गरेर अन्य प्रयोजनमा लगाउने तयारी गर्दै छन् ।
बुकस्टोरसँगै छोरीले कफी पसल सुरु गरेकी छिन्– एकताफे । यसको व्यापार देखेर रामचन्द्र पनि दंग छन् । ‘पुस्तक र कफीले एकअर्कालाई परिपूरकको काम गर्दा रहेछन्,’ उनी भन्छन् ।
माहिली र कान्छी छोरी किताब, मार्ट र हस्पिटालिटी क्षेत्रमै काम गरिरहेका छन् । जेठी छोरीले भने नागपोखरीमा ‘लाभाना स्किन केयर’ भन्ने क्लिनिक सञ्चालन गरिरहेकी छिन् ।
‘संसारमा फेरि पनि पुस्तकको व्यवसाय पुनर्जागृत भएर आएको छ । हामी पनि डिजिटल क्षेत्रमा कसरी जाने भनेर सोच्दै छौं,’ उनी भन्छन् ।
२०५८ सालमा उनले आफ्नो निजी स्वामित्वका केही सम्पत्ति एकता बुक्सका नाममा सारे । त्यसबेला कम्पनी रजिस्ट्रार थिए– पूर्वसचिव कृष्णहरि बास्कोटा । बास्कोटाले भनेका थिए, ‘अरू कम्पनीको सम्पत्ति व्यक्तिका नाममा सार्छन्, रामचन्द्रजी तपाईं साँच्चै कम्पनीका नाममा आफ्नो सम्पत्ति सार्ने हो ?’
त्यसबेला आफूले दिएको उत्तर सम्झिन्छन् रामचन्द्र, ‘म एकतालाई अक्सफोर्ड र क्याम्ब्रिज जस्तै बनोस् भन्ने चाहन्छु । रामचन्द्रको एकता बुक्स भनेर चिनाउन होइन, एकताको रामचन्द्र भनेर चिनिन चाहन्छु । मेरो अन्तिम इच्छा भनेको जीवनकालमा एकता बन्द नहोस् भन्ने छ ।’
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर