यथार्थको धरातलमा ‘नदीको राजमार्ग’


जीवन अनेकौं लघुकथाहरूको सङ्गालो हो। हरेक जीवनका परिघटना हुन् कथा। कथा पढ्ने,भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ। कथा मन नपर्ने सायदै नहोलान्। कथाको कुरा गरिरहँदा हालको समयमा धेरै पढिने र लेखिने आख्यान विधाका रूपमा लघुकथालाई लिइन्छ।

लघुकथा छोटो आयाममा रचना गरिएको चोटिलो विधा हो। पछिल्लो समयको यो लोकप्रिय विधा पनि बनेको छ। पोख्रेली नेपाली साहित्य आकाशमा चर्चित लघुकथाकार दीपक समीपकाे ‘नदीको राजमार्ग’ (लघुकथासङ्ग्रह, २०८०) को उत्कृष्ट कृति हो भन्दा फरक नपर्ला।

उनीले यो कृति निस्कनुपूर्व नै गजलसङ्ग्रह र मुक्तकसङ्ग्रह निकालिसकेका स्थापित साहित्यकार हुन्। उनले राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार सम्मान र पुरस्कार २०५४ र २०५५ मै प्राप्त गरेको हुनाले लघुकथाको क्षेत्रमा पुरानो हस्तीका रूपमा चिनिँदै आएका छन्। उनको यो पहिलो लघुकथासङ्ग्रहले मानवीय प्रवृत्ति,चरित्र, वर्ग, समाज, राजनीति आदिभित्रका गुह्य कुराको उद्घाटन गरेको छ। त्यसैले पनि नदीको राजमार्ग २०८० को सुन्दर उपहार भएको महसुस गरेकी छु।

यो सङ्ग्रह विभिन्न घटना, परिवेश ,विषय ,चरित्र, विकृति आदिलाई समेटेको ६६ लघुकथामा संरचित छ। सङ्ग्रहकै ‘नदीको राजमार्ग’ शीर्षकको कथाबाट कृतिको नामाकरण गरिएको यो कृतिको शीर्षकले नै कृतिको आकर्षण बढाएको छ। यसको आवरण पनि निकै आकर्षक छ। कथाकार दीपक कथाबाहेक गीत,गजल,मुक्तक र कविता विधामा पनि सशक्त, सक्रिय साहित्यकार हुन्।

कथावस्तु

यस लघुकथामा विविध विषयलाई समेटेर तयार पारिएको महको चाका जस्तो कृतिका कथाहरू मह जतिकै मिठा रहेका छन्। पढ्दै जाँदा प्रत्येक कथाले कतै न कतै स्पर्सानुभूति गर्दै जान्छन्। पहिलो कथा क्रमशः रहेको छ। यो कथा प्रेम गर्ने र प्रेम गरेकाहरूको बारेमा हाम्रो समाजले गर्ने चर्चालाई लिएर लेखिएको छ। दोस्रो कथा फूल हो, जून पढ्दा निकैबेरसम्म मथिङ्गल घुमिरहन्छ। कुरै कुरामा अपरिचितले उक्त फूल टिपेर थालीमा राख्यो। अपरिचितको आकस्मिक हर्कतले ऊ झसङ्ग भयो र भयभीत नजरले आफ्नी कलकलाउँदी छोरीतिर पुलुक्क हेर्‍यो। पात्रको विक्षिप्त मनोदशालाई प्रस्तुत गरेर कथालाई टुङ्ग्याइएको छ।

फूल मन्दिरमा चढाओस् वा घाटमा चुँडेर लगेपछि त फूलको बोट त रित्तियो, एक्लियो,उसको संसार उजाडियो। हरेक कुरामा पाउनेको होइन गुमाउनेको मन दुखेको हुन्छ।

त्यस्तै तेस्रो कथा सोच हो, जुन सामाजिक विषयवस्तुमा मानिसको मनोविज्ञान जोडिएको छ। अरूले कमाएको मात्र देख्ने तर कसरी कमायो नबुझ्ने, नखोज्ने अनि अन्त्यमा सबै कुरा पर्दाफास हुन्छ अनि सोचमग्न हुने मानवीय स्वभाव समेटिएको कथा हो। चौथो कथा अवस्था हो। यसमा डाक्टर सेवारत नभई पैसामुखी, नाफामुखी बनेको विषयलाई कथावस्तु बनाइएको छ। मानवीय संवेदना नभएपछि कसैको भर र विश्वास नभएको सकसपूर्ण जीवनको चित्रण गरिएको सामाजिक विषयवस्तुमा लेखिएको समय सापेक्षिक कथा हो।

पाँचौं कथा रहेको छ पसिना, यो कथाले वर्र्गीय पसिनाको चित्रण गरेको छ। यसमा कसैले रहरले त कसैले दुःखको भारी बिसाउन बाध्यताले पसिना बगाउनुपरेको मार्मिक कथावस्तु छ। रहर र कहरको जीवन शैलीलाई चलचित्रलाई पर्दामा हेरेझैं हुने गरी लेखिएको छ। छैटौं कथा बिलकुल भिन्न दृष्टिकोणबाट लेखिएको छ। सुरक्षा शीर्षकमा अवस्था अनुसार पिँजडा सबैभन्दा ठुलो सुरक्षा हो अनि बाध्यतावश यसलाई चयन गर्नुपर्ने अवस्थालाई सुन्दर शैलीमा देखाइएको छ।

कलात्मक लेखनीले र फरक दृष्टिकोणले यो कथा निकै सुन्दर बनेको छ। एउटा कुरालाई एउटै मात्रै नजरबाट हेर्नु हुँदैन। विभिन्न कोणबाट हेर्दा त्यसका सकारात्मक पक्ष भेटिन्छन्। मानिसले सधैं सकारात्मक पाटोको अवलम्बन गर्नुपर्छ भन्ने भाव शिला लेखझैं लेखिएको छ। त्यस्तै उपन्यास नै पुग्ने विषयवस्तुमा कहालीलाग्दो कथा रहेको छ “ सङ्घर्ष ’’कथा जसमा कुनै पनि व्यक्ति सङ्घर्ष गर्दा गर्दै सफलता नमिलेपछि आफ्नो अङ्ग नै बेच्न तयार भएको कहानी रोचक र मार्मिक तरीकाले प्रस्तुत गरिएको छ। साँच्चै मानिस यो धर्तीमा दुस्ख खेप्नै आएको हो त?

यो कृति पढ्दा समय बितेको पत्तै नहुनाको अर्काे पाटो कथा भनेर पढ्दा कविताको स्वाद भेटिनु हो। कवितात्मक शैलीका धेरै शीर्षकहरू छन् जुन ईर्ष्या, परिचय, उपहार, अर्थ अनर्थ, इन्कर, परिधि आदि जस्ता अरू पनि कथामा कविताको रस्वास्दन गर्न पाइन्छ।

छोटा, चोटिला अनि बुलन्द आवाज बोकेका यी कथा हरेक पाठकले सजिलै पढेर बुझ्न सक्छन्। “बन्द विचार’’ कथाले मानवीय प्रवृत्तिलाई उजागर गरेको छ। “मान्छे मन परेपछि जे बोले पनि, जे भने पनि राम्रो लाग्दोरहेछ। मान्छे मन नपरेपछि राम्रै भने पनि नराम्रो लाग्दोरहेछ” (पृष्ठ २०)।

मानवीय स्वभावलाई कथाकारले सुक्ष्म रुपबाटै अध्ययन गरेको यो कथाले बताउँछ। त्यस्तै स्वाभिमान कथामा एउटै वाक्यले भयावह बनाइदिन्छ, अबदेखि ऊ कसैको निरीह नहुने तथा स्वाभिमान’’ नझुकाउने निर्णय गर्‍यो र नाइलको डोरी लिएर जङ्गलतर्फ गयो ( पृष्ठ २१)। कहिलेकाहीँ स्वाभिमान पनि गलाको पासो बन्ने रहेछ भन्ने यो कथा निकै गहन छ। समाजमा होस् वा राजनीतिमा स्वाभिमानी मानिसको मनले कदर गरे पनि व्यवहारले उसलाई गिराउन खोजेको पाइन्छ। अन्त्यमा कि स्वाभिमान त्याग्नुपर्‍ यो कि अर्कै बाटो रोज्नुपर्‍यो। यो सशक्त कथा हो। अर्काे भविष्य कथा छ, यो सामाजिक यथार्थता बोकेको विकृतिको ऐना हो। मानिसलाई धनले मात्रै मानसिक सन्तुष्टि दिन सक्दैन भन्ने लुकेको पाटो महसुस गर्न सकिन्छ।

धन कमाउनु मात्रै भविष्य होइन, आफूसँग जे छ त्यसलाई जोगाउनु, सदुपयोग गर्नु खुसी हुनु जीवनको महत्त्वपूर्ण पक्ष रहेको भाव यो कथाले व्यक्त गरेको छ। अर्को कथा गाउँमा मोटरभन्दा बढी पहिरो चलेको बाटो “मोटर बाटो ’’ हो, जुन हामीले दैनिक देखिरहेछौं। यसमा राष्ट्र र राजनीतिको प्रभाव मज्जाले मनन गर्न सकिन्छ। हस्पिटल कथा वर्तमान समयमा नेपालीहरूले भोगिरहेको पीडा हो। कसलाई कसरी चिन्ने, यहाँ सबैको रहस्यमय जीवन र चरित्र लुकिरहेको छ। कहाँ कसलाई कति विश्वास गर्ने, नगर्दा अनर्थको डर, विश्वास गर्दा झनै डर,यसरी चलिरहेको जीवन पद्धतिलाई अमरराजद्वारा झट्टका लाग्ने गरी प्रस्तुत गरिएको छ।

अर्को ओखती कथामा ज्योतिषीले नै आफ्नो झारफुक कर्मप्रति आफैंलाई विश्वास नगरेको र आफैं वैद्य हुँ भन्ने बिर्सेर हस्पिटल कुदेको यथार्थ देखाइएको छ। नियत कथाले वर्तमान समयमा दुष्ट मन भएका मानिसहरूले छोरीहरूमाथिको कुदृष्टिकोणलाई सङ्केत गरेको छ।

मानिसको सोच उसको व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिन्छ यो कथाले। मलाई यो कथा सङ्ग्रह पढिरहँदा निकै मज्जा लागेको कथा सत्ता हो। यो प्रतीकात्मक रूपमा आएको छ। सुन्दर वस्तु प्राप्त गरेका बाँदरहरूले सदुपयोग होइन लुछाचुँडीमा वस्तुको विनाश गर्छन् त्यो हो सत्ता।

यो प्रयोगवादी रूपमा आएको कथा हो। राजनैनिक विकृतिको कथा हो “अन्धकार’’ जसमा श्रमजीवीको अवस्था र देशको राजनीति प्रष्ट सचित्र पढ्न सकिन्छ। अतृप्त कथामा सौन्दर्यको खोजी गरिएको, मानवीय दृष्टिकोण अनि छोरा मान्छेको परम्परागत बानी आफ्नीभन्दा अरुकी सुन्दरी देख्ने,नजरमै दोषी प्रवृत्तिलाई औंल्याइएको छ। जनआन्दोलन कथाले निर्दोषको मृत्युलाई गजबको विम्ब प्रयोगमा देखाइएको छ। अर्को सामाजिक विषयवस्तुमा लेखिएको सम्पन्न कसरी बन्छन् भनेर देखाइएको कथा हो आर्थिक स्तर। यसमा विषयवस्तुभन्दा लेखन शैली नयाँ छ। नदीको राजमार्ग

शीर्ष कथा हो।

खोलाको जमिनमा झगडा अनि तारिखकै दिन खोलो पुरानो बाटोमा हिँड्नु , झगडालुहरू जिल्लिनु सामाजिक विषयवस्तुको कथा हो। अदालतमा मुद्दा लम्बिरहनु, मानिसभित्र अनावश्यक लोभको समुद्र लुकेर झगडा गर्नु जस्ता विकृतिले मानिसलाई सुखी र खुसी हुन दिएको छैन। राम्रो काम गर्नेलाई कहिल्यै साथ, सहयोग, हौसला र प्रेरणा मिल्दैन राजनीतिमा उल्टै खुट्टा तानिन्छ, जुन वर्तमान समयमा सबैले देखेका र भोगेका विडम्बना हुन्।

यस्तै कथा रहेको छ विडम्बनामा। “कविको स्वभाव’’ शीर्षक कथामा आदर्शमा यथार्थ हुँदैन भन्ने भावका साथमा कविहरू प्रशंसाको भोको भएको स्वभाव देखाइएको छ जुन कुरा मलाई यथार्थ लाग्छ। “आस्था’’ समस्याले समाधान ल्याएको, चलाखीपूर्ण कर्म, मानवीय प्रवृत्ति अनि ईश्वरी आस्थालाई मिलाएर देखिएको सुन्दर कथा हो।

माया र प्रेम हावामा उडेको पातभन्दा हलुका रूपमा लिएर आफ्नो स्वार्थ पुगेपछि टुङ्गिएको,भरोसा नभएको सम्बन्ध भनेको प्रेम हो भनेर देखाइएको छ सम्बन्ध कथामा। सम्पत्ति कथा पढ्दा यस्तो लाग्यो,यस्ता विषयवस्तु सुन्न र पढ्न नपरोस्। कथाकै पात्र किन नहोस् उसको पीडाले मन भत्किरहने, पोलिरहने, चस्किरहने बनाइदिन्छ।

मानिसले प्राप्त गरेको स साना सफलताले ठुलो सफलताको झिनो आशा राखेको हुन्छ भनेर देखाएको मनोविज्ञानमा आधारित अपेक्षा कथा सकारात्मक सन्देश दिने विषयवस्तु हो। अनावश्यक प्रतिस्पर्धाले सडकको बास हुन्छ भनेर सचेत गराउन खोजेको कथा प्रतिस्पर्धा हो। घमण्ड र कुकर्मले कहिल्यै फलिफाप हुँदैन भनेर परापूर्वकालदेखि भनिँदै आएको र आज पनि त्यो सत्य रहेको विषयमा लेखिएको कथा अह्म हो।

हाम्रो समाजमा एउटी नारीलाई सहयोग ,साथ ,आड ,भरोसा जसले दिन्छ उसको यथार्थ र वास्तविकता नबुझी नजर अन्दाजमै कुरा काट्ने प्रवृत्तिलाई परेवी र ढुकुरको माध्यमबाट देखाइएको निकै मन पर्दो र लेखन शैली लोभलाग्दो कथा छिमेकी हो।

सन्तानका लागि बा आमा देवी देवता नै हुन् ,जिउँदैमा गर्नुपर्छ सेवा अनि पूजा भनेर देखाइएको कथा पूजाकोठा हो। जसले समयको व्यवस्थापन गर्न सक्दैन उसलाई ठुलो शिक्षा दिएको छ। जसले उपदेश दिन्छ उसैले पालना नगरेको कथाको उपदेश।

यातना दिने व्यक्तिलाई र कुलतमा लागेकालाई अर्र्ती,उपदेश र सल्लाह,सुझावले छुँदैन उसलाई पनि जस्तालाई त्यस्तै यातना दिएपछि चेत खुल्छ भन्ने यथार्थपरक कथा हो चेत। सुख र दुःख अनुभूति हुन्।

साहित्यकारहरूको लेखन प्रतिभा आर्थिक अवस्था फितलो हुँदा लेख्न नसकेको विषयलाई प्रस्तुत गरिएको कथा प्रतिभाको मृत्यु हो। राष्ट्र प्रेमले ओतप्रोत भएको कथा देश हो। लैङ्गिक विभेद समाजमा जसरी देखिन्छ कथामा त्यसैगरी पढ्न पाइने कथा समाज हो। प्रसिद्धि कथा आफैंमा गहन छ। जो सुकैलाई पनि फसाउन अनि कमजोर बनाउन भ्रष्टाचार, मदिरापान, कमिसन, युवती हुन् भनेर नेतासँग जोडेर देखाइएको कथा हो यो। इकोसिस्टम कथामा मान्छेले किन मान्छे खाइरहेछ? इकोसिस्टममा नपर्ने भनेको मान्छे रहेछ भनेर व्यङ्ग्य गरेको कथा हो। फसाद कथा पनि मलाई मन परेको कथामा पर्छ निकै मार्मिक छ, समाज, व्यक्ति, कलह, मनोविज्ञान अनि आर्थिक पक्ष सबैलाई समेटेको कथा हो फसाद।

अर्को कथा बढुवा हो जुन आफ्नो जीवनमा धेरै पटक यस्ता घटना घटेका थिए। काम गर्नेको होइन चाप्लुसी गर्ने, चुक्ली लाउने र हाकिमको अघिपछि लाएर हिँड्नेको बढुवा हुन्छ। यही यथार्थ बोकेको कथा हो यो। सामाजिक मनोविज्ञानमा आधारित कथा “अरुचि’’ हो। यसमा आमाको अरुचिलाई आर्थिक अभाव र आफ्नो मान्छेको साथसँग जोडेर देखाइएको छ। सालिक कथाले मनै चसक्क बनाउँछ। एउटी नारी जब श्रीमानको सालिक अघि पुग्छे उसको मनमा केके कुरा खेल्दो हो? एक्लोपन, एक्लो सङ्घर्ष, राष्ट्रको राजनीति, आफन्तको असहयोग, टुहुरा छोराछोरी, अहो कति भयावह विषय, त्यही पनि समालिएर अगाडि बढ्छन् नारी। आफू झरीमा रुझेको नदेखेर सालिकलाई छाता ओढाइदिन्छिन्,मनै चसक्क हुने कथा यो सङ्ग्रहको अन्तिम कथा सन्ताप हो। वास्तवमै सन्ताप कस्तो हुन्छ भनेर महसुस गर्न कथाको पात्र रोशनकुमार भएर उभिनुपर्छ।

अतः नदीको राजमार्ग कथा सङ्ग्रहमा मुलतः तृतीय पुरुष अनि थोरै कथा प्रथम पुरुष पात्रको प्रयोग गरी प्रगतिशील धारमा लेखिएका सामाजिक, राजनैनिक, आर्थिक, मनोवैज्ञानिक कथाहरू छन्। कथाको परिवेश प्रायः ग्रामीण क्षेत्रको नै पाइन्छ।

भाषा शैली

सरल,सरस, सहज भाषा शैलीमा गहन विषयवस्तुलाई समेटेका कथाकार दीपक समीप कवि, मुक्तककार, गजलकार पनि भएको हुनाले कथाको भाषा शैली कवितात्मक देखिन्छ। संवाद,अर्पण ,सन्ताप जस्ता आदि कथा संवाद शैलीमा लेखिएका छन्। कथावस्तुलाई मिठो भाषा र फरक लेखन शैलीले रोचक र आकर्षक बनाएको छ।

निष्कर्ष

नदीको राजमार्ग बहुआयामिक कथा सङ्ग्रह हो। यसभित्रका कथाहरू काल्पनिकभन्दा बढी सामाजिक यथार्थको धरातलमा लेखिएका हुनाले पढ्दा कतै आफैंले भोगेको, देखेको अनि सुनेको जस्तो लाग्छ। आजको मान्छे, मान्छेको मन, मान्छेको रहस्यमय चरित्र, आनीबानी, स्वभाव र विकृतिलाई सभ्य भाषामा घटना वर्णन गरिएको छ। कथानकलाई लगेर यथार्थमा जोड्ने शैली निकै आकर्षक छ।

विषयवस्तु सुनेसुने जस्तो देखेदेखे जस्तो लाग्ने यथार्थ तर लेखाइ कलात्मक हुनाले फरक स्वाद भेटिने कथाहरूको सङ्ग्रह हो नदीको राजमार्ग। सामाजिक, सांस्कृतिक, प्राकृति, राजनैतिक मूल्य मान्यतालाई पनि मनन गर्दै लेखिएका कथाहरू पढ्दा लेखक निकै सचेत देखिन्छन्।

यसकारण कथाहरू पाठकमैत्री बनेका छन्। कतिपय कथामा विषयवस्तुको भाव र सन्देश उस्तै लागे जस्तो हुने तर विषयवस्तुको उठान र बैठानको शृङ्खला भिन्न हुँदा दूधबाट बन्ने भिन्न परिकारका स्वाद भिन्न भए जस्तो लाग्छ।

समापनलाई कतै बिम्बात्मक,कतै खुल्ला अनि कतै आलङ्कारिक रूपमा प्रस्तुत गर्नु कथाकारको विशेषता भेटिन्छ। आगामी दिनमा आधुनिक जीवन शैलीलाई समेटेर नवीनतम विषयवस्तुका कथाहरू आऊन् कथाकारलाई शुभकामना।

– लिली अधिकारी



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School