प्रकाशित मिति : माघ ५, २०८१ शनिबार
वाल व्यास श्रवण न्यौपाने कथावाचक तथा धार्मिक अभियन्ता हुनुहुन्छ । उहाँले विगत केही वर्षदेखि सनातन हिन्दु धर्मसँग सम्बन्धित कथा वाचन लगायतका काम गर्दै आउनुभएको छ । विगत ७ वर्षदेखि उहाँ विभिन्न देशमा पुगी धार्मिक अनुष्ठानसम्बन्धी कामहरू समेत गरिरहनुभएको छ । युगान्डा, केन्या, नाइजेरिया, तुर्किस्तान, युएई, अस्ट्रेलिया लगायतका देशहरूमा पुगेर धार्मिक गतिविधिहरू गर्नुभएको छ भने अष्ट्रेलियामा महाआरतीको समेत सुरुवात गर्नुभएको छ । उहाँले सन् २०२५ मा १० देखि १५ वटा देशका कार्यक्रमहरूमा सहभागी हुने लक्ष्य राख्नुभएको छ । उहाँ शुक्रबार नेपाल आउनुभएको छ । वाल व्यास श्रवण न्यौपानेको नेपाल भ्रमणको क्रममा खसोखासले गरेको कुराकानीको सम्पादित अंश :
विदेशमा रहेका नेपालीहरूले आफ्नो धार्मिक आस्थालाई कसरी निरन्तरता दिइरहेका छन् ?
विदेशमा रहेका नेपालीमा धर्मप्रतिको आस्था अत्यन्तै राम्रो छ । नेपालमा सहजै तरिकाले दर्शन गर्न पाइन्छ, विदेशमा अलि कठिन छ । विदेशमा कठिन तरिकाले दर्शन गर्नुपर्ने भएकाले धार्मिक महत्व पनि बढी छ । हिन्दुहरूको धर्मलाई धेरै देशहरूले स्थान दिइरहेका छन् । नेपालमा भन्दा विदेशमा धर्म कर्मको आस्था बढी नै छ । धेरै गुरुहरूले पनि पछिल्लो समय विदेशतिर नै केन्द्रित गर्नुभएको छ । धर्म कर्मको लहर अहिले विदेशतिर छ । नेपालका मात्रै नभएर भारतका चर्चित गुरुहरू पनि विदेशतर्फ केन्द्रित हुनुभएको छ । विदेशमा भएका हिन्दुहरूले पनि वर्षमा ४÷५ वटा चाडपर्वहरू मनाउने गरेका छन् । शिवरात्रि, श्रावण महिना, दसैँ, तिहार जस्ता चार्डपर्वहरु विदेशमा मनाउने क्रम बढिरहेको छ । त्यसैले पनि विदेशमा हिन्दु धर्म मान्नेहरू बढिरहेका छन् ।
विदेशमा हिन्दुहरुसँगको धार्मिक सामञ्जस्यता कस्तो छ ?
पश्चिमी संस्कारभन्दा कैयौँ वर्ष पुरानो हिन्दु धर्मको कर्म हो । बाहुल्यताको पनि मूल्याङ्कन हुन्छ । जुन देशमा जति बाहुल्यता छ त्यसमा भर पर्छ । अहिले पनि नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ भनेर मुद्दा उठिरहेको छ । अरू धर्म मान्ने पनि छन् तर उनीहरू कम छन् । विदेशमा पनि अन्य धर्म मान्ने धेरै छन् । नेपालीहरू पनि अन्य धर्मतर्फ आकर्षित भइरहेको अवस्था छ । हाम्रो धर्म अल्लि गाह्रो पनि छ । विवाह गर्न वा विभिन्न शुभ कार्य गर्न तिथि नै कुर्नुपर्छ । अन्य धर्म यो भन्दा सहज छन् । तर, पछिल्लो समय धेरै मुस्लिम या क्रिश्चियन धर्म मान्नेहरूले हिन्दु धर्मलाई समर्थन गरिरहेका छन् । हाम्रो ज्योतिष विज्ञानलाई समर्थन गरिरहेका छन् ।
नयाँपुस्ताले हाम्रो संस्कारलाई बिर्सिँदै गएको अवस्था पनि देखिएको छ । यसको कारण के होला ? नयाँ पुस्तालाई जोड्न यहाँहरूले कस्तो प्रयास गर्दै हुनुहुन्छ ?
देशमा जति पनि युवाहरू हुनुहुन्छ । त्यसमा सङ्गतले पनि फरक पार्छ । उदाहरणको लागि पानीलाई हेर्नुहोस्, भगवानलाई चढाउने पनि त्यही पानी हो, पिउने पनि त्यही पानी हो, नुहाउने पनि त्यही पानी हो, त्यही पानी गलत दुर्गन्धित चिजमा पनि प्रयोग हुन्छ । त्यसैले सङ्गतले पनि फरक पार्छ । उसले सङ्गत कसको गर्छ ? भन्नेमा भर पर्छ । हामी युवाहरू हौँ । युवाहरूको सङ्गत गर्ने बित्तिकै उसलाई हामीतिर धकेल्न पाइयो भने पो हाम्रो जित भयो । हाम्रो टिममा जति पनि हुनुहुन्छ, सबै युवाहरू हुनुहुन्छ । युवाहरूलाई हामीले प्रेरित गरिरहेका छौँ । कुसंगतमा लागेकोेहरुलाई पनि नौला काम दिएर हामी तर्फ आकर्षित गरिरहेका छौँ । युवाको मन जित्न युवा नै चाहिन्छ । तसर्थ, हामीले युवाहरूलाई नै प्रेरित गरिरहेका छौँ । पछिल्लो समयमा ज्योतिषहरू पनि युवाहरू नै धेरै हुनुभएको छ । हाम्रो सुरुवाती नै यसमै भएकोले हामीमा अलि बढी विश्वस्त छौँ ।
हामी युवाहरूलाई जोड्न चाहान्छौं । उहाँहरूसँग के कला छ ? उहाँले के गर्न जान्नुहुन्छ ? के मा रुचि छ ? यो होइन कि हामीसँग जोडिन ज्योतिष नै बनेर आउनुपर्छ । हामी एउटा टिम बनाएर अगाडी बढ्न खोजिरहेका छौँ । भोले बाबा सत्मार्ग महाअभियान भन्ने हाम्रो एउटा संस्था छ, त्यसलाई थप परिष्कृत गर्दै अगाडी बढिरहेका छौँ । भविष्यका दिनहरूमा आश्रम नै बनाएर हरेक व्यक्तिलाई सत्मार्गमा हिँडाउन खोजिरहेका छौँ ।
विभिन्न धार्मिक कार्यक्रमहरुमा विवाद पनि हुने गरेका छन् नि ?
हिन्दु धर्ममा एउटा विवाद छ, आफूले गरेको सही हो, अरू चाहिँ गलत भन्ने । गुरुले बोल्ने कुरा सही, सुन्ने मान्छे गलत । यो प्रबृत्ति अहिले चलिरहेको छ । महायज्ञहरूलाई विवादित बनाइदिने क्रम बढेको छ । ज्योतिष ज्योतिषमै अहिले विवाद बढिरहेको छ । आफ्नो धर्मलाई जयजयकार गर्ने, अरूको धर्मलाई विरोध गर्ने प्रवृत्ति पनि बढिरहेको छ । सबैले आफ्नो ठाउँ पाउनुपर्छ भन्ने मेरो धारणा छ ।
त्यस्तै नेपालका गुरुहरूमा धेरै ज्ञान भए पनि बाहिरको विषयमा बोल्न नजानेको अवस्था छ । नेपालका गुरुमा हिन्दु धर्म भएपछि बोल्न पाउनुपर्छ, हामीले बोलेको सबैले मान्नुपर्छ भन्ने प्रवृत्ति छ । हरेक देश र समुदायको अनुसार नै त्यहाँको नीति नियम मान्नुपर्छ, त्यहाँको संस्कृति मान्नुपर्छ । समय अनुसार चल्न नसक्दा पनि विवाद हुनेछ ।
नेपालमा के-कस्ता कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ?
नेपालको बसाइँ छोटो छ । अबको कार्यक्रम पोखरामा छ । पोखरामा तीन दिनको अनुष्ठान छ । विश्व शान्तिको लागि पोखरामा आयोजित अनुष्ठानमा हवन गर्दैछौं । अन्य ठाउँमा कार्यक्रमको लागि पनि छलफल गरिरहेका छौँ ।