उरमाल– चिया उमार्नेहरुको कथा


पाँच वर्ष लगाएर जब उपन्यास लेखिसिध्याएँ, तब फर्केर म फेरि एक चोटि तिनै पुराना दिनतिर आइपुगें, जति बेला पढ्नलाई म पहिलो चोटि डुवर्स झरेको थिएँ । र चिया कमानबीच आइपुगेको थिएँ ।
त्यो उच्च माध्यमिक पढ्दै गर्दाको कुरा हो ।

म बाग्राकोटको बिडिआर बस्ती पुगेको थिएँ, जहाँ गीता दिदीको पुरानो घर थियो । कमाने ढाँचामा बनिएको त्यो घरको ठीक अघिल्तिर अझै अर्को थोत्रो घर उभिएको थियो, जुन निकै लामो समयदेखि खाली थिएछ । डुवर्स झरेपछि त्यही खाली घर मेरो स्थायी ठेगाना बनेको थियो ।

म गीता दिदीका तीन जना नानीहरुलाई ट्युसन पढाउँथें । बदलामा त्यो घरमा रेन्ट नतिरी बस्थें । त्यही घरमा रहँदा नै हो, मैले चिया कमानलाई थोरै नजिकबाट नियाल्न भ्याएँ । चिया उमार्नेहरुको दुःख थोरै भए पनि महसुस गर्न पाएँ । किनकि गीता दिदी त्यही चिया कमानकी श्रमिक थिइन्, जो हर बिहान कमान जान्थिन् । र साँझपख फर्किएर आएपछि एउटै गुनासो सुनाइरहन्थिन्, “हाम्रो जिन्दगी त निभ्न लागेको धिप्री जस्तै छ । मर्नलाई धिप–धिप हुँदा मालिकले अलिकति तेल हालिदिन्छ । हामेर्ले त निभ्न पनि काँ ढुक्कले पाउँछ र ?”

म उनको गुनासो चुपचाप सुनिरहन्थें ।

गीता दिदी रोगी थिइन् । ज्यान सुकेर हड्डी र छाला मात्रै भइसकेको थियो । घरी–घरी ओछ्यानमा परिरहन्थिन् । तैपनि उनलाई चैन थिएन । हर बिहान चारै बजे उठ्थिन् । उठेर अगेना सल्काउँथिन् । रोटी बेलेर झोलामा हाल्थिन् । फ्याक्ट्रीको साइरन लाग्नासाथ हतार–हतार मेलोतिर दगुर्थिन् । र चिया टिप्ने महिलाहरुको ताँतीमा गएर मिसिन्थिन् ।

त्यो ताँती रमितलाग्दो देखिन्थ्यो, जहाँ उभिने हरेक महिलाको काँधमा फुस्रो झोली झुन्डिरहेको हुन्थ्यो । चिया टिप्ने महिलाहरुका काँधमा झुन्डिइरहने त्यो झोलीलाई चैं के भनिन्छ नि ?

वर्षौंपछि उपन्यास लेख्दै गर्दा मैले थाह पाएँ, कोत्रा परिसकेको त्यो फुस्रो झोलीलाई सादरी भाषामा ‘उरमाल’ भनिन्छ ।

उपन्यास लेखिसकेपछि मैले तिनै पुराना दिन एक चोटि फेरि सम्झिएँ । चिया टिप्ने महिलाहरुको पीडालाई एक चोटि नजिकबाट नियालें । उनीहरुको काँधमा झुन्डिइरहने झोलीलाई मनकै हत्केलाले स्पर्श गरें । र कथाका पात्रहरुसँगै लामो सुस्केरा हालें, “उरमाल ।”

त्यही सुस्केरा उपन्यासको नाउँ बन्यो ।

हो, उरमाल चिया श्रमिकहरुकै सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजारौं छन् तर चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । जहिल्यै दुःखको कथालाई छातीमा टाँसेर हिँड्ने कमानेहरुको जीवनको पीडालाई नै मैले उपन्यासमार्फत देखाउने कोसिस गरेको छु ।

उरमालभित्र धेरै कथा छन् । तीमध्ये केही कथा दशकअघिका छन् । केही कथा ब्रिटिसकालीन समयका छन् । र केही कथा लोककथाबाट सापटी लिइएका पनि छन्, जसलाई बटुल्न डुवर्सका धेरैले मलाई साथ र सहयोग दिएका छन् ।
रविन भुजेल, जनार्दन थापा, लालसिंह भुजेल, तेजकुमार टोप्पो, धनीराम टोटो, रीता टोटो, अजय थापा, अशोक विश्व, गुमानसिंह राई, विष्णुप्रसाद गौतम र प्रतीक कामीहरुको सहयोग नपाएको भए म डुवर्सका धेरै बगान पुग्नै सक्दिनथें । जहाँ नपुगेको भए ती कथाको जरा भेटाउनै पाउँदिनथें । दर्जनौं आदिवासी र नेपाली श्रमिकको घर–घरसम्म पुर्‍याइदिने तपाईंहरुको सहयोगले नै यो उपन्यासको धरातल बनेको छ ।

डुवर्स त निकै ठूलो भूगोल हो । उपन्यासको केन्द्र कहाँ बनाउने होला नि ? सुरmमा मेरा निम्ति सबैभन्दा ठूलो समस्या यही थियो । यस्तो बेला एक साँझ म दुम्सीपाडाको त्यो बिरानो घरमा पुगें, जहाँकी आदिवासी महिलाको नानीलाई चितुवाले मारिदिएको थियो ।

“कहाँबाट लगेको हो तपैको नानीलाई चितुवाले ?” निकै लामो गफपछि मैले उनलाई सोधेको थिएँ । उनले मुन्टो पश्चिमतिर र हातको औंली पूर्वतिर फर्काउँदै भनेकी थिइन्, “उः त्यैबाट हो । जाँनिर म फर्केर कैल्यै हेर्दिनँ ।”
सुनेर मेरो मन भतभती पोलेको थियो । र नै मैले अठोट गरेको थिएँ, “उपन्यासको केन्द्रमा यही भूगोल हुन जरुरी छ ।”

खासमा उरमाल चिया उमार्नेहरुकै कथा हो । चियाको बोटमा सुन फल्छ रे भन्ने सपना देखाएर पुस्तौंदेखि गरिरहेको शोषणको कथा हो । र ती तमाम श्रमिकहरुको जीवन व्यथा हो, जसले उमारेको चियाले संसारका धेरैजसो मान्छेको दिनको सुरुवात गरिदिन्छ ।

चियालाई जीवन दिनेहरुको यो कथा मैले त्यो समय लेख्न थालेको थिएँ, जति बेला संसारमा कोरोनाको सन्त्रास छाउँदै थियो । बिस्तारै माहोल यसरी बदलियो, संसार नै केही क्षणलाई ठक्क रोकियो । चारैतिर लकडाउन सुरm भइदियो । त्यसैले मैले पनि सहर छाड्नुपर्‍यो । म गाउँतिर थुनिएँ । तर मेरो ल्यापटप सिलिगुडीमै थियो, जहाँ जान पूरै निषेध गरिएको थियो ।

न लेख्नु छ, न पढ्नु छ । केही दिन यत्तिकै छटपटीमा बिते । यस्तो बेला एक साँझ मूर्तिकार अमीर सुन्दासको फोन आयो । उनले केही दिनलाई ल्यापटप पठाइदिने भए ।

यो कथा लेख्नलाई अमीर दाले मलाई ल्यापटप मात्रै दिएका छैनन्, कमाने पीडाका अनेक किस्सा पनि सुनाएका छन् ।

जब रिसर्च अन्त्य–अन्त्यतिर आइपुग्यो, जब उपन्यासको आकार बन्ला बन्ला जस्तो भयो, तब मलाई लाग्यो, एउटी नेपाली महिला पात्र खोज्न जरुरी छ ।

त्यही पात्र खोज्ने क्रममा मेरो भेट दलमोडकी शिला तामाङ्नीसँग भयो । मेरो दिमागमा अझै याद ताजै छ, त्यो दिन दलमोड पुग्दा महिलाहरुको स्वनिर्भर समूहले नै हामीलाई पर्खिएर बसिरहेको थियो । त्यसको अगुवाई शिला तामाङ्नीले गरेकी थिइन्, जो चिया कमानकी एक श्रमिक थिइन् । तर उनको सपना नर्स बन्ने थियो ।

उनलाई भेटेपछि म छक्क परें । उनी कति मीठोसँगले बोल्थिन् भने नि, त्यत्तिको मीठो त धेरै कविले पनि बोल्न सक्दैनथे । उनले हाँसी–हाँसी मलाई दुःखको जम्मै कथा सुनाइन् । र अन्तमा भनिन्, “सर, कथा मेरै नाममा लेखिदिनुस् ल ?”
आख्यान लेख्नेहरु थोरै बेइमान हुन्छन् । मैले त्यही बेइमानी उनीसँग नि गरें । उनको कथा सापटी लिएँ । तर पात्रको नाम अर्कै बनाइदिएँ ।

जब पात्रहरुले सास फेर्न थाले, थोरै–थोरै बोल्न थाले, तब मलाई लाग्यो, यो टोन डुवर्सकै जस्तो हुन जरmरी छ । त्यसैले उपन्यासको पहिलो पाण्डुलिपि मैले सङ्गीत नेम्वाङलाई पढ्न दिएँ । उनकै सुझावमा मैले केही चोटि कथालाई पुनर्लेखन गरें । लगभग तीन ओटा कथा फ्याँकेर नयाँ कथा हालें ।

समस्या अर्को पनि थियो । भइदिन्थ्यो के भने नि, मेरो लेखनमा कहिलेकाहीँ गाली पनि रमाइलो गफ जस्तो बनिदिन्थ्यो । पढेपछि सङ्गीत मसँग बिच्किन आइपुग्थे— “गाली पनि कहिले यस्तो मीठो हुन्छ, मित्र ?”
म फिस्स हाँस्थें र सोध्थें, “लु भन न त, सरदारले श्रमिकलाई कसरी गाली गर्छ ?”



सङ्गीत एक क्षण आँखा चिम्म गर्थे । आफ्नै कमाने आमाको किस्सा सम्झिन्थे र भन्थे, “बेसी मुख नपड्का, तँलाई म ऐले उठीबास लाइदिन्छु ।”

पात्रले बोल्ने सादरी भाषादेखि उपन्यासमा प्रयुक्त कमाने लबज बनाउनसम्म सङ्गीतको सहयोग धेरै छ ।

जब सङ्गीतसँगको काम सकियो, पान्डुलिपि कवि छेवाङ योञ्जनलाई पढ्न दिएँ । केही चोटिको रिसर्चमा उनी मसँगै डुवर्स घुमेका थिए । उनको सुझावमा फेरि एक चोटि काम गरें र पाण्डुलिपि कवि सुधीर छेत्रीलाई मेल गरें ।

“उपन्यासको ल्यान्डस्केप बृहत् छ, यो आफ्नै तरिकाको गहिरो उपन्यास बनेको छ,” पाण्डुलिपि पढेपछि भएको पहिलो भेटमा उनले पुलुक्क मेरा आँखामा हेर्दै भने । अनि मायालु लबजमा मुस्कुराउँदै थपे, “उपन्यास तिमी लेख्छौ । डर चंै मलाई लाग्छ । यस्तो के भाको होला नि ?”

उनको त्यो डर कति धेरै प्रेमिल थियो, त्यो म यहाँ बताइरहन सक्दिनँ ।

तैपनि मेरो मुटु अझै ढुक–ढुक भइरहेकै थियो । उनले लामो सास ताने र अन्तिम लाइन जोडे, “यसका दुई च्याप्टरमाथि अझै काम गरौं न है ?”

म फेरि पुनर्लेखनमा लागें । सुझावअनुरुप काम गरें । र उपन्यासको नयाँ मस्यौदा अर्को साथीलाई पठाएँ । यी साथीको नाम मनमा लेखें, तर यहाँ लेखिनँ ल ?

मलाई यी साथीको पाण्डुलिपि हेर्ने अन्दाज बडा अजिब लाग्छ । उनी फाइनल भइसकेका उपन्यासका लाइनबीचबाट यसरी कमजोरी निकालिदिन्छन्, जसरी चिटिक्क पारेर राखेका घरबाट कोही एक थाक कसिङ्गर निकालिदिन्छन् ।

त्यही भएर होला, म जहिले उनलाई पाण्डुलिपि पठाउँछु, उत्साहितभन्दा धेर चिन्ताले धरमराइरहेको हुन्छु । यस चोटि पनि मैले डराउँदै–डराउँदै पाण्डुलिपि मेल गरेको थिएँ ।

जब उनले उपन्यास पढेर सक्न लागेको थाहा पाएँ, आँटै बटुलेर सोधें, “कस्तो जाँदै छ नि, कथा ?”

“ठीकै जाँदै छ,” उनले म्यासेज गरे र हराइगए ।

ठीकै जाँदै छ ? अर्थात् मात्रै ठीकै ?

मेरो मुख नुनिलो बन्यो । चिन्ता दुई गुणा बढ्यो । म त्यो रात अबेरसम्म निदाउन सकिनँ । बिहान अलि छिट्टै उठें र साइकल लिएर मोहोरगाउँतिर घुम्न निस्किएँ । चियाबारी घुम्दा नि दिमागमा त्यही कुरा घुमिरहेथ्यो— ठीकै मात्रै ?

सोचेर हैरान भएको बेला हो, उनको मेल आइपुग्यो । हतार–हतार खोलें, पहिलो लाइनमै उत्साहको हरफ लेखिएको थियो— “उपन्यास धेरै बलियो बनेको छ । कथा भन्ने तरिका यो पालि अझ राम्रो लागेको छ । रिराइटको काम नि धेर गर्नु नपर्ने जस्तो छ ।”

मैले लामो सास तानें । र उनले पठाएको सुझावअनुरुप काम गर्न थालें । तर पुनर्लेखनको काम के कम हुन्थ्यो र ? यस चोटि पनि थप तीन–चार चोटि पुनर्लेखन गर्न त परिहाल्यो नि ।

त्यसपछि पाण्डुलिपि बल्ल फाइनल भाषा सम्पादनका निम्ति भूमीश्वर पौडेलकहाँ पुग्यो । उनले निकै समय लगाएर भाषा हेरे । र महिनौंपछि लागेको दसैंको घाम जस्तै मीठो मुस्कान छर्दै भने, “गज्जब लाग्यो ।”

अनि त किताब फाइनल बन्यो ।

मलाई थाह छ, उरमालमा सबैभन्दा धेर कथा उनीहरुको छ, जसलाई व्यवस्थाले सबैभन्दा पछिल्तिर धकिलिदिएको छ । यो कथा उनीहरुकै हो, जोसँग स्वतन्त्रताको एकमुठी आकाश आफ्नो छैन । अधिकारको एक अँजुली धरती आफ्नो छैन ।

न स्वतन्त्रताको आकाश छ, न अधिकार जमाउन मिल्ने धरती छ । उसो भए चिया उमार्नेहरुसँग छ चैं के नि ?

हो, यही प्रश्नलाई नै मैले उपन्यासमार्फत उठाउने कोसिस गरेको छु ।

किताबको पहिलो अक्षर लेख्दा होस् वा अन्तिम अक्षर, एउटा लेखकको मनमा जहिले डरको आँधी चलिरहेकै हुन्छ, “पाठकलाई चैं कस्तो लाग्ला नि ?”

मलाई लाग्छ, त्यो आँधी यस चोटि अझ धेर चलेको छ । किनकि धेरै जनाले मसँग एउटै अपेक्षा दोहोर्‍याइरहन्थे, “अघिल्लो उपन्यासलाई पनि उच्छिन्ने लेख्नुस् ल ?”

प्रेमको यो प्रश्नले मलाई धेरै रात अनिदो बनाएको छ । र धेरै बिहान उत्साहित बनेर कथासँगै दौडिन पनि लगाएको छ ।

दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट चर्चामा आएका भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति हो, उरमाल । उनको फातसुङ किताब नेपाली भाषासँगै हिन्दी, बंगाली, सिन्धी र अंग्रेजी भाषामा पनि प्रकाशित छ । सङ अफ् सोइल शीर्षकमा अजित बरालले अनुवाद गरेको फातसुङ नेपाल, भारतसँगै बेलायतबाट पनि प्रकाशित भयो, जो दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार जेसिबी प्राइज फर् साउथ एसियन लिटरेचरको अन्तिम सूचीमा समेत पर्न सफल रह्यो । तिनै लेखक काविमोको दोस्रो उपन्यास उरमाल शनिबारदेखि पाठकको माझमा जाने छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School