‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)


काठमाडौं । महिनावारी हुँदा प्याड लगाउनु र त्यसलाई दिनहुँ फेर्नु निकै झन्झटिलो हुन्छ । प्याड परिवर्तन गर्नुपर्ने, किनिरहनुपर्ने जस्ता झमेला प्रयोगकर्ता महिलाले व्यहोर्नुपर्छ । त्यसैले त्यसको विकल्पमा अहिले बजारमा महिनावारी कप र टेम्पोन उपलब्ध छ ।

पछिल्लो समय महिनावारी पेन्टी महिलाहरूका लागि नयाँ ‘आविष्कार’ हो । नेपालमा पनि यो महिनावारी पेन्टी चर्चामा छ । यस्तोमा महिनावारी पेन्टी कत्तिको उपयोगी हुन्छ ? यो कसरी विश्वव्यापी बन्दै गएको छ ? लगायत विषयमा महिनावारी पेन्टी ‘वुका पिरियड प्यान्ट’की संस्थापक रुबी राउतसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

महिनावारी पेन्टीको अवधारणा कसरी आयो ?

म पहिलोपटक महिनावारी हुँदा १२ वर्षकी थिएँ । त्यो बेला प्याडको प्रयोग गर्ने चलन थिएन । त्यसैले मेरो आमाले मलाई उहाँको पुरानो सुतीको साडी काटेर ८-९ वटा सानो टुक्रा बनाएर दिनुभयो र भन्नुभयो- ‘अब महिनावारीको बेला यसको प्रयोग गर्नु ।’ तर कसरी प्रयोग गर्ने भनेर मलाई थाहा थिएन, दिदीहरूले सिकाउनुभयो ।



महिनावारीको बेला धेरै रगत बग्ने भएकाले कपडा त लगाउनुपर्‍यो । असाध्यै असहज महसुस हुन्थ्यो । म अलि खेलकुद मन पराउने भएकाले कहिलेकाहीं खेल्दा, कुद्दा कपडा झर्ने पनि हुन्थ्यो । स्कुलमा  कपडा परिवर्तनको गर्न शौचालय पनि राम्रो हुँदैन थियो । त्यसो हुँदा महिनावारीको बेला मलाई स्कुल जानै मन लाग्दैनथ्यो । तर महिनावारी हुँदा सधैं स्कुल नगएर सम्भव पनि नहुने, त्यसैले कपडालाई कट्टुमा अड्याउन सेप्टीपिनको प्रयोग गर्थें । कहिलेकाहीं सेप्टीपिन पनि फुस्किएर चोट लाग्ने सम्भावना हुन्थ्यो, त्यसैले सेप्टीपिनको प्रयोग गर्न छोडिदिएँ ।

कपडा अड्याउन मुस्किल हुने भएकोले कट्टुसँगै स्ल्याक्स पनि लगाउँथे । तर गर्मीमा स्ल्याक्सले पनि र्‍यासेज हुन्थ्यो । १७ वर्षको उमेरमा मात्र मैले आफ्नो पकेट मनी बचाएर प्याड किनेर लगाएको थिएँ । तर प्याडको प्रयोग गर्दा पनि कता फ्याँक्ने भन्ने तनाव भएपछि फेरि कपडा नै प्रयोग गर्न थालें ।

१२ कक्षासम्म नेपालमा पढेर थप अध्ययनका लागि म बेलायत गएँ । त्यहाँ त प्याडको प्रयोग नै धेरै हुने । प्यान्टीलाइनर, दिनमा लगाउने, रातमा लगाउने, बाक्लो, पातलो सबै खालका प्याडहरू थिए । त्यसैले मैले पनि त्यहाँ प्याड नै प्रयोग गरें ।

स्नातक तहमा वातावरणीय विज्ञान अध्ययन गर्न थालेपछि सोचें- वातावरण खराब गर्ने र महिनावारी सकसबाट मुक्ति दिन प्याडको विकल्प के हुन सक्ला ? त्यो बेला आमाले बनाएर दिएको कपडा नै सम्झिएँ । यो पटक भने सेप्टीपिनको सहायताले सानो कपडालाई नै कट्टुमा सिलाएर लगाएँ । चार जोर बनाएर आफूले यो महिनावारी पेन्टी लगाउँदा एकदमै सजिलो लाग्यो । त्यसैले ३५ वटा पेन्टी बनाएर फेसबुकमा कस-कसलाई यो नयाँ महिनावारी पेन्टी प्रयोग गर्न मन छ सम्पर्क गर्नुहोस् भनेर पोस्ट गरे । भोलिपल्ट त नचिनेका व्यक्तिहरू पनि यो पेन्टी लिन घरमा लाइन लागेका थिए । सबैलाई एक-एक जोर दिएर पठाए । एक महिनापछि उहाँहरूले एकदमै राम्रो प्रतिक्रिया दिनुभयो । मैले यो आइडिया क्राउड फन्डिङमा सेयर गरेपछि धेरैलाई यो आइडिया मनपर्‍यो र सात हजार पाउन्ड फन्डिङ जम्मा भयो । सन् २०१७ मा पहिलोपटक बेलायतमा महिनावारी पेन्टी लन्च गरें ।

प्रचारप्रसार कसरी गर्नुभयो ?

एउटा व्यवसायी भन्दा पनि पर्यावरणविद् भएर मैले महिनावारी पेन्टी सुरु गरें । प्याडमा प्रयोग हुने प्लास्टिकलाई कसरी कम गर्ने भन्ने सोचेको थिएँ तर  यसको बारेमा महिलाहरूलाई जानकारी दिन भएपनि प्रचारप्रसार त गर्नैपर्ने रहेछ । त्यसैले सोसल मिडियाबाट प्रचारप्रसार गर्न थालें । बिस्तारै बेलायतको स्थानीय मिडियामा प्रचारप्रसार गरें । खबर छापिएपछि बीबीसी रेडियोले पनि बोलायो । त्यसपछि भने बिस्तारै प्रचारप्रसार हुँदै गयो ।

महिनावारी पेन्टी प्रयोग गर्नेहरूको प्रतिक्रिया कस्तो छ ?

महिनावारी पेन्टी प्रयोग गर्नेहरूको प्रतिक्रिया त मैले असाध्यै राम्रो पाएको छु । सात वर्षअघिदेखिका कस्टमरहरुले पनि पेन्टी किनिरहनुभएको छ । हाम्रो मार्केटिङको स्रोत भनेकै हाम्रो कस्टमर हो । एक जना कस्टमरले अर्को १० जनालाई सिफारिस गर्नुहुन्छ ।

महिनावारीमा हुने अप्ठ्याराहरुका कारण बेलायतमा पनि धेरै नानीहरू विद्यालय जान मान्दैनन् । उनीहरूको लागि यो पेन्टी धेरै उपयोगी भएको छ । त्यसैले हरेक उमेर समूहका महिलामा यो लोकप्रिय बनिरहेको छ ।

नेपालमा कसरी भित्रियो वुका ?

वुका लन्च गर्ने बित्तिकै नेपालमा पनि यसलाई लैजानुपर्छ भन्ने लागेको थियो तर मिलिरहेको थिएन । लगभग तीन वर्षअघि भने दिदीसँग सल्लाह गरेर दिदीबहिनी मिलेर नेपालमा पनि यो महिनावारी पेन्टी बेच्न थालौं भन्ने कुरा भयो । त्यसपछि दिदीले नेपालमा बेच्न थाल्नुभयो ।

नेपालमा पनि यसलाई धेरै रुचाउनुभएको छ । दिनप्रतिदिन कस्टमर बढ्दै जानु भएको छ । प्याडको कारण निम्तिने विभिन्न समस्याबाट बच्न चाहने महिलाले यसको प्रयोग गरिरहनुभएको छ ।

प्याड र महिनावारी कपलाई महिनावारी पेन्टीले विस्थापित गर्न सक्ला ?

प्याडलाई त महिनावारी पेन्टीले सहजै विस्थापित गर्न सक्छ । किनकि बेलायत र नेपालमा धेरै प्याड प्रयोगकर्ताले नै पेन्टीको प्रयोग गरेको पाइन्छ । यो महिनावारी पेन्टीलाई पुनः प्रयोग गर्न मिल्ने भएकाले प्याडको तुलनामा सस्तो पनि पर्न आउँछ । यसलाई धोएर फेरि प्रयोग गर्न मिल्ने भएकाले परिवर्तन गरेर कहाँ फाल्ने भन्ने तनाव पनि भएन । त्यसैले सेनिटरी प्याडलाई यसले प्रतिस्थापन गर्न सक्छ । जसलाई महिनावारी कप प्रयोग गर्न डर लाग्छ । उनीहरूका लागि पनि यो उपयोगी हुन्छ । तर महिनावारीको समयमा प्रयोग गर्ने वस्तुको विकल्प धेरै भयो भने महिलाहरूले आफूलाई सहज हुने कुरा छानेर प्रयोग गर्न सक्छन् । त्यसैले हरेकको आ-आफ्नै महत्त्व छ ।

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)

नेपालमा कसले यसलाई बढी रुचाएका छन् ?

नेपालमा हाम्रो महिनावारी पेन्टी लिने धेरै आमाहरू हुनुहुन्छ । आमाहरूले सधैं आफ्नो भन्दा आफ्ना सन्तानको जीवन सहज होस् भन्ने ठान्छन् । त्यसैले महिनावारी पनि आफ्नो भन्दा छोरीहरूको सहज होस् भनेर उनीहरूको आफ्ना छोरीको लागि अर्डर गरिदिने गरेको पाएको छु । साथै, धेरै रक्तस्राव हुने महिलाले यसलाई बढी मन पराएको पाएको छु । प्याडका कारण र्‍यासेज हुने महिलाले पनि विकल्पको रुपमा वुकालाई प्रयोग गरिरहनुभएको छ ।

महिनावारी पेन्टी महिनावारीसँगै बच्चाको डेलिभरीपछि हुने रक्तस्रावमा महिनावारी सुक्ने बेलामा पटक-पटक हुने रक्तस्राव, सेतो पानी बग्ने समस्या र पिसाब चुहिने समस्या भएका महिलामा पनि यो पेन्टी उपयोगी भएको पाएका छौं ।

स्वास्थ्यको दृष्टिकोणले पनि यसको प्रयोग लाभदायक छ त ?

नेपालमा त यो भित्रिएको लामो समय भएको छैन । त्यसैले चिकित्सकहरूले यसको प्रयोगको बारेमा खासै बोल्नुभएको छैन । तर बेलायतमा भने चिकित्सकहरूले पनि यो महिनावारी पेन्टीलाई सुरक्षित छ भनेर सिफारिस गर्नुहुन्छ ।

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)

कसरी प्रयोग गर्ने ?

महिनावारी पेन्टी एउटा लगाएपछि अतिरिक्त प्याड, कप केही जरुरत हुँदैन । महिनावारी पेन्टीलाई धोएर पुनः प्रयोग गर्न सकिन्छ । दुई वर्षसम्म यसलाई प्रयोग गर्न सकिन्छ । धेरै रगत सोस्न सक्ने क्षमता भएको यो महिनावारी पेन्टी कटनबाट बनेको हुन्छ । सामान्य रक्तस्राव हुन्छ भने आठदेखि १२ घण्टासम्म यसको प्रयोग गर्न सकिन्छ । धेरै रक्तस्राव हुन्छ भने पाँचदेखि ६ घण्टा प्रयोग गर्न सकिन्छ ।

धेरैजसो महिलामा महिनावारीको बेला पेट फुल्ने समस्या समस्या हुन्छ । यस्तोमा वुकाको महिनावारी पेन्टी मज्जाले तन्किने भएकोले लगाउन सहज हुन्छ ।

महिनावारी पेन्टीलाई कसरी सफा गर्ने ?

स्वच्छताको कुरा पनि भएकोले महिनावारी पेन्टीलाई राम्ररी सफा गर्नुपर्ने हुन्छ । त्यसका लागि महिनावारी पेन्टीलाई उल्टो पारेर रगत आउन नछोडेसम्म पानीले पखालेर वासिङ मेसिनमा धुन सकिन्छ ।

मेसिनमा नधुने हो भने केही समय भिजाउनुपर्छ । भिजाएपछि पेन्टीले सोसेको रगत बाहिर निस्कन्छ । त्यसपछि साबुनपानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ । सुकाउँदा उल्टो पार्नुपर्छ । यसो गर्दा यसमा भएको कीटाणु मर्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School