‘सौता–सौता मिले भने गफ गरेर, मिलेनन् भने झगडा गरेर समय कटाउँछन्’ यो पुरानो भनाइ नेका–एमाले गठबन्धन सरकारका हकमा पूर्णतः लागू भएको देखिन्छ । हाल नेका-एमाले यसरी र यति गहिरो मिलापमा छन् कि उनीहरूको समय गफ गरेर बितिरहेको छ ।
यी दुवै दल नमिलेको अवस्थामा बाझेर समय व्यतीत गरेका थिए । नेका–एमाले मित्रता र गठबन्धनको वस्तुपरक आवश्यकता सन्दर्भमा बहस गर्ने सैद्धान्तिक आधार भेट्टाउन कठिन छ । यस मित्रालापको सारभूत सत्य के हो भने ओली र देउवालाई अचानक मिल्न मन लाग्यो मिले ।
एकले अर्कालाई फोन गरे, भेट्ने समय मिलाए, निर्धारित समयमा भेट भयो, ‘लु हामी मिलेर सरकार बनाऊँ’ भने, सरकार बन्यो । हिजो जिन खाइएको थियो, आज रम खाउँ भने जस्तै हो, यो मिलाप । माओवादी नामको सुन्दरीको बाहुपासबाट मौसमी मोहभंग हो, नेका–एमाले वर्तमान गठबन्धन ।
जहाँ राजनीति हुन्छ, त्यहाँ केही न केही सिद्धान्तका सूत्र हुन्छन् नै । सिद्धान्तको सूत्रका लागि सातबुँदे समझदारीपत्र तयार पारियो । ओली–देउवाका वरिपरि सबै किसिमका सम्झौता मस्यौदा गर्न सक्ने ‘क्षमतावान्’ हरूको कुनै कमि छैन । ‘युहिं’ तयार हुन्छन् सम्झौताका दस्तावेज । उसै पनि २०६५ साल यताको नेपाल दलहरूबीच तमसुक लेखाइमै केन्द्रित छ ।
यी सबै तमसुकहरूको हिसाब गर्ने हो भने एउटा मोटै ठेली बनिसकेको होला । प्रत्येक नयाँ तमसुक अर्को पुरानो तमसुकसँग बाझिन्छ र पुरानो तमसुकको कुनै खास पक्ष र त्यसका साक्षी प्रमाणमाथि संयुक्त लाञ्छित गर्नु यी सबै तमसुकहरूको आधारभूत चरित्र हुन गएको छ । सहमति नामका यी तमसुकहरूका आधारमा सरकार फेरिएका छन् र प्रत्येक पटक दलमा लागेका केही केटाहरूले नयाँ मन्त्रीको शपथ गर्न पाएका छन् ।
संसारमै दलहरूबीच गठबन्धन गरिन्छ । गठबन्धन गर्नुअघि न्यूनतम साझा कार्यक्रम बनाइन्छ । गठबन्धनका दलहरूले सो साझा कार्यक्रमको अपनत्व ग्रहण गर्छन् । गठबन्धनले नीति प्रक्षेपणको रणनीतिक कार्ययोजना तयार पार्छ । चुनावपछि प्रस्तावित गठबन्धनले सरकार बनाएको अवस्थामा गर्ने कामहरूको सूची बन्छन् ।
तर, नेपालमा नेका–एमालेभित्र यति धेरै वैमनस्यता र आरोप प्रत्यारोपको शृंखला जारी राखेर सरकारमा गरिने सहभागिताबाट प्रधानमन्त्री खड्गप्रसाद ओलीको समृद्धिको सपना सोम शर्माको सातुको कथामा गएर टुंगिनु अपरिहार्य छ ।
नेका–एमाले बीचका सैद्धान्तिक असहमतिलाई नजरअन्दाज गरेर बनाइएको गठबन्धन राज्य वा सरकारको चरित्र सुधारमा केन्द्रित हुन असम्भव लाग्छ । किनकि दुवै दलहरूमा समाजका प्रत्येक चुनौतीलाई पर्गेल्ने दृष्टिकोणमा ठूलो भिन्नता र व्यापक असमानता विद्यमान छ ।
ध्रुवसत्य के हो भने गठबन्धनहरू सिद्धान्तमा भन्दा अवसरवादमा विश्वास गर्दछन् । गठबन्धनको भित्री चाहना गठबन्धनको अर्को पक्षबाट आफ्नो हितमा काम गराउनु हो । ओलीबाट आफ्नो काम गराउने नेकाको चाहना र नेकाबाट आफ्नो हितार्थ काम गराउने ओलीको चाहना लुकेको छैन । भाषणमा भनिरहने विषय होइनन्, आकांक्षाका यी अन्तर्यहरू ।
ओलीमा गठबन्धन वा ठूलो शक्तिको नेतृत्त्व गर्ने क्षमता हुन्थ्यो भने नेकपा टुट्ने थिएन । एकीकृत समाजवादीको जन्म पनि ओलीले रोक्न खोजेनन् । प्रतिस्पर्धीहरूका खुट्टा भाँचिए म दौड जित्ने थें भन्ने मनोगत आकांक्षा हो उनको । अनि उनले नेकासँगको मिलापलाई कुन चातुर्य प्रयोग गरेर जारी राख्छन् ?
वामपन्थीहरू देशको सापेक्ष शक्तिको तुलनामा हुँकार बढी गर्छन् । यस्तो हुँकार घरेलु राजनीति र विदेशनीतिमा परावर्तन हुन जान्छ । दलीय दृष्टिकोणमा पनि वामपन्थीहरू आफ्नो दलको वस्तुगत क्षमताभन्दा आफूलाई बढी आँकिरहन्छन् ।
यसका पछाडि केही सैद्धान्तिक कारण छन् । उनीहरू समाजको ठूलो हिस्सालाई आफूले प्रतिनिधित्व गरेको भ्रमबाट पूर्णतः नियन्त्रित हुन्छन् । यस भ्रमले उनीहरूलाई आफ्नो वास्तविक शक्ति र क्षमता पहिचान गर्नै दिंदैन ।
नेपालको संविधानले सीमित क्षेत्राधिकारको सरकारको परिकल्पना गरेको हो । सरकारको तथाकथित सर्वव्यापकता र सर्वशक्तिलाई संविधानले संकुचन गरेको छ । संविधानका लिपिबद्ध यिनै प्रावधान कार्यान्वयन गर्ने हो भने दुई तिहाइ मत तुकसिद्ध कुरा होइन ।
जहाँसम्म सातबुँदे समझदारी र संविधान संशोधनको विषय छ त्यो खासमा दुई कारणबाट निर्देशित छ । पहिलो, नेका–एमालेमा रहेको मनोवैज्ञानिक त्रासको उपचार खोज्नु र दोस्रो, दोष संविधान र राजनीतिक प्रणालीलाई दिनु ।
नेपालको राजनीतिमा कुनै अमूक समस्या आफैं खडा गरी त्यसको समाधान खोज्दैछौं भन्ने प्रमाणित गर्नमै दलहरूले वितेका १६ वर्ष खर्च गरे । कांग्रेस–एमालेहरूको सत्ता बाँडफाँटका भित्री अन्तर्यहरू बाहिर ल्याउन नमिल्ने हुनाले बाहिर ल्याउन मिल्ने कुरा खोजी गर्दा संविधान संशोधन भेटिएको हो । योभन्दा उत्तम त के हुन्थ्यो भने अहिले उनीहरू जे जे गरिरहेका छन् यसै गर्न हामी मिल्ने हो भन्न सक्नुपर्थ्यो ।
अब तलको तालिकामा हेरौं, नेका–एमालेका फरक अवधारणाहरू :
नेका–एमाल बीचका सैद्धान्तिक र व्यावहारिक रूपमा तीक्ष्ण मतभेदहरू | |
नेकपा एमाले | नेपाली कांग्रेस |
– दलको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हुनेछ । – नेपाली सर्वहारा र श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्था हो । – मार्क्सवाद लेनिवादप्रति प्रतिबद्धहरू सदस्य हुन सक्नेछन् । – न्यायालयको चीरहरण गर्ने अगुवाई नेपाली कांग्रेसले गरेको छ । – अदालतको परमादेशमा स्वेच्छाचारी परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरु भयो । – समाजवादको अपरिहार्यता र वामपन्थी विकल्पको औचित्य पुनर्पुष्टि भएको छ र कम्युनिष्ट आन्दोलनको एकीकरण जस्ता कार्यभार पूरा गरेका छौं । – गठबन्धन दलहरू नै संवैधानिक र संसदीय बाटोबाट होइन, सडकबाटै न्यायाधीश फेर्ने जस्तो अराजकतालाई प्रोत्साहन र संरक्षण गरिरहेका छन्, न्यायपालिकालाई पङ्गु र निरीह बनाउने कारक तत्व बनिरहेका छन् । – विदेशीहरूका लागि ‘कम्फर्टेबल’ बन्ने वचनबद्धता सहित गठन भएको गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ । – लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भू–भागमा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ । | – लोकतन्त्रको सुदृढीकरण र सुशासन उदार लोकतन्त्रसँग जोडिन्छ । – संवैधानिक उदारवादमा सक्षम र जवाफदेही दल हो र राष्ट्रियता, लोकतन्त्र र समाजवादी आदर्श कांग्रेसको वैचारिकी हो । – नेकाको आदर्श उद्देश्य र नीतिमा आस्था राख्नेहरू सदस्य बन्न सक्नेछन् । – एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनेको समयदेखि संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था माथि नियोजित आक्रमण गरियो । – नेकपा (एमाले) को सर्वसत्तावादी प्रवृत्तिको कारणले संविधानसभाद्वारा निर्मित संविधान नै असफल हुने दिशातर्फ उन्मुख भएपछि पार्टीले सरकारको नेतृत्व गर्नु परेको हो । – सरकारले पाएको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरियो । – यो संविधानलाई कम्युनिष्टहरूको एकाधिकारवादी सोचको अतिक्रमणबाट जोगाउनु प्रमुख दायित्व हो । – नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई कम्युनिष्टीकरण गर्यो । |
सत्तामा जानैपर्ने ओलीका बाध्यता राम्ररी बुझेको नेपाली कांग्रेस ओलीबाट आफ्ना कामहरू फत्ते गराउन चाहन्छ । गगन थापाको राजनीतिक सत्मार्गका लागि रवि लामिछानेको ‘राजनीतिक बलि’ नेपालको राजनीतिमा सायद ग्राह्य नै छ ।
बीआरआई सम्झौता त नेका पनि गथ्र्यो नै तर ओली महत्वाकांक्षाको उडनतस्तरीको प्वाँख, पखेटा काटिदिएर बेइजिङ पठाउनु उचित ठानेको देखिन्छ । सनपाटको डोरीले खुट्टा बाँधेर ओलीलाई नेकाले कुद्न छाडिदिएको छ, परै जाने देखियो भने डोरी तानेर ओलीलाई लडाइदिने विकल्प ऊसँग खुला छ ।
ओलीलाई हटाउने आफूसँग कांग्रेस मिल्ने मूल्यमा प्रचण्ड कांग्रेस सभापति देउवा (हुनेवाला प्रधानमन्त्री) को राजनीतिक सल्लाहकारको काम गरिरहेकै छन् । गज्जब के छ भने यति ठूलो वामपन्थी जनमत पनि बीआरआई सम्झौता सम्पन्न गरेबापत ओलीलाई बधाई दिइरहेको छैन । स्वयम् वामपन्थीहरू नै बधाई दिन र प्रशंसा गर्न किन लाज मानिरहेका छन् बुझिनसक्नु हुन गएको छ ।
त्यस पछाडिका कारणमा वामवादको सौन्दर्य विश्लेषक र वाम जनमतका तथ्यांकशास्त्रीहरू ओलीभन्दा फरक कित्तामा हुनुलाई मान्न सकिन्छ । कमसेकम पनि झलनाथ खनालले त बीआरआईका लागि ओलीको प्रशंसा गर्नुपर्ने थियो, गरेको देखिएन । यसले के पुष्टि गरेको छ भने वाम पाठशालाका एलुम्नाइहरू ओलीको पक्षमा कोही छैनन् ।
वितेका दशकका राजनीतिक रस्साकस्सीमा एउटा चित्र प्रष्ट भएको छ । माओवादीभित्र एमाले र कांग्रेसका फरक–फरक कटुवालहरू स्थापित छन् । दुवै लवीका कटुवालहरूलाई कामको जिम्मा दिन प्रचण्ड पनि कम माहिर छैनन् । पुराना कटुवालहरू डाँडामा निस्किएर ठूलो स्वरमा कराउँथे भने यी आधुनिक कटुवालहरू बैठक कोठामा साउती गर्छन् ।
यिनै साउतीहरू नै नेपालको सत्ता परिवर्तनको प्रारम्भिक विन्दु हुने गरेका छन् । र, देउवा राजनीतिको भित्री रिङमा साउतीहरू बाक्लिन थालेका छन् । जतिसुकै दन्तबजान गरे पनि एमाले–माओवादीमा केही न केही साइनो छ नै । ओली पनि यही साइनो समात्न थालिसकेका छन् ।
लीसँगको सत्ता जारी राखेर चुनावी प्रतिस्पर्धाका मूलभूत मान्यताहरूको क्षय र सिद्धान्तहरूको खण्डीकरणले पार्ने प्रभावको नतिजाको अनुमान पनि गठबन्धनको धड्कन बढाउने कारण हुन सक्छ । यी सबै कुराको संक्षिप्त सार के हो भने ओली सरकारले नयाँ वर्ष मनाउन पाउन चानचुने मिहिनेतले पुग्दैन ।
नेका एमाले किन मिले ? आजको प्रश्न यो होइन । किन भन्ने प्रश्नको उत्तर दार्शनिकी र वैचारिकीले मात्र दिन सक्छ । माथि, दार्शनिकी र वैचारिकीको तुलनात्मक अध्ययन प्रस्तुत भइसकेको छ । त्यसलाई विचार गर्दा वैचारिकी र दार्शनिकीमा उहाँहरूको मिलापको सम्भावना क्षीण छ ।
ब्राजिल र अर्जेन्टिना मिलेर खेलेको फुटबल हेर्नु र कांग्रेस एमालेका गठबन्धन सरकार र त्यसले गरिरहेको काम हेर्र्नु त्यतिकै पट्यारलाग्दो कुरा हो । के भन्न सकिन्छ भने, परिवर्तित नागरिक मनोविज्ञानको अध्ययनले नेका–एमाले अस्तित्वको समान संकट बोध गरिरहेका छन् । ओलीलाई वालेनसँग वाक्युद्ध गराएर नेका सके आफ्ना निर्वाचन क्षेत्र सुरक्षित गर्ने नसके काठमाडौंबाट वाम राजनीतिको किल्ला भत्केको हेर्ने रणनीतिमा छ ।
नेकाका आधिकारिक दस्तावेजहरूमा एमालेलाई कम्युनिष्ट एकाधिकारवादी, निरंकुश भनिएको छ । नेका–एमाले गठबन्धन बन्ने चरणमा ओलीले कतै ‘निरंकुशता छाडें, अब म अब्बल लोकतान्त्रिक भएँ, पुनः संसद् भंग गर्दिनँ’ भन्ने बकपत्र लेखिदिएका छन् ? छैनन् । त्यसो भए, नेकाले रिसको झोंकमा ओलीलाई निरंकुश, सर्वसत्तावादी, एकाधिकारवादी भन्ने गाली गरेको हो ? गाली मुद्दा दुर्गा प्रसाइँलाई मात्रै लाग्छ कि अरूलाई पनि लाग्छ ?
कांग्रेसका पुराना दस्तावेजहरूको संग्रह र अध्ययन गर्ने सौखिनहरू भन्छन्, गगन थापाको पदीय बढोत्तरीका कारण नेकामा एक सारभूत परिवर्तन आएको छ । त्यो के भने नेकाले आधिकारिक रूपमै कसैलाई गालीगलौज गर्न सिकिसकेको छ । त्यसमा गगन थापाको योगदान अविस्मरणीय छ भन्छन्, कांग्रेसका पुराना र दिग्गजहरू ।
वामपन्थीहरू आफूले तय गरेका सूत्रमा चल्छन्, समाज विवेकमा चल्छ, राजनीति नेतृत्वको नैतिक मूल्यमा । घोषित रूपमा त नेकाले कम्युनिज्म मान्दैन । कम्युनिष्टहरूलाई एकतन्त्रवादी, एकाधिकारवादी र निरंकुश विचार मान्दछ ।
उसले चुनावी घोषणापत्रमा भनेको पनि छ ‘तर सत्ता र शक्तिको केन्द्रीकरण गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउन उद्यत भयो । नेकपाको सरकारले अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात गर्दै संवैधानिक निकायको कम्युनिष्टीकरण गर्यो ।’
तर, नेकाले प्रधानमन्त्री त तिनै ओलीलाई बनायो । के नेकाले ओलीलाई बीपी नगरको कुश डुवाएको पोखरीमा धोएर चोखो पारेको हो ? त्यसैगरी एमालेले पनि नेकालाई लगाएका आरोपहरू आफ्ना दस्तावेजहरूबाट हटाएको हो ?
नेका–एमाले गठबन्धनको भविष्य
नेतृत्व र नेता बनाउने किङमेकरहरूको लागि बनेको हो यो गठबन्धन । तर यसले दलहरू बीचका भिन्नताको सारभूत सैद्धान्तिक अवधारणाहरूमाथि जुन प्रहार गरिरहेको छ त्यसको प्रकाशमा हेर्दा नेकालाई ओलीको भारी गह्रौं लाग्न थालेको छ ।
ओलीको भारी गह्रौं लाग्नुको कारण प्रचण्डको कुटुनी क्रेज, माधवकुमार नेपालको आफ्ना गुन नबिर्सन दिने चेतावनी, राजनीतिक रूपमा गिर्दै गएको ओलीको साख जस्ता परिघटनाहरूका कारण ओली–कांग्रेस यात्रा कठिन हुन थालिसकेको छ ।
वचनबद्धतामा अडिने देउवाको चरित्र मात्र यस्तो एक कारण हो जुन ओलीका लागि सहयोगी छ । तर आफ्नै दलको घुँडामा बन्चरो थापेर देउवाले ओलीको भारी बोकिरहन अब सम्भव छैन ।
नेका एमाले गठबन्धनले नेपालमा स्थापित राजनीतिक दलहरूप्रति मानवीय संवेदना मारिदिएको छ । यी दलहरू राष्ट्रिय संकटमा मिल्नुपर्नेहरू जन्त जान मिलेका छन् । र, आ–आफ्ना समस्या ज्युँका त्युँ राखेर र अझ दुई दलका समस्याहरू समेत थोपरेर सरकार बनेको छ ।
ओलीमा गठबन्धन वा ठूलो शक्ति सञ्चालन वा नेतृत्त्व गर्ने क्षमता हुन्थ्यो भने नेकपा टुट्ने नै थिएन । ल, मानौं माओवादी भीर मौरी थियो घर मौरीसँग बस्न सकेन, एकीकृत समाजवादीको जन्म त ओलीले रोक्न खोजेनन् । प्रतिस्पर्धीहरूका खुट्टा भाँचिए म दौड जित्ने थें भन्ने मनोगत आकांक्षा हो उनको । अनि उनले नेकासँगको मिलापलाई कुन चातुर्य प्रयोग गरेर जारी राख्छन् ?
मिल्न सम्झौता गर्नु परे पनि छुट्टिन समझदारी मस्यौदा गर्नुपर्दैन । अर्कालाई दोष थुपारेर एउटा वक्तव्य जारी गरे पुग्छ । नेका–एमाले छुट्टिन एकै कारण पर्याप्त छ, त्यो हो ओलीले शासनमा स्थापित गर्न खोजेको कम्युनिष्ट मापदण्ड । विदेश वा अन्य सम्बन्धहरू तपसिलका विषय हुन् । मूल कुरा त आन्तरिक राजनीति नै हो ।
अर्को कुरा ओलीसँगको सत्ता जारी राखेर चुनावी प्रतिस्पर्धाका मूलभूत मान्यताहरूको क्षय र सिद्धान्तहरूको खण्डीकरणले पार्ने प्रभावको नतिजाको अनुमान पनि गठबन्धनको धड्कन बढाउने कारण हुन सक्छ । यी सबै कुराको संक्षिप्त सार के हो भने ओली सरकारले नयाँ वर्ष मनाउन पाउन चानचुने मिहिनेतले पुग्दैन ।