सेन्ट्रल जेलको गेट

सेन्ट्रल जेलको गेट


म सेन्ट्रल जेलको गेटमा उभिएकी छु, एक हातमा नागरिकता र अर्को हातमा स्याउ, बिस्कुट भएको सानो झोला बोकेर।

सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।

कति निसासिँदो जेलको वातावरण!

मेरो आँखा एक्कासि कारागार सुरक्षार्थ बसेको प्रहरी कार्यालयको अफिस कोठामा टाँसिएको नेम प्लेटमा पर्छ।

निमित्त कार्यालय प्रमुख, प्र.नि. नरेश क्षेत्री। मलाई झट्ट नरेशको याद आयो। उसका ठुल्ठुला आँखा, ठुलो निधार अनि छोटो कपाल भएको टाउको, सिनिक्क परेको नाक, मधुर पातलो ओठ र ओठमाथि राखेको अलिअलि जुँगा र चिउँडामा कोठी भएको सुन्दर मुहार आँखामा नाच्यो। परेली झिमझिम गरेर हेर्छु, अलि पर नरेश नै केही व्यक्तिसँग मुसुमुसु हाँस्दै कुरा गरिरहेको थियो। म उसका अघि पर्न चाहन्नथेँ। त्यहींबाट फरक्क फर्कन मन लागेको थियो तर भित्र जेलमा एउटा बन्दी मलाई पर्खिरहेको थियो । त्यसैले फर्किहाल्न सकिनँ।

म छलिएर बस्न खोज्छु। ‘सान!’ नरेशको आवाज मेरो कानमा ठोक्कियो। जगन्नाथ देवलस्थित सेन्ट्रल जेलको भेटघाट कक्षअगाडि उभिएकी म नरेशले एक्कासि बोलाएपछि झसङ्ङ भएँ।

उसको आवाजसँगै अतीतले सगरमाथाजस्तो गरुङ्गो पहाड बनेर मलाई थिचेजस्तै लाग्यो। उसलाई म १४ वर्षपछि देख्दै थिएँ, उसको आवाज सुन्दै थिएँ।

‘सानु!’ उसले फेरि बोलायो।

म बिनाप्रतिक्रिया उभिरहन्छु।

‘तिमी यहाँ? कसरी? कसलाई भेट्न?’

‘एक जना भाइलाई भेट्न आएकी,’ म उसलाई नहेरी भन्छु।

नरेशले मेरो हातबाट बन्दीको नाम भएको चिट लिएर हेर्‍यो। कति सजिलोसँग हक जताएर उसले मेरो हातबाट चिट लियो! मन कस्तो कस्तो भयो।

‘ए, यो भाइलाई चिन्छु नि म, पख है म पहिला बोलाउन भन्छु,’ ऊ मेरो जवाफ नपर्खी आन्तरिक जेल प्रशासनको नाइकेसँग होला, केही कुराकानी गर्दै थियो।

मैले सबैभन्दा पहिला त्यो बन्दी भाइलाई भेट्न पाउने भएँ। अरूसँग कुरा गरिरहेको नरेशलाई हेर्छु। उसको मुहार उस्तै मायालु छ, जुन मुहार मैले १४ वर्षअघि जिल्ला प्रहरी कार्यालय, इलामको हिरासतमा देखेकी थिएँ।

‘ल तिमी कुरा गर है, अहिले तिमीलाई लिन आउँछु,’ नरेशले मलाई बन्दी भेटघाट कक्षको भित्र बसाएर भन्यो।

बल्ल हाम्रा आँखा जुधे। एक अर्कालाई सम्बोधन गरेर हजारौं प्रश्नहरूको सुनामी उठिरहे!

०००

‘म्याम, त्यो रात म पनि नाङ्गिएको थिएँ। उनी पनि त नाङ्गै भएकी थिइन्। त्यही रातले हामीबीचका सबै सिमाना भत्किएका थिए। त्यो आवेग थियो  या अरू केही थियो? थाहा छैन तर मलाई त्यो रातपछि उनीसँग प्रेम भएको थियो। उनी र उनका कोमल अंगको जतन गर्न मन लागेकै त्यो रातपछि थियो। उनलाई रातभरि छातीमा टाँसेर सुताएकै त्यही रातपछि हो। त्यसपछि हामीबीच लुकाउनुपर्ने, छुपाउनुपर्ने केही थिएन। उदाङ्गो थियौं हामी एकअर्काप्रति!’ त्यो बन्दी भाइ आँखा पुछ्दै बोल्दै थियो।

म चुपचाप सुनिरहन्छु। उसको रुन अलि कम भएपछि मैले कुराकानीलाई अघि बढाएँ। ‘तिमी उनलाई कुन रूपमा सम्झिन्छौ त आजकाल?’

‘प्रेम गरेको थिएँ। उनको गाली, उपेक्षामा पनि प्रेम नै भेट्थेँ म। योभन्दा बढी मसँग उनका लागि अब केही बाँकी छैन।’

‘उनले मुद्दा फिर्ता लिन्छु भनेर भनिसकेकी रहिछिन्। कुरा सकारात्मक रूपमा अघि बढ्छ सायद। त्यहीअनुसार मनस्थिति तयार गर्नु है बाबु।’ उसले टाउको हल्लायो, हवस् भन्ने भावमा।

मलाई कारागार प्रशासनले उपलब्ध गराएको समय सकिइसकेको जनाउ आइसकेको थियो। म बन्दी भाइसँग बिदा भएर बन्दी भेटघाट कक्षबाट निस्कन खोज्छु। मलाई लिन नरेश त्यहीं आइपुगेको रहेछ।

‘कुराकानी सकियो?’ उसका दुई आँखा चम्किरहेका थिए।

म भेटघाट कक्षबाट निस्कन्छु। ‘सानु, तिमीसँग यसरी फेरि भेट हुन्छ भनेर सोचेको पनि थिइनँ,’ नरेशले मलाई हेर्दै भन्यो। ‘मलाई पनि,’ मैले बिस्तारै भनेँ। नरेशले मलाई आफ्नो कार्यकक्षमा बसाइसकेपछि चिया बनाउन भन्यो आफ्नो स्टाफलाई। म चुपचाप बसिरहन्छु। उसको अफिस नियाल्छु, सफा लाग्छ।

मेरा अगाडि नरेश मुसुक्क हाँसिरहेको देख्दा मलाई सपनाजस्तो लाग्छ। हुन त उसको र मेरो सम्झिरहनुपर्ने विगत थिएन तर मैले उसलाई कहिल्यै बिर्सेको पनि थिइनँ।

सधैंभरि सम्झेकै थिएँ अनि बेलाबखत उसको आँखामा कोरिएको प्रतिबिम्बलाई सोध्ने गर्थें, ‘नरेश, के तिमीलाई पनि मेरो याद आउँछ?’

जवाफ नदिएर उसको प्रतिबिम्ब त्यसै हराउँथ्यो, बिलाउँथ्यो। म त्यसै दुःखी बन्थे। किन बन्थेँ? थाहै थिएन तर आँखामा कोरिएको नरेशको प्रतिबिम्ब झन् झन् निखारिन्थ्यो। मन त्यसै उडेर जिल्ला प्रहरी कार्यालय, इलामको हिरासत पुग्थ्यो, जहाँ मैले नरेशलाई पहिलोपटक देखेकी थिएँ अनि इलाम कारागार पुग्थ्यो, जहाँबाट हामी छुट्टिएका थियौं।

‘सानु, अनि भन तिमी कहाँ छौं? के गर्दैछौं?’

‘म झापातिर नै छु।’

‘अनि तिम्रो राजनैतिक यात्रा कहाँ पुग्यो?’

‘खै कहाँ पुग्यो भन्ने? धेरैथोरै जनताको सेवा गरिरहेकी छु।’

‘तिमी यो समयको माग थियौ सानु!’

उसको प्रशंसाले मुटु चिसो भएको भान भयो, उसले पनि अरूले झैं जिस्काएजस्तो लाग्यो।

‘तिमीलाई मैले नजिकैबाट नियालेको छु। तिमी त मृत्युसँग नडराउने मान्छे!’ नरेशले मलाई हेर्दै भन्यो।

‘मृत्युभन्दा पनि समय र परिस्थितिसँग डराएको छु हिजोआज नरेश,’ मलाई भन्न मन थियो  तर सकिनँ। किन सकिनँ? थाहा छैन।

उसको स्टाफले उमालेको पानी टेबलमा राखिदियो। नरेशले ऊ र मेरा लागि दुई कप ग्रिन टी बनायो। म हेरिरहन्छु उसका कोमल, मुलायम, सेता हातका औंलाहरू चलिरहेका।

मेरो आँखामा बारम्बार त्यही इलाम हिरासतअगाडि ड्युटीमा उभिरहेको कलिलो नरेश नाचिरहन्छ। म आफूलाई पुनः जिल्ला प्रहरी कार्यालय, इलामको हिरासतमा पाउँछु।

‘सानु, ल लेऊ,’ चियाको कप टेबलमा राखेको आवाजले म झसङ्ङ हुन्छु।

‘हवस्’ म टाउको हल्लाउँछु। ‘फेरि पनि जेलमा आइपुग्दा कस्तो लाग्दोरहेछ सानु?’

‘जेल भनेपछि घाँटी अठ्याएको जस्तो लाग्छ मलाई त।’  

‘तर मलाई त सबैभन्दा बढी तिम्रो सम्झना दिलाउँथ्यो, दिलाउँछ जेलले।’

‘हो?’ अनायासै मेरो ओठबाट फुत्कियो शब्द।

‘हो,’ नरेश मलाई नियालेर भन्दै थियो।

‘त्यस्तो सिपाही भनेर हेला गरेर छोडेकी थियौ होइन र?’ नरेशको अप्रत्याशित प्रश्नले मेरो मनमा हलचल भयो। ‘होइन नरेश,’ मैले ग्रिन टीको एक घुट्की निल्दै भनेँ। साँच्चै हामीबीच त्यत्तिकै दूरी बढेको थियो। पार्टीको सिद्धान्तलाई मनन गरेर नै उसलाई मैले दुस्मन करार गरेकी थिएँ अनि हाम्रो बाटो अन्तै मोडियो।

नरेशले मलाई पछिसम्मै चिठी लेखिरहन्थ्यो। सायद अहिले पनि उसका चिठी उस्तै छन्। सम्हालेर राखेका थुप्रै चिठीबीचमा उसको पनि चिठी छ। बेलाबखत पढ्दा त्यही जिल्ला प्रहरी कार्यालय, इलाम हिरासतअगाडि उभिएको त्यो कलिलो नरेश मेरो आँखाअघि ठिङ्ङ उभिन्छ।

गहभरि अनायासै आँसु भरिन्छ। नरेशलाई हेर्छु, अलिकति हाँस्छ। ठुल्ठुला आँखा, ठुलो निधार, छोटो कपाल, सिनिक्क परेको नाक अनि पातलो ओठ। ओठमाथि राखेको जुँगा, त्यसमाथि चिउँडाको कालो कोठी उस्तै छ, जस्तो १४ वर्षअगाडि मैले उसलाई देखेकी थिएँ। काँधमा थपिएको जिम्मेवारी दज्र्यानी चिह्न खुलिरहेको थियो, सुहाएको थियो ।

‘जीवनमा तिमीलाई एकपटक भेट्ने इच्छा थियो सानु! तिमीलाई नजिकैबाट हेर्ने मन थियो। तिमीलाई केही सोध्ने मन थियो,’ ऊ चियाको कप हातले घुमाउँदै मलाई नहेरी बोलिरहेको थियो।

‘हो?’ मैले बिस्तारै भनेँ। ‘मैले तिमीलाई धेरै खोजेँ सानु। तिमीले दिएको टेलिफोन नम्बरमा सधैं फोन गरेर सोध्ने गर्थें त्यो नम्बरमा कल लागुन्जेल। पछि त त्यो नम्बरमा कल लाग्नै छोड्यो। सधैं सोध्दा जवाफ पाउँथे– ‘उनी त पार्टीमा हिँडिसकिन्। फर्केर आइन् भने खबर भनिदिउँला।’  

‘भन त तिमी कहिल्यै फर्केर गइनौ त त्यो टेलिफोन भएको घरमा?’ उसले मलाई हेर्दै सोध्यो। ‘अहँ’ मैले जवाफ दिएँ। मन भारी भयो।

‘तिमीले मलाई किन एकपटक पनि भेट्ने कोसिस गरिनौ सानु? मेरो माया लागेन है? एकपटक पनि भेट्नुपर्छ जस्तो लागेन?’

म निःशब्द छु।

‘तिम्रा चिठी अझै मसँग सुरक्षित छन्। बेलाबखत इलाम हिरासतमा अन्य बन्दीहरूको पक्षमा बोलिरहेकी, प्रहरीहरूसँग झगडा गरिरहेकी तिमीलाई पढ्छु। फेरि एकपटक त्यो समयमा फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ। तर हेर न, आज हामी कहाँ छौं? त्यो समय कहाँ पुग्यो? सपनाहरू कहाँ पुगे अनि तिमी कहाँ पुग्यौ? म कहाँ पुगेँ?’ नरेश एकोहोरो बोलिरहेको थियो।

‘थाहा छ तिमीलाई? त्यो संकटकालीन अवस्था! साँझ मरिन्छ कि बिहान? थाहा थिएन। तर पनि तिमीसँग एकपटक भेट हुन्छ भन्ने एउटा आशा जीवित थियो। भर्खरै तालिम सिध्याएर आएको सिपाही थिएँ। एक दिन हिरासतमा अरू बन्दीका लागि प्रहरीसँग झगडा गरिरहेकी तिमीलाई देखेपछि नै खुब मन परेकी थियौ। झगडा गरेरै बन्दीलाई ओढ्ने, ओछ्याउने र ट्वाइलेट जानेसम्मको व्यवस्था गर्न सफल भएकी तिमी मलाई एक आस्थाको पहाडजस्ती लाग्थ्यौ। मान्छेलाई मान्छे भएर बाँच्न दिनुपर्छ। तिमीले भनेको यो वाक्य अहिले पनि मेरो कानमा गुन्जिन्छ सानु।’

म चुपचाप उसको कुरा सुनिरहन्छु। सुन्नबाहेक अर्को विकल्प पनि त छैन।

‘तिमी देख्नमा जति नरम, मायालु थियौ, व्यवहारमा उस्तै कठोर र निर्दयी भइदियौ सानु।’

‘सायद समय र परिस्थितिलाई त्यही मेरो कठोरता र निर्दयीपन नै मन पर्‍यो होला नरेश,’ मैले कसरी कसरी भनेँ।

‘तिमीले पछिल्लो चिठीमा चाँडै भेट हुनेछ भनेकी थियौ। कति लामो दुरी पार गरिएछ १४ वर्ष।’ नरेश बोलिरहेको थियो।

‘तिम्रो प्रगतिले मलाई खुसी लागेको छ नरेश, बधाई! शुभकामना!’ मैले कुरा अन्तै मोड्न चाहेँ।

‘तिमीले मलाई हेलाँ गरेर माया मारेकी थियौ है सानु!’ नरेश अलिकति हाँसेर बोल्दै थियो। उसका शब्दहरू मेरो मुटुमा खिल बनेर गाडिँदै गएको महसुस गरिरहेकी थिएँ म।

‘सानु, तिमीलाई साँझमा इलाम जेल चलान गर्ने रे! भन्ने जब सुनेँ, रातभरि निदाउन सकिनँ। भोलिपल्ट बिहानै तिमीलाई हिरासतबाट निकाल्दै गर्दा मुटु चुँडिएको थियो। सङ्कटकालीन अवस्था, त्यसमाथि म भर्खरै तालिम सिध्याएर आएको सिपाही न थिएँ। तिमीलाई हात पछाडि लगेर हतकडी लाएर गाडीमा चढाउँदै गर्दा मलाई कति नमिठो लागेको थियो । थाहा छ, तिमीले मलाई एक दिन भनेकी थियौ– तिमीलाई विद्रोहीको गोली अनि मलाई राज्यको गोली लागेन भने अवश्य भेट हुनेछ।’ तर हाम्रो भेट कहिल्यै भएन। तिमीले भेट्ने प्रयास नै गरिनौ। गुनासो त्यसैमा छ।’

ऊ बोलिरहेको थियो, म सुनिरहेकी थिएँ। म घुटुक्क ग्रिन टी पिउँछु। नरेश मलाई हेरिरहन्छ, मेरा आँखा झुक्छन्।

‘समयले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँदो रहेछ नरेश!’ भन्न मन थियो तर सकिनँ।

‘मलाई अलपत्र छोडेर गएकी तिमी फर्किनै जानिनौ सानु। म भने पर्खिरहेको थिएँ,’ नरेश एकोहोरो मलाई हेरेर भनिरहेको थियो। मलाई भित्रैदेखि भक्कानो छुटेर आयो। आँखा रसाए।

‘सानु, धेरै पछिसम्म पनि तिमी फर्केर आउँछ्यौ कि जस्तो लागिरहन्थ्यो। पर्खिरहेको थिएँ तिमी आइनौ। फर्केर हेरिनौ अनि मेरा आँखा थाकेपछि जिन्दगीको बाटो मोडियो।’

म निःशब्द उसका कुरा सुनिरहन्छु। उसले त्यसो भनिरहँदा कता कता मनमा एउटा आशाको दियो धपक्क बल्यो।

म नरेशको मुहार पुलुक्क हेर्छु।

‘सानु, अहिले मेरी सानी छोरी छिन् सात वर्षकी।’

मनमा बलेको आशाको दियो झ्याप्पै निभ्यो। म चिसो भएँ अनि आफ्नो मनप्रति शुष्क हाँसिदिएँ।

‘बधाई छ नरेश!’ मैले उसलाई शुभकामना दिएँ। ऊ पनि अलिकति मुस्कुरायो आँखाभरि आँसु लुकाएर।

०००

‘ल सानुको चिठी आएको छ, महिला वार्ड, इलाम जेलको हो’ हल्ला चिर्दै मेरो कानमा महिला नेलकी नाइकेको आवाज गुन्जियो।

अचम्म लाग्यो।

‘मलाई कसले चिठी लेख्यो?’

मनमा प्रश्नहरू उठिरहे, बसिरहे।

चिठी हातमा लिएँ, सुन्दर अक्षरमा मेरो नाम लेखिएको थियो। अन्जान लाग्ने सुन्दर अक्षरहरू!

म जेलको पेटीमा बसेर चिठी खोल्छु।

‘प्यारी बहिनी!’ सम्बोधन भएर ‘तिमीलाई माया गर्ने दिदी’ सम्म पुगेर अन्त्य भएको थियो।

चिठी फेरि अर्कोपटक पढ्छु। चिठीको बेहोरा दिदीले बहिनीलाई लेखेको जस्तो पटक्कै थिएन। फेरि पढ्छु। चिठीका भावहरूले जनाइरहेको छ। एउटा औधी प्रेम गर्ने प्रेमीले प्रेमिकालाई लेखेको जस्तो।

शुष्क हाँस्छु। चिठीप्रति कौतूहल जाग्छ। अचम्म लाग्छ। तर यसबारे कसलाई सोध्ने?

असाध्यै मिठा लाग्ने चिठीका शब्दहरू। कता कता मनभित्र रहर र सपनाका छालहरू उठिरहेको भान हुन्छ।  

चिठीको बेसरी माया लाग्यो। यसो हातमा लिएर फेरि ओल्टाइपल्टाई हेर्छु।  

ओठमा अलिकति मुस्कान छरियो। म मुसुमुसु हाँसेको देखेर इलाम जेलका पर्खालहरू पनि धक फुकाएर हाँसेजस्तो लाग्यो।

जेलमाथिको बुर्जा (सुरक्षार्थ प्रहरी बस्ने ठाउँ)मा कोही खोकेजस्तो लाग्यो। मैले टाउको उठाएर बुर्जातिर हेरेँ। ड्युटीमा बसेका प्रहरी चिनेकै रहेछन्।

उनी अलिकति हाँसे। म पनि हाँसिदिएँ।

‘चिठी पायौ?’ उनले साङ्केतिक रूपमा सोधे।

‘उम पाँए,’ मैले टाउको हल्लाएँ।

‘ए!’

‘कसले पठाएको?’ मेरो हातको इसारा उनले बुझे।

‘मेरो साथीले!’ उनले भने। म छाँगाबाट खसेजस्तै भएँ।

‘को साथी?’ मेरो उत्सुकता।

‘भोलिपर्सि भन्छु,’ उनी सतर्क भए।

महिला कैदी–बन्दीहरू पनि आएका कारण हाम्रो कुरा हुन सकेन।

यसो सम्झन्छु ती प्रहरीका साथीहरू, हिरासतदेखि कारागारसम्मका सबै प्रहरी आँखामा नाँचे। मुटु ढक्क फुल्यो डरले, सङ्कोचले। त्यसपछि ती प्रहरीसँग कुरा हुनै सकेन।

एक्कासि धेरै दिनपछि ती प्रहरी उही साथीसँग बुर्जामा देखा परे। म जेलको पल्लो कुनामा बसेर किताब पढिरहेकी थिएँ।

ती प्रहरीले उसैगरी खोकेझैं गरेपछि मैले बुर्जामा हेरेकी थिएँ। धेरै समयपछि नरेशसँग मेरा आँखा जुधेका थिए। ‘म सरुवा आएको छु,’ नरेशले मलाई साङ्केतिक रूपमा भनेको थियो।

मैले अलिकति टाउको हल्लाएँ।

त्यो निस्सासिँदो ठाउँमा कोही आफन्त भएजस्तो लाग्यो। मन अलि चञ्चल भयो तर झट्ट सम्झेँ– ‘दुस्मन!’

नरेश केही क्षण बुर्जामा उभिएर गयो। हृदय ढक्क फुल्यो। त्यसपछि जेल मलाई जेलजस्तो पटक्कै लागेन।

अब घरिघरि आँखा त्यही इलाम जेलको पूर्वपट्टिको बुर्जामा नै अल्झिरहन्थ्यो।

साँझ गन्ती (जेलमा प्रत्येक साँझ कैदी बन्दी गन्ने गरिन्छ) मा नरेश अलिकति हाँस्दै जेलका अरू कर्मचारीसँग उभिँदा पनि बेग्लै खुसी मिल्ने गथ्र्यो। त्यो साँझ रातभरिलाई पुग्ने उसको झल्को आँखामा भर्थें।

दिनहरू बित्दै गए। उसले दिदी बनेर प्रत्येक हप्ता चिठी पठाइरहन्थ्यो। म आँखाको भाषामा उसका प्रत्येक चिठीको जवाफ दिन्थेँ। ऊ चिठीमा कहिलेकाहीं आफूले मेरा लागि केही गर्न नसकेको कुरा पनि लेख्थ्यो। चिठीमा चाँडै जेलमुक्त हुने प्रयास गर भन्ने आशय हुन्थ्यो।

ऊ मेरो मौनतामा के बुझ्थ्यो कुन्नि फेरि अर्को चिठीमा लेख्थ्यो– ‘जीवनमा कहिल्यै पनि हार खानु हुन्न सानु!’

चिठी पाएको दिन म जेलको कुनामा टोलाइरहन्थेँ अनि बुर्जामा उभिएको नरेशलाई हेरेर मन बुझाउँथेँ। कोही नभए पनि मलाई पर्खने ऊ छ भनेर चित्त बुझ्थ्यो। आफ्ना झैं कलिला लाग्ने उसका हातले सरकारी बन्दुक बोकेको पटक्कै नसुहाएजस्तो लाग्थ्यो। कहिलेकाहीं उसलाई मेरो मनले जनमुक्ति सेनाको रूपमा चित्रण गर्थ्याे । परिकल्पना गर्थें– म जेलबाट छुटेपछि उसलाई पनि सँगै लिएर जान्छु जनताको काखमा!

मेरो स्वास्थ स्थिति अलि बिग्रिएपछि झापा जेल सरुवा गरियो। त्यो दिन मभन्दा ऊ बढी दुःखी थियो । म उसलाई हेर्दै सैनिक गाडीमा चढेकी थिएँ। नरेश मलाई हेरिरहेको थियो । म चुपचाप गाडीमा बसेपछि कसैले नदेख्नेगरी बेसरी रोएकी थिएँ।

इलाम जेलबाट झापा जेलसम्म पुग्दा आँखामा बाँधिएको पट्टी (कपडा) आँसुले भिजेको थियो। आफ्नाहरू, साथीहरू, सेल्टर घरका आमाहरू सबैसँग भेट प्रायः असम्भवजस्तो लागिरहेथ्यो। मलाई त्यतिबेला सबैभन्दा छुट्टै फरक किसिमको माया लागेको थियो नरेशको।  

०००

राजनैतिक परिवर्तनपछि म झापा जेलबाट मुक्त भएँ। त्यसपछि मैले एकपटक नरेशलाई फोन गरेकी थिएँ। हामीबीचमा चिठी आदानप्रदान पनि भएको थियो। पछि म पार्टीको काममा व्यस्त भएँ। बिस्तारै उसलाई भुलेछु मैले।

शान्ति सम्झौतापछि म इलामदेखि जन्मथलो झापा केन्द्रित राजनैतिक गतिविधिमा सामेल भएँ। त्यसबीच उसले पठाएका चिठी कतै बाकसमा थन्क्याइए, फेरि निकालेर पढ्ने फुर्सद नै मिलेन। कहिलेकाहीं लाग्छ– उतिबेला एकपटक समय मिलाएर ती चिठी पढेकी भए सायद म यो जीवनयात्रामा एक्लै हुने थिइनँ जस्तो लाग्छ।

समयले फड्को मार्‍यो। समयकै पछिपछि दौडँदा दौडँदै नरेशको माया मारेकी थिएँ। हामीबीच भएको त्यो प्रेमलाई मैले उमेरअनुसारको आकर्षण मात्रै हो भनेर चित्त बुझाएकी थिएँ।

तर हिँड्दा हिँड्दै कहीं प्रहरीहरू देख्दा फर्किएर एकपटक हेर्न कहिल्यै छुटाइनँ। लाग्थ्यो, कतै नरेश पनि त्यहाँ छ कि! आज धेरैपछि आफ्नो अगाडि उसलाई भेट्दा उबेलाका सपनाहरू, रहरहरू पुनः जुरुक्क उठेका थिए। अब ऊ एक सन्तानको पिता थियो। मन ऐनाझैं फुटेको थियो।

मैले खिस्स हाँसेर सारीको फेरले अनुहार पुछेकी थिएँ। लामो सास फेरेर त्यो विगतदेखि वर्तमानसम्म आइपुगेँ। नरेश मलाई नै हेरिरहेको थियो।

टेबुलमा राखिएको ग्रिन टीका गिलास पुनः रित्तिए। म पनि रित्तिएँ। नरेश पनि रित्तियो।

‘विवाह गरिनौ?’ नरेशले मेरो अनुहार हेर्दै सोध्यो।

‘समय नै मिलेन!’ मैले फिका हाँस्दै भनेँ।

ऊ पनि फिका हाँस्यो।

‘उज्ज्वल राजनैतिक भविष्यको शुभकामना सानु! तिमीले देखेको, खोजेको परिवर्तन तिमीलाई, समाजलाई मिलोस्,’ नरेशले आफ्नो छोटोे कपाल मिलाएजस्तो गरेर भन्यो।

मैले टाउको मात्रै हल्लाएँ।

यसो घडी हेरेँ।

दिउँसोको तीन बज्नै लागेको रहेछ। म झापा फर्कनुपर्ने थियो।

मैले नरेशसँग बिदा मागेँ। ऊ मेरो अनुहार हेरिरहन्छ।

एकअर्कालाई निकै बेर निःशब्द बनेर हेरिरह्यौं। दुवैका आँखामा आँसु टिलपिल भए तर हामीबीच कोरिएका सीमारेखा अब हाम्रा आँसुले मेटिने छैनन् कहिल्यै!

‘म जान्छु है नरेश!’

नरेश केही बोल्न सकिरहेको थिएन।

म बिस्तारै उठेर उसको अफिस कोठाबाट बाहिर निस्कन्छु।

सेन्ट्रल जेलको गेटबाट निस्केर अलि पर पुगेपछि अन्तिम पटक फर्किएर हेर्छु– नरेश गेटमा उभिएर मलाई नै हेरिरहेको थियो।

प्रकाशित: ६ पुस २०८१ ०७:४६ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School