राजनीतिकर्मी र व्यापारीको चुम्लुङ


जर्मनी, फ्रान्स, स्वीडेन, नर्वे जस्ता पश्चिमी यूरोपका विभिन्न विकसित देशमा लामो समयसम्म राजनीति र व्यापारमा एकै व्यक्ति संग्लन भए । राजनीतिकर्मीले व्यापार गर्दा व्यापार सम्बन्धी कानून र नीति माथि उनीहरूको प्रत्यक्ष प्रभाव रह्यो ।

राजनीतिकर्मी र व्यापारी एकै व्यक्ति भएमा देशको समृद्धि र विकासमा नकारात्मक प्रभाव पर्ने विभिन्न अभ्यास तथा खोजबाट देखिएपछि लामो बहस, छलफल गर्दै राजनीतिकर्मीलाई व्यापारबाट अलग गरिंदै आएको हो । अन्ततः आजका पश्चिमा देशहरू विशेषगरी यूरोपियन देशहरूले राजनीतिकर्मी व्यापारी हुनुहुँदैन, व्यापारीले राजनीति गर्नुहँुदैन भन्ने मान्यता स्थापित गरे।

राजनीतिकर्मीले व्यापारीसँग साँठगाँठ गर्ने, उनीहरूको स्वार्थमा कानून बनाइदिएर आर्थिक लाभ लिई राष्ट्र माथि धोकाधडी गर्न सक्ने प्रबल सम्भावनालाई पूर्वानुमान गरी स्वार्थको द्वन्द्वबाट देशलाई मुक्त गर्नुपर्छ भन्ने मान्यता बमोजिमको निष्कर्षमा पुगेपछि नै आजको विकास सम्भव भएको हो।

तर संसारभर आज पनि हाम्रो जस्तो गरिब देशहरूमा राजनीतिकर्मी र व्यापारी एकै व्यक्ति हुनाले राज्य सत्ताको चरम लापरवाही र बेथिति निम्तिएको अवस्था देख्न सकिन्छ ।
राजनीतिबारे विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन्– ‘राजनीति कुनै गहन विषय होइन, राजनीति कपट अनि दाउपेच पनि होइन, राजनीति मुखले एउटा कुरा बोल्ने मनमा एउटा कुरा राख्ने पनि होइन, राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो।’

बीपीको यो भनाइले गहिरो सन्देश दिएको छ । राजनीति समाजको नैतिक र सामाजिक मूल्यमा अडेको र न्यायपूर्ण हुन्छ । छद्मभेषी हुँदैन । अहिले राजनीति कमाइखाने भाँडो, गुण्डा, फटाहाहरूको कब्जामा गएको छ ।

गैरकानूनी, अनलफुल र अनैतिक काम गर्ने व्यक्तिलाई संरक्षण दिने थलो भएको छ । यही गलत परिपाटी र प्रवृत्तिका कारण सबै राजनैतिक पार्टीमा सक्षम, दूरदर्शी, इमानदार व्यक्तिको अभाव रहेको छ ।

देशमा ‘सक्षम र राम्राभन्दा पनि हाम्रो र आफ्ना’ मान्छेको खोजीले गर्दा आम मानिसमा निराशा छाएको छ । नेपाल र नेपालीको दुर्दशाको कारण नै राजनैतिक नेतृत्वको अक्षमता र अनैतिक कार्यहरू हुन्।

नेपालका प्रायःजसो सबै राजैतिक दलहरूले आफ्ना कार्यालयहरू बनाउन व्यापारीबाट चन्दा सहयोग वा रकम लिएका छन् । रकम पनि ठूलो परिमाणमा लिएका छन् । दलका राजनीतिकर्मीहरू चुनावमा उठ्दा व्यापारीबाट रकम लिएर चुनावमा खर्च गरिरहेको दृष्टान्त्त सबैलाई थाहा छ। अब प्रश्न के छ भने ती व्यापारी जसले राजनीतिकर्मीलाई राजनीतिजीवीमा परिणत गरी करोडौं रकम जुन दिएका छन् त्यो रकम ती राजनीतिकर्मीको मायाले दिएको हैन।

राजनीतिकर्मीलाई दिएको रकम निजहरू सत्तामा पुगेपछि दशौं गुणा बढी उठाई खाउला भनेर दिएका छन् । एमालेको पार्टी कार्यालय निर्माणको लागि व्यापारी मीनबहादुर गुरुङले दिएको जग्गा, कांग्रेसले निर्माण गरेको केन्द्रीय कार्यालय लगायत सबैजसो प्रायः व्यापारीबाट प्रायोजित नै छन्।

गरिबहरूको लागि एक रुपैयाँ दान नगर्ने व्यापारीहरू राजनीतिकर्मीलाई करोडौं रकम दिइरहेका छन्। यसको कारण बुझ्न कुनै गाह्रो छैन । व्यापारीको काम व्यापार गर्ने भए तापनि राजनीतिकर्मीलाई आर्थिक लगानी गरेर भविष्यमा प्रतिफल प्राप्तिका लागि व्यापारीहरूले देखेको सपना साकार पार्ने काम राजनीतिलाई पेशा बनाउनेहरूले गरिआएका कारण देशको दुर्गति भएको कुरामा दुईमत छैन।

हाम्रो देशमा यो कुनै नौलो र नयाँ परिदृश्य चाहिं होइन । राजनीति गर्ने व्यक्ति र व्यापारीहरूका बीचमा लेनदेन, साँठगाँठ भइरहेको कुरा हरेक दिन प्रायः सुन्ने समाचार भित्र नै पर्दछ। आजकल व्यापारी, ठेकेदारहरू राजनीतिकर्मीमा परिणत हुँदा देश अधोगतितर्फ गएको तर सीमित व्यक्तिहरू मोटाएको अवस्था छ।

राज्य सञ्चालनको जिम्मा पाएका राजनीतिक व्यक्तित्वहरू असंवेदनशील हुँदा सारा नेपालीले दुःख पाइरहनु परेको छ । तिनै नेतृत्वले आफू र आफ्नाहरूको आर्थिक उन्नतितर्फ मात्र ध्यान दिंदा देश समुन्नत र समृद्ध बन्न सकेन।

राजनीति गर्नेले आर्थिक उपार्जनका लागि उत्पादन गर्दैनन् तर उनीहरू परजीवी भएर अरूलाई चुस्छन् र जसले आफूमाथि आर्थिक लगानी गरेको छ सत्तामा पुगे पश्चात् तिनै प्रभुकोे हितमा काम गर्छन् । राजनीति सेवा हो कमाइ खाने भाँडो होइन भन्ने बुझाइ आज रहेन।

राजनीतिकर्मीहरू श्रम गर्दैनन्, आर्थिक रूपमा आम्दानी हुने आर्थिक कार्य गर्दैनन् तर आज सबैभन्दा महँगा गाडी उनीहरू नै चढ्छन्, महँगा मोबाइल उनीहरू नै बोक्छन्, सामान्य बिरामी हुँदा समेत विदेश गएर उपचार गराउने गर्छन्।

राजनीतिकर्मीहरूको अस्वाभाविक, आश्चर्यजनक जीवन पद्धतिले नै प्रमाणित गर्छ कि उनीहरू कति भ्रष्ट छन् भनेर । राजनीतिकर्मीहरूको सबै खर्च–बर्च जोहो गर्ने काम व्यापारीको हुने र व्यापारीलाई सो सेवाबापत उनीहरूको हितमा कानून निर्माणदेखि अन्य आवश्यक प्रतिफल दिएर आपसी मिलेमतो गरेर देश खोक्रो पार्ने नियोजित कार्यले गर्दा आज नेपाल र नेपालीहरूले दुःख पाइरहनु परेको छ।

नेपाली समाजमा अहिले समग्र राजनीतिप्रति नै नकारात्मक भावना जागृत भएको छ । राजनीतिकर्मीहरू व्यापारीको हितमा राज्यसत्ता दुरुपयोग गर्ने र व्यापारीहरू गरिब जनतालाई चुसेर पैसा भेला पार्ने जुन प्रवृत्ति छ यसले नेपाली समाजलाई समृद्धिको गन्तव्यमा पुर्‍याउँदैन। हुन त संसारभरि नै कर्पोरेट हाउसहरूले राज्यसत्तालाई घोषित र अघोषित रूपमा कब्जा गरेकै हुन्छन् ।

नेपाल जस्तो गरिब देशमा राजनीतिकर्मीसँग सत्ता हुने त्यही सत्ताको आडमा व्यापारीले पैसा भेला पार्ने, राजस्व छल्ने, लुकाउने, कर नतिर्ने आदि जस्ता अनेक दुष्कर्म र दुष्कृतिहरूको जालो छरेर राजनीतिक प्रणाली र पद्धतिलाई नै व्यापारीले कब्जा गरेका छन्।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा समेत राजनीति इमानमा परिणत हुन सकेन । राजनीतिजीवीहरूमा नैतिकताको टुसो पलाएन । देशमा राजनैतिक परिवर्तन आए पनि नागरिकको जीवनमा कुनै परिवर्तन आएन गरिव र धनी बीचको खाडल अझ फराकिलो हुँदै गयो।

लामो समयसम्म देशमा संक्रमणकालीन अवस्था रहिरह्यो, राजनीति सङ्लो हुन सकेन । नेताहरूको व्यापारीहरूसँगको स्वार्थगत मित्रता राज्य र नागरिकको लागि हानि भएको अवस्था छ । नेताले व्यापारीसँग रकम उठाएर चुनाव लड्ने, चुनाव जितेर सत्तामा पुग्ने र सत्तामा पुगेपछि सोही व्यापारीको लागि गैरकानूनी आम्दानीको लागि बाटो बनाइदिने गर्नाले पनि राजनीतिकर्मी र व्यापारीको चुम्लुङ हुनुहुँदैन भन्ने आवाज उठेको छ।

चप्पल लगाएर राजधानी छिरेकाहरू आज प्राडो, पजेरोमा हिंडेको देखिन्छ । उनीहरूको आर्थिक क्रियाकलाप देखिंदैन आम्दानीको स्रोत पनि देखिंदैन तर आलिसान महलमा बस्छन् । फाइभ स्टार होटलमा भोजन गर्छन् । यो सबै सिधा बाटोबाट पूरा हुने कुरै भएन । यसरी समग्र देशको व्यवस्थालाई हेर्दा अमेरिकाको वालस्ट्रिट आन्दोलनले दिएको सन्देश आज काफी छ।

देशको समग्र शक्ति र सामथ्र्य राज्य सत्तामा आसीन व्यक्ति र पूँजीपति गरी जम्मा दुई प्रतिशत मानिसको हितमा र सुरक्षामा लगानी भएको हुन्छ बाँकी ९८ प्रतिशत जनता भाँडमा जान्छन् भन्ने उक्त आन्दोलनको सन्देश नेपालमा हुबहु लागू भएको छ।

राजनीतिकर्मी र व्यापारी एकै व्यक्ति हुँदा देशको प्रगति र समृद्धिमा कस्तो असर पर्छ भन्ने कुरा स्पष्ट देखिएको छ । यस्तो व्यवहार र प्रवृत्तिले आज सारा जनता निराश भएको अवस्था छ। नागरिकहरूले पनि खबरदारी गर्दै लम्पट कार्यकर्ता मात्र नभई आलोचनात्मक चेत सहित राजनीतिकर्मीलाई सच्चिनका निम्ति खबरदारी गर्न जरूरी छ । राजनीतिकर्मी र व्यापारी एउटै व्यक्ति हुनुहुँदैन र व्यापारीको राजनीतिकर्मीसँग साँठगाँठ गर्ने गरी स्वार्थ प्रेरित सम्बन्ध हुनुहुँदैन।

देशमा हालसम्म स्वार्थको द्वन्द्व सम्बन्धी कानूनी व्यवस्था नभएकाले उक्त कानून तुरुन्त तर्जुमा गरी राजनीतिकर्मी र व्यापारीको स्वार्थको द्वन्द्व मात्र नभई समग्र देशका विभिन्न क्षेत्रमा भएका स्वार्थ प्रेरित सम्बन्ध र व्यवहारहरूको अन्त्य गर्न सके नागरिकले खोजेको आमूल परिवर्तन र रोजेको शासन पाउने अपेक्षा गर्न सकिन्छ । अन्यथा आउने धेरै पुस्ताले अहिलेको जस्तै दुर्दशा भोग्नुपर्ने कुरामा शंका रहने छैन।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School