‘नमस्कार । मेरो नाम सीता । घर चितवन । म मेरो नाम जस्तै शालीन छैन भाइ । हाहाहा..।
नाम जस्तो भयो, त्यस्तै हुनुपर्छ ? सीता भन्नासाथ नम्र, भद्र, शालीन खालको भन्ने बुझिन्छ नि त हैन ?
म कस्तो भने कोही सिरियस भइरहेका छन् भने म बीचमा प्वाक्क बोलिदिन्छु ।
कोही सेन्टी भइरहेको छ भने उल्टै उडाइदिन्छु ।
कोही लडेको छ भने उठाउने होइन हाँसिदिन्छु ।
बच्चाबच्ची देखें उनको बुवाआमा यताउता हेर्छु । देखिन भने बच्चालाई प्याट्ट हिर्कादिन्छु ।
नाम अनुसार व्यहोरा हुनुपर्छ र ? त्यस्तो कसको हुन्छ ?’
नेपग्याजमको मञ्चमा पहिलो पटक उभिंदा सीता न्यौपानेले यसरी नै आफूलाई चिनाएकी थिइन्, पूरापूर हास्यरस मिसाएर । त्यही जोडदार प्रस्तुतिले उनको जीवनलाई अर्कैतिर मोडिदियो । माइक्रोबायोलोजी पढेर लोकसेवा आयोगको तयारी गरिरहेकी सीता अनायास कसरी स्ट्यान्डअप कमेडीको माइक समाउन पुगिन् ? कथा स्वादिष्ट छ । यहाँ उनकै शब्दमा उनको कथा उधिनिएको छ ।
म गल्दै थिएँ
खाने, सुत्ने र बस्ने । दिनहरु यसरी नै गुज्रिंदै थिए । झट्ट हेर्दा त मेरो जिन्दगी विन्दास देखिन्थ्यो । तर यसले मलाई भित्रभित्रै पिरोल्दै थियो । मलाई आफैंसँग पट्यार लाग्न थालेको थियो ।
म हँसिलो देखिन्थे । गफमा मलाई कसैले जित्न नसक्ने । दिनमा म सबैसँग हाँसेर कुरा गर्थे । रातमा भने भविष्यले मलाई तर्साउँथ्यो । ‘म केही गर्न नसक्ने भएँ’ भन्ने हीनताबोधले म गल्दै थिएँ ।
न कसैको दबाब । न केही गर्नुपर्ने बाध्यता । सबैको मायामा हुर्किएको म । तर दिमागलाई सञ्चो थिएन ।
सन्चो भएन भन्नुको अर्थ मानसिक रुपले ग्रस्त होइन । जीवनमा केही गर्नै पो नसक्ने भएँ ? दिमाग पिरोलिन्थ्यो । रातमा डाहा हुन्थ्यो । औडाहा हुन्थ्यो । रुन पनि मनलाग्थ्यो । सुनाउने कसलाई ?
यो मलाई मात्र होइन, मलाई लाग्छ, पढाइ सकेर रोजगार नपाएका युवाहरुलाई पनि रातमा यस्तै हुँदो हो ।
अनि अत्यास लाग्न थाल्यो
पहिला पहिला लाग्थ्यो, पढेपछि जीवनमा केही हुन्छ । आत्मनिर्भर भइन्छ । तर जति-जति उमेर र अनुभव बढ्दै गयो त्यो विश्वास पनि कम हुँदै गयो । माइक्रोबायोलोजीमा स्नाकोत्तरसम्मको पढाइ सकाएँ । थेसिस गर्ने मेसो पाइरहेको थिइनँ । आफूसँगैका साथीहरुको प्रगति भइसक्यो । चितवनमै बसेर केही भएन भन्ने एक किसिमको गह्रौं मन भइराख्यो । तर केही न केही गर्छु भन्ने भित्रबाट थियो ।
केही गर्न मन थियो । तर गर्ने के ?
मन दोमन भइराखेको थियो । ठीक त्यहीबेला कोभिड महामारीका कारण सर्वत्र लकडाउन भयो । सहरमा लकडाउन भयो, मेरो दिमागमा पनि । मन यसै आत्तिएको थियो । मलाई लाग्न थालेको थियो, अब मेरो भविष्य अन्धकार भयो । मेरो जिन्दगी डामाडोल भयो । म सकिएँ । एकदमै उदास थिएँ ।
यो छटपटी यस्तो भयो कि ‘डरके आगे जित है’ भनेजस्तै । म कोरोनाको डरलाई जितेर काठमाडौं हान्निएँ । केही त गरिएला कि भनेर ।
अस्पतालको ट्वाइलेटमा मोबाइल खसेपछि
काठमाडौं त आइयो के गर्ने ? दिनहरु यत्तिकै गुजारेर भएन । लोकसेवा आयोगको तयारी गरें । त्यसबेला ‘फरेन्सिक विशेषज्ञ’का लागि लोकसेवा परीक्षाको फारम खुलेको रहेछ । फारम भएर त्यसैको तयारीमा जुटें ।
तर दिनभर पढिरहने कुरा आएन । एकछिन पढ्यो । फेरि फुर्सद हुने । फुर्सदको बेला कमेडी शो हेरिन्थ्यो । त्यसबेला नेपालमा नेपग्याजम सुरु भइसकेको थियो । त्यो कार्यक्रम हेरिरहँदा मलाई पनि कताकता कमेडी गर्ने रहर जाग्यो । एकपटक प्रयास गरौं कि ! सकिन्छ होला ? लोकसेवामा एकोहोरिएको मन कमेडीतर्फ मोडियो ।
जे त होला भनेर नेपग्याजमको फेसबुक पेजमा म्यासेज गरें । तर त्यही दिन अस्पतालको शौचालयमा मेरो मोबाइल खस्यो । कामै नलाग्ने भयो ।
अडिसनका लागि बोलाउँदा ब्रत बसें
मोबाइल नै बिग्रिएपछि के लाग्छ र ? नेपग्याजममा म्यासेज गरेको छु भन्ने कुरा पनि हेक्का भएन । केही दिनपछि नयाँ मोबाइल किनें ।
तीन दिन बितिसकेको थियो । नयाँ फोनमा म्यासेज आयो, नेपग्याजमको । त्यसमा लेखिएको थियो, ‘नागरिकताको फोटोकपी पठाउनु र अडिसनको लागि आउनु ।’
त्यसको भोलिपल्ट शिवरात्रि थियो । म जिन्दगीमा ब्रत बसेको थिइनँ । तर अडिसन सफल होस् भनेर म तनमन लगाएर ब्रत बसें ।
कुनै कुरा मनबाट गर्छु भन्ने लाग्यो भने कसैले भक्ति गर भनेर जबर्जस्ती गर्नु नपर्ने रहेछ भन्ने कुराको बोध त्यो दिन भयो ।
त्यसको भोलिपल्ट अडिसन दिएँ । धेरै जनामा म छनोट भएँ । म खुसीले उफ्रिएँ । तर के हुने हो ? कसरी हुने हो ? अर्कोतिर डर थियो । छनोट भएको तीन दिनजति म निकै व्यस्त थिएँ, नेपग्याजमको वर्कसपमा ।
के हेरेर बसेको बे ?
वर्कसपमा पहिलो पटक स्टेजमा उक्लिंदै थिएँ । माइक समाउदै थिएँ । पहिलो पटक क्यामेरा अगाडि उभिंदै थिएँ मनमा डर नहुने कुरै भएन ।
तर जब मैले माइक समातें मभित्रको डर कता भाग्यो कता । मैले ‘के हेरेको बे ?’ शीर्षकमा आफ्नो प्रस्तुति दिएँ । त्यसबेला म आत्मविश्वाससाथ बोलेको भनेर धेरैले तारिफ गरे । ‘कन्फिडेन्ट रहेछौं’ भनेर म्यासेजहरु आए । मलाई बल्ल आफू ठीक ठाउँमा आइपुगिएछ भन्ने लाग्यो ।
पहिलो प्रस्तुति धेरैले रुचाइदिए ।
यो आत्मविश्वास आउनमा मैले कलेजमा बेलाबखतमा भाग लिएको प्रतिफल पनि हो जस्तो लाग्छ । डर त त्यतिबेला लाग्यो जब म कविता वाचन र नृत्य गर्दा पहिलोपटक स्टेजमा उभिएकी थिएँ । अझै पनि याद छ, सुरुसुरुमा स्टेजमा उभिंदा मुटु नै पोलेको जस्तो अनुभव हुन्थ्यो ।
स्वभावले पनि म बोल्न चाहिं म नडराउने व्यक्ति । कलेजमा हुने बेलाबखतको विभिन्न मुद्दामा आन्दोलन हुँदा बोल्ने गरेको थिएँ । त्यसबाट बिल्कुल अलग क्यामरा अगाडि बोल्न डराउनुपर्ने त हो म, तर डर एक रत्ति पनि लागेन ।
सायद, भविष्य खोज्दै हिंडेको मेरो मनलाई राहत नेपग्याजमको स्टेजले दिएको महसुस भयो । मेरो मन पहिलाको जस्तो बोझिलो थिएन । त्यो पहिलो कार्यक्रमले ठूलो ऊर्जा दिइसकेको थियो ।
नेपग्याजमदेखि महजात्रासम्म
‘के हेरेको बे’को सफलतापछि लगातार धेरै स्ट्याण्डअप गर्ने अवसर मिल्यो । दोस्रोमा ‘मिडल क्लास’, तेस्रो ‘बाजनीति’, चौथो ‘जयनारी’ र ‘मिडल क्लास टु’ शीर्षकमा प्रस्तुति दिएँ । यी कार्यक्रमले अलग्गै आत्मविश्वास, हास्यव्यंग्यको क्षेत्रलाई पहिल्याउने र समाजलाई गहिरिएर चिन्ने मौका पाएँ ।
नेपग्याजमपछि मिडिया हबमा गएँ । जसमा पहिलो ‘दहेज’, दोस्रो ‘सरकारी विद्यार्थी’ शीर्षकमा गरें ।
दर्शकले गाली गरेपछि आँसु बग्यो
मैले यति कार्यक्रम गरेपछि चिनिन थालें । भिडियोपछिको प्रतिक्रिया सुन्दा राम्रो लाग्थ्यो । काम गर्न पनि एक किसिमको ऊर्जा आउँथ्यो ।
सोही क्रममा एउटा स्ट्यान्डअप कमेडी तयार गरियो, शिवजी । जसै त्यसको ट्रेलर सार्वजनिक भयो, सोचेभन्दा ठीक उल्टो हुन गयो । ताली लगाउने दर्शकहरु गाली गर्न ओइरिए ।
खासमा त्यो पशुपतिको जलहरी प्रकरणबारे प्रस्तुति थियो । जसमा म ट्यापे, फटाहा खालको देखिएकी थिएँ । मैले शिवजी प्रकट भएर मैले शिवजीलाई जिस्काउनुपर्ने थियो । त्यसको ट्रेलर मात्र आएको थियो । त्यति हेरेरै व्यापक विरोध भयो ।
यति नराम्रा गालीहरु आए कि म उच्चारण गर्न पनि सक्दिन । जसमा देशनिकाला गर्नुपर्छ, देशद्रोहीसम्म लेखिएका थिएँ । धेरै विरोध भएपछि त्यो भाग रिलिज भएन ।
शिवजीको बेलामा मलाई यति तनाव भयो कि त्यसले एक सातासम्म लियो । त्यो विवादकै भोलिपल्ट अर्को शुट दहेजको थियो । त्यसको तयारी गर्नुपर्ने थियो । तर स्टेजबाट हेर्दै आँसु बगेको बगेकै गर्ने गरी भावुक भएँ । तर त्यही कुराले मलाई बलियो पनि बनाएको छ ।
त्यस कार्यक्रमलाई त्यहीं विश्राम दिएर ब्राण्ड वर्थको प्रज्ञा प्रतिष्ठानसँग मिलेर गाईजात्रामा जोडिएँ ।
त्यस दिन हँसाउन नसक्दा एन्जाइटी भयो, वानपिस लगाउन मन लागेन
एक दिन गाईजात्राको लागि दिउँसो दुई बजेको लागि तयारी गरिरहेको थिएँ । मेरो त्यस दिन ११ बजे समाचारमा आँखा पुग्यो ।
त्यसमा लेखिएको थियो- ‘सबैले हँसायो तर सीताले सकेन’ । यो पढेपछि मलाई एन्जाइटी नै आउला जस्तो भयो । म प्रज्ञा प्रतिष्ठानको एक कोठामा बसेर एक्लै छट्पटिरहेको थिएँ । मैले त्यसदिनलाई भनेर वानपिस पनि किनेको थिएँ । तर लगाउन मन लागेन ।
जे पहिला लगाएको थिएँ त्यही लुगामा एक्लै रुँदै बरबराउँदै अभ्यास गरें । त्यही दिनको दहेजको प्रस्तुति मेरो नसोचेको दमदार थियो ।
त्यो दिन म खुसी पनि अति नै भएँ, केहीबेर दु:खी पनि उत्तिकै थिएँ । पछिल्लो समय गाईजात्रा र स्टेज कार्यक्रममा सक्रिय छु ।
पढाइ छाडेर हास्यव्यङ्ग्यमा
माइक्रोबायोलोजी पढ्न यति मेहनत गरिनँ होला जति यो क्षेत्रमा गरें । मेरो लगाव कमेडीमै छ । मन परेको क्षेत्र भएकाले होला म यता रमाइरहेको छु । मैले दिन पर्ने मेहनत र समय यतै दिएको छु ।
माइक्रोबायोलोजीभन्दा समुदायमा चेतना फैलाउने कुराले आकर्षण बढ्यो । पैसा नकमाए पनि मैले ख्याति पाएको छु । धेरैले अपार माया गरेको देखेर खुसी लाग्छ । त्यसैले मेरो पहिलो प्राथमिकता यही क्षेत्र पर्छ ।
रहरकी छोरी
चितवनमा जन्मिएको म दुई दाजुको कान्छी बहिनी । उनीहरु र मबीच ११ वर्षको अन्तर छ । कान्छो दाजुले तिहारमा काकाकाकीको छोरीहरुसँग भाइटीका लगाउन त्यति मन नगर्ने भएकाले बुढेसकालमा म जन्मिएको रहेछु । हाम्रो परिवारमा त बहिनी चाहिएरै म जन्मिएको भन्ने ‘किम्वदन्ती’ छ ।
रहरको छोरी, सबैको प्यारी तर पुलपुलाएर राखेको भने थिएन ।
म बाँच्दिन होला भन्ने हल्ला चल्यो
म सानो छँदा मलाई निमोनिया भयो । निमोनिया बिग्रिंदै गएपछि बाल्यकालमै दम पनि भयो । जसले गर्दा श्वासप्रश्वासमै समस्या थियो । मेरो धेरैजसो बास अस्पतालमै भयो । बिरामी भएपछि पहिलेको भन्दा पढाइ कमजोर हुँदै गयो । त्यो बेला धेरै थलिएका कारण यो धेरै बाँच्दिन भन्ने हल्ला समेत गाउँमा चलेको थियो ।
मलाई अझै सम्झना छ, राति ३ बजे नै बाबाले मलाई धेरै गाह्रो भएर अस्पताल लैजाँदै गर्दा मेरो टिसर्ट बाटोमै खसेछ ।
त्यो छिमेकीले देखेर कपडा ल्याएर आमालाई दिनुभएछ । आमाले कपडा ल्याएको देखेर छोरीको मृत्यु भएकाले कपडा ल्याइदिएको बुझ्नु भएर घरमा त्यत्तिकै रुवाबासी समेत चलेको थियो रे । पछि राम्रो उपचारले म ठीक भएँ ।
समग्रमा भन्नुपर्दा बाल्यकाल उत्तरचढावमै बित्यो । कक्षा ६ देखि चाहिं रमाइलो गर्ने, खेल्ने, गफ लडाउने गर्दै म यहाँसम्म आइपुगें ।
हँसाउने मात्र होइन, सामाजिक सन्देश दिने प्रयास
मैले पहिला समाजमा के भइरहेको छ भनेर सामाजिक मुद्दा हेर्छु । सरकारले गरेन भनेर आलोचना भइरहन्छ । तर जनता भएर हामीले के गर्यौं ? के गरिरहेका छौं ? के गर्नुपर्ने हो ? भन्ने कुरा अध्ययन, विश्लेषण गर्छु ।
त्यसपछि आधा कमेडी र आधा वास्तविक समाजमा भइरहेका विषयवस्तुलाई उठान गरेर प्रस्तुति दिन्छु । मैले गरेकोमध्ये सबैभन्दा मलाई मन परेको ‘जय नारी’ हो । जसमा जतिबेला पनि महिलालाई नै किन दोष आउँछ ? किन उनीहरु पछि परिरहेका छन् ? भनेर प्रस्तुत गरेको थिएँ । जस्तो कि, कसैको छोरा बिग्रियो भने बिहे गर्दिनुपर्छ भन्ने मान्यता छ । ‘महिला सुधार केन्द्र हो, अरुको छोरा सुधार्ने ?’ भन्ने जस्ता डाइलग खुब रुचाइएको थियो । यीमध्ये राम्रो कुरा उठाएको जस्तो लाग्ने भनेको दहेज जस्तो प्रस्तुतिले म मरें भने पनि केही त गरे भन्ने खालको सन्तोष दिने कार्यक्रम जस्तो लाग्छ ।
तयार पारेको विषयवस्तुमा प्रवेश गर्दा थोरै चिप्लिएको पनि छु । प्राय: त जमिरहेको हुन्छ । कुनै बेलामा नराम्रो लाग्न पनि सक्छ । त्यो बेलामा थप मेहनत भएको भए अझै राम्रो गर्न सक्थें, अझै हँसाउन सक्थें भन्ने पनि लाग्छ ।
बोल्न सानैदेखि माहिर
बोल्न मलाई सानैदेखि मन पर्ने । म सधैं अगाडिको बेन्चमा बस्ने । तर धेरै विद्यार्थीसँग बोल्दा गाली खाने हुँदा म पढाउन आउने शिक्षकसँगै बोलेको बोल्यै गर्थें । एकपटक त शिक्षकले नै मलाई दुई रुपैयाँ दिन्छु धेरै नबोल भन्नुभएको थियो । जुन मानसपटलमा अझै छ ।
पहिले जन्मदर्तामा मेरो नाम सीता थियो । धेरै बिरामी भइरहने भएर नाम फेरेपछि ठीक हुन्छ कि भनेर मैले कक्षा ४ बाट अर्को स्कुल परिवर्तन गर्ने बेलामा नाम मनिषा राखिएको थियो । त्यसरी आठ कक्षासम्म मेरो नाम मनिषा नै थियो । जिल्ला स्तरीय परीक्षाको फारम भर्दा जन्मदर्ताकै नाम सीता राखियो ।
बालापनको कच्चा प्रेम
एउटा केटासँग चार महिना जति सामाजिक सञ्जालमै भेटेर कुरा भे । केटाले मन पराउन थालेको जस्तो भान हुन्थ्यो । म पनि हल्का गम्भीर भएँ । लगाव बढ्दै गयो । एक दिन कार्यक्रम हुनुभन्दा अघिल्लो दिन ‘हाम्रो यो सम्बन्धमा कुनै भविष्य देखिन’ भन्यो ।
त्यो कुराले मेरो दिमाग यति खायो कि मलाई कार्यक्रमको तयारी नै गर्न मन लागेन । स्टेज चढ्नु १० मिनेटअघि त्यो केटालाई फोन गरेर म रोएको थिएँ । मैले उसलाई मलाई हौसला देऊ भनेर अनुरोध गरें । उसले मानेन ।
अहिले त्यो सम्झिंदा हाँसो लाग्छ । मेरो आफ्नो उर्जा नै सकिने गरी मैले अधिकार किन दिएँ जस्तो भयो । त्यसको बाबजुद पनि १० मिनेटको समयमा आठ मिनेट कार्यक्रम मैले राम्रो गरें । दुई मिनेट हल्लाले गर्दा पनि बोल्न पाइनँ । चुप लागेर स्टेजमा बस्दा पुनः म कमजोर भएँ । मेरो मनोभावना केही क्षण अगाडिकै कुरामा गइरहेको थियो ।
हास्यव्यङ्ग्य क्षेत्रमा महिला पछाडि
समाजमा महिलालाई कसैले पनि तिमीले केही गर्नुपर्छ भनेर हौसला दिइँदैन । तर म भाग्यमानी रहेछु । मलाई पुस नगरे पनि पुल गर्नुभएन । अर्थात्, मलाई गर्नुपर्छ भनेर हौसला नदिए पनि नगर यो राम्रो होइन भन्नु भएन ।
त्यो कुराको लागि म परिवारप्रति कृतज्ञ छु । यसैगरी महिलाले यस्तो प्लाटफर्ममा बोले भने अरुले पचाउँदैनन् । यतिसम्म कि यसलाई कसले विवाह गर्छ, यस्तो बोल्दै हिंड्ने भन्ने । उसलाई केही गर्न सक्दिन जस्तो अनुभव गराउने, दुर्व्यवहार गर्ने र उसको चरित्रमाथि नै प्रश्न गर्ने जस्तो परिपाटीले महिला यस क्षेत्रमा नगन्य संख्यामा छन् ।
मैले यस्तो धेरै साथीमा देखेको छु । यस्ता कुरा धेरै भोगिरहेकै कारण केही साथीहरुले बोल्ड देखिन डबल अर्थ लाग्ने ठट्टा गर्न सक्दो कोसिस गर्ने देखेको छु । तर पुरुषले यही ठट्टा गर्दा सबैले मन पराउने, सहर्ष स्वीकार्ने तर महिला भएकै कारण डबल अर्थ लाग्ने ठट्टा गर्दा समाजले स्वीकार्न सक्दैन ।
डबल अर्थ राख्ने शब्द जो कोही होस् प्रयोग गर्नु उचित होइन । तर महिला भएरै सबैको केन्द्रबिन्दुमा आउन त्यस्तो भद्दा खालको विषयवस्तु ल्याउन आवश्यक छैन जस्तो लाग्छ । किनभने मैले स्टेजमा आजसम्म अनजानमा जिस्केर भने वा भनिनँ मलाई याद छैन । तर जानेरै डबल अर्थ लाग्ने विषयवस्तु समेटेर कुनै प्रस्तुति दिएको छैन ।
मैले पनि विभेद सहें
कुनै पनि शो वा भ्रमणका लागि जाँदा महिलालाई गायन र नृत्यको लागि बढी लगिन्छ । महिलालाई लग्यो भने ग्ल्यामर र सुन्दरता हेर्न पनि दर्शकको भीड लाग्छ भन्ने मानसिकताले बढी लैजाने गरेको देखिन्छ । तर स्ट्याण्डअप गर्ने हामीलाई चाहिं यसरी लामो यात्राका लागि महिलालाई लैजान झन्झट मान्ने प्रवृत्ति छ ।
केटाहरुलाई सँगै बस्दा हुन्छ । महिलाको लागि छुट्टै कोठा चाहिन्छ र नखरा बढी हुन्छ भन्ने सोच पाइन्छ । पहिले आफैंमा भर पर्ने हो, गर्ने र नगर्ने भने झैं लाग्थ्यो । अहिले भने महिलाले अवसर एकदम कम पाउँछन् भन्ने लाग्छ । यस्तै केस मेरोमा पनि भएको छ ।
एउटा भ्रमणमा जाने कुरा भएको थियो । जसमा हाम्रो क्षेत्रका केटाहरु सबै जाने भए । ‘सीतालाई पनि लैजाने सिफारिस भएको थियो । किन उसको भिजाको लागि प्रक्रिया नचलाएको भन्दा कता लैजाने ? कसरी राख्ने ? झन्झट’ भनेजस्तो प्रतिक्रिया सुनेको थिएँ ।
यही क्षेत्रमा आएपछि मैले बाहिर एउटा भित्र अर्को व्यवहार गर्ने व्यक्ति पनि भेटें । यी कुरा ढिला बुझें ।
छुच्चो स्वभावले काम पनि फुस्किए
कसैले मेरोबारे केही भनेमा मैले तुरुन्त प्रतिक्रिया दिन्छु । म अरुको सुन्दिनँ । परिवार र शुभचिन्तकको कुरा मात्र सुन्छु । मैले सुने पनि मनले लागेको कुरा गर्छु ।
समाजमा म छुच्चो स्वभावकी छु । त्यसैले पनि म कम समस्यामा परेको छु । यही मन र मुखमा एउटै बोली र थोरै छुच्चो व्यवहारले गर्दा काम नआएको पनि छ । मलाई कुनै अफर आयो भने चित्त नबुझ्दा गर्दिन भनें भने अर्को काम स्वत: गर्दिन भनेर नदिने पनि धेरै भयो ।
मेरो स्वभावले गर्दा म बलिउड फिल्म ‘दबंग’को सलमानको जस्तै भूमिका पाए भने राम्रो गर्न सक्छु जस्तो अनुभूति हुन्छ । त्यसका लागि मेहनत नै नगरी आफूभित्रको ऊर्जा ल्याएर राम्रो गर्न सक्छु जस्तो लाग्छ ।
म जे हो त्यो देखाउन र बोल्नु सही हो जस्तो लाग्छ । आफ्नो विचार राख्न पाउनुपर्छ जस्तो लाग्छ ।
बुलिङ सहनु परेन
मेरो स्वभावकै कारण मैले यो करिअरमा लागेपछि बुलिङ सहनु परेको छैन । तर मैले सार्वजनिक यातायातमा चढ्दा यस्ता कुराहरु भोगें । प्लस टु पढ्ने बेलामा बस चढ्दा सिट नभएर उभिंदा कसैले छोएको अन्यन्त्र हात लगेको थाहा हुन्थ्यो । अत्यास लाग्थ्यो । बोल्न नसक्ने । त्यसैले सिट पाउँदा चढ्ने नत्र हिंडेरै कलेज जाने गर्थें ।
कसैले जिस्कायो भने महिला भएरै चुप लागेर बस्ने होइन, आइलागेमा जाई लाग्नुपर्छ जस्तो लाग्छ । यसका लागि घरको दाजुभाइ वा बाबुले पनि सहेर नबस भनेर हौसला र हिम्मत चेलीबेटीलाई दिनुपर्छ । आत्मबल र निडरवाला ऊर्जा परिवारका पुरुष सदस्यले दिनुपर्छ ।