प्राथमिकता: मान्छे कि पशु?

प्राथमिकता: मान्छे कि पशु?


जुगेश्वर सदा सप्तरीको सप्तकोशी नगरपालिका–६ स्थित चौरियाका बासिन्दा हुन्। यहाँ सदा समुदायका १३ घरको बसोबास छ। तर जुगेश्वर जस्तै अरू सबै बसेका जग्गा उनीहरूको होइन। महेन्द्र गिरीको नाममा छ सिङ्गो बस्ती बसेको जमिन। त्यसैले यहाँका सबै सदा परिवार भूमिहीन हुन्। जुगेश्वर अपवाद हुने कुरै भएन ।

जुगेश्वरका श्रीमती, तीन छोरा, बुहारीहरू र तीन नातिनी अनि एक नातिसमेत छन्। सबै जनाको पालिने बाटो भनेकै ज्याला÷मजदूरी हो। एक दिन काम गरेबापत पाँच सय रुपियाँ पाउँछन् जुगेश्वर। जबकि महिलाले त चार सय मात्र पाउँछन्। सरकारले श्रमिकको न्यूनतम ज्याला प्रतिदिन ५७७ रुपियाँ तोकेको छ। अनि समान प्रकृतिका कामका लागि महिला र पुरुषको पारिश्रमिकमा भेदभाव गर्न पाइन्न। तर जुगेश्वरलाई मात्र हैन, यहाँका कुनै पनि बासिन्दालाई यस्तो जानकारी छैन। जानकारी नै नभएपछि आफू ठगिएको वा अन्यायमा परेको कसरी थाहा होस् ? त्यसैले उनीहरूले न्यायको ढोका घच्घच्याउन पनि आवश्यक ठानेका छैनन्।

आरक्षका वन्यजन्तुले हानि पुर्‍याएमा क्षतिपूर्ति माग गर्न पूरा गर्नुपर्ने प्रक्रिया

१. मुचुल्का

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

४. तिरो तिरेको रसिद

५. वडा कार्यालयको सिफारिस

६. मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सिफारिस

७. कृषिको सिफारिस

८. भेटेरिनरी/पशुको सिफारिस

९. घटनाको फोटो

१०. चेक बुकको प्रतिलिपि

११. पान नम्बर

जे होस्, आफ्नै जमिन नभए पनि गिरहत (जमिनदार) को एक बिघा जमिन अधिया/बटैया गरेर तथा जनिवन (मजदूरी) गरेर परिवार पाल्दै आएका थिए उनले। छोराहरू सबै जना गिरहतको घरमा बाख्रा/वस्तु चराउने काम गर्थे। उतै बस्थे। त्यसबापत वार्षिकरूपमा दिइने दरमाहा (केही अनाज) लिएर आउँथे।

यसरी गुजारा चल्दै आएको थियो। अन्य प्रगति नभए पनि पेटचाहिँ जेनतेन भरेका थिए उनले परिवारको ।तर केही वर्षदेखि अवस्था पूरै फेरिएको छ। यतिबेला जुगेश्वरले मात्र साहूको जमिनमा खेती नगरेका हैनन्, जमिनदारहरूले पनि बाँझै राखेका छन्। एकातिर यही खेतीमा निर्भर जुगेश्वर जस्ता दर्जनौँ परिवार खानकै लागि सङ्घर्ष गर्न बाध्य छन् भने अर्कोतर्फ जमिनदार पनि यी खेतीबाट केही आम्दानी लिन नसक्ने अवस्थामा पुगेका छन्।

केही वर्षकै अवधिमा यस्तो अवस्था कसरी सिर्जियो त ? उत्तर जुगेश्वरसँगै छ– यसको मुख्य कारण हाम्रो बस्ती नजिकैको आरक्ष (कोसी टप्पु वन्यजन्तु आरक्ष) हो। जति पछि भयो आरक्षमा उति उति जनावर बढ्दै गए। ती जनावरले हामीले लगाएका बाली खाइदिने तथा हिँडेर र खेलेर नाश गरिदिन थाले।

धपाउन गएमा पनि नमान्ने भए। बढीजसो राति आएर मासिदिने भएकाले सधैँ कुरेर बस्न पनि सम्भव भएन। त्यसमाथि ती जनावरलाई केही गरेमा आरक्षका सुरक्षाकर्मीले उल्टै हामीलाई कारबाही गर्ने भए। त्यसैले हामीले यो जोखिम मोल्नुभन्दा बरु खेती नै लगाउन छाडिदियौँ।

अधिया/बटैया गर्ने र जमिनदारले समेत आफ्नो जग्गा बरु बाँझै राख्ने तर बाली नलगाउनुको मुख्य कारण अर्को पनि रहेछ– बाढीले नास गर्नु। हुन त बाढी पहिले पनि आउँथ्यो तर अहिले भने सानो पानी पर्दा पनि बाढी आइहाल्छ रे। किन ? जुगेश्वर थप्छन्– पहिले सानोतिनो पानी खेतीतिर जान्थ्यो। अहिले बाली नलगाउनाले जमिन चौर (साह्रो) भयो। त्यसैले फिँजारिएर गाउँतिर पस्न थाल्यो।

अर्को कुरा पहिले उक्त खोला (त्रियुगा) बाट घर बनाउन र अन्य भौतिक पूर्वाधार निर्माणका लागि बालुवा झिकिन्थ्यो, नदी गहिरिन्थ्यो र बाढी फिँजारिन पाउँदैनथ्यो। अहिले आरक्षले बालुवा झिक्न दिँदैन। यसले गर्दा पूर्वाधार निर्माणका लागि बालुवा चाहिए निकै टाढा जानुपर्ने अवस्था छ भने नदीको सतह उकासिएर बस्तीको जस्तै हुन पुग्यो। अनि सानो पानी पर्दा पनि भेल र बाढी गाउँतिर पस्न थाल्यो।

झट्ट सुन्दा लाग्न सक्छ– खेती लगाउन नपाउँदा र बाढीले बाली नाश गर्दा जमिन हुनेलाई पो अप्ठेरो पर्छ। जमिनै नहुने जुगेश्वर जस्ता भूमिहीनलाई के फरक पर्छ र ? तर वास्तविकता फरक छ।

पहिलो कुरा त भूमिहीनले पनि जमिनदारको जमिनमा कुनै निश्चित आम्दानी बुझाउने सर्तमा खेती गर्थे। जसमा आफ्नै परिवारको श्रम लगाउँथे। दिनरात बढीभन्दा बढी मेहनत गर्थे। तोकिएको साहूलाई बुझाउँथे र बाँकीले गुजारा चलाउँथे। यसो गर्दा एकातिर परिवारका सदस्यहरू काम गर्न बाहिरफेर जानुपर्दैनथ्यो भने अर्कोतिर आफ्नै मेहनतको फलले गुजारा सहज बनाएको थियो।

तर अहिले आफू त खेती गर्न पाएनन् पाएनन्। कम्तीमा जमिनदारले मात्र खेती गरिदिएको भए पनि उनीहरू काम खोज्न त टाढा जानुपर्थेन। जुगेश्वर सदा भन्छन्– म अहिले आफ्नो नजिकको जग्गा बाँझै देखिन थालेपछि यो बुढेसकाल (६४ वर्ष) मा काम खोज्न निकै टाढा जानुपरेको छ। प्रायःजसो करिब दुई घण्टा परको भागलपुर जान बाध्य छु। अझ कतिपय बेला त त्यहाँ पनि काम नपाइने भएकाले उदयपुरको रामपुर ठोक्सिलासम्म जान बाध्य छु। जहाँ पुग्नै दुई–तीन घण्टा लाग्छ।

आफ्नै स्वामित्वमा भूमि भएका मात्र हैन, भूमिहीनलाई समेत आरक्षका कारण कस्तो प्रभाव परेको छ भन्ने उदाहरण जुगेश्वर र उनको बस्ती चौरियामा प्रत्यक्ष देख्न सकिन्छ। खेती र काम गर्न नपाउनुसँग मात्र सम्बन्धित छैन, आरक्षपीडितका व्यथा।

आरक्षमा अनाधिकृतरूपमा गएको, त्यहाँका जनावर मारेको, नियम मिचेको जस्ता अभियोगमा दण्ड÷सजायको भागी हुनुपरेका थुप्रै अनुभव स्थानीय बासिन्दासँग छन्। जुगेश्वर पनि यस्ता धेरै घटनाको चाङमाथि बसेका छन् जसले उनलाई बेलाबेला तर्साइरहन्छ।

‘एकदिनको कुरा हो’, जुगेश्वरले सुनाए– पाँच वर्ष जतिअघि। हामी केही बाहिर बस्न (दिसा/पिसाब गर्न) आरक्ष नजिक गएका थियौँ। बिहान झिसमिसे नै थियो। हामी दिसा गरिरहेको ठाउँमा एउटा बँदेल बच्चासहित आयो। हामी एक्कासि डराएर भाग्न लाग्दा बँदेल पनि डराएर अलिक टाढा भाग्यो।

हामीले आफैँ लगेर पालौँ न, के होला र भनेर नजिकै रहेको बँदेलको बच्चा घर ल्यायौँ। केही समयपछि नै सुरक्षाकर्मीहरू आए। म भागेँ। चार जनालाई लगेर सात दिन थुने। अनि जनही २५–२५ हजार रुपियाँ जरिवाना तिराएर छाडे। आखिर आरक्षका जनावर पाल्न पाइन्न भनेर फिर्ता लगेको भए त भइहाल्थ्यो नि, हामीले मारेका त थिएनौँ नि।

जुगेश्वरहरूको गुनासो आरक्षले आफूहरूलाई गल्ती गर्दा सजाय गरेको, जरिवाना तिराएको भन्दा पनि आरक्षका जनावरले आफूहरूलाई दुःख दिँदा भने आरक्ष प्रशासन मौन रहने गरेकोप्रति छ।

जस्तो– नेपाली टोलमा केही वर्षअघि शौच गर्न गएका बेला आरक्षबाट आएको अर्नाले आक्रमण गर्दा एकजनाको मृत्यु नै भएको थियो। तीन वर्षअघि मात्र पनि आरक्षबाट आएको हात्तीले सरूप सदाको घर र कल भत्काइदियो। उसै त सदा समुदायको घर निकै कमजोर हुन्छ। आर्थिक अभावमा उनीहरू बलियो र सुरक्षित घर बनाउनै सक्दैनन्। त्यसैले हात्ती जस्तो बलियो जनावरको निशाना पनि यिनै विपन्नहरूको घर बन्ने गर्छ। कुनबेला आउँछ र बिगो गर्छ भन्ने थाहा नहुने भएकाले त्राहि त्राहि हुन बाध्य छन् यहाँका बासिन्दा।

आरक्ष प्रशासनले जनावरको दोष देखिएमा पीडित परिवारलाई क्षतिपूर्ति दिने नियम पनि छ तर यस्तो क्षतिपूर्ति पाउने प्रक्रिया यति झन्झटिलो छ कि धेरै पीडितले यस्तो प्रक्रिया पूरा गर्नै सक्दैनन्। पहिलो कुरा त धेरैलाई क्षतिपूर्ति पाइन्छ भन्ने नै थाहा छैन, दोस्रो कुरा प्रक्रिया जटिल छ, तेस्रो कुरा प्रक्रियाले खोजेका कागजात पु¥याउन सक्ने हैसियतसम्म धेरैको छैन।

जस्तो– हात्तीले बाली नाश गर्‍यो वा घर भत्कायो भने क्षतिपूर्तिका लागि दाबी गर्न चाहिने पहिलो कागजात हो नागरिकता। अनि दोस्रोमा जग्गा धनी प्रमाणपुर्जा। खासगरी भूमिहीनसँग जग्गा धनी प्रमाणपुर्जा त हुने कुरै भएन, नागरिकता पनि धेरैसँग हुँदैन। नागरिकता नभई बैंकमा खाता खोल्न पाइन्न, पान नम्बर लिन पाइन्न। तर क्षतिपूर्ति लिन आरक्ष कार्यालय यस्तै खाता नं. र पान नं. खोज्छ। यही कारण धेरै आरक्षपीडितले आफूले कानुनअनुसार पाउने क्षतिको समेत दाबी गर्न पाइरहेका छैनन्। त्यसैले जतिसुकै क्षति भए पनि पुर्पुरोमा हात राखेर आफ्नै कर्मलाई दोष दिनुको विकल्प उनीहरूसँग हुँदैन। जुगेश्वर पनि धेरै पटक यस्तै फन्दामा परेका एक पात्र हुन।

प्रकाशित: २ पुस २०८१ ०५:३२ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School