खड्गबहादुर गोलेसँग सुख-दु:खका कुरा


कुरा मंसीर १६ गतेको हो। त्यस्तै सवा एघार बजेको हुँदो हो। ७७ वर्षीय सेवा निवृत्त शिक्षिका आमा विद्यादेवी चापागाईंसँगै थिएँ। हामी गट्ठाघरदेखि नारायणहिटी दरबर जान इनड्राइभको आधुनिक बग्गीमा थियौं।

आधुनिकता, सूचनाप्रविधि र समयको चापलाई पछ्याउॅंदै नेपालमा राष्ट्रिय परिचयपत्र बन्न थालेको केही समय भइसकेको रहेछ। त्यो परिचयपत्र लिन गत शुक्रबार पनि पुगेको थिएँ। साथी एवं चर्चित कलाकार राजन काफ्लेको आधुनिक घोडामा नारायणहिटी पुगेका थियौं। काफ्लेले आफ्नो परिचयपत्र लियो। मैले आमाको परिचयपत्र लिन सकिनँ।

किनभने त्यसका लागि सम्बन्धित व्यक्तिले ‘डिजिटल ल्याप्चे’ नगरी पाइँदो रहेनछ। कुरा नबुझी जाँदा गत शुक्रबार खाली हात फर्कनु परेको थियो। अस्ति आमाको राष्ट्रिय परिचयपत्र लिन गयौं। परिचयपत्र हात परेपछि आमा दंग पर्नुभयो। आखिर खुशी सानो सानो कुरामा नै लुकेको हुँदोरहेछ। ला! कुरा बरालियो कि क्या हो!

***

आमा-छोरा चढेको इनड्राइभ बग्गीका चालक खड्कबहादुर तामाङ (गोले) सँग गहिरो भलाकुसारी भयो। के गर्नु? समय पाउॅंदा भेटेजतिसँग सघन संवाद गर्ने बानी जो परेको छ। आधा घण्टामा पनि ५२ वर्षीय चालक खड्कबहादुर गोलेसँग अनेकानेक कुराकानी पो भएछ।

 ***

अँ, हो। कुरा उनै चालक खड्कबहादुर गोलेको हो। उनी २०२९ साउन २५ गते उदयपुरको कटारीमा जन्मिएका रहेछन्।अन्य नेपाली झैं उनलाई पनि पुरानो पेशाले आकर्षण गर्न सकेन। अर्थात्, खेतीपातीमा रमाएका बाउआमाको जीवनप्रति खड्कबहादुरमा कहिल्यै लगाव रहेन।आफ्नै बाटो खोजे। के नै हुनु थियो र! २०६८ सालमा खड्कबहादुर गोले लागे खाडीतिर।

कतारमा चालक भएरै उनले झण्डै तेह्र वर्ष बिताए। फलतः ललितपुरको इमाडोलमा चार आना जग्गामा दुई तले घर ठड्याए। न घर बनाएको ऋण बाँकी छ न त आफूले ६ वर्षदेखि चलाउॅंदै आएको सुजुकी मारुतीको बाँकी पैसा तिर्नुपर्नेछ। अहोरात्र दुःख गरेर खड्कबहादुर गोलेले आफ्नो मात्र होइन सिंगो परिवारको जीवनमा परिवर्तन ल्याइदिए।तर त्यो उनका कारण मात्रै संभव भएको होइन। खड्कबहादुरको जीवनसाथी सानु तामाङ्गले गरेको अकथनीय श्रम पनि जोडिन्छ। सानु तामाङ्गले काँडाघारीमा चिया पसल चलाइन्। १५ वर्ष अहोरात्र खटेर चलाएको चिया पसलले आफ्ना पाँचवटा सन्तानको पालन, पोषण र पठनको खर्च धानिन्। तर विधिको विडम्बना स्तन क्यान्सरले उनलाई यो संसारबाट दुई वर्ष अघि उठाएर लग्यो। लौ! लहरो तान्दा पहरो गर्जिन्छ भने झैं भयो। हेरौं! गोलेको परिवारको कथा के के रै’छ त।

***

हुनत अचेल सार्वजनिक संजालमा अनेकौं चाहिने नचाहिने बहस, विवाद, सही-गलत, सक्कली र नक्कली सोच, विचार, विषयवस्तु र नखरा जारी छ। कोही भन्छन्, ‘समाजमा घोर निराशा छ।’ कोही भन्छन्, ‘नेपालमा कहिले आशलाग्दो अवस्था थियो र? निराश हुनलाई।’ कोही भन्छन्, ‘नेपालमा कहिले राम्रो थियो र! अहिले निराश हुनलाई।’

कोही भन्छन्, ‘नेपालीलाई शताब्दीयौंदेखि दु:ख थियो। अहिले पनि छ। संघर्ष र दु:खको मात्रा कम भए पनि ताल उस्तै छ।’ एकथरी भन्छन्, ‘नेपाली समाज निराश छैन। निराश छ भने त्यो मानसिक स्वास्थ्यको कारणले निराश छ।’ अझ अर्कोथरी छन्, ‘आलोचनात्मक चेतको आलोकमा हेर्दा नेपाल र नेपाली उन्नति र विकासको उन्नयनमा जहाँ पुग्नुपर्ने थियो, त्यहाँ नपुगेकै हो। यसो हुँदा निराश जस्तो लागेको हो। तर यो चरम असन्तुष्टिको तलाउमा असन्तुष्टको मात्रा बढ्दो छ। हो; यसले नै गर्ने हो सामाजिक उलटपुलट।’

 अलि धेरै निराश चाहिं आफूलाई गाढा रातो रङ्गप्रेमी ठान्नेहरू नै छन्। तिनै गाढा रातो रङ्गप्रेमी र अरूको सत्तोसराप गरेर आफ्नो स्वार्थको रोटी सेक्ने नयाँ दल र तिनका नेता-कार्यकर्ता छन्। तर निचोरेर भन्न चाहिं प्राज्ञिक अनुसन्धानको खाँचो होला। खैर जेहोस्, ‘वादे वादे जायते तत्वबोध!’

***

लौ न! काशी जाने कुतीको बाटो भने जस्तो भयो। चालक खड्कबहादुर गोलेका केटाकेटी पाँच वटा रहेछन्। दुईवटा छोरीहरू विवाह गरेर आ-आफ्नो घर गरी खाँदैछन्। तीन वटा छोराहरू पनि उनले तय गरिरहेको जीवनको पदचाप पछ्याउॅंदै छन्। के पो गर्दै होलान् त तीन वटा छोराहरू ?

***

‘बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउॅंछ। लाखौंको लागि उजाड छ यो देश, मुठ्ठीभरिलाई त स्वर्ग छ।’ माम, काम, दाम, नाना र छानाको खोजीमा नेपाली कहिले पो विदेशिएनन् र! दशकौं दशक अघि भारतका विभिन्न शहर जानेहरूको दु:ख, गाथा र देशमै बसेकाहरूको व्यथामै आधारित छ माथिको दानाहरू। ती मार्मिक शब्दहरू कवि लब प्रधानले लेखेका हुन्।

***

उसो त मानव जाति फिरन्ते प्राणी हो। यूभल नोह हरारीको बहुचर्चित पुस्तक ‘सेपियन्सः अ ब्रिफ हिष्ट्री अफ ह्युमन काइन्ड’ मा लेखेका छन्– मानव जाति अफ्रिकाको कुनै ठाउॅंमा साढे दुई लाख वर्षअघि देखा पर्यो। त्यसपछि मानिस संसारभरि शनैशनै फैलियो। मानव जातिको फिरन्तेपन र आवश्यकताकै परिणाम हो मानव जातिको विकासक्रम। मानव जातिका विकासक्रम बारेमा हरारी भन्छन्, ‘७० हजार वर्षअघि संज्ञानात्मक क्रान्ति, १० हजार वर्षअघि कृषि क्रान्ति र भयो वैज्ञानिक क्रान्ति ५०० वर्षअघि।’ संज्ञानात्मक क्रान्तिकै कारण मानव जातिको भाषा र संस्कृतिले ७० हजार वर्षअघि आकार लिन थालेको दावी गर्छन् हरारी। उनले पुस्तकमा भनेका अनेकौं कुरा मध्ये एउटा महत्वपूर्ण कुरा यस्तो पनि छ, ‘संज्ञानात्मक क्रान्तिदेखि यता नै मानव जाति दोहोरो यथार्थ पत्याएर बाँच्दै आएको छ। एउटा भौतिक यथार्थ हो भने अर्को काल्पनिक यथार्थ।’ हो ! यही कसीमा दुनियाँमा जारी बहस र विवादलाई हेर्नुपर्छ जस्तो लाग्छ। तर विश्वास र सोच आ-आफ्नो हो। हरारीले भनेका कुरा लेखेर यो आलेखमा संभव होला र! ए! अन्तै पुगें कि क्या हो ? माफ पाउॅं है।

***

कुरा खड्कबहादुर गोलेका तीन छोराहरूको हो। २६ वर्षीय जेठो छोरा धनबहादुर गोले श्रीमती सहित कोरिया गएको ६ वर्ष भयो। धनबहादुर आफू विभिन्न यन्त्रहरूका पार्टपुर्जा बनाउने कारखानामा काम गर्छन्। जेठी बुहारी कोरियामा कृषि क्षेत्रमा काम गर्छिन्। जेठोको आर्थिक उन्नतिले दंगदास खड्कबहादुर गोले भन्छन्, ‘हामी सबैलाई जेठो छोरा बुहारीले धन आर्जनमा उछिन्ने भए।’ यसो भनिरहँदा खड्कबहादुरको मुहारमा खुशीको रातो कान्तिको आभा फैलिएको थियो।

 ***

त्यसो त नेपाली समाजका पात्र, प्रवृत्ति, पीडा, प्रकोप, प्रताडना, पतन र पल्लवनका अनेकानेक आयाम र दृष्टान्त होलान्। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको कलाकार प्रकाश सपुतले गाएका छन्: ‘यो देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गर्या थिएँ, आमाले जन्माएको घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दु:ख साट्दा साट्दै, हाम्लाई के नै सुख छ र! सक्नेले गर नसक्ने मर तर यो देश मेरो पनि होइन र! यो देश मेरो पनि होइन र!…’

***

झण्डै बिर्सेको। खड्कबहादुर गोलेको २४ वर्षीय माहिलो छोरा उद्धव गोले अविवाहित छन्। तर आम नेपालीले शताब्दीयौंदेखि व्यहोर्दै आएको लाहुरे संस्कृति भन्दा उद्धव गोले कसरी पर हुनसक्छन् र! उनी बुवाको पदचाप पछ्याउॅंदै कतार पुगेका छन्। कतारमा चालकको काम गरेर व्यस्त भएको साढे दुई वर्ष भैसकेछ।

***

इमान, जमान, सम्मान, स्वाभिमान र स्वकमानमा विश्वास गर्नेहरूले नै हो संसार फेर्ने। तिनले पहिला आफ्नो परिवारलाई राम्रैसँग फेर्छन्, समाजलाई बदल्छन् र देशलाई उन्नतिको लयमा ढाल्छन्।

 ***

खड्कबहादुरको २१ वर्षीय अविवाहित कान्छो छोरा ललित गोले पनि राम्रो तरक्कीकै बाटोमा लागेका छन्। संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा सूचनाप्रविधि पढ्न गएको दुइ वर्ष भयो। अर्थात् कान्छो छोरालाई अध्ययनमा अब्बल बनाउन सबैको टेको पुग्यो होला।

***

मान्छे आखिर फिरन्ते जाति न हो। खड्कबहादुर गोले सम्झन्छन्, ‘सिन्धुपाल्चोकको थाङ्गबाल भोदाङ्गबाट बसाइँ हिंडेर गोलेको पुर्खा दश पुस्ता अघि ओखलढुङ्गा पुग्यो। त्यसपछि उदयपुरको कटारी बसाइँ सर्‍यो। उदयपुर सरेपछिको तेस्रो पुस्तामा पर्छ खड्कबहादुर गोलेको जिन्दगी। उनी आफ्नो परिवार सहित ललितपुरको इमाडोलमा बसाइँ सरेको पनि वर्षौं भैसक्यो। पत्रकार केदार शर्माले भने झैं ‘मानिस धानको बीउ जस्तै हो। जति धेरै ठाउॅं सार्‍यो त्यति मौलाउॅंदै र सप्रिंदै आउॅंछ।’

***

दु:खको सागर छिचोलेर १३ वर्ष कतारमा चालक भए खड्कबहादुर गोले। नेपालमै आधुनिक बग्गी चलाउन थालेको पनि ६ वर्ष भैसक्यो। मिहिनेत जारी नै छ। मिहिनेत र दुःखलाई रेटेर जीवनरुपी सारंगीबाट सुमधुर धुन निकाल्न सफल गोलेलाई सोधें, ‘के हुनुपर्थ्यो नेपालमा?’ उनी भन्छन्, ‘नेपालमा हुनै पर्ने थुप्रै कुराहरू छन् तर कुनै पनि कुरा ढंगले भएका छैनन्।’ युवाहरूले देश छोडेकोमा गोलेको पीडा यसरी पोखिन्छ, ‘आम्दानी १० वर्ष अघि जति थियो अहिले पनि त्यति नै छ। महँगी बढेर आकासै छोइसक्यो। जीवन कसरी धानिन्छ? युवाहरू यहाँ काम गर्छन् तर आधा महिना नमर्दै उनीहरूको कमाइ सकिन्छ। अनि किन बस्छन् राम्रा युवाहरू देशमा। त्यसैले देश युवाविहीन हुँदैछ।’ ‘को आयो भने देश बन्छ त?’ गोले भन्छन्, ‘पत्याउन र विश्वास गर्न सकिने कोही पनि छैनन्। २००७ सालदेखि नेपाली कांग्रेस पार्टी छ। नेकपा (एमाले) २०४६ देखि छ। त्यसपछि नेकपा (माओवादी) आयो। के गरे त? खाली उनीहरू आफैं मात्र बने। देश र जनतालाई केही गरेनन्। त्यसैले देशको अवस्था यस्तो भयो।’

गोलेजी नयाँ आएका रवि लामिछानेबारे के भन्नुहुन्छ त– ‘गफ मात्रै ठूल-ठूला गर्ने। काम चाहिं केही पनि नगर्ने। म त नेपालका सबै राजनीतिक दलहरू उस्तै उस्तै देख्छु।’

***

कतिपय मानिसहरू जनतालाई गन्दै गन्दैनन्। तर उनीहरूसँगको अनुभव शिक्षाको मूल स्रोत नै हुन्छ। के गरे बन्छ त देश? खड्कबहादुर गोले भन्छन्, ’कानून सबैलाई बराबरी लागू हुनुपर्‍यो, सरकार र कर्मचारी निष्पक्ष हुनुपर्‍यो, बेकारमा बेफ्वाँके आन्दोलन गर्नुभएन। प्रणालीमा देश चल्नुपर्‍यो। युवाहरू अड्याउने खालको रोजगारी हुनुपर्‍यो। युवाहरूले क्षमता अनुसारको जागीर पाउनुपर्‍यो। जागीर पाएर मात्रै भएन, त्यो जागीरले जीवन चल्न सहज हुनुपर्‍यो।’

***

कोही कसैसँग बोलेन भन्दैमा उसको संसार नचल्ने हो र! कसैले बेवास्ता गर्दैमा जनता अड्किने हो र! नेपाली जनता पौरखी छन्। आफ्नो पौरखलाई तगारो लाउनेलाई तह लगाउन पनि जान्दछन् जनता। खड्कबहादुर गोले जस्ता तीन करोड गोलेहरूको आवाजलाई बेलैमा सुन र सल्लाहलाई पालन गर। तर तिनले मत फेर्दा तिम्रो कान र आँखा नथुन।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School