संसारको जुनसुकै कुनामा किन नहोस्, माध्यमिक तहसम्मको अध्ययन गरेका जोकोहीले स्कुलको पाठ्यपुस्तकबाट कमसेकम दुई जना वैज्ञानिक– निकोलस कोपरनिकस र मारिया स्कोलोडोवस्का (विवाहपछि– म्याडम क्युरी) को नाम जानेको हुन्छ। यी दुवैको जन्म पोल्यान्डमा भएको थियो।
कोपरनिकस युरोपेली पुनर्जागरण कालका गणित र खगोल शास्त्रका ख्यातिप्राप्त विद्वान् थिए, जसले उसबेला प्रचलित विश्वासको खण्डन गर्दै ब्रह्माण्डको केन्द्रबिन्दुमा पृथ्वी होइन, सूर्य छ र पृथ्वीलगायत सबै ग्रहहरू सूर्यकै परिक्रमा गर्छन् भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित गरेका थिए।
कोपर्निकसभन्दा चार सय वर्ष कान्छी म्याडम क्युरी भौतिक तथा रसायन शास्त्रकी प्रकाण्ड विद्वान् थिइन्। उनले पहिलो पटक विकिरण पत्ता लगाएकी मात्र होइनन्, यसको प्रयोग क्यान्सरजस्तो घातक रोगको उपचारमा प्रयोग हुन सक्ने प्रमाणित गरेर चिकित्सा विज्ञानमा पनि हलचल मच्चाएकी थिइन्।
पोलिसहरूले आफ्नो देशका महान् व्यक्तित्व भनेर मानेका दश जनामध्ये कोपर्निकस र म्याडम क्युरीपछि विख्यात् शास्त्रीय सङ्गीतकार फ्रेडेरिक सोपिनको नाम आउँछ। उनी युरोपेली शास्त्रीय सङ्गीतमा स्वच्छन्दतावादी धारका प्रमुख प्रवर्तक मानिन्छन्, जसको उत्कृष्ट एकल पियानो सङ्गीत विश्वमै प्रख्यात छ।
यो नियात्रा मैले हालै भ्रमण गरेको पोल्यान्डको राजधानी सहर वार्साको सम्झनामा लेखिएको छ, जसका सडक र चोकहरू यी र अन्य धेरै प्रतिभाहरूको स्मृतिको गौरवले सिँगारिएको छ र जहाँका रमणीय पार्कहरूमा सोपिनजस्ता सङ्गीतकारहरूको सङ्गीत गुन्जिरहेको हुन्छ।
पहिलो पटक म विद्यार्थी जीवनमा साथीहरूसँग सन् १९८१ मा वार्सा पुगेको थिएँ। केही वर्षअघि पोल्यान्डको दक्षिणमा पर्ने प्राचीन सहर तथा १७औं शताब्दीअघिको राजधानी क्राकोभ गएको भए पनि वार्सा पुनः गएको थिइनँ। त्यसबेला हाम्रो रेलयात्रा मास्कोबाट सुरु हुन्थ्यो र पोलान्ड र पूर्वी जर्मनी हुँदै गएर पश्चिम बर्लिनमा टुङ्गिन्थ्यो।
कुरा के थियो भने दोस्रो युद्धमा नाजी सेनाको पराजयपछि विजयी राष्ट्रहरूले जर्मनी र राजधानी बर्लिन दुवैको विभाजन गरेका थिए। सो विभाजनको ऐतिहासिक विवरणतर्फ नलागी छोटकरीमा भन्दा साम्यवादी शासन भएको पूर्वी जर्मनीको माझमा राजनीतिक र आर्थिक दृष्टिले पश्चिम जर्मनीसँग निकट भएको सहर पश्चिम बर्लिन थियो।
सोभियत संघमा अध्ययनरत अधिकांश विदेशी विद्यार्थीहरू उपभोग्य वस्तुको किनमेल गर्न त्यहीं जान्थे, जहाँ हामी बसेको देशमा दुर्लभ भएका वस्तु, खास गरी हाम्रो रुचीका जिन्स पाइन्ट, लोकप्रिय ब्यान्डहरू बी गिज, स्मोकी र फिल कोलिन्सका क्यासेट र प्लेयरहरू सहजै उपलब्ध हुन्थे। सोभियत संघबाट नजिक र तत्कालको पूर्व–पश्चिम राजनीतिक सीमाको ठ्याक्कै पल्तिर पर्ने भएकाले नेपाली विद्यार्थीबीच पश्चिम बर्लिन ‘रक्सौल’को नामले चिनिन्थ्यो।
मास्कोबाट त्यहाँसम्मको लामो यात्राबाट विश्राम लिन धेरैजसो वार्सामा ओर्लेर घुम्थ्यौं। यद्यपि विश्राम शब्दलाई सापेक्षिक अर्थमा बुझ्नु पथ्र्यो। विद्यार्थी जीवनमा केही त्यस्ता विश्रामहरूको झन्डै चालिस वर्षको अन्तरालमा हालै म फेरि वार्सा पुगेँ र यो लामो अवधिमा आएको परिवर्तनको साक्षात्कार गर्ने अवसर पाएँ।
सन् १९८० को दशकमा पोल्यान्डको साम्यवादी सरकार गहिरो आर्थिक संकटबाट गुज्रिरहेको थियो। अर्थतन्त्र विदेशी ऋणमा चुर्लुम्म डुबेको थियो। उपभोग्य वस्तुको मूल्य आकासिएको थियो र जनताको जीवनस्तर गिर्दो थियो। आर्थिक समस्या चर्कंदै गएपछि गदान्स्क सहरका मजदुरहरूले हडताल र विरोधको आह्वान गरे। त्यसको प्रभाव देशभर पर्यो। आन्दोलनकै क्रममा एक स्वतन्त्र मजदुर संगठन ‘सोलिड्यारिटी’ को गठन भयो र त्यसले स्वःस्फूर्त सुरु भएको आन्दोलनलाई संगठित रूपमा परिचालन गर्न थाल्यो।
मजदुर वर्गको सत्ता भनेर शासन गरेको कम्युनिस्ट पार्टीको सरकारविरुद्ध मजदुरहरू नै आन्दोलित भएपछि सत्तारुढ दल राजनैतिक र वैचारिक संकटमा पर्यो। पार्टी नेता एडवर्ड गेरेक पदमुक्त भए। तर त्यसबाट पनि निकास निस्केन। हामी वार्सा पुग्दा त्यहाँको आर्थिक संकटका लक्षणहरू महसुस गर्न सक्थ्यौं।
वार्साको मुख्य रेल स्टेसन सेन्त्राल्नाबाट बाहिर निस्कनासाथ हामी स्थानीय ट्याक्सी चालकहरूको नजरमा पथ्र्यौं। उनीहरूले प्रहरीको आँखा छल्न कुनै गल्लीमा लैजान्थे र सरकारी विनिमय दरभन्दा निकै चर्को मूल्यमा डलर साटिदिने भनेर मोलमोलाउ गर्थे। जति नै दिए पनि हामी थोरै डलर मात्र साट्थ्यौ किनभने पहिलो कुरा त हामी विद्यार्थीसँग धेरै डलर पनि हुँदैनथ्यो।
दोस्रो, साटेर आउने ज्लोती (पोल्यान्डको राष्ट्रिय मुद्रा) मा किन्ने कुरा पनि थिएन। पसलहरू रित्तै हुन्थे। संकट चर्कंदै गएपछि सन् १९८१ को अन्त्यतिर पोल्यान्डमा जंगीशासन लागु भयो र हाम्रो वार्साको ट्रान्जिट रुट पनि बन्द भयो। त्यसपछि जानेहरूले तत्कालीन चेकोस्लोभाकियाको रुट प्रयोग गर्न थाले। पोल्यान्डको सो संकटको पूर्ण अन्त्य भने सन् १९८९ मा लोकतान्त्रिक प्रणालीतर्फ शान्तिपूर्ण संक्रमणपश्चात् भयो।
आजको पोल्यान्ड एक सफल बजार अर्थतन्त्र भएको युरोपेली समुदायमा आबद्ध लोकतान्त्रिक मुलुक हो। विगत चालिस वर्षमा भएका ठुल्ठुला परिवर्तनद्वारा यो एक आधुनिक औद्योगिक राष्ट्रमा परिणत भएको छ। यस अवधिमा पोल्यान्डको प्रतिव्यक्ति वार्षिक आय बाह्र गुना बढेर बाइस हजार अमेरिकी डलर पुगेको छ।
सन् २००४ मा युरोपेली संघको सदस्य भए यता मात्र पोल्यान्डको कुल गार्हस्थ उत्पादन दोब्बर भएको छ भने निर्यात छ गुना बढेको छ। उस बेला बेरोजगारी समस्याले आक्रान्त पोल्यान्ड अहिले श्रमशक्ति आयात गर्ने देश बनेको छ। यसपटक म भियनादेखि हवाइमार्गबाट गएको थिएँ र वार्साको सोपिन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको थिएँ।
होटल पुग्नासाथ चालिस वर्षअघि उत्रेको रेल स्टेसन सेन्त्राल्ना खोज्न गएँ। मेरो होटल सहरको मध्य भागमा नै भएकाले रेल स्टेसन पनि नजिकै पैदल जान सकिने दुरीमा रहेछ। तर यतिका वर्षपछि आएको र सहरको पनि तीव्र विकास भएकाले सडक, चोक र भवनहरू सबै कुरा नौलो लाग्यो। पुनर्निर्माणपछि रेल स्टेसन पनि चिन्नै नसकिने भएछ। तथापि पहिलाको सम्झना दिलाउने एउटा भव्य भवन देखें, जुन वार्सावासीको जनजिब्रोमा ‘स्टालिन उपहार’ का नामले स्थान लिएको छ।
हाल संस्कृति तथा विज्ञान केन्द्रका रूपमा सञ्चालित दुई सय ३७ मिटर अग्लो सो भवनको निर्माण जोसेफ स्टालिनका पालामा सन् १९५२ मा सुरु भएको थियो। सोभियत वास्तुकलाविद् लेभ रुदनेभले रचना गरेको र ‘समाजवादी यथार्थवाद’को विशेषण पाएको सो ढाँचामा मास्कोमा स्टालिनकै पालामा सात वटा भवन बनेका थिए, जसमध्ये मास्को विश्वविद्यालय सर्वाधिक उल्लेखनीय छ। सो भवनको प्राङ्गणमा उभिएर शीर उठाएर त्यसको गजुर हेर्दा मास्कोदेखि वार्सासम्मको पुरानो यात्रा मात्र होइन, विद्यार्थी जीवन र चार दशकअघिको युरोपको यथार्थ चित्रण सामुन्ने आयो र एकछिन मन गहु्रङ्गो भयो।
पोल्यान्डलाई रुससँग यो एक स्तम्भले मात्र होइन, दुई देशको सिङ्गो इतिहासले नै जोडेको छ। अझ के थप्नुपर्ने हुन्छ भने यस स्तम्भले जति सकारात्मक सन्देश दिन्छ, बाँकी इतिहास त्यसविपरीत अत्यन्त पीडादायी छ। अरू धेरै मुलुकजस्तै पोल्यान्डको इतिहास पनि उसको भूगोलले बनाएको छ।
उन्नाइसौं शताब्दीमा आजका ससाना युरोपेली देशहरू ठुल्ठुला साम्राज्यहरूको नियन्त्रणमा थिए। दक्षिणपूर्वमा वर्तमान टर्कीको नियन्त्रणमा ओस्मान साम्राज्य, पूर्वमा रुसी साम्राज्य, पश्चिममा अस्ट्रियन साम्राज्य, प्रसा अधिराज्य (अहिलेको जर्मनी, डेनमार्क, बेल्जियम, लिथुआनिया आदि) र फ्रान्स थिए। ती साम्राज्यबीच आआफ्नो भूमि र शक्ति विस्तारका लागि निरन्तर युद्ध चलिरहन्थ्यो। पोल्यान्ड यी साम्राज्यहरूको माझमा अवस्थित भएकाले युद्धबाट पीडित थियो।
त्यस्तै एक युद्धको शृङ्खलामा नेपोलियनको हार भयो र उसले कब्जा गरेको भूभाग सन् १८१४ मा विजयी साम्राज्यहरू प्रसा, अस्ट्रिया र रुसबीच भागबन्डा गरियो। राजधानी वार्सालगायत तत्कालीन पोल्यान्डको अधिकांश भूमि रुसी साम्राज्यको कब्जामा पर्याे। एक शताब्दी लामो औपनिवेशिक शासनपछि सन् १९१८ मा एक स्वतन्त्र राष्ट्रका रूपमा पोल्यान्डको पुनरोदय भयो, जसको पृष्ठभूमिमा प्रथम विश्वयुद्धको परिणामस्वरूप रुसमा जारशाहीको पतन र बोल्सेविक क्रान्तिपछि लेनिनद्वारा पोल्यान्डको भूमिमाथि रुसको दाबी परित्याग जस्ता घटना थिए। तर त्यो स्वतन्त्रता धेरै टिकेन।
सन् १९३९ मा पुराना साम्राज्यका नयाँ शासकहरू हिटलर र स्टालिनबीच पोल्यान्डको पुनः भागबन्डा गरी कब्जा गर्ने सहमति भयो, जुन इतिहासमा मोलोतोभ–रिब्बेनट्रोप सम्झौताको नामले चिनिन्छ। सम्झौता भएको एक हप्तामा नै १ सेप्टेम्बरमा जर्मनीले र त्यसको दुई हप्तापछि सोभियत संघले पोल्यान्डमाथि आक्रमण गरी आआफ्नो भागमा परेको भूभाग कब्जा गरे। त्यसको दुई वर्षपछि सन् १९४१ मा हिटलरका सेनाले सम्पूर्ण पोल्यान्ड कब्जा गरी सोभियत संघमाथि हमला गर्याे त।
रुसको औपनिवेशिक शासन विस्मृतिमा हराइसकेको एक ऐतिहासिक तथ्य हो भने दोस्रो विश्वयुद्धका घाउहरू पोल्यान्डमा अझै पनि आलै छन्। सो युद्धमा नाजी सेनाबाट साठी लाख पोलिसहरू मारिएका थिए, जसमध्ये आधा जति यहुदी थिए। यसमा सोभियत संघ र अन्य मुलुकमा मारिएका पोलिस र यहुदीहरूको संख्या जोडिएको छैन। हिटलरले पोल्यान्डको अधिनस्थ इलाकामा बनाएको विषालु ग्यासयुक्त यातना शिविरमा मात्र एघार लाख मानिस मारिएका थिए, जसमध्ये अधिकांश यहुदी र बाँकीमा पोलिस, सोभियत युद्धबन्दीहरू र अन्य जातिका थिए। स्व. मदनमणि दीक्षितको प्रसिद्ध कथा ‘ग्यास च्याम्बरको मृत्यु’ त्यसै शिविरलाई विषयवस्तु बनाएर लेखिएको छ।
सन् १९३९–४१ को अवधिमा सोभियत कब्जामा रहेको पोल्यान्डको भूभागमा स्टालिनले पनि क्रूर दमन गरेको थियो। अधिनस्थ क्षेत्रबाट तीन लाख पोलिसहरूलाई निर्वासनमा साइबेरिया पठाइएको थियो भने पाँच लाख बन्दी बनाइएको थियो। सो दमनका उल्लेखनीय घटनामध्येको एक रुसको पश्चिमी इलाकाको एक गाउँ कातिनमा गरिएको नरसंहार हो, जहाँ सन् १९४० मा एकै समयमा र एकै स्थानमा सैनिक तथा गैरसैनिक गरी बाइस हजार पोलिस नागरिकको आमहत्या भएको थियो। यो घटनाको विवरण झन्डै पचास वर्षसम्म गोप्य राखिएको थियो र सोभियत नेता मिखाइल गोर्बाच्योभको पालामा मात्र सार्वजनिक भएको थियो।
यस नगरका संग्रहालय र स्मारकहरूले स्मरण गरेका युद्धका विभीषिकामध्ये सन् १९४४ मा वार्सावासीले नाजी सेनाविरुद्ध गरेको विद्रोह हो। सो विद्रोहमा पन्ध्र हजार नागरिक मारिएका थिए। पोल्यान्डको पूर्वी भागबाट नाजी सेनालाई हराउँदै सोभियत सेना आएको देखेर वार्सावासीले उनीहरूबाट मद्दतको अपेक्षामा विद्रोह गरे। तर पोल्यान्डको मुक्तिभन्दा युद्धपश्चात् हुने विभाजनलाई लक्ष्य राखेर स्टालिनले सो विद्रोह असान्दर्भिक भनेर मद्दत गर्न इन्कार गरे। त्यसकारण पोल्यान्डको सम्पूर्ण भूभाग नाजी सेनाबाट स्वतन्त्र गर्न र त्यहाँ स्थापित कैयन् यातना शिविरहरूबाट बन्दीहरू मुक्त गर्न सोभियत सेनाले निर्णायक भूमिका खेलेको भए तापनि पोलिस नागरिकहरू रुसलाई आफ्नो मुक्तिदाता स्वीकार्न तयार छैनन्।
पोलिसहरूको सम्झनामा अर्को तथ्य के पनि छ भने सन् १९३९–४१ को अवधिमा हिटलरले कब्जा गरेको भूभाग दोस्रो विश्वयुद्धको अन्त्यपछि पोल्यान्डले फिर्ता पायो तर स्टालिनले कब्जा गरेको पाएन। रुसप्रति पोलिसहरूको गुनासोको लामो फेहरिस्त छँदै थियो। त्यसैमाथि पोल्यान्डसँग लामो सिमाना भएको युक्रेनमा तीन वर्षअघि पुटिनले हमला गर्यो। लाखौं युक्रेनीहरू युद्धबाट भागेर पोल्यान्डमा शरण लिन आए। यस घटनाले पुरानो गुनासोलाई क्रोधमा परिणत गर्यो र सोभियत सेनाको स्मृतिमा पोल्यान्डमा स्थापित प्रतिमाहरू भत्काउने या हटाउने क्रम झन् तीव्र भयो। निश्चय नै हतियारको बलमा कसैको ज्यान लिन या जमिन र सम्पत्ति खोस्न सकिन्छ तर सम्मान र सदभावना जित्न सकिँदैन।
चालिस वर्षको अन्तरालमा भएको वार्सा भ्रमणको तुलना गर्दा पोल्यान्डमा नेपाली समुदायको उपस्थितिको उल्लेख गर्नु सान्दर्भिक हुन्छ। पोल्यान्ड नेपालको पुरानो मित्र हो। हाम्रा दुई देशबीच दौत्य सम्बन्धको स्थापना सन् १९५९ मा भएको थियो। उस बेला वार्सा आउँदा मैले पोलिस महिला विवाह गरेर बसेका एक नेपालीको परिवार भेटेको थिएँ। तर समग्रमा भने नेपालीहरूको संख्या नगण्य थियो।
अहिले वार्सामा मात्रै दुई हजार र पोल्यान्डभर पन्ध्र हजार जति नेपाली भएको अनुमान छ। जनस्तरमा सम्पर्क निकै बढेको छ। यसै पृष्ठभूमिमा दुई वर्षअघि नेपाल सरकारले वार्सामा अवैतनिक महावाणिज्यदूत नियुक्त गरेको छ। हाल पहिलो महावाणिज्यदूतका रूपमा पोल्यान्डमा लामो समय बिताउनुभएका वरिष्ठ शल्यचिकित्सक डा. बोधराज सुवेदी बहाल हुनुहुन्छ।
सन् १९८९ को परिवर्तनअघिका सीमित सम्भाव्यका बाबजुद पनि पोल्यान्डका पर्वतारोहीहरूले नेपालप्रति विशेष चाख देखाउँथे। हालसम्म यहाँका एकसट्ठी पर्वतारोहीले सगरमाथाको आरोहण गरिसकेका छन्। सुवेदीले दिनुभएको जानकारीअनुसार पछिल्लो समयमा पर्वतारोहणबाहेक नेपालको अन्य विषयप्रति पनि उत्सुकता बढेको छ र सोहीअनुसार हेर्न÷घुम्न जाने पर्यटकको सङ्ख्या पनि थपिएको छ।
पोल्यान्डमा रोजगारीका लागि आउने नेपालीको सङ्ख्या वृद्धि हुँदै गएको भए तापनि यहाँ प्राविधिक तथा दक्ष पेसामा कार्यरत नेपालीको सङ्ख्या सानो छ। फलस्वरूप पोल्यान्डजस्तो युरोपेली स्तरको उच्च–मध्यम वेतन दर भएको मुलुकमा श्रम निर्यात गरेर नेपालले उचित लाभ लिन सकिरहेको छैन।
पोल्यान्ड पनि नेपालजस्तै लामो अवधिसम्म दुई ठुला शक्तिबीचमा रहेर आफ्नो अस्तित्वका लागि अनेकौं द्वन्द्व र भूराजनीतिक खिचातानी झेल्दै यहाँसम्म आइपुगेको मुलुक हो। यस्तो पृष्ठभूमिका बाबजुद पनि पोल्यान्डले आर्थिक तथा प्राविधिक क्षेत्रमा ठुला सफलता हासिल गरेको छ।
पोल्यान्ड क्याथोलिक धर्ममा गहिरो आस्था राख्ने परम्परावादी मुलुक हो, तापनि वार्सामा गिर्जाघर मात्र होइनन्, विज्ञान केन्द्रहरू पनि छन्। त्यहाँ स्कुलदेखिका विद्यार्थीलाई जगत्, प्रकृति र मानव जीवनको अन्तरसम्बन्धका वैज्ञानिक पक्षबारे अतिरिक्त शिक्षा दिइन्छ। नेपालले पनि पोल्यान्डबाट पाठ सिकेर फगत मूर्तिपूजा र भजनमण्डलीको पछि लाग्नुभन्दा वर्तमान औद्योगिक युगले माग गरेको ज्ञान प्रवर्तन गर्नु श्रेयस्कर हुन्छ।