गणेश हिमालका लहरै उभिएर खासखुस गरिरहे जस्ता स्निग्ध श्वेत आकृति ! ठिक त्यसैको तलतिर तिप्लिङ, लापा र सेर्तुङका थुम, थुममा झुरुप्प–झुरुप्प बस्तीहरू। हिमालबाट तलतिर विश्व तापमानका कोपभाजनमा परेर क्षयीकरण भएका अनेक आकृति बन्दै गरेका अवशिष्ट चुचुराहरू जसका थाप्लामा मजेत्रो गुथे जस्ता सेताम्मे हिमरेखाहरू छन्। हिमरेखाहरू उचालिंदै गएपछि उजाडिंदै गएका ढुङ्गेनी थुम्का–थुम्कीहरू र त्यसका काप–कापबाट कताकति मुन्टो उचालेर हेर्दै गरेका जटामसी, निर्मसी, पाँचऔंले, कुड्की, पदमचाल, बिखमा, यार्चाखुम्बु। त्यसैका मुन्तिर देखिन्छन्– खर्कै खर्क र त्यसलाई प्रेमपूर्वक चाटिरहेका चौंरीका बगालहरू।
लालीगुराँस र श्वेत गुराँस (चिमिली)का झ्याङ्मुन्तिर आङ कन्याइरहेका चौंरीका बगाल छिचोल्दै उम्किएका धुपी, सल्ला र चुत्रोका अग्लाइसँग पौंठेजोरी खेल्दै बयेली नाचिरहेका सिर्सिरे बतासले बेला–बेला मुटु चुम्ने गरेर कपाउँछ।
छातीमा गणेश, पाविल र फ्लाप्ला हिमालका प्रतिबिम्ब टाँसेर शान्त ध्यानस्थ देखिने अनेक ताल, कुण्ड र पोखरीहरूका मौन साधना युग–युग तक उस्तै निश्चल र नीरव ऐकान्तिक जस्तो प्रतीत हुन्छ। पूरै पहाड रङ–रङका फूलहरूले गलैंचा ओछ्याए जस्तो नरम कहीं कतै छ भने त्यो रुवी उपत्यका नै हो अर्थात् रुवी भ्याली।
कहिले कहिले सामान्य चिया गफबाट उब्जिने सवालले जिल्ला वन अधिकृत विष्णुप्रसाद आचार्यले प्रस्ताव गर्नुभयो – नवीनजी कालो दहदेखि गणेश हिमाल आधारशिविर हुँदै गणेशकुण्डसम्म सजिलो, छोटो र रमाइलो पदमार्ग भैदिए त्यहाँका नागरिकहरूको जीवनस्तर कति उँचा हुन्थ्यो होला ?
मैले थपें – विष्णु सर पूर्वाधारहरूको न्यूनतम व्यवस्था पनि नगरेर सुनको कन्तुर टालाले छोपेर राखिरहेको छ मुलुकले। हाम्रो प्रयासले झुत्रो टालो उघारेर स्वर्णभूमिको विमोचन सम्भव होला र ? उहाँले प्रयास त गरौं न! कतैबाट पनि प्रयास नगरेपछि कहाँबाट सम्भव होला र भन्नुभयो।
कुरै कुरामा हामीले जीपीएस सहित गणेश हिमाल पदयात्रा गर्ने योजना बनायौं। उहाँले आफ्नोतर्फबाट इनामेल र केही ब्यानरहरू पनि व्यवस्थापन गर्नुभयो। हामीले केही आवश्यकीय ओखतिमूलो सहित खाद्यान्न र बाटो देख्ने पथप्रदर्शक तथा झोली झ्याम्टा बोकेर २२ कात्तिकमा धादिङबेसीबाट उकालो लाग्यौं।
हामी २२ गते बेलुका पुरुस्थित प्रकाश घलेको होमस्टेमा बास बसेर बिहानै लिङ्जोस्थित अर्का स्वाभिमानी, शालीन समाजसेवी तथा सामुदायिक वनका अध्यक्ष प्रकाशजीको घरमा अतिथि बन्न पुगेका थियौं।
यात्रा दलमा जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य लगायत ६ जना, सञ्चारकर्मी साथीहरू, रुवी भ्याली गाउँपालिका प्रमुखका सचिवालय सचिव विपिन तामाङ, सामाजिक अभियन्ताहरू रामबहादुर गुरुङ, टिसमान तामाङ, मर्कुस तामाङ लगायत २८ जनाको जम्बो यात्रादल तयार भएको थियो।
बीचमा खनियाबास गाउँपालिकाका कार्यकारी अधिकृत नवराज श्रेष्ठको नेतृत्वको समूह पनि थपिन आइपुगेको थियो।
सेर्तुङसम्म हामी गुडेर नै पुगेका थियौं। त्यहाँसम्म कच्ची सडक पुगेको छ। त्यसबाट केही साथीहरू र हिमालसम्म लैजानुपर्ने खाद्यान्नका पोकापोकीहरू थप भयो। जसका लागि हाम्रा यात्रा कमाण्डर विष्णुप्रसाद आचार्यले पहिले नै योजना बनाउनुभएको रहेछ।
बाटोमा पाखाभरि सुकेका लेकाली सिमीहरू, समयले मागेका कोदोका मुठीजत्रा बाला, फापरका डिहीले निन्याउरो मुख लगाएर बजार मागिरहेको आभास हुन्थ्यो।
भेडा र बाख्राका ताँतीले बाटो पाउनै मुश्किल पर्थ्यो। लेकका गोठ–गोठबाट हिउँको चिसो आतङ्क सहन नसकेर उनीहरू गाउँ झरिसकेका रहेछन्। नभए तिनलाई खर्कभर असरल्ल छरिएका देख्न सक्थ्यौं। तिनीहरूको बजारीकरणको समस्या पनि हामीले सुन्यौं।
हामीले ससुन्नु के थियो र – ती अक्षरका तारा भएर उदाउने मात्रै न हुन्। बाँकी के हुन्थ्यो र ! तैपनि भरोसा हुन्छ कि भनेर प्रकाश घले, टिसमान तामाङ र मर्कुसहरूले गथासो पोखिरहेका थिए। अथवा यसो भनौं कि सयौं खर्कहरूले लाखौं भेडाबाख्रा पालनको आग्रह पोखिरहेको छ।
तन्नेरी आँट र जाँगर उद्यम भएर बल्न तयार छ तर बजारको व्यवस्थाका लागि कसले जिम्मेवारी लिने ? प्रश्न यहाँनेर छ। कुरैकुरामा हामीले विशाल झर्ना भएको खोला छेउमा पुगिसकेका रहेछौं। प्रकाशजीले भन्नुभयो– कृषि, आपूर्ति वा वाणिज्य मन्त्रीहरू छन्। हाम्रो कुरा सुन्छन् त ?
मसँग त्यसको उत्तर थिएन। उहाँहरूको प्रश्न पुर्याउने म न पारिवारिक सदस्य थिएँ। न कुनै घरानियाँ जवामर्द वा न पाखुरा, तिघ्राको पहुँचवाल। मैले पुलबाट खोलामा प्रकाशलाई देखाउँदै भने प्रकाशजी यो खोलामा माछा छ ? उनले भने हुन सक्छ नि !
फेरि मैले थपें – त्यसलाई पानीबाट बाहिर निकाल्यो भने बाँच्छ र ?
उनले सपाट उत्तर दिए – बाँच्दैन।
मैले भनें – हो त्यस्तै हो मेरा लागि सत्ताको दरबार। जो आफ्नै भरोसामा बाँच्छ त्यसका लागि श्रमको पोखरी नै पानी हो, सत्ताको दरबार बगर। म तपाईंको प्रश्न बोकेर दरबार पस्न सक्दिनँ। त्यसैले बबुरो अक्षरसँग विचार, दर्शन र चिन्तनको चिराग हुनसक्छ जसलाई कुनै कुर्सीले मन पराउँदैनन्। त्यसैले यसको उत्तर मसँग छैन।
मौन बस्नुबाहेक प्रकाशले त्यहाँ कुनै उत्तर दिएनन्। मैले भनें – तपाईंले भोगेको समस्याको कथा मेरा अक्षरहरूमा अनुवाद हुनेछन्।
तल्ला खर्कहरूमा असरल्ल बाख्राहरू र माथिल्ला खर्कहरूमा जडीबुटी सहित मोटाघाटा र झ्यापुल्ला चौंरीका बगाल भेटिन्थ्यो। गोठभरि बोरामा खाँदाखाँद बनाएर राखिएका चौंरीका पोषिला घ्यूका डल्लाहरू र छुर्पीका लाप्राहरूकै टाँड बनाएर सुतिएका गोठालाहरू पनि देखिए।
त्यहाँ माटोका कणकणमा आर्थिक डङ्गुर थुप्रिएका देखिन्थे। सबैका पैतालामा जर्मन, हङकङ, भियतनाममा बनेका विदेशी ब्राण्डका जुत्ताहरू थिए, भारत, चीनबाट ल्याइएका चम्किला लठ्ठीहरू थिए। तिनले मसमस बास्नादार सुनपाती, पदमचाल जस्ता बहुमूल्य जडीबुटी कुल्चँदै र लठ्ठीले झाडी फाँड्दै यात्रादल अगाडि बढिरहेको थियो। यस्तो लाग्थ्यो कि हामी सुनको कचौरामा बाँच्नका लागि जीवनको भीख मागिरहेका छौं।
ओर्लेर पनि त पुगिन्छ उचाइको गन्तव्यमा !
उक्लनु मात्रै यात्रा होइन है विष्णु सर ओर्लन सिकेपछि मात्रै यात्राको सुखानुभूति अनुभूत हुन सक्छ। मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।
ओर्लने बेला यो दर्शन कहाँबाट फुर्यो ? विष्णु सरको जवाफ थियो यो। गाडीभित्रका केही साथीहरू हाँस्नुभयो। ओेर्लने चाह नभएकाहरू बसिरहन सक्नुहुन्छ रातभरि भन्दै म पनि हाँसिदिएँ र अगाडि अगाडि पाइला चालें।
झण्डै ४ डिग्रीबाट ओर्लंदै गरेको तापक्रममा स्यु, स्यु, स्यु गर्दै साथीहरू पोकापुन्तुरा गाडीबाट खसाल्न लाग्नुभयो। यतिबेला हामी रुवी भ्यालीको पुरु गाउँमा थियौं र साँझ थपक्क धर्तीमा ओर्लिएर छपक्क अँध्यारोले जमिन छोप्दै थियो।
म सानो पुड्के झोला मिलाउँदै ओर्लिएर लमक, लमक गर्दै पहिलो पाइलो प्रकाश घलेको घरतिर उचाल्दै के थिएँ बाघजत्रो कुकुर ढसमस्स तँगारोमै देखें। उसले ह्वाङ् ह्वाङ् गर्दा त मेरो सातो डगमगायो।
मलाई अगाडि नै जानू किन पनि थियो भने संसार समयमा ओर्लनेहरूले नै जित्छन् भन्ने देखाउनु थियो। लाग्यो – जित्नु भनेको पहिलो पुग्नु मात्रै पनि त होइन। म पहिलो हुन हच्किएँ। कुकुरको डरले पहिलो हुने चाहनामा तुषारापात भयो। डरपोकहरूलाई कहाँ प्रथम हुने छुट छ र ?
संसार जित्नु छ भने पहिला आफैंलाई जित्नुपर्छ। मनको डर त्याग्नुपर्छ। जितको पहिलो तयारी नै आफूभित्रको त्रासमाथिको विजय हो। यही शिक्षा अरूलाई कतिपटक दिइयो होला तर आफूलाई पर्दा कहाँ काम लाग्दोरहेछ र ? त्यसैले त भनिन्छ मान्छेको ज्ञान आफूलाई पर्दा काम लाग्दैन। अर्कालाई उपदेश दिन मात्रै। चुपचाप लुरुक्क लाग्नुको अर्को उपाय पनि त थिएन।
एउटा प्रसङ्ग जसरी आयो त्यसरी नै त्यहीं सकियो। हाम्रा मन्त्रालयहरूमा मौसमी र मनसुनी मन्त्रीका भाइभारदारले निकालेका मनमौजी योजना सिद्धान्त जस्तै।
शहर बजार र सुगममा माया, प्रेम र आतिथ्यका कुरा धेरै हुन्छन्, सत्कार र संस्कृतिका प्रसङ्गहरू धेरै उठ्छन्। सिद्धान्तका फलाको पनि कति हो कति सुनिन्छन्। मात्रै सुन्नका लागि। जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ। जहाँ अतिथि देवो भवःका सप्रसङ्ग व्याख्याहरू हुन्छन् त्यहाँ अतिथि लुट संस्कृति पनि त मौलाउँदोरहेछ।
व्यवहारतः त्यसको प्रयोग भने सिद्धान्त नसुनेका, नबुझेका र नजानेको घरदैलोमा पुग्नुपर्दो रहेछ।
हो, हामीले त्यही त पायौं पुरुको प्रकाश घलेजीको घरमा पुगेपछि। घर पुग्नु अगाडि नै रस्यौटोमा हाम्रा लागि धुनी बालेर प्यारको न्यानो घरभरि फिजाइएको रहेछ। भर्खर भुटेको तात्तातो लेकाली मकै र भटमास थालभरि बनाएर राखिएका थिए।
हामी पुग्नासाथ लेकाली आलु भुङ्ग्रामा हालेर पाकेपछि आफैं झिकेर खान सुझाव प्राप्त भयो। कस्तो आत्मीयता ? कति विचित्र सत्कार ! जाडोले सबै कठ्याङ्ग्रिएकाले मनग्ये तातोपानी र इच्छानुसार चिया पिउन पनि थर्मस, किट्लीहरू तयार थिए। न उनीहरूलाई परोपकार पुण्याय पापाय परपीडनम् थाहा छ न अतिथि देवो भवः र यसको दार्शनिक मूल्य ज्ञान छ।
उनीहरूलाई यति थाहा छ कि घरमा पाइला टेक्नेहरूको भोक, प्यास शान्त गरिदिनुपर्छ, दुःख दर्द सम्हालिदिनुपर्छ। प्रेम, श्रद्धा र आत्मीयताले छुर्लुप्प बनाइदिनुपर्छ। उनका दर्दहरू आफ्नै हुन्, तृष्णा, क्षुधा र अशक्ततामा हामी आफ्नै जस्तै दुख्नुपर्छ। वेदनामा सँगै रुने र खुशीमा सँगै हाँस्ने मन त्यहाँका नागरिकहरूमा छ। धन्न पैसाका लागि आफू, आफ्ना र आफन्तहरूमा छुरा चलाउने वर्तमानमा त्यहाँ पुगिसकेको रहेनछ। त्यति पायौं त्यहाँ। हाम्रा लागि त्योभन्दा दिव्य व्यवहार अर्को थिएन। अपेक्षा पनि थिएन।
साँझ ७:३० बजेको हुँदो हो हामी त्यहाँ पुग्दा। आगोले मनग्ये सेकिएर कहिले पोलेको आलु र कहिले भुटेको मकै मुर्क्याउनुको मजा त्यहाँ बेग्लै थियो। सम्झँदा पनि आनन्दले दिल रसाउँछ।
बेलुका २८ जनाका लागि एकै घरमा पूर्ण बन्दोबस्तीका साथ सुत्ने प्रबन्ध भयो। लगलग कँपाउने जाडोमा सबैलाई बलिया सिरक डसना र कम्बलले सुस्वागत गर्नु सजिलो थिएन उहाँले गर्नुभयो। हामी कृतार्थ भयौं।
बिहान उज्यालोले पुरुको माटोलाई स्पर्श गर्नासाथ यात्रादल ब्युँझियो। मानवीय नित्यकर्मसँगै चियाको चुस्की लिएर लिङ्जोतर्फ उकालियौं। हिंड्नेबेला प्रकाशजीले गोजीमा भुटेको मकै र भटमासले भरिदिनुभएको थियो। चपाउँदै उकालो चढ्नुको आनन्द छुट्टै हुँदोरहेछ।
समय र कुहिरोको विछट्टको लुकामारी त्यहाँ देखिन्थ्यो। किन उषाको सौन्दर्य खोस्न खोज्छ हँ यो चुलबुले कुहिरो ? छपक्कै ढाकेर यहाँका बोटबिरुवा र उषाकालीन सूर्य रश्मिसँग के को पौंठेजोरी खेल्न खोज्दैछ यो हुस्सू ?
मलाई एक प्रकारको झोंक चल्छ तर हुस्सुले बोकेर ल्याएको मुटु कमाउने सिरेटोबाट बच्न लुगा माथि लुगा खाप्नु वा सिरकभित्रै आफूलाई दम्पच बनाउनुबाहेक अर्को कुनै विकल्प थिएन। हामीलाई ती विकल्पको कुनै काम थिएनन्। तेस्रो विकल्प हाम्रो लागि तयार थियो – उत्तिष्ठत जाग्रत।
हामी उठिसकेका थियौं र जागिसकेका थियौं। हाम्रोलागि जाडो धपाउने एकै विकल्प थियो – चरैवेति –चरैवेति।
हामी हिंड्यौं। प्रकाशजीको परिवारको माया स्पन्दनको ढुकढुकीमा लुकाएर उकालो बाटो उक्लिरह्यो। तैपनि कुहिरो त्यहाँ किन अटेर बसिरहन चाहन्छ हँ ? मलाई सोध्न मन थियो तर कसलाई सोध्ने ?
कलिलो प्रभातको आभालाई ९ बजेसम्म स्यु, स्युमा रूपान्तरण गरेर कुहिरोले ज्यादती गरेको थियो त्यो दिन। २३ कात्तिकको बिहान उकालिनु नै थियो। पुरुबाट ३ घण्टा करिब हिंडेपछि लिङ्जो पुगिन्थ्यो र त्यहाँ पनि अर्का सज्जनले बिहानको खाना समर्पण गरेका थिए। संयोगले उनको नाम पनि पुरुका प्रकाश घलेको सँग नाम थर समेत मिल्ने – प्रकाश घले।
उनी रहेछन् जडीबुटीका पनि मर्मज्ञ र सामुदायिक वनका अध्यक्ष पनि। उनले पनि मांसाहार समेत मिलाएर आतिथ्य सत्कार गरे। आफूलाई त्यसको आदत नभए पनि हुनेहरूका लागि सम्झना भयो।
प्रकाशजीले पनि भोजनको निःशुल्क व्यवस्था गर्नुभयो। उहाँ हामीसँगै गणेश हिमाल बेसक्याम्प तथा गणेशकुण्डसम्म जान पनि तयार हुनुभयो। बाटोमा अनेक जडीबुटी र बोट वनस्पतिको जानकारी पाइने सुखद् आनन्दले म फुलेल भएँ।
कुहिरोले जतिसुकै ढिट गरे पनि र अटेरी भए पनि सूर्यको प्रकाशसँग उसको केही लाग्दो रहेनछ। ९ बजेतिर हामी लिङ्जो अर्थात् तिप्लिङको मात्रै नभएर धादिङको सुदूर उत्तरी बस्तीमा पुगेका थियौं। ७०/८० घर रहेको लिङ्जो रमाइलो बस्ती रहेछ। वनको पुछारमा रहेको यो लेकाली गाउँको मूल पेशा भेडाबाख्रा पालन, चौंरी पालन, जडीबुटी सङ्कलन, काठका फर्निचरहरू निर्माण रहेछ।
२/४ वर्षयता लिङ्जोमा स्याउ, ओखर तथा हाडे बदामका बिरुवाहरू पनि हुर्किरहेका छन्। कस्तो श्रमशील पाखुरी लिएर जन्मिएका बासिन्दाहरू कति विचित्र उर्वरशील माटो।
फलेर, फलाएर नथाक्ने, उम्रिएर उमारेर नसकिने माटो र परिश्रमी नागरिकहरूको बस्ती रहेछ लिङ्जो। जहाँ बाह्रै महिना हरियो भरिलो र खोतीपातीले ढाकेको जमिन मात्रै देख्न पाइन्छ। कतै अहिले जौ र गहुँका टुसाले भरिएको बारी छ।
मकै र आलु उतारेर कतै भ्याई नभ्याई लेकाली सिमी उठाउन बितिसकेको पनि आँखाले देख्न पाइन्छ। कतै कोदो र त्यसको भित्री बालीसँगै जुनेलोले ढाकेका कान्लाहरू पनि रङ्गमय लाग्छन्। यस्तो लाग्छ – लिङ्जोको माटोमा जादु छ, जहाँ जे चितायो त्यही फल्न सक्छ। जुनेलो, मकै, सिमी, कोदो, आलु, जौ, लसुन, प्याज, जडीबुटीहरू निर्मसीहरू पनि खेती गरिएका रहेछन्।
फापर भने कम उत्पादन हुने भएकाले छोड्दै गएको देखियो। कहीं कतै सानो टुक्रा जग्गा पनि खाली छैनन्। उखान जस्ता मान्छे हँसिला, ज्यान कसिला जग्गा रसिला।
हामीलाई लोभ्याउनु लोभ्यायो लिङ्जोको गाउँले। लिङ्जो पनि अनौठो प्रकृतिको अर्थयुक्त रहेछ। प्रारम्भमा आउने पुर्खाहरू लिङ्जोको तल्लो गाउँमा बसेका रहेछन्। केही सेपिलो र घाम ताप्न कतै ठाउँ नभएपछि अहिले विद्यालय भएको ठाउँमा ठूलो ढुङ्गा रहेछ। अग्लो र फराकिलो। त्यही ढुङ्गामा लिस्नो (भर्याङ) हालेर चढ्ने घाम ताप्ने चलन रहेछ। (लिङ्+जो) त्यसैबाट लिङ्जो शब्दोद्भव भएको रहेछ। अहिले भने त्यो घामताप्ने ठूलो ढुङ्गा विद्यालय बनाउन प्रयोग गरिएको रहेछ।
हाम्रो यात्रा र यात्रीहरूको चरैवेति चिन्तन देखेर हो कि किन हो पाविलको टुप्पाबाट सूर्यरश्मिको सुटुक्क आगमन भयो। जाँड धोकेका जड्याहा लर्खराउँदै पुलिसलाई देखेपछि भागाभाग भए जस्तै पाविलको थाप्लाबाट उम्रिएका सुकुमार सूर्यप्रसाद देखेपछि भुईं कुहिराका मुस्लाहरू अलप हुनथाले।
उज्यालोमा बल्ल ९ बजेपछि लिङ्जोको सफेद स्निग्ध अनुहार जगमगाउन थाल्यो। हाम्रो यात्रादलमा केही साथीहरू पुरुबाट र केही साथीहरू लिङ्जोबाट थपिएका थिए।
मर्कुस तामाङ, राजु तामाङहरू पुरुबाट नै थिए जो हाम्रा पथप्रदर्शक पनि थिए। वीरबहादुर तामाङ, प्रकाश तामाङहरू लिङ्जोबाट थपिए जसले हामीलाई यात्राभर साथ, आँट र विश्वासको भरथेग गर्नेछन्।
बेस्करी मस्किंदै थियो घामको चहकमा लिङ्जो। थाप्लोमा हिउँको फेटा गुथेको पाविल, हाँखर्क र सेरोफेरोको हिमानी प्रतिबिम्ब। रगरगति हिंडिरहेका थिए वन लैजान बाटै छेकेर कुदिरहेका भेडा–बाख्राका बकुद्र हुलहरू।
करिब ९ बजे हामी लिङ्जो छोडेर उचालियौं। अब केही दिनका लागि मानव बस्तीविहीन क्षेत्रतर्फ उचालिंदै थियौं। गोठहरू, चौंरीहरू तथा भेडाबाख्राहरू र तिनलाई ख्याल गर्ने फाट्टफुट्ट गोठालाहरू मात्रै भेटिन्थे।
उचालिंदै जाँदा एउटा अनौठो गुफा भेटियो। त्यस गुफालाई कामधेनु गुफा र कसैले कामधेन गुफा पनि भनेको सुनियो। त्यस गुफामा गाईको एउटा पाइलाको आकृति पनि थियो। कसैले यो महादेवको बसाहाको पाइला पनि भने। त्यससँग जोडिएका केही किस्साहरू पनि थिए।
हामीले पहिलो पटक नुमसिग खर्क भेट्यौं। मोटाघाटा र सिधा बलिया ३०/४० चौंरीका बथान थिए। त्यहाँ भेटिएका सज्जनले केही छुर्पीहरू कोसेली दिनुभयो। चौंरीको स्वादिलो दूधपान गराउनुभयो र हाम्रो यात्राको सफलताका लागि कामना पनि गर्नुभयो। बेलुका मध्यसाँझमा हामी सिन्दुरखर्कका रित्ता गोठतिर पुग्यौं।
रिमरिम अँध्यारोमा पनि साथीहरू कोही पानी लिन कुवातिर, कोही दाउरा भाँच्न वन वनेलीतिर र कोही चुलो तताउनतिर लागे। आज अलिअलि टेलिफोन टावर मोबाइलमा देखिएकोले हामीले आउँदो ७ दिनको अपडेट हेर्यौं। पानीको सम्भावना देखिएन। बदली हुने सम्भावना पनि थिएन। थाकेको शरीरभित्रको मन चङ्गा भइरह्यो। करिब १० बजेतिर आ–आफ्ना सुत्ने थैलाभित्र छिरेर घुर्न लाग्यौं।
भोलि त हिमाल छेक्ने बादल हामीबाट हारेर पर हुनेछ। एकसिर्को खुशी यसै पलाइदियो। अनुहारबाट पाँजिएर फैलियो। भुईं कुहिरो पनि नआइदिए कति रमाइलो हुँदो हो बिहानको हिमाल ! मन कल्पँदै थियो।
चिसो सिरेटो मुटुमा चस्स घोच्ने गरेर बगिरह्यो। आकाशतिर बादलका घेरा डम्म लागिरह्यो र हिमाललाई छेकेर बस्न खोजिरहेका जब्बर बादललाई उडाउने गरेर हावा नचलेपछि भोलि हामीलाई रमाइलोसँग गिज्जाइरहने हिमाल छेकिने छैन। भुईं कुहिरोको तुँवालोले पनि हामीलाई बाधा गर्ने छैन। खुला धर्ती पर्दारहित हिमाल देख्नेछौं।
मात्रै चौंरी हामीबीच हुनेछैन किनकि चौंरीहरू हिउँ पर्न थालेपछि वनको तल्लो भेगतर्फ झरिसकेका छन्। जसलाई हामीले छोडेर आइसकेका छौं। उनीहरू बसाइँ सरेको गोठमा आज हाम्रो बास परेको छ। त्यसैले अब हाम्रो साथी भुईं कुहिरो र बादल मात्रै हुनेछन्। चौंरीहरू त बेसीतिर झरिसकेका छन्।