२० मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमाले कीर्तिपुरमा कसैगरी जित्न चाहन्थ्यो । कीर्तिपुरको उपचुनाव जित्ने चाहनाकै कारण पार्टीको ठूलो शक्ति कीर्तिपुर र उपत्यकामा खन्याएको थियो ।
गत ७ मंसिरमा सम्पन्न दरबारमार्गको शक्ति प्रदर्शनमा स्वयं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली प्राथमिकतासाथ उपस्थित थिए । त्यो प्रदर्शन कीर्तिपुरको मेयरसहित उपनिर्वाचनमा अधिकतम जित निकाल्ने उद्देश्यले नै गरिएको थियो ।
महासचिव शंकर पोखरेलकै निगरानी र बागमती प्रदेश इन्चार्ज राजन भट्राई संयोजक रहेर त्यो शक्ति प्रदर्शनलाई सशक्त बनाउने प्रयत्न गरिनुबाट एमाले नेतृत्वको प्राथमिकता बुझ्न सकिन्थ्यो । तर नतिजामा त्यस्तो भएन ।
उसो त एमालेले समग्र उपचुनावमध्ये स्थानीय तहमा तीन पदाधिकारी थप्न सफल भएको छ । यति हुँदाहुँदै पनि सत्ता नेतृत्वकर्ता दल उपनिर्वाचनको परिणामप्रति खुशी नहुनुमा कीर्तिपुर नगरपालिकाको मेयर जित्न नसक्नु मूल कारण देखिन्छ ।
बेलैमा उम्मेद्वार टुंग्याउनेदेखि नेतृत्वको उपेक्षाकै कारण निष्कृय बसेकाहरुलाई मनाउने काम एमाले नेताहरुले उपनिर्वाचनका बेला गरेका थिए । पूर्वमन्त्री रामवीर मानन्धरलाई पार्टी गतिविधिमा फेरि जोड्नु त्यसको एउटा बलियो उदाहरण थियो ।
कीर्तिपुरको मेयरमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय आफैमा अर्थपूर्ण थियो । किनकि अहिलेको एमाले नेतृत्वबाट उपेक्षामा पर्दै आएका नेता हुन्, मानन्धर । तिनै मानन्धरलाई ढिलै भए पनि पार्टी केन्द्रीय कमिटीमा मनोनीत गर्ने, काठमाडौं–१० मा इन्चार्जको जिम्मेवारी दिने र कीर्तिपुरको मेयर उठाउने निर्णय सुविचारित उद्देश्यमै आधारित थियो ।
र एमाले नेतृत्वको उद्देश्य प्रष्ट थियो– कीर्तिपुर सहित काठमाडौंका वडाध्यक्षहरू जित्ने । तर नतिजा एमालेको पक्षमा आएन ।
मेयरमा कांग्रेसकै उम्मेदवार कृष्णमान डंगोलले जिते । एमाले उम्मेदवार मानन्धर तेस्रो भए । ५३३४ मत ल्याएर कांग्रेसका डंगोलले मेयर जित्दा माओवादीका शिवशरण महर्जनले ४५५५ र एमालेका मानन्धरले ४३३७ मत पाए ।
आफू हारे पनि एमाले पछि पार्न सक्नुलाई माओवादीले ठूलै उपलब्धि मानेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बक्तव्य जारी गरेरै जनमत बढेकोमा खुशीयाली सार्वजनिक गरे । एमाले उम्मेदवार बनेका मानन्धर आफैं भने माओवादी उत्सवको अर्थ देख्दैनन् ।
‘कीर्तिपुरमा उहाँहरु एक्लै लडेको होइन, जसपा र माधव नेपालको पार्टीसँग माओवादीको गठबन्धन थियो । तर एक्लै लडेर पाएको मत जस्तो भ्रम छरियो’ उनी भन्छन्, ‘यद्यपि अंक गणितमा म तेस्रो नै हो ।’
मेयर पद मात्र नभएर कीर्तिपुरकै १ र ४ नम्बर वडाध्यक्षमा पनि एमाले उम्मेदवार पराजित भए । कीर्तिपुर–१ मा एमालेबाट हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी उम्मेदवार थिए । दुवैजना कांग्रेससँगै हारे ।
कीर्तिपुरको मेयरमै पराजित भएपछि धेरै चर्चा नभए पनि काठमाडौं महानगर–१६, को वडाध्यक्ष पदलाई एमालेले महत्व दिएको थियो । एमालेको प्रभाव क्षेत्र रहेकाले उपनिर्वाचन जित्ने नेताहरुमा विश्वासमा पनि देखिएको थियो ।
०७९ को चुनावमा यो वडाको वडाध्यक्ष कांग्रेसका मुकुन्द रिजालले जिते पनि बाँकी चार सदस्य एमालेले जितेको थियो । रिजालको व्यक्तित्वकै कारण वडाध्यक्ष चाहिँ एमालेले जित्न नसकेको विश्लेषण हुने गरेको थियो । तर रास्वपाकी रोजिना श्रेष्ठले वडाध्यक्ष जितिन् ।
श्रेष्ठले २९०२ मत ल्याएर वडाध्यक्ष जित्दा एमालेका लक्ष्मी रत्न तुलाधरले २२२० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने । कांग्रेसका देवेन्द्र पाठकले २२१४ र एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाए । काठमाडौं–१६ को यस्तो नतिजा एमालेलाई असाध्यै अप्रिय बन्यो ।
किनकि एमालेले राजधानी काठमाडौं सहित शहरी क्षेत्रका मुख्य चुनौती नै रास्वपा सहित नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारलाई मान्ने गरेको छ । अझ सहकारी ठगी मुद्दामा रवि लामिछाने पक्राउ परेपछि रास्वपा प्रधानमन्त्री ओलीविरुद्ध चर्को रुपमा प्रस्तुत भइरहेको छ । उक्त पार्टीका नेताहरु प्रधानमन्त्री ओलीविरुद्ध गालीगलौजमै उत्रिएका छन् ।
अर्कातिर काठमाडौं महानगरका मेयर बालेनले एकपछि अर्को राजनीतिक निर्णयमा एमाले नेतृत्वलाई चुनौती दिइरहेका छन् । यसकारण पनि काठमाडौंका कुनै पनि पदमा एमालेले नजित्नुलाई नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन् । नत्र दैलेख, बाजुरा, दोलखा जस्ता मोफसलकै नतिजा हेर्दा एमालेले उपनिर्वाचनमा सफलता पाएको निष्कर्ष सार्वजनिक गर्नुपर्ने हो ।
सुध्रिन सकेन नतिजा
दलहरुले कीर्तिपुर सहित शहरी क्षेत्रको उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाउनुमा यसको संख्या नभएर सन्देश नै मुख्य हो । किनकि यो उपनिर्वाचनको नतिजाले ०८४ को चुनावमा मतदाताको मनोविज्ञान निर्माण गर्न सहयोग पुग्ने नेताहरुको बुझाइ छ । त्यसैले यो उपनिर्वाचनको नतिजाले ०८४ को चुनावलाई आँखीझ्यालको काम गर्ने टिप्पणी गरिदैछ ।
एमालेले पनि यो उपनिर्वाचनलाई आगामी चुनावको मनोविज्ञान तयार पार्ने अवसरका रुपमा लिएको बुझ्न सकिन्छ । राजधानी काठमाडौं सहित शहरी क्षेत्रमा एमालेको अवस्था हेर्दा पनि उपनिर्वाचनबाट उसले पार्टीको पक्षमा माहोल आएको सन्देश दिन चाहेको प्रष्ट हुन्छ ।
विशेषगरी देशकै ठूलो निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेको अवस्था असाध्यै कमजोर छ । ०७९ को चुनावबाट एमालेले काठमाडौंको टोखा र बुढानिलकण्ठ नगरपालिकाको मेयर मात्र जितेको छ । बाँकी ८ पालिका गुमाएको छ ।
जबकी ०७४ को चुनावबाट एमालेले काठमाडौंको १० मध्ये ७ पालिका जितेको थियो । काठमाडौं महानगर पालिका, कागेश्वरी मनहरा, कीर्तिपुर, टोखा, टारकेश्वर, बुढानिलकण्ठ र शखरापुरको मेयर जितेको एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा पनि एकछत्र जित निकालेको थियो ।
प्रदेश सभातर्फ त काठमाडौको २० मध्ये १६ सिट एमालेले जितेको थियो । त्यसबेला एमालेको कुन तहको जित भने उसले जति उम्मेद्वार उठाएको थियो, ती सबैले जितेका थिए । त्यो आँधीमय जितको लहरमा पार्टी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य समेत थिइन् ।
विशेषगरी देशकै ठूलो निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेको अवस्था असाध्यै कमजोर छ । ०७९ को चुनावबाट एमालेले काठमाडौंको टोखा र बुढानिलकण्ठ नगरपालिकाको मेयर मात्र जितेको छ । बाँकी ८ पालिका गुमाएको छ ।
शाक्यसँगै केशव स्थापित, रामेश्वर फुयाँल, वसन्त मानन्धर, सानु श्रेष्ठ, अजय क्रान्ति र केशव पोखरेलहरुले काठमाडौंबाटै चुनाव जितेका थिए । यसको असर प्रदेश सभामा परेको थियो । ११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५८ जना सांसद थिए ।
अहिले त्यो संख्या घटेर २७ मा झरेको छ, मुख्यमन्त्रीमा दाबी गर्ने हैसियत समेत एमालेले बनाउन सकेको छैन ।
प्रतिनिधि सभातर्फ ०७४ एमालेले काठमाडौंका १० मध्ये ६ क्षेत्रमा जितेको थियो । अहिले सिंगो बागमती प्रदेशमा ४ जनाले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य जितेका छन् भने काठमाडौंका २० क्षेत्र मध्ये ४ जनाले प्रदेश सभा सदस्य जितेका छन् ।
बागमतीमा एमालेको दयनीय अवस्थाको थालनी ०७९ को स्थानीय चुनावबाटै सुरु भएको थियो । २०५४ र ०७४ मा काठमाडौंको मेयर जितेको एमाले उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेनसँग तेस्रो भएका थिए ।
अरु नगरपालिकाहरुमा पनि कांग्रेससँग एमाले पराजित भयो । अहिले कांग्रेसको नेतृत्वमा चन्द्रागिरी, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, कागेश्वरी मनहरा, गोकर्णेश्वर र कीर्तिपुर नगर चलिरहेको छ । शंखरापुरमा त राप्रपाले जितेको छ ।
प्रदेश सभाकै कुरा गर्दा त एमालेले राप्रपा भन्दा थोरै जितेको छ । काठमाडौं–२ का दुवै क्षेत्र, काठमाडौं–५ (क), काठमाडौं–८ (ख) र काठमाडौं–९ (क) गरी राप्रपाले प्रदेश सभामा ५ सिट जित्दा एमालेले चार सिट जितेको छ । एमालेबाट भने काठमाडौं–४ (ख) माा जयराम थापा, काठमाडौं–६ (ख) मा अमन मास्के, काठमाडौं–७ (ख) मा प्रकोश श्रेष्ठ र काठमाडौं–९ (ख) मा केशव पोखरेलले जितेका छन् ।
नेताहरुका अनुसार राजधानी शहरमा एमालेको अवस्था ०६४ सालपछि परिस्थितिसँग मिल्दो छ । ‘पञ्चायतकै बेलादेखि राजधानीमा हाम्रो आकर्षण र जनसमर्थन रहँदै आएको हो । धेरैजसो चुनाव हामीले जितेका छौ’ काठमाडौंका पुराना एक नेता भन्छन्, ‘अहिले त हामी चुनाव मात्र हारिरहेका छैनौं, नेतृत्वसँग जोडेर जनताबाट गरिने आलोचनाको खुलेर जवाफ दिन सक्ने अवस्था छैन ।’
अहिले कीर्तिपुर सहित शहरी क्षेत्रमा एमालेले जित्न नसक्नुमा पनि पार्टी नेतृत्वले लिने निर्णयहरुसँगै जोडेर हेर्नुपर्ने उनी बताउँछन् । ‘दरबारमार्गको सभा आलोचित भयो, विवादित ब्यापारी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय भवन लिने कुरा आयो । दुर्गा प्रसाईंले त्यस्तो हल्ला मच्चाए’ ती नेता भन्छन्, ‘यी सबै कुरा हेरेर मतदाताले निर्णय लिने हुन् । हाम्रो गल्तीले स्वतन्त्रहरुप्रति आकर्षण बढेको छ । बरु मतदाताले हाम्रो सट्टा कांग्रेस रोजिरहेका छन् ।’
एमाले नेताहरुले पनि कीर्तिपुरको मेयर र काठमाडौंका अरु वडाध्यक्ष जितेर मतदाताबीच लोकप्रिय रहेको सन्देश दिन चाहन्थे, जुन प्रयास सफल हुन सकेन ।