कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी


१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा रिक्त स्थानीय तहका ८ पदमा आगामी १६ मंसिरमा उपचुनाव हुँदैछ । उपचुनाव जित्नेगरी राजनीतिक कार्यकर्ता र उम्मेदवारहरू खटिएका छन् ।

तर ०७९ को चुनावमा प्रदेशकै चौथो शक्ति बनेको नेकपा एकीकृत समाजवादी भने यसपटक सिंगो प्रदेशमै उम्मेदवारविहीन बनेको छ । जनमत घट्दै गइरहेका बेला उम्मेदवारविहीन बन्ने अवस्थाप्रति पार्टीका स्थानीय नेताहरू चिन्तित देखिन्छन् ।

‘पछिल्लो समय पार्टीका एकपछि अर्को नेताहरू एमालेमै फर्किरहँदा एक्लै चुनाव लडेर जित्ने स्थिति छैन,’ प्रदेश कमिटीका एक नेता भन्छन्, ‘उपनिर्वाचन हुने आठ वटै पदमा हाम्रो जनआधार कमजोर छ । हार्ने ठाउँमा चुनाव लड्न पनि कसले मान्छ र ?’

एकीकृत समाजवादीले दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा जगतबहादुर हमाल, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा ज्योति घर्ती र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ को अध्यक्षमा हंसराज पुरीको उम्मेदवारी दर्ता गएका थिए ।

तर अन्तिम समयमा त्रिपुरा सुन्दरी नगरपालिका–५ र सानोभेरी गाउँपालिका–५ को वडाध्यक्षमा उम्मेदवारी फिर्ता लिएको छ । महावु गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका हमालले एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाहीलाई समर्थन जनाएका छन् । उनले सार्वजनिक रूपमै शाहीलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

एमालेबाट उम्मेदवार रहेका शाही उम्मेदवारी दर्ता गर्नुभन्दा एक साता अगाडि मात्रै एमालेमा प्रवेश गरेका थिए । एकीकृत समाजवादीको केन्द्रीय सदस्य समेत रहेका शाही एमालेबाट उम्मेदवार बन्ने भएपछि वीरेन्द्रनगरमा समाजवादीको प्रदेश अधिवेशन चलिरहेकै बेला दैलेख पुगेर एमालेमा प्रवेश गरेका थिए । ‘हामीले सल्लाहमै उम्मेदवारी दिएका थियौँ । उहाँले मलाई समर्थन गरिसक्नु भएको छ,’ शाहीले अनालाइनखबरसँग भने ।

चुनावकाे मुखमा एमालेमा प्रवेश गरेका समाजवादीका नेता जंगबहादुर शाही

यी तीन वटै ठाउँमा समाजवादी सङ्गठनात्मक र जनमतका हिसाबले निकै कमजोर छ । एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गर्दा समाजवादीले यी तीनै स्थानमा जित्न सक्ने अवस्था छैन ।

डोल्पा र रुकुम पश्चिमको निर्वाचन हुने वडामा आफ्नो जनमत कमजोर भएकै कारण माओवादीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी बताउँछन् ।

‘हाम्रो जनमत कमजोर भएको ठाउँमा समाजवादी मोर्चाका उम्मेदवारलाई सहयोग गर्ने र हाम्रो जनमत राम्रो भएको ठाउँमा उहाँहरूको सहयोग माग्ने हाम्रो रणनीति थियो,’ प्रदेश अध्यक्ष पुरीले अनलाइनखबरसँग भने, ‘अन्तिममा आएर माओवादीले धोका दियो । समाजवादी मोर्चा पनि लथालिङ्ग भयो ।’

त्यस बाहेक ५ वटा ठाउँमा समाजवादीको उम्मेदवारी दर्ता भएको छैन । दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा ०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका भीमप्रसाद शर्माले ३६ मत पाएका थिए । यहाँ अहिले एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल र नेपाल समाजवादी पार्टीले उम्मेदवारी दिंदा नेकपा एकीकृत समाजवादीले भने उम्मेदवार नै पाएन । ०७९ को स्थानीय निर्वाचनमा पनि एकीकृत समाजवादीले कांग्रेस र माओवादीका उम्मेदवारलाई सघाएको थियो । कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि पनि एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छैन ।

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी
एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष प्रकाश पुरी

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा ५ दल र एक स्वतन्त्रले उम्मेदवारी दिँदा एकीकृत समाजवादीले भने उम्मेदवारी दिएको छैन । माओवादीका उम्मेदवार देवकी तिमिल्सिनालाई नै सहयोग गर्ने भनेर उम्मेदवार नउठाएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

त्यस्तै कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ वटा दलले उम्मेदवारी दिएका छन् । तिलागुफामा एमाले, नेमकिपा, रास्वपा, राप्रपा, माओवादी, कांग्रेस लगायतका ठुलासाना दलहरूले उम्मेदवारी दर्ता गराउँदा एकीकृत समाजवादीले भने उम्मेदवारी नै दिएन । तिलागुफामा सङ्गठन कमजोर रहेकोले उम्मेदवार नउठाएको एकीकृत समाजवादीका कालिकोट जिल्ला अध्यक्ष चित्रसिंह गाउँले स्विकार्छन् ।

आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा कर्णालीका प्रदेशका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । कर्णालीमा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिकाको उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन हुँदै छ । ८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कमल थापा नेतृत्वको राप्रपा नेपाल, नेपाल समाजवादी पार्टीले (नयाँ शक्ति) लगायतका दलहरूले समेत उम्मेदवार उठाउँदा एकीकृत समाजवादीले भने ८ मध्ये तीन ठाउँमा मात्रै उम्मेदवारी दर्ता गराएको थियो । तर तीनै जना उम्मेदवारहरू अहिले चुनावी प्रतिस्पर्धामा छैनन् ।

‘माओवादी र मोर्चाको भर पर्दा चुक्यौं’

गत कात्तिक अन्तिम साता प्रदेश राजधानी वीरेन्द्रनगरमा नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनलाई सम्बोधन गर्न सुर्खेत पुगेका पार्टी अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा सक्ने ठाउँमा उम्मेदवार उठाउने बताएका थिए ।

उनले स्थानीय उपनिर्वाचनमा आफ्नो पार्टीले भाग लिने र जनमतको परीक्षण गर्ने भएकाले पार्टीलाई बलियो बनाउन नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । अध्यक्ष नेपालले समाजवादी मोर्चामा रहेका दलहरूसँग मिलेर चुनाव लड्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

तर, आइतबार (मंसिर १६ मा) हुन लागेको उपनिर्वाचन अन्तर्गत कर्णालीमा एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन । समाजवादी मोर्चाको भर पर्दा र माओवादी केन्द्रबाट धोका पाउँदा प्रदेशमा उम्मेदवारविहीन हुनुपरेको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष पुरी बताउँछन् ।

‘समाजवादी मोर्चालाई जिताउने आधारमा हामीले माओवादीलाई सहयोग गरेका थियौँ । प्रदेशका ७ ठाउँमा माओवादीलाई सघाउने, महाबुमा माओवादीको सहयोग लिने भन्ने थियो,’ प्रदेश अध्यक्ष पुरीले भने, ‘हामीले त्यही अनुसारको व्यवहार गर्‍यौं तर त्यो व्यवहार माओवादीबाट पाइएन । यसलाई माओवादीले कमजोरी ठान्यो । छल गर्‍यो ।’

अन्य ठाउँको तुलनामा महावुमा एकीकृत समाजवादीको जनमत बढी भएकाले त्यहाँ माओवादीको साथ एकीकृत समाजवादीले खोजेको अध्यक्ष पुरी बताउँछन् । यहाँ ०७९ को स्थानीय तहको निर्वाचनमा सोही पार्टीबाट अध्यक्षका लागि उम्मेदवार बनेका जंगबहादुर शाहीले माओवादीसँगको तालमेलमा २ हजार २६८ मत प्राप्त गरेका थिए ।

तर, समाजवादीले महाबुमा माओवादीको साथ खोजे पनि महाबुमा समाजवादीका उम्मेदवार जगतबहादुर हमालले भने एमालेलाई सघाउने घोषणा गरिसकेका छन् । हमालले पार्टीको नीति, विधि, विधान विपरीत काम गरेकाले उनलाई स्पिष्टिकरण सोधिने निर्णय भएको अध्यक्ष पुरी बताउँछन् ।

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी
महाबुमा उम्मेदवारी दर्ता गराउँदै एकीकृत समाजवादीमा उम्मेदवार हमाल

प्रदेश अध्यक्ष पुरीले उपनिर्वाचनमा उम्मेदवारी नदिनुको दोष समाजवादी मोर्चा र माओवादीलाई दिए पनि पछिल्लो समय कर्णालीमा एकीकृत समाजवादी कमजोर बन्दै गएको छ । कर्णाली तत्कालीन नेकपा हुँदै एमाले विभाजनको केन्द्रविन्दु हो । तत्कालीन एमालेका नेताहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा, कूर्मराज शाहीले ‘फ्लोर क्रस’ गरेर पार्टी निर्णय विपरीत तत्कालीन माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेर पद बचाइदिएका थिए ।

त्यही नै एमाले विभाजनको विन्दु थियो । एमाले विभाजनपछि अन्तभन्दा समाजवादी साङ्गठनिक रूपमा कर्णालीमै राम्रो थियो । यद्यपि पछिल्लो समय धेरै नेता, कार्यकर्ताहरू एमाले फर्किसकेका छन् । जसका कारण समाजवादी पार्टी कमजोर हुँदै गएको छ । त्यति बेला ‘फ्लोर क्रस’ गरेर एकीकृत समाजवादीमा लागेका नन्दसिंह बुढा, कूर्मराज शाही लगायतका नेताहरू एमालेका फर्किसकेका छन् ।

उता, माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसी भने अहिलेसम्म औपचारिक रूपमा कुनै पनि ठाउँमा गठबन्धन नगरिएको बताउँछिन् ।

‘अलि पहिले समाजवादी मोर्चाको तर्फबाट सहकार्य गरेर जानेकी भन्ने छलफल त चलेको थियो । तर त्यो छलफल अगाडि बढ्ने,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भनिन्, ‘एकीकृत समाजवादीलाई सघाएर जाने आधिकारिक निर्णय कतै पनि भएको छैन ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School