भारतसँग जोडिएको एक दुर्लभ सैन्य–सम्बन्ध


६ मंसिर, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी नेपाली सेनाको मानार्थ महारथी बनेका छन् । जंगीअड्डाको अभिलेख अनुसार भारतीय सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने २० औं भारतीय सैन्य अधिकारी हुन् ।

बुधबार अपराह्न २ः०५ बजे भारतीय वायु सेवाको विमानमार्फत काठमाडौं आइपुगेका द्विवेदीलाई नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरे । उनले साँझ ऐतिहासिक सम्पदाको भ्रमणसँगै पशुपति मन्दिरको दर्शन पनि गरे ।

नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ जनरलको सम्मान दिने चलन रही आएको छ । यद्यपि, सैनिक इतिहासका जानकारहरु त्यसअघिबाटै यस्ता किमिसका मानार्थ पदवी दिने प्रचलन रही आएको बताउँछन् ।

सेनाका अवकाश प्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातको दाबीअनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालाबाटै मानार्थ पदवी दिएर सम्मान गर्ने परम्परा सुरुवात् भएको हो ।

उनका अनुसार तत्कालीन व्रिटिस इन्डियाले गोर्खा सैनिकलाई आफ्नो मातहतमा काम गराउनका लागि प्रोत्साहन स्वरुप मानार्थको सम्मान दिने चलन सुरु गरेको थियो । त्यसबेला मानार्थ महासेनानी दर्जाबाट सम्मान दिन थालिएको इतिहास छ ।

राणा शासनका बेला जंगबहादुर राणा, रणोद्वीप सिंह लगायतले गोर्खालीलाई मुगलान जान निरुत्साहित गर्ने नीति लिएको जानकारहरुको भनाइ छ । वीर शमशेरका पालाबाट भने ब्रिटिस इन्डियाले सम्मानको प्रलोभन देखाएर विदेशी भर्तीमा लैजान थालेको उनको भनाइ छ ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इन्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको इतिहासविद्हरु बताउँछन् । उनीहरुका अनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जनरलको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

जंगीअड्डाको अभिलेखले पनि भारत स्वतन्त्र हुनुअगावैबाट नेपाल र भारतका सैनिकबीच एकअर्काको देशमा भ्रमण गर्ने कार्यको सुरुवात भइसकेको देखाउँछ ।

मानार्थको सम्मान दिने प्रचलनको इतिहासबारे विभिन्न खालका दाबी भेटिए पनि ब्रिटिस इन्डियाकै समयबाट यस्तो अभ्यास हुने गरेकोमा अधिकांश सैन्य इतिहासका जानकारहरु एकमत छन् । त्यसबेला यसको उद्देश्य गोर्खालीलाई ‘लाहुर’मा लैजानु भए पनि हाल भारतले सुरक्षा रणनीतिका कारण यसलाई महत्त्व दिने गरेको छ ।

जंगीअड्डा पुस्तकका लेखक एवं सैनिक इतिहासका जानकार मोहन थापा मानार्थको सम्मान दिने चलन ब्रिटिसकै पालाबाट भएको देखिए पनि एकअर्काको देशमा सेना प्रमुखलाई मानार्थ जनरलको पदवी दिने परम्पराले भारत स्वतन्त्र भएपछि नै निरन्तरता पाएको टिप्पणी गर्छन् ।

‘भारत स्वतन्त्र भएपछि १० गोर्खा रेजिमेन्टमध्ये ६ वटालाई भारतीय सेनामा हस्तान्तरण गर्ने व्यवस्था गरिएको थियो’, थापाले भने, ‘यसपछि स्वतन्त्र भारतले पनि नेपालसँग ब्रिटिसले जस्तै अलग्गै सम्बन्ध राख्न चाह्यो र एकअर्काको देशमा सेना प्रमुखलाई सम्मान दिन चलन सुरु भयो ।’

नेपाली सेनाले पनि यस प्रकारको चलनले छिमेकी राष्ट्रबीचको आपसी सम्मान र पारस्परिक विश्वासलाई प्रतिबिम्बित गर्ने बताउँदै परम्परागत चलनलाई निरन्तरता दिँदै आएको छ । यद्यपि, राजनीतिक वृत्त र नागरिक स्तरबाट यो परम्परामाथि बेलाबखत पुनर्विचार गर्नुपर्ने आवाजसमेत उठ्ने गरेको छ ।

नाकाबन्दीका बेला दिइएन सम्मान

जंगीअड्डाद्वारा उपलब्ध अभिलेख अनुसार मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने परम्पराको सुरुवात सन् १९५० देखि भएको हो । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ जनरलको सम्मान लिएका थिए ।

त्यसपछि भारतबाट सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना (एसएम) श्रीनागेस, तपीश्वर नारायण रैना, ओम प्रकाश मलहोत्रा, के वी कृष्ण राव, अरुण श्रीधर वैद्य, सुनीत फ्रांसिस रोड्रिग्स र शंकर राय चौधरीले यो सम्मान पाएका छन् ।

त्यस्तै, वेद प्रकाश मलिक, सुन्दरराजन पद्‌मनाभन, निर्मल चन्द्र विज, दीपक कपूर, विजय कुमार सिंह, बिक्रम सिंह, दलबीर सिंह सुहाग, विपीन रावत, मनोज मुकुन्द नरवाणे, मनोज पाँडे र द्विवेदी गरी २० जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।

नेपालबाट सन् १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ जनरलको दर्ज्यानी चिह्न पाएका थिए ।

त्यसयता सिंहबहादुर बस्न्यात, गुण शमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटवाल, छत्रमानसिंह गुरुङ, गौरवशमशेर जबरा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा गरी १५ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

हालका प्रधानसेनापति अशोकराज सिग्देलले यसपछि भारत भ्रमण गरेर भारतीय सेनाको मानार्थ जनरलको सम्मान लिनेछन् ।

नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यातका अनुसार मानार्थ महारथीको सम्मान दिने परम्पराले दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको देखाउँछ । यो सैन्य मात्र नभइ, राजनीतिक सम्बन्ध समेत सुमधुर रहेको संकेत भएको उनको भनाइ छ ।

दुई मुलुकबीच सम्बन्ध अफ्ठ्यारो परिस्थितिमा भएका बेला भने यो सम्मानलाई स्थगित गरिएको इतिहास छ ।

जंगीअड्डाका अनुसार २०४५ सालमा भारतले बाणिज्य तथा पारबहन सन्धिको नवीकरण समय सकिएको भन्दै घुमाउरो पारामा नाकाबन्दी लगाएपछि नेपालका प्रधानसेनापति सत्चितशमशेर जबरा भारत गएका थिएनन् । खासमा त्यसबेला नेपालले चीनबाट आफूलाई चाहिने साना हतियार र विमानभेदी हतियार (एन्टीएयर क्राफ्ट गन) ल्याएपछि भारत रिसाएको थियो । नेपालमा ०४६ को जनआन्दोलन सफल नहुँदासम्म भारतीय नाकाबन्दी जारी नै थियो ।

त्यो प्रकरणपछि भारतका तत्कालीन सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त (जेजे) सिंहलाई पनि मानार्थ सेना प्रमुखको सम्मान थाप्न निमन्त्रणा दिइएन । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई २०२२ मा मानार्थ महारथीको सम्मान दिने बेला समेत उनलाई निमन्त्रणा दिनु नहुने आवाज उठेको थियो ।

भारतसँग जोडिएको एक दुर्लभ सैन्य–सम्बन्ध
मनोज मुकुन्द नरवाणे

उनले कालापानी, लिपुलेकको भूमि समेट्दै नेपालले नयाँ नक्सा जारी गरेपछि ‘नेपालले कसैको इसारामा सीमा सम्बन्धी विषय उचालेको’ सार्वजनिक टिप्पणी गरेका थिए । त्यसपछि नरवाणेको नेपालमा आलोचना भएको थियो ।

स्रोतका अनुसार, त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई मानार्थको सम्मान लिन नबोलाउने अडान राखेका थिए ।

दिल्ली देहरादुनमा ‘भारतीय सैनिक एकडेमी’को एक कार्यक्रममा नरवाणेले त्यस अभिव्यक्ति सच्याएपछि उनलाई नेपाल भ्रमणमा बोलाइएको त्यसबेलाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक अन्तरर्वार्तामा भनेका थिए ।

यति हुँदाहुँदै पनि सेनाध्यक्ष नरवाणे काठमाडौं आउँदा नागरिकस्तरबाट भने चर्को आलोचना भएको थियो । माइतीघरमा २१ दलीय मोर्चाको नाममा भेला भएका केही व्यक्तिले नरवाणे भ्रमणको विरोधमा प्रदर्शन गरेका थिए । उनलाई लक्षित गर्दै कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परे ।

मानार्थ जनरलको सम्मान दिनुको अर्थ

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यस किसिमको परम्पराले दुई देशबीच रहेको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन भूमिका खेल्छ ।

अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्री नेपाल र भारतबीच संसारका अन्य कुनै मुलुकमा नभएको फरक परम्परा रहँदै आएको बताउँछन् । ‘यसले दुई मुलुकबीचको फरक र विशिष्ट सम्बन्धलाई प्रतिबिम्बित गर्छ’, उनले अनलाइनखबरसँग भने, ‘कुनै क्राइसिसको अवस्था आउँदा समेत यस किसिमको सैनिक सम्बन्धले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

२०७२ सालमा भारतले लगाएको नाकाबन्दी हटाउन पनि सैनिक कुटनीतिले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । यस्तोमा यो परम्पराले दुई देशका सेना सधैं एकैठाउँमा छन् भन्ने सन्देश जाने जानकारहरु बताउँछन् ।

दुई देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलनले देशलाई शान्ति र सुरक्षाको दृष्टिकोणबाट सकरात्मक भूमिका खेल्न मद्दत गर्ने उनीहरुको भनाइ छ । भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहता पनि एउटा देशमा अर्को मुलुकको सैनिक मानार्थ जनरल हुने परम्परा नेपाल र भारतबाहेक अन्यत्र काहीँ नभएको बताउँछन् ।

भारतसँग जोडिएको एक दुर्लभ सैन्य–सम्बन्ध
अशोक मेहता, भारतीय सेनाका पूर्वमेजर जनरल

‘कतिसम्म भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका बेला पनि उहाँले भारतले कुनै पनि यस्तो युद्ध लडेको छैन, जसमा नेपाली रगत बगेको छैन भन्नुभएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘यस्तोमा मानार्थ जनरलको सम्मान दिने प्रचलन आफैंमा विशिष्ट प्रकृतिको छ ।’

पछिल्लो समय भारतले सुरक्षा रणनीतिका कारण पनि सैन्य कुटनीतिलाई थप बलियो बनाउन यो परम्परालाई निरन्तरता दिइरहेको छ । पछिल्लो परिवेशमा यसको महत्व झनै बढिरहेको विज्ञहरु बताउँछन् ।

पाकिस्तानबाट नेपाल हुँदै भारतविरुद्ध गतिविधि हुने गरेको भारतीय अधिकारीहरुले पटकपटक दाबी गर्ने गरेका छन् । खुला सीमा रहेको अवस्थामा नेपालको सुरक्षा स्थिति मजबुत नभए भारतलाई सुरक्षाको हिसाबले चुनौति हुने उसको विश्लेषण छ । त्यसैले भारतले सुमधुर सैन्य कूटनीतिलाई जोड दिइरहेको हो ।

सुरक्षाविद् इन्द्र अधिकारीका अनुसार, भारतले नेपालको सुरक्षा कमजोर हुनु आफ्नो लागि चुनौति ठान्छ । र, नेपालको सुरक्षा मजबुत बनाउन योगदान गर्न सके आफू समेत सुरक्षित हुने बुझाइ अनुरुप सैन्य कूटनीतिलाई बलियो बनाउन चाहन्छ ।

अर्थात्, एकअर्काको देशमा मानार्थ जनरलको सम्मान दिने परम्पराले दुवै देशलाई रणनीतिक हिसाबले फाइदा गरिरहेको हुँदा यो परम्पराले निरन्तरता पाइरहेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School