प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोग गरेर रुसलाई निशाना बनाउन अनुमति दिनुभएको छ । यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।
महिनौँदेखि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो मिसाइल, प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्दै आउनु भएको थियो । यसले युक्रेनलाई आफ्ना सीमाभन्दा बाहिर आक्रमण गर्न अनुमति दिनेछ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि पश्चिमी राष्ट्रहरूलाई यस्तो कदम चाल्न चेतावनी दिनुभएको थियो । उहाँले यो बिषयमा हालसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । तर, अन्य वरिष्ठ रुसी राजनीतिज्ञहरूले यसलाई गम्भीर उथलपुथलको रूपमा वर्णन गरेका छन् ।
वाशिंगटनको ATACMS सम्बन्धी निर्णय युक्रेनी सेनालाई रुसको कुर्स्क क्षेत्रमा सुरक्षा दिने सीमित उद्देश्यका रूपमा व्याख्या गरिएको छ । जहाँ अगस्तमा युक्रेनले अप्रत्याशित आक्रमण गरेको थियो ।
बाइडेन प्रशासनले युक्रेनलाई सन्देश दिएको छ कि उनीहरूले हाल कब्जा गरेको रुसी भूमिलाई कुनै पनि सम्भावित वार्ताका लागि शक्तिशाली सौदाबाजीको रूपमा प्रयोग गर्न सहयोग गर्नेछ । युक्रेनी सुरक्षा र सहकार्य केन्द्रका अध्यक्ष सेरही कुजानले बाइडेनको निर्णय देशका लागि धेरै महत्त्वपूर्ण छ भन्नुभयो ।
यसले युद्धको दिशा परिवर्तन गर्ने होइन, सेना समानस्तरमा ल्याउन सहयोग गर्नेछ।
ATACMS मिसाइलले ३०० किलोमिटर १८६ माइल सम्म प्रहार गर्न सक्छ । बाइडेनले युक्रेनलाई यो मिसाइल प्रयोग गर्न अनुमति दिएको निर्णय रूसले उत्तर कोरियाली सैनिकहरूलाई युक्रेनमा लड्न अनुमति दिएपछि आएको हो ।
यो निर्णय रूस र उत्तर कोरियाली सेनाले युक्रेनी सेनालाई कुर्स्कबाट हटाउनका लागि ठूला हमलाको तयारी गरिरहेको अनुमानका कारण भएको हो ।
यो आक्रमण केही दिनभित्रै हुने अपेक्षा गरिएको छ।
युक्रेनले कुर्स्कमा ११ हजार उत्तर कोरियाली सैनिकहरू रहेको अनुमान गरेको छ । राष्ट्रपति बाइडेनको निर्णयले अन्ततः बेलायत र फ्रान्सलाई पनि युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिन सहयोग पुराउनेछ ।
तर, बेलायत र फ्रान्सले बाइडेनको निर्णयमा अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन् ।
पछिल्लो महिना, जेलेन्स्कीले युक्रेनले अमेरिकी आपूर्तिको लामो दूरीको मिसाइल प्रयोग गरेर पहिलोपटक पूर्वी रुसी क्षेत्रहरूमा आक्रमण गरेको पुष्टि गर्नुभएको थियो ।
युक्रेनले लामो समयदेखि आफ्नो रक्षा प्रभावकारी बनाउन सहयोग पर्याप्त नभएको बताउँदै आएको छ ।
युक्रेनलाई सबैभन्दा बढी हतियार उपलब्ध गराउने अमेरिका हो । युद्ध सुरु भएदेखि २०२४ को जुनसम्म, अमेरिका ५५।५ अर्ब डलर बराबरको हतियार र उपकरण उपलव्ध गराइसकेको छ ।