जुनकिरीको संगीतले गुमाएको अवसर


खगेन्द्र संग्रौलाकृत ‘जुनकिरीको संगीत’ लेखिएको पृष्ठभूमि परिचित नै हो भने खासगरी त्यसका पात्रहरू मेरो लामो समयदेखिको व्यक्तिगत चिनजान र उठबस भएका व्यक्तिहरू हुन् ।

यस उपन्यासका केही मुख्य पात्रहरूमा जुन दाइ दाह्री र भाइ दाह्री भनेर देखाइएको छ, वास्तविक जीवनमा उनीहरू बेलायतमा पढेर आएका महेश पन्त तथा नेपालमै बसेर वामपन्थी आन्दोलनका प्रखर व्यक्ति शरद पौडेल हुन् ।

यिनीहरू दुवै कुनै समय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एड नेपालमा कार्यरत थिए । नेपालमा भर्खरै बहुदलीय प्रजातन्त्रको स्थापनापछि सुरुभएको गैरसरकारी क्षेत्रबाट पनि जनतालाई जागरुक, संगठित र सशक्त बनाउँदै सामाजिक परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्दै उनीहरू पर्वतका दुर्गम ग्रामीण बस्तीहरूका दलितहरूलाई जागरुक र सशक्त बनाउने अभियानमा लागेका थिए ।

मूलतः साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले यी दुई दाइ दाह्री र भाइ दाह्रीले पर्वतका दलित बस्तीहरूमा बिताएका क्षण तथा कामहरूको फेहरिस्त नै जुनकिरीको संगीत उपन्यास हो भन्दा फरक पर्दैन ।

यसमा मेरो विचारमा साहित्यकार संग्रौलाले २५ प्रतिशत जति आफ्ना कल्पनाका उडानहरूलाई जोडेका छन् र यो कृतिलाई अत्यन्त रोचक बनाएका छन् । यसमा उनले जुन भाषा शैलीमा स्थानीय थेगो लगायतलाई जोडेका छन्, त्यो आफैंमा उत्कृष्ट र मनोरन्जनात्मक लाग्छ ।

मैले अन्य जेजति साहित्यिक कृतिहरू पढेको छु, त्यसमा यस्तो आञ्चलिकता जोडेको भेटेको छैन । साहित्य, कला तथा विषयवस्तुका हिसाबले यो उपन्यास पठनीय र मननीय दुइटै थियो र छ । साथै, यसले २५ वर्ष पार गरेर अर्को संस्करण आउन लागेको समाचारले मलाई यो संस्मरण लेख्न हौसाएको हो ।

उपन्यासका मुख्य पात्रहरूले एक्सन एड नेपालको जागिर छोडेता पनि मैले त्यसमा लामो समय बिताएँ । भौतिक विकास गर्नुपर्छ भन्ने मान्यताबाट अधिकारमा आधारित पद्धतिलाई अपनाउँदै जनतालाई सशक्त बनाई आन्दोलित बनाउने र राज्यलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउनु पर्छ भन्ने मान्यता थियो ।

त्यसैलाई आफ्ना सबै कार्यक्रमहरूमा स्थापित गराउने सिलसिलामा हामीलाई विवेक पण्डित भन्ने एकजना ‘एन्टी स्लेभरी’ अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित व्यक्तिले महाराष्ट्रका विभिन्न गाउँहरूमा सञ्चालित कार्यक्रमहरू बँधुवा मजदुरहरूको उन्मुक्ति अभियानको अध्ययन अवलोकन गर्न त्यहाँ पुर्‍याएको थियो । त्यतिबेला जुनकिरीको संगीत उपन्यास भर्खर बजारमा आएको थियो । त्यसलाई मैले त्यहीं महाराष्ट्रको अवलोकन भ्रमणमा पढेर सिध्याएको थिएँ ।

विवेक पण्डितले गरिरहेको कार्यक्रम र सो उपन्यासमा वर्णित विषय र कुराहरूलाई मैले तुलना गर्दा आफ्नै देश र त्यसमा पनि आफ्नै समुदाय उपर सिर्जना गरिएको त्यस्तो उत्कृष्ट रचनालाई टेलिभिजनको पर्दामा उतार्न पाए कस्तो हुँदो हो भन्ने मैले परिकल्पना गरिरहें । अध्ययन भ्रमण सकेर नेपाल फर्किएपछि सो अभियानमा जुटें ।

मेरा सहकर्मीका भाइ रंग तथा फिल्मकर्मी केदार पाठकले पनि सो उपन्यास हेरेका रहेछन् र यसमा टेलिसिरियल बनाउन पाए हुन्थ्यो भन्दै लगानीकर्ताको खोजीमा रहेछन् । हामी दुवैलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो ।

त्यतिबेला काली गण्डकीको सेरोफेरो भन्ने टेलिसिरियल नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो र त्यसको मुख्य मात्र पर्वत बागलुङ तिरकै दलित भएता पनि त्यसको अन्त्य लोभलालच र विलासपछिको पश्चातापमा गरिएको थियो जुन अन्त्य दलित समुदायलाई अपमानित गर्ने खालको थियो ।

यति हुँदाहुँदै पनि सबै दृष्टिकोणले त्यो टेलिसिरियललाई राम्रै मान्नुपर्दछ ।

म त्यतिबेला एक्सन एडको राम्रै जिम्मेवारीमा थिएँ । साथै, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग पनि दलितका विभिन्न विषयहरूमा सहकार्य गरिरहेको थिएँ । त्यसैले केही लगानी हाम्रो प्रस्तावित जुनकिरीको संगीतमा गर्न तयार भएँ ।

लेखक तथा साहित्यकार गोविन्द वर्तमानले त्यसको पटकथा लेखे । त्यसबीचमा लेखक खगेन्द्र संग्रौलासँग उपन्यासलाई टेलिसिरियलमा रूपान्तरण गर्ने अनुमति भाइ केदार पाठकले लिएका थिए ।

उनी आफै रंगकर्मी तथा फिल्मकर्मी भएता पनि उनको निर्देशन क्षमता कस्तो छ र उनले कस्तो टेलिशृङ्खला निर्माण गर्लान् भन्ने कुरामा म पूरा विश्वस्त थिइनँ । त्यसैले उनको कुनै सिर्जना हेर्नको लागि अनुरोध गरें र उनले हलमा समेत प्रदर्शनमा नआएको विपना थापा, सुशील क्षेत्री तथा रमेश उपे्रती अभिनित गाजल भन्ने फिल्मको भिडियो हेरें । त्यसपछि मात्रै मैले उनलाई विश्वास गरेर सो टेलिसिरियल बनाउने जिम्मा दिएको थिएँ ।

त्यो टेलिसिरियल बनाउन त्यतिबेला लगभग २५ लाख लाग्छ भन्ने भयो । त्यसको आधा खर्च मैले जुटाइदिने र बाँकी उनैले जोहो गर्ने सहमति भएको थियो । खगेन्द्र संग्रौलाले लिखित सहमति दिइसकेको हुँदा यसभन्दा बढी हामीले केही खोजेका थिएनौं ।

पर्वत, बागलुङको सेरोफेरोमा जुनकिरीको संगीत लेखिएको भएता पनि त्यहाँ पुगेर हामीले टेलिसिरियल निर्माण गर्न सम्भव थिएन । त्यसैले ललितपुरको डुकुछापको ग्रामीण परिवेशमा छायाङ्कन गर्ने निर्णय भयो र सामान्य ढंगले शुभमुहूर्त गरियो । शुभमुहूर्त कार्यक्रमलाई अलि भव्यरूपमा गरेर उपन्यासकार संग्रौलालाई त्यहाँ बोलाइनुपथ्र्यो तर, हामी दुईको त्यसतर्फ ध्यान गएन ।

शुभमुहूर्तको भोलिपल्ट मैले त्यस बारे फोन गरेर सो कुराको जानकारी दिएँ । त्यतिबेला त उनले कुनै ठूलो प्रतिक्रिया जनाएनन् तर, सो कुराले उनलाई धेरै बिझाएको रहेछ कि क्या हो, उनले छायांकनमा गइसकेको टेलिसिरियलको अनुमति खारेज गरेको ‘फर्मान’ जारी गरे ।

उनले सो फर्मानमा घोषणा गरे, ‘मैले लिखितमा सहमति दिएको भएता पनि यसलाई खारेज गर्दा आईपर्ने जुनसुकै झमेलाको पनि प्रतिकार गर्छु ।’

सो टेलिसिरियल निर्माणको क्रममा करीब ८ लाख रुपैयाँ खर्च भइसकेको थियो । एकपटक लिखित सहमति दिइसकेको भएर लेखकबाट यस्तो प्रतिकार हुन्छ भन्ने कुरा हामीले कल्पना पनि गरेका थिएनौं ।

तर, लेखक कलाकार ‘मुडी’ हुन्छन् र आफूलाई मन नपरेको कुरा जस्तोसुकै मूल्यमा पनि रोक्छन् भन्ने सुनिएको थियो, व्यवहारमा त्यही भोगियो ।

लेखकलाई मनाउनको लागि हाम्रो तर्फबाट अनेकौं प्रयासहरू भए ।

एक्सन एडका तत्कालीन डाइरेक्टर शिवेशचन्द्र रेग्मीले पनि धेरै प्रयास गर्नुभयो । चलचित्र कलाकार संघको कार्यालयले पनि गाँठो फुकाउने प्रयास गर्यो तर, लेखक टसको मस भएनन् र जुनकिरीको संगीतलाई टेलिसिरियलमा उतार्ने काम सदाका लागि रोकियो ।

टेलिसिरियलको शुभमुहूर्त कार्यक्रममा उपन्यासकारलाई नबोलाउनु हाम्रा लागि ‘जसको बिहे, उसैलाई अघि नले’ भन्ने नेपाली उखान चरितार्थ भएको जस्तो भयो । मनाउने प्रयास गर्दा उनले आफ्नो अनुमति खारेज गर्नुको कारण शुभमुहूर्तमा नबोलाउनु हो नभने पनि हाम्रो ठम्याइमा मूलकारण त्यही थियो । छलफलको क्रममा उनले पटक पटक दोहोर्‍याएको कुरा के थियो भने निर्देशकले उनको कृतिलाई कलाको

दृष्टिकोणबाट न्याय गर्दैनन् । अर्थात् एस्थेटिक ब्युटी जुन कुनै पनि कला सिर्जनाको अनिवार्य शर्त हो त्यो कायम नहुने अवस्था देखेकोले अनुमति खारेज गरेको भनेर भने ।

निर्देशक केदार पाठक, तुलसी घिमिरे, नवीन सुब्बाहरू जस्ता नाम चलेका त थिएनन् तर, उनले गाजल र मैना सुनार जस्तो व्यवसायिक र कलात्मक दुवैथरिका चलचित्र निर्देशन गरेर केही सफलता समेत प्राप्त गरेका थिए । उनको कला सिर्जनाको क्षमतामा त्यति धेरै प्रश्न गर्नुपर्ने ठाउँ थिएन ।

जुनकिरीको संगीतले जुन परिवेशबाट दलितहरूलाई संगठित गर्दै रक्तपात विनानै दलित मुक्तिको बाटो देखाएको थियो, त्यसलाई टेलिभिजनको पर्दामा उतार्दा त्यसले अझ व्यापकता पाउँछ भन्ने हाम्रो परिकल्पनामाथि तुषार पात भयो ।

अहिले टेलिसिरियल निर्माण तथा प्रसारण व्यवसायिक रूपमा कत्तिको लाभदायक छ थाहा छैन, तर आज भन्दा २५ वर्षअघि त त्यो सम्भावना क्षीण रूपमा पनि थिएन । त्यसैले त्यसले आर्थिक प्रतिफल दिंदैन भन्ने जान्दा जान्दै पनि हामीले निर्माणमा हात हालेका थियौं । तर दुर्भाग्यवश सो उपन्यासले पर्दामा उत्रिन पाएन ।

हामीले निर्माण गर्न नपाएपछि अरु कसैले पनि यसलाई निर्माण गर्ने आँट देखाएनन् । खगेन्द्र संग्रौलाले लेखकको रूपमा के कति गुमाए, हामीलाई थाहा भएन तर एउटा राम्रो कृति टेलिभिजनको पर्दा मार्फत लाखौं दर्शकमाझ पुग्ने अवसरबाट भने निश्चय रूपमा वञ्चित भयो । मलाई लाग्छ– सो कृति अब किताबमै सीमित हुने भयो ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School