३० कात्तिक, काठमाडौं । हनी ट्र्यापमा पारेर व्यवसायीसँग असुली गर्ने गिरोहलाई प्रहरीले सहयोग गरेको भनिएको घटनामा फरार रहेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीले गृह मन्त्रालयका उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरले प्रतिवादी बनाएपछि फरार रहेकी शाहीको तर्फबाट उनलाई कारबाही सिफारिस गर्ने समितिविरुद्ध नै उजुरी परेको हो ।
फरार इन्स्पेक्टर शाहीले केही दिनअघि गृह मन्त्रालयमा ललितपुर प्रहरीले बनाएको छानबिन समितिका संयोजक प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीविरुद्ध उजुरी दिएको मन्त्रालयका एक उच्च अधिकारीले पुष्टि गरे ।
ती अधिकारीका अनुसार, उजुरीमा डीएसपी अधिकारीले आफूविरुद्ध प्रतिशोध साँध्ने हिसाबले कारबाही गर्न सिफारिस गरेको दाबी गरिएको छ ।
‘केहीअघि गोदावरीमा गलत दृष्टिकोण राखेर उहाँले अभिव्यक्ति दिएको भन्नेदेखि अन्य केही आचरणगत विषय पनि उहाँले उल्लेख गर्नुभएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘उजुरीमा परेका विषयहरु हेर्दा ललितपुर प्रहरीबाट मात्र यो मामलामा अनुसन्धान हुँदा सही हुँदैन कि भन्ने हाम्रो ठम्याइ छ ।’
शाहीको निवेदन आएलगत्तै सत्य, तथ्य अनुसन्धान गर्न भन्दै उजुरीको प्रतिलिपिसहित प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरिएको ती अधिकारीले बताए ।
मन्त्रालयबाट उजुरीको प्रतिलिपि आएपछि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले यो मामलाको अनुसन्धान जिल्ला प्रहरी परिसर, ललितपुरबाट खोसेका छन् । यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हनी ट्र्याप प्रकरणमा अनुसन्धान थालेको छ ।
सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, अहिले ब्यूरोले शाहीले गोदावरीमा भएको भनिएको घटना र हनी ट्र्यापको मामलालाई वेग्लावेग्लै राखेर हेरिरहेको छ । ‘उहाँको कुरा ललितपुरमा छानबिन समितिले बायस भएर अनुसन्धान गर्यो, जबरजस्ती संगठित अपराधमा मुद्दा लग्यो भन्ने छ’, ती अधिकृतले भने, ‘मन्त्रालयबाट प्रहरी प्रधान कार्यालयमा निवेदन आएपछि अझै ललितपुरबाटै अनुसन्धान हुनु न्याय संगत हुँदैन भन्ने भएपछि सीआईबीले जाँच थालेको हो ।’
सीआईबी स्रोतका अनुसार, अहिले अनुसन्धान अधिकृतहरु हनी ट्र्यापकै मामलामा केन्द्रित छन् । ‘अर्को विषयमा छुट्टै छानबिन गर्नुपर्ने देखिन्छ, त्यो देख्ने मान्छेहरु अरु पनि होलान्’, स्रोतले भन्यो, ‘हनी ट्र्यापमा पार्ने गिरोहबारे चाहिँ गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’
गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन हुँदै गरेको सूचना आएको थियो ।
यो सूचना पाएपछि खनालले तत्कालीन भैंसेपाटी प्रहरी प्रमुख शाहीलाई फोन गरेर पीडित र पीडक दुवै पक्षलाई लिएर जावलाखेलस्थित कार्यालयमा आउन निर्देशन दिएका थिए । ललितपुर प्रहरीले आरोपी ताज मुल इस्लाम, १९ वर्षीय किशोरी सुष्मा विक लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो ।
जग्गा व्यवसायीसमेत रहेका ‘पीडित’लाई पनि छुट्टै राखेर बयान लिइएको थियो । त्यसक्रममा कोशी प्रदेशमा भएको घटनामा प्रहरी प्रभाग, भैंसेपाटीले अनावश्यक चासो राख्दै छलफल गराएको भेटिएको ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
यसपछि थप छानबिनको आवश्यकता देखिएको भन्दै ललितपुरका एसएसपी शेखर खनालले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनाएका थिए । समितिमा इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठ, वरिष्ठ सई लोकेन्द्र पण्डितसहितका अधिकारीहरु सदस्य थिए ।
प्रहरी स्रोतका अनुसार, शाही र इस्लामबीच सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । इस्लाम र शाहीबीच भने नेपाल प्रहरीका एसपी कमल थापाले सम्बन्ध जोडिदिएको भेटिएको छ ।
समितिको सिफारिसका आधारमा प्रहरीले इन्स्पेक्टर शाहीलाई पनि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रतिवादी बनाएको थियो । र, अदालतबाट पक्राउ अनुमति लिएर अझै उनको खोजी गरिरहेको छ ।
ललितपुर प्रहरी स्रोतका अनुसार, लेनदेन गरिएका भनिएका जग्गा व्यवसायी किशोरीसँग पूर्वका विभिन्न स्थानमा घुम्न गएका थिए । त्यसक्रममा उनीहरुबीच ‘केही लेनदेन’ समेत भएको थियो ।
पछि युवती, ताज इस्लाम, दर्शन पोखरेल लगायत पूर्वबाट ललितपुरको भैंसेपाटी आएर घटनाबारे प्रहरीलाई बताएको खुलेको छ ।
‘इन्स्पेक्टर शाहीलाई भेटेपछि भैंसेपाटी प्रहरीले ती व्यवसायीलाई बोलाएको देखिन्छ, त्यसक्रममा उनलाई केही घन्टा हिरासतमा समेत राखेको भेटिएको छ’, ललितपुर प्रहरी स्रोत भन्छ, ‘त्यतिन्जेल मौखिक सूचनाबाहेक अरु कुनै किसिमको उजुरी भैंसेपाटी प्रहरीसँग थिएन ।’
इन्स्पेक्टर शाहीले आफ्नै युनिटको प्रहरीलाई प्रयोग गरेर ठाडो निवेदन लेख्न लगाएको भेटिएको ललितपुर प्रहरीको छानबिन समितिले फेला पारेको थियो ।
अधिकारी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा भैंसेपाटीमा शाहीकै उपस्थितिका बीच इस्लामको समूह र ती व्यवसायीबीच बार्गेनिङ भएको भनिएको छ । पक्राउ परेका इस्लाम र व्यवसायी दुवैले ललितपुर प्रहरीसँग ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएको जनाएको अधिकारीहरुको भनाइ छ ।
‘५० लाखबाट सुरु भएको बार्गेनिङ ३० लाखमा टुंगिएको बयानमा खुलेको छ’, ललितपुर प्रहरी स्रोतले भन्यो, ‘सहमतिपछि ७ लाख रुपैयाँ व्यवसायीले तुरुन्तै इस्लामले भनेअनुसार भीमादेवी बुढाथोकी नामको खातामा पैसा हालिदिएको खुलेको छ ।’
बाँकी रहेको २३ लाख रुपैयाँमध्ये १३ लाख रुपैयाँ अर्को दिन फेरि बुढाथोकीकै नाममा बैंकमा जम्मा गर्न लगाएको पाइएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
इन्स्पेक्टर शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल पनि बैंकमा पैसा जम्मा गर्न जाँदा व्यवसायीसँगै बैंक पुगेको खुलेको छ । यसपछि ललितपुर प्रहरीले हमाललाई समेत पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
ललितपुर प्रहरीले यो मामलाबारे थाहा पाउँदा बाँकी रहेको १० लाख रुपैयाँको चेक इस्लामसँगै थियो । तर, ललितपुर प्रहरीले छानबिन गरिरहेका बेला इन्स्पेक्टर शाहीले प्रमाण मेटाउने प्रयास गरेको अधिकृतहरुको भनाइ छ ।
अधिकृतहरुका अनुसार, घटनामा संलग्नहरुलाई बेग्लाबेग्लै राखेर सोधपुछ भइरहेका बेला इन्स्पेक्टर शाहीलाई भने बाहिरै राखिएको थियो । तर, तिनै शाहीले आफूविरुद्धको प्रमाण मेटाउन प्रहरी कार्यालयबाटै इस्लामसँग भएको मोबाइल र चेक गायब पारेको अधिकृतहरुको भनाइ छ ।
छानबिनमा संलग्न अधिकृतहरुका अनुसार, उनले आफ्ना सवारी चालक सहायक हबल्दार महेन्द्र हमाललाई प्रयोग गरेर इस्लामबाट मोबाइल र चेक लिएको पाइएको छ ।
एसपी थापासँग बयान कागज
प्रहरी स्रोतका अनुसार, शाही र इस्लामबीच सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । इस्लाम र शाहीबीच भने नेपाल प्रहरीका एसपी कमल थापाले सम्बन्ध जोडिदिएको भेटिएको छ ।
‘थापा एसपी सा’ब सुनसरीमा प्रहरी प्रमुख हुँदा इस्लामसँग चिनजान रहेछ, उहाँले शाही इन्स्पेक्टर सा’बसँग चिनजान गराइदिनु भएको रहेछ’, स्रोतले भन्यो, ‘थापा सा’बसँग इस्माइलको भेट भएको समेत देखिएको छ ।’
यो मामलामा एसपी थापा पनि जोडिएपछि सीआईबीले बिहीबार बोलाएर बयान लिएको छ । त्यसक्रममा उनले अनुचित लेनदेनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
‘सुनसरी बस्ने अरु एसपी सा’बहरुसँग पनि उसको चिनजान थियो, प्रहरीलाई सूचनाहरु दिने गर्थ्यो ’, उनले बयानमा भनेका छन्, ‘पछिल्लो पटक पनि उसले एउटा महत्वपूर्ण सूचना दिन्छु भनेपछि भेटेको थिएँ ।’
थापा कञ्चनपुरमा एसपी हुँदा शाही त्यहीँ कार्यरत् थिइन् । त्यही चिनजानका आधारमा बलात्कार भएको भन्ने बताएपछि भैंसेपाटीमा जान आफूले भनिदिएको उनले बताएका छन् ।
सीआईबीका अनुसन्धान अधिकृतहरुका अनुसार, हालसम्म ताजले नै एसपी थापालाई पटकपटक फोन गरेको देखिएको छ ।
‘कल डिटेल रेकर्ड (सीडीआर) मगाएर पनि हेरेका थियौं, त्यसक्रममा थापा सा’बले भन्दा पनि उसले नै निरन्तर फोन गर्ने गरेको देखिएको छ’, सीआईबीका एक अधिकृतले भने, ‘हालसम्म उहाँको खातामा पैसा गएको पनि फेला परेको छैन ।’
सीआईबीका अनुसन्धान अधिकृतहरुका अनुसार, यो मामलामा प्रहरी अनुसन्धान लगभग अन्तिम चरणतिर पुगेको छ । केही दिनमै रायसहितको प्रतिवेदन तयार हुनेछ र सरकारी वकिलको कार्यालयमा पठाइनेछ । सरकारी वकिलले अध्ययनपछि अदालतमा मुद्दा दायर गर्नेछ ।