आज ‘नहाय खाय’:तराईवासी सबैको बन्दै छठ

आज ‘नहाय खाय’:तराईवासी सबैको बन्दै छठ


प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान मंगलबार सुरु हुँदै छ। शास्त्रीय मान्यताअनुसार छठको पहिलो दिन मंगलबार व्रतालुले ‘नहाय खाय’ गरी यो पर्वको विधिवत सुरुआत गर्दै छन्। उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि मधेसलगायत मुलुकभरका नदी तथा खोलाकिनार, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिसकिएको छ।

व्रतालुले पहिलो बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरूवा चामलको भात, रहरको दाल र तरकारी (वर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गर्छन्। ‘नहाय खाय’को विधिपछि उनीहरू दोस्रो दिन (बुधबार) साँझसम्म उपवास बस्छन्।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले चार दिनसम्म कठिन उपवाससहित यो पर्व मनाउँछन्। यो पर्वमा पुरुषको सहायक भूमिका हुन्छ। प्राचीन कालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन रहिआएको छ। यो पर्वका लागि व्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।

व्रतालुले नै पूजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय वा नदी–खोलाकिनारसम्म दीपावलीमय वातावरण हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबिचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।

पर्वको दोस्रो दिन साँझ व्रतालु चोख्याइएको एक कोठाभित्र खिर, केरालगायत परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गर्छन्। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले व्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छरछिमेकलाई बाँड्छन्।

घरभित्रै दुईदिने विधिपछि बिहीबार साँझ (सँझिया घाट) र शुक्रबार बिहान (भोरका घाट) जलाशयकिनारमा ठेकुवा, भुसुवा, उखु, केरा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अ­घ्र्य दिएपछि यो पर्व समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाइरहेको सूर्यलाई प्रसादसहित दूध एवं जलको अघ्र्य दिन्छन्। छठ नसकुन्जेल व्रतालुले घरमा समेत दीपावली गर्छन्।

छठी मातालाई दुर्गा एवं लक्ष्मीको रूपमा सम्झिँदै दसैं एवं तिहारमा समेत मधेसवासीले छठको गीत गाउँछन्। चौथो दिन बिहानको अन्तिम अ­घ्र्यपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ।

लगातार चौथो दिनसम्म व्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छन्। नसक्ने भएपछि वरीयताका क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो छठ। नसक्नेले मागेर पनि गर्छन्। भाकलअनुरूप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ।

समानताको पर्व

सिरहाको भगवानपुर–३ नरहाकी बुजुनदेवी मलिकले वर्षौंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको व्रत लिई अघ्र्य चढाउँदै आएकी छिन्। यस पोखरीमा बुजुन मात्र होइन्, टोलका अन्य जातका व्रतालु पनि छठ पूजा गर्छन्। पछिल्लो समय पोखरीमा मात्र नभई समाजमा पनि छुवाछुतको भेद हट्दै गएको उनले सुनाइन्। ‘पहिला कोनिया, ढाकी किन्न आउने अन्य जातका मानिस टाँढै बस्थे,’ उनले भनिन्, ‘अहिले लेनदेन गर्दा छोइए पनि सहज मान्न थालेका छन्।’

सिरहा नगरपालिका–२ गोढियारीकी पूजा मलिक टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँछिन्। यही पोखरीमा यस टोलका अन्य जातका व्रतालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछुतजन्य भेदभाव गरे पनि छठ घाटमा सबै सँगै हुन्छन्। न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग। मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछुतको पीडा भुल्छौं।’

लहानकी मिना मलिकले लहान नगरपालिका–३ रघुनाथपुर पोखरीमा छठ पूजा गर्न थालेको तीन वर्ष भयो। यहाँ अन्य जातका व्रतालु पनि छठको अघ्र्य चढाउँछन्। ‘पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठ्छन्,’ मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’

छठ घाटमा सबै जातजातिको पूजासामग्री सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातका सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछुत मान्दैनन्।’

सिरहा मिर्चैया नगरपालिका–६ मिटअर्वा गाउँकी सुमित्रा मलिक भन्छिन्, ‘छठले छुवाछुतको पीडा मात्र भुलाउँदैन, आर्थिक पीडा पनि भुलाउन मद्दत गर्छ। बाँसको समग्रीको माग बढ्ने भनेकै छठ पर्वमा हो।’

छठ पर्वलाई पहाडी मूलका महिलाले पनि मधेसी महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ। छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका सहप्राध्यापक उमेशकुमार झाको तर्क छ। पहाडी समुदायका महिला पनि उत्साहपूर्वक छठ व्रत तथा पूजामा सहभागी हुँदै आएका छन्।

 गोलबजार–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५८ वर्ष भयो। छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। उनी शारीरिक रूपमा कमजोर भएपछि ६ वर्षदेखि उनकी बुहारी रञ्जुले यो अनुष्ठान गर्दै आएकी छिन्। सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ।

परिवारमा विश्वास छ– डम्बरकुमारीलाई छठी मैयाँले ठूलो उपहार दिइन्। मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको उनको अनुभव छ। सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य रहेको उनी बताउँछिन्।

३६ घण्टा निर्जल वा निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् रञ्जु। ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ। पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले हिमाल–पहाड–मधेसको सम्बन्ध जोड्दै छ,’ आमाको बिँडो थामेर एक दशकदेखि छठ व्रत बस्दै आएकी लहान नगरपालिका–४ रघुनाथपुरकी अम्बिका यादव भन्छिन्, ‘छठ घाटमा मधेसी–पहाडी, दलित–गैरदलित, हिन्दु–मुस्लिम भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन्।’ विभिन्न धार्मिक मान्यता एवं आस्थाअनुरूप परिवार कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धिको कामना गर्दै छठ मनाइन्छ।

छठको पूजाविधि

कात्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ आरम्भ हुन्छ। तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ। छठको सुरुवात मानिने यस दिनलाई व्रतालुहरू ‘नहाय खाय’ भन्दछन्। बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाईधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन्।

दोस्रो दिन

विधिवत रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खरना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर ग्रहण गर्दछन्। यस दिन एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार वा निर्जल व्रतको पूर्वाभ्यास हो।

तेस्रो दिन

छठको तेस्रो दिन अर्थात् छठ पर्व। यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निर्जल बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्।

छठको दिन सूर्यलाई चढाउन बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन्। यस दिन छठ घाटमा रातभर भजनकिर्तन र नाचगान हुने गर्दछ। घाटलाई बेहुलीझैं सिँगारिएको हुन्छ। प्रातःकालीन अ­र्घ्यका लागि केही व्रतालु छठ घाटमै बस्छन्। भोलिपल्ट पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन्।

चौथो दिन

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन्। बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठेकुवा, भुसुवा, फलफूल र मिठाईजस्ता प्रसाद अर्पण गर्दछन्।

कृषि उत्पादन नै पूजाको प्रसाद

छठमा कृषि उत्पादनलाई प्रसादको रूपमा चढाइन्छ। झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ। यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ। छठ सुरु हुनुअघि देखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीले बताए।

गबडी धान (साठी) सुठुनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोग किसान र कृषि उत्पादनको कदर र प्रोत्साहन हो। उखु, चामल, केरा जस्ता दर्जनौँ कृषिउपजको छठमा उपयोग हुन्छ।

वैज्ञानिक मान्यता

सूर्यलाई भौतिक ऊर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्पद फल, मोक्षप्राप्ति, आयु, प्राण, आत्मोन्नति, ब्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतीक मानिन्छ। सूर्य जगतको आदि कारण भएकाले आदित्य, ऊर्जा–शक्ति उत्पत्ति गर्ने स्रोतका रूपमा चिनिन्छ। सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतीक पनि मानिन्छ।

जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह नक्षत्र, संवत्सर, समय, काल सबैका कार्यकारक सूर्य नै हुन्। सूर्य चिकित्सा पद्धति नै हो। जसमा चर्मरोग मात्र नभई अन्य रोगको निदान हुन्छ। चर्मरोगका विभिन्न प्रकारमध्ये कुष्टरोग (ल्याप्रोसी), रातो धब्बासहितको छालारोग (सोरियासिस) र सेतो दाग (ल्युकोडर्मा) हुन्।

यी चर्मरोग छठको बेला अर्थात् सूर्यको रातो किरण समान रूपमा पर्ने समयमा स्नान गर्दा निको हुने विश्वास छ।

सूर्यमा हाइड्रोजन, हिलियम, आइरन, निकेल, अक्सिजन, सिलिकन, सल्फर, म्याग्नेसियम, कार्बन, नियोन, क्याल्सियम, क्रोमियमलगायतका तत्त्व हुन्छन्। त्यसबाट सात रङको किरण उत्पन्न हुन्छ। ती किरण शारीरिक उपचार र जीव विकास क्रमको प्रमुख द्योतक हुन्। सूर्य चिकित्साको सिद्धान्तअनुसार रोगोत्पत्तिका कारण शरीरमा रहेका विभिन्न रङहरूको उतारचढाव हो। सो चिकित्साअनुसार रङहरूले शरीरमा विभिन्न कार्य गर्छन्।

त्यही बढी कमी भएपछि विभिन्न रोगहरू लाग्ने गर्छ। उदाहरणका लागि रातो रङ उत्तेजना र नीलो रङ्गले शक्ति उत्पन्न गर्छ। सूर्यको किरणमा रहेका सात रङ अर्थात् परावैजनी किरणले विभिन्न रोगका किटाणुलाई नष्ट पारी स्वस्थ जीवन प्रदान गर्दछ। वैज्ञानिक तथ्यअनुसार सूर्योदय वा सूर्यास्तको समयको रातो किरणले हृदय रोग निको पार्छ। त्यो समयमा पृथ्वीमा समान रूपले किरण परेको बेला स्नान गर्दा चर्मरोगमा रहेका ब्याक्टेरिया नष्ट पारी निको बनाउँछ।

वैदिक मान्यता

सूर्यलाई वैदिक कालदेखि नै प्रमुख देवता मानिएको छ। प्रथम वेद ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ। विश्वका सबै जीवजन्तु र वनस्पति सूर्यकै तापबाट बाँचेका छन्। अथर्व वेदमा त सूर्यलाई ब्रह्माका रूपमा मानिएको छ। छठ पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै सूर्यकै कृपाबाट उत्पादन गर्न सफल कृषि सामग्री र मानवका सन्तान वृद्धिका लागि उसैको कृपा रहेको हुँदा ‘छठी मैया’ भनिएको हो।

छठलाई स्त्रीलिङ्गी रूपमा सम्बोधन गरिए पनि यस पर्वमा सूर्यको पूजा, आराधना र उपासना गरिन्छ। पौराणिक मान्यताअनुसार सूर्यदेव (लोकभाषामा दिनानाथ)को उपासना नै छठको मौलिकता हो। 

छठ पर्वमा एकैसाथ सूर्य–चन्द्र, आगो–पानी, पृथ्वी–वायुको आराधना एवं उपासना गरिन्छ अर्थात् सम्पूर्ण शक्तिको उपासना गरिन्छ। त्यसैले कहीँ सूर्य देवताको त कहीँ गंगा मैया त कहीँ छठी मैयाको प्रतिमा बनाई पूजा गरिएको हो।

वास्तवमा छठ पूजा भनेको मूर्ति पूजा वा कुनै आकृतिको पूजा होइन। सूर्य ऊर्जाको बिम्ब, जलको स्वछन्दताको लहर, प्राण–वायुको वेग, अग्नि देवताको तेज र धर्तीमाताको ममताको एकसाथ पूजा, उपासना एव आराधना हो। छठीमाई भनेको पनि यी सम्पूर्ण बिम्ब, लहर, वेग, तेज र ममताको समागम स्वरूप तथा प्रतिबिम्ब हो।

प्राचीन मधेस र मगध क्षेत्रमा बालबालिका जन्मेको छैठौं दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रूपमा ‘छठियार’ पुज्ने गर्छिन्। लोक विश्वास के छ भने छठीमैयाले बालकको भाग्य–भविष्य त्यसै दिन लेख्ने गर्छिन्। अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठीमैयाको न्यानो काख पाउने विश्वास छ। यी मैयाले शिशुको माया–दुलार गरी हर्ष–आनन्द प्रदान गर्ने गर्छिन् भन्ने मान्यता छ।

सूर्यलाई भौतिक ऊर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्पद फल, मोक्षप्राप्ति, आयु, प्राण, आत्मोन्नति, ब्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतीक मानिन्छ। सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतीक पनि मानिन्छ। जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह नक्षत्र, संवत्सर, समय, काल सबैका कार्यकारक सूर्य नै हुन्।

धर्ती हामी सबैकी आमा हुन्। ममता, सहनशीलता एवं जीवनको प्रीतक हुन्। अग्नि ऊर्जाको स्रोत हो भने वायु प्राण हो। जल जीवन हो, त्यसैले छठीमाईको उपासना भनेको आदित्य, जीवन, ऊर्जा–शक्ति उत्पत्ति गर्ने आमाका रूपमा सम्पूर्ण उपासना गर्नु हो। छठीमाई भनेको प्रकृति देवी हुन्, छठ पर्व भनेको किसानहरूको पर्व हो।

पुरोहितबिनाको प्राकृतिक पर्व

हिन्दुहरूले मनाउने हरेक पर्वमा स्थानअनुसार अलगअलग प्रचलन छ। कतिपय पर्वमा परिवारपिच्छे आराधनाका अलग अलग तौरतरिका छन्। तर छठको पूजासामग्री, अ­घ्र्य दिने समय तथा स्थल (खुला अकाशमुनि जल थल) र पूजा विधिमा खासै भिन्नता देखिँदैन। पुरोहित चाहिँदैन, कुनै खास भाषामा मन्त्रजाप गरिँदैन। जातीय विभेद छुवाछुतको मान्यता छैन।

कृषि उपजबाहेक अन्य वस्तु पूजा सामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन अर्थात् मानिस कृषि युगमा प्रवेश गरेपछि प्रारम्भ गरिएको पर्व हो यो।

प्रकाशित: २० कार्तिक २०८१ ०६:५० मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School