दशैंको छेकोमा छालबाटो पढें । पत्रकार एवं लेखक रमेश भुसालकृत गैरआख्यान । कर्णालीतिर स्थानीय भाषामा नदीलाई छालबाटो भन्दा रहेछन् । नदीमा छाल उठ्ने भएकोले छालबाटो भनेको हो कि ? पुस्तक पढ्दा भने आफैं छालबाटोको किनारै किनार हिँडिरहेजस्तो महसुस गरें ।
पढ्ने सूचीमा छालबाटो अगाडि थियो तर दशैंको मुखमै कोरी र क्हफुचेको पदयात्रामा निस्केपछि दुई हप्ता धकेलियो ।
कर्णालीको ल्याण्डस्केप, भूगर्भ, जल, जैविक विविधता र कर्णालीतटका बासिन्दाका सामाजिक एवं सांस्कृतिक अध्ययन गर्न एउटा टोली निस्कन्छ मिसनमा । यात्राको अगुवाइ नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले गरेका छन् । टोलीमा नेपाली र विदेशी विज्ञहरु सहित १२ जना छन् । उनीहरु ४५ दिन लगाएर दुई हजार किलोमिटर यात्रा गर्छन् । तिब्बत, नेपाल र भारतका छालबाटो पछ्याउँदै ।
कर्णालीको उद्गम कैलाशदेखि कहिले गुडेर कहिले, हिँडेर त कहिले डुंगामा हुन्छ यात्रा । यात्रावृत्तान्त स्थान विशेषमा मात्र सीमित नरहेर त्यसले हिमालय पर्वतको उद्विकास, तिब्बती पठारबाट निसृत नदीप्रणालीहरु, जलविद्युत परियोजनाको अध्ययनको इतिहास, बर्दियाको बाघ संरक्षण र भारतमा कर्णालीको अवतार गंगाबारे पाठकलाई तीन देशको फरक संसारमा विचरण गराउँछ ।
लेखकको भौतिक यात्राको समान्तर पाठकले मानसिक यात्रा गर्दछन् । पुस्तकले मभित्र एउटा विशद र लामो कष्टसाध्य यात्राको प्रभाव छाडेर गयो । जसमा उत्सुकता, विस्मय, आनन्द, भय, दुख र उदेकको ईन्द्रेणी प्रभावहरु छन् ।
यात्रा प्रारम्भ हुन्छ, रसुवागढी नाकाबाट । तिब्बत प्रवेश गर्दा अपनाउनुपर्ने अध्यागमन सम्बन्धी प्रक्रिया, रोबोटजस्ता भावहीन चिनियाँ अधिकारी र कडा चेकजाँचले अचम्मित तुल्याउँछ । यतिविधि पनि निगरानी हुन्छ र ? मनमा भाव आउँछ । रसुवागढी नाकाबाट २४ किमीको दूरीमा खुशीको उपत्यका भनिने केरुङ अवस्थित छ ।
भर्खर बसेको केरुङ शहर किशोर छ । त्यहाँ तीनवटा डान्स बारहरु छन्, जहाँ नेपाली युवतीहरु काम गर्छन् । केरुङ, सागालगायत तिब्बती पठारका अन्य ठाउँहरुमा धमाधम निर्माण भइरहेका अत्याधुनिक शहरहरु, फराकिलो सडक, दोकान र डान्सबारले चिनियाँहरु तिब्बतियनलाई भौतिक सुविधा र मनोरञ्जनमै भुलाइराख्न चाहन्छन् भनेर बुझ्न कठिन पर्दैन । चीन सरकारले पर्यटकमाथि चौबीसै घण्टा सुक्ष्म निगरानी राख्छ । कहाँसम्म भने, पर्यटक चढ्ने गाडीमाधरि दुईवटा सिसिटिभी राखिएको देखेपछि यात्रीहरु सशंकित बन्छन् ।
तिब्बतमा फोटो खिच्न र स्थानीयहरुसँग कुराकानी गर्न मनाही छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम प्रतिबन्धित भएकोले घरमा खबर गर्न सकिँदैन । भाषा उसै अवरोध भइहाल्यो । कतै निस्कन जाउँ भन्दा गाइड पेमा भोटे कुकुरले टोक्छ भनेर तर्साउँछन् । चौंरी पालकको देशमा भोटेकुकुरहरु हुन्छन् नै तर टोक्ने सम्भावना पेमाले भनेजस्तो बढी नै छ वा चिनियाँहरुले देशमा कुनै फसाद नहोस् भनेर त्यो रणनीति अपनाएका हुन्, भुसाल अन्यौलमा छन् ।
तिब्बती गाइड मिङमार मिजासिलो तर खरो छन् । मिङमारले सुरुमै उर्दी जारी गर्छन्– देयर इज नो ह्वाई इन चाइना । चिनियाँ अधिकारीहरुसँग सवाल जवाफ नगर । जे आदेश दिन्छ, त्यसको पालना गर । तिब्बत यात्राभरि यात्राको कमाण्ड मिङमार सम्हाल्छन् । नेपाली गाइड पेमाको भूमिका मिङमारको सहायकजस्तो मात्र छ ।
हुम्लाका छैग्याङ तामाङ भन्छन्– ‘चीनको शासन राम्रो, भारतको रासन राम्रो, नेपालको भाषण राम्रो ।’ हुम्ला तुम्कोटस्थित कर्नाली किनारमा भेटिएका वस्तुभाउसँग उभौली उधौली गर्ने लोहर शाही र जुना शाहीसँगको कुराकानी पनि कम्ता रोचक छैन ।
स्न १९५९ मा तिब्बती धर्म गुरु दलाई लामाको नेतृत्वमा ८० हजार भन्दा बढी तिब्बती भागेर नेपाल र भारत पसेका थिए । भनिन्छ, सांस्कृतिक क्रान्तिको बेला रेड गार्डले हजारौं गुम्बाहरु र बौद्धग्रन्थहरु जलाइदिएका थिए । त्यसरी तिब्बत छाड्ने क्रम पछिसम्म चलिरह्यो । त्यही सिलसिलामा सन् ९० को दशकमा ल्हासाबाट भागेर भारतको धर्मशाला पुग्छन्, मिङमार । रसिक मिङमार यात्रा तालिकामा भने कडा छन् ।
मानसरोवर ताल, कर्णालीको शिर माप्चा खम्बाब हेरेर टोली अभिभूत हुन्छ । कर्णाली राक्षस तालबाट निसृत छैन भन्ने ठहर गर्छ । कठोर निगरानीमा बसेर यात्रा गर्नुपर्ने अवस्थाको क्षतिपूर्ति हिल्सा नाका हुँदै नेपाल छिरेपछि पूरा गर्छन्, लेखक । समय मिल्नासाथ, फोटोग्राफर नवीनसँग कर्णालीतटका स्थानीय बासिन्दा भेट्छन् र कुराकानी थाल्छन् । चाहे हिल्सा नाकामा पहिलोपटक होटेल खोलेकी पेमा आङ्ग्मो हुन् वा हुम्लाका छैग्याङ तामाङ । पेमा तिब्बतकी छोरी, नेपालकी बुहारी । उनी आफन्तझैं सोच्छिन्, ‘तिब्बतमा विकास त छ तर नेपालमा जस्तो शान्ति छैन । त्यहाँ (तिब्बतमा) गुम्बा जान पाउँदैन, धर्म मान्न पाउँदैन ।’
छैग्याङ तामाङ अर्को रोचक पात्र छन् । उनी भन्छन्, ‘चीनको शासन राम्रो, भारतको रासन राम्रो, नेपालको भाषण राम्रो ।’
हुम्ला तुम्कोटस्थित कर्नाली किनारमा भेटिएका वस्तुभाउसँग उभौली उधौली गर्ने लोहर शाही र जुना शाहीसँगको कुराकानी पनि कम्ता रोचक छैन । हिल्सा नजिकको यलबाङसम्म म आफू पनि पुगेको हुनाले यलबाङदेखि केर्मी, सल्लीखोला, सिमकोट, खार्पूनाथ र सर्केगाडका दृश्यहरु मनमा ताजा हुँदै आए । अन्य स्थानहरुमा भने नपुगेकैले छालबाटोको किनारै किनार हिँडेजस्तो रह्यो ।
लेखक भुसाल नदीलाई नजिकबाट बुझ्ने लेखक रहेछन् भन्ने उनको पुस्तक पढ्दा थाहा पाइन्छ । नदीलाई उनी प्राकृतिक सौन्दर्यको दृष्टिले मात्र नभई भौगर्भिक स्केलको लामो टाइमफ्रेममा राखेर उद्विकासको कोणबाट पनि हेर्न रुचाउँछन् ।
पृथ्वीको उदभव्, पर्वत श्रृखलाहरु बन्ने भौगर्भिक कन्टिनेन्टल ड्रिफ्ट प्रक्रिया र नदीहरुले कसरी पर्वतश्रृंखला काटेर छालको बाटो बग्दैछन्, त्यसको विज्ञानसम्मत् व्याख्या उनी गर्छन् । लेखकले टोलीका वैज्ञानिकहरुसँग आफ्ना जिज्ञासाहरु राखेका छन् र प्राप्त जवाफलाई पुस्तकमा समेटेका छन् । प्राविधिक कुरा पनि मनमोहक शैलीमा पस्कन सक्नु लेखकको सवलता हो ।
हास्य पूटले कमिक रिलिफ पनि दिएको छ । उदाहरणका लागि, तिब्बतमा मनलागेको ठाउँमा स्वतन्त्र घुम्न नपाउँदा लेखक मुर्मुरिन्छन् । आफ्नो केही नचल्ने भएपछि भुसालको परिहासयुक्त वाक्य छ– ‘तिब्बतमा रिसलाई उठाउने हो र फेरि रिसलाई सुताउने हो ।’
आफ्नो लाचारीलाई व्यक्त गर्न योभन्दा सटिक वाक्य विरलै होला ! अर्को प्रसँग पनि कम्ता हाँसलाग्दो छैन । नेपाल छिरेपछि मात्र डुंगाको यात्रा थालिन्छ । ‘गड्स हाउस’ भन्ने खतरनाक छाल (र्यापिड) देखेपछि रिभर गाइडहरु डुंगा लग्ने कि नलग्ने, अलमलमा पर्छन् । छालको केही अगाडि डुंगा रोकिन्छ र छलफल गरिन्छ । ‘रिस्क नलिउ, बोकेरै डुंगा किनारै किनार झारौं’ एक जना रिभर गाइड भन्छ ।
नेपालीहरु र्याफ्टिङ कम गर्ने हुनाले प्याडलमा चाहिने बल नपुग्ला भनेर सबै असमञ्जसमा परेका बेला अर्को गाइडले चर्कंदै भन्छ, ‘सबै सजिलो मात्र गर्ने भए, कर्णाली किन आउनुपर्यो ? रिस्क लिन सिक्नुपर्यो केटा हो !’
अन्तिम सल्लाह गर्न सबै गाइड नजिकको ठूलो ढुंगामाथि उभिएर ‘गड्स हाउस’को छाल हेर्छन् । त्यसपछि डुंगा लग्ने निर्णय गर्छ । त्यसपछि डरले खुम्चिएका लेखक डुंगा चालक मदनलाई भन्छन्, ‘डुङगा पल्टियो भने के गर्ने यार ? मलाई त पौडी राम्रोसँग खेल्न आउँदैन । मलाई पहिला उद्धार गर है ।’
टोली प्रमुख मेघले कथंकदाचित डुंगा पल्टिहाले कसरी बच्ने भनेर बताउँदै हुन्छन् । गाइडहरु छाल पार गरिन्छ भन्नेमा विश्वस्त भइरहँदा लेखक भने डुंगा पल्टियो भने कसरी उत्तानो परेर मेघको सुझाव अनुसार बग्ने भन्ने चिन्तामा डुबेका हुन्छन् । यस प्रसंगमा मन्द हाँसो उठ्छ । लेखक सुक्ष्म अवलोकन गर्न खप्पिस छन् । बेलाबेला जम्काभेट हुने कथाको वर्णनमा त्यो प्रष्ट देखिन्छ ।
किताबमा माछा घट्दै गइ राजीको रोजीरोटी अप्ठ्यारोमा परेको, सोनाहाले कर्नालीको किनारमा अथाह बालुवा चाल्दै सुनको कणहरुको खोजी गरेको मर्मस्पर्शी वर्णन छ ।
यात्राको उद्देश्य छ, कर्णालीलाई नजिकबाट बुझ्ने र कर्णालीलाई प्राकृतिक स्वरुपमै निर्वाध बग्न दिन वकालत गर्ने । एक अर्थमा सबै यात्रीहरु अभियन्ता हुन् । लेखक भुसालले नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलाई एक दिन प्रश्न गर्छन् ‘कर्नालीलाई किन जोगाउने ?’
मेघ कर्णाली नदीमा सुरुवाती दिनहरुमा व्यावसायिक र्याफ्टिङ गर्ने मध्येका एक हुन् । साथै धेरै रिभर गाइडका गुरु पनि । आले जवाफ फर्काउँछन्, ‘बिजुली त कर्नालीका अरु शाखा नदीमा पनि निस्किन्छ नि ! अहिले विद्युत विकास विभागले जारी गरेको जलविद्युतको लाइसेन्सको तथ्यांक हेर्दा कर्नाली नदी वेसिनका अन्य शाखा नदीहरुमा मात्रै ६ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न अनुमति बेदिइएको देखिन्छ ।
ती नदीबाट बिजुली निकाल्ने तर चीन र भारत जोड्ने कैलाशदेखि गङगा जोड्ने मूल कर्णालीलाई निरन्तर बग्न दिनुपर्छ । नेपालमा ६ हजार नदीनाला छन् । एउटा नदीलाई पृथ्वीमा निरन्तर बग्न दिए के बिग्रिन्छ ? भविष्यका लागि दान दिए हुन्न ?’
यी हरफहरुमा मेघ पर्यावरणकेन्द्रित चेतनाको संवाहक देखिन्छन् । मेघको जोड बरु कैलाश टू गंगा सांस्कृतिक तथा धार्मिक ट्रेल बनाएर पर्यटकहरुलाई आकर्षित गर्नुपर्छ भन्ने रहेछ ।
वातावरणवादमा विचारका दुई पाठशाला छन्– पर्यावरणकेन्द्रित (इकोसेन्ट्रिक) र मानवकेन्द्रित (एन्थ्रोपोसेन्ट्रिक) । मेघ पर्यावरणकेन्द्रित पाठशाला, डिप इकलजीको विद्यार्थी प्रतीत हुन्छन् । झोलामा खोला बोकेर हिँड्ने नेपाली समाजले त्यो सपनालाई कति पछ्याउला, त्यो हेर्न बाँकी नै छ । तर, जड समाजलाई झकझकाउन यस्तै र्याडिकल भिजन आवश्यक छ ।
मेघको अभियानबारे सोच्दा सुदूर विगतमा राष्ट्रिय निकुन्जका पिता मानिने स्कटिस अमेरिकन जोन म्यूरको सम्झना आयो । म्यूर र सेइरा क्लबले योसेमेटी उपत्यकाको प्राकृतिक सुन्दरता र जैविक विविधता देखेर संरक्षणको अभियान छेडे । इतिहासमा यस्तै एक अभियान योसेमेटी राष्ट्रिय निकुन्ज भित्रको हेच हेची ड्याम नामले परिचित छ । अमेरिकी सरकारले हेच हेचीमा बाँध बाध्ने योजना बनाएपछि म्यूरहरु सो निर्णयको विरुद्धमा लाग्छन् तर अन्तत पराजित हुन्छन् ।
सन् १९१३ मा अमेरिकी सरकारले बढ्दै गएको सन फ्रान्सिस्कोको जनसंख्याको पानीको आवश्यकता पूरा गर्न त्यहा बाँध बाँध्ने निर्णय गर्छ । बाँध बन्छ र हेच हेची उपत्यकामा लाखौं वर्षदेखि अविच्छिन्न प्रवाहित पानी अवरुद्ध हुन पुग्छ । पानीलाई निर्वाध बग्नदिने अभियान संसारकै सुन्दर अभियान हो तर सायद संसारकै सबभन्दा कठिन पनि । आधा लिटर पानी धरी प्लास्टिक बोतलमा बेच्ने वैश्विक बजारले त्यो सपनालाई निमोठ्दैन भन्ने के ग्यारेण्टी ?
अकोतर्फ पुस्तकले तत्कालीन राजनैतिक नेतृत्वको अल्पदृष्टि पनि उजागर गर्दछ । खासमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई र्याफ्टिङमा कर्णाली नदीको सयर गराउने र कर्णालीको भविष्यबारे छलफल गर्ने यात्राको अर्को उद्देश्य हुन्छ । मुख्यमन्त्री भनेकै समयमा दलबलसहित आइपुग्छन् । कर्णाली नदीको किनारमा आलेले मुख्यमन्त्रीलाई प्रश्न सोध्छन्, ‘कर्णाली नदीको विकास कसरी गर्ने होला, मुख्यमन्त्रीज्यू ?’
मुख्यमन्त्रीले जवाफ दिन्छन्, ‘यो त सुनको व्यापार गर्ने बाटो हो । इतिहास हेर्नुहोस्, नेपालमा सबैभन्दा धनी कर्नालीबासी थिए । तर जब नेपाल एकीकरण भयो र राजधानी काठमाडौं भयो, त्यसपछि हामी झन्झन् पछाडि पर्यौं । राज्यले आफ्ना आँखा यहाँ पुर्याउन सकेन । इतिहासपछि मुख्यमन्त्री एक्कासी सुनौलो भविष्यतिर हानिए र भने– अब कर्णालीमा रेल आउँछ ।’
त्यो जवाफ सुनेपछि लेखकलाई उकुसमुकुस हुन्छ ।
अर्को दिन समय निकालेर नदी किनारमा घोप्ट्याएको कायकमा बसेर अन्र्तवार्ता लिइन्छ । यसपटक प्रश्न भुसालले सोध्छन् ‘यो कर्णाली नदीबारे तपार्इंको धारणा के छ ?’
यहाँ पनि मुख्यमन्त्रीले इतिहासमा कर्णालीमाथि अन्याय भएको कुरा दोहोर्याउँदै कर्णाली चिसापानीसम्म पानीजहाज ल्याउन सके, त्यहाँबाट हुम्लासम्म पानीजहाजको मार्ग बनाउन सक्ने बताउँछन् । इतिहास धेरै सम्झने तर सुल्झेको विचारले भविष्य सोच्न नसक्ने नेतृत्व देखेर भुसाल ठहरै हुन्छन् ।
छालबाटोमा लेखक भुसालको मनको अनुभूतिमात्र छैन अपितू कर्णाली नदी, कर्णाली ल्याण्डस्केपको भूगर्भ, जलविद्युत आयोजना बनाउन लाइसन्स लिने र सर्भेक्षण गर्ने कम्पनीहरुको इतिहास पनि दिइएको छ साथै नदीमा आधारित राजी, सोनाहाजस्ता सीमान्तकृत समुदायको जीवन सर्घंष र पीडाहरु पनि समेटिएको छ ।
माछा घट्दै गइ राजीको रोजीरोटी अप्ठ्यारोमा परेको, सोनाहाले कर्नालीको किनारमा अथाह बालुवा चाल्दै सुनको कणहरुको खोजी गरेको मर्मस्पर्शी वर्णन छ । त्यस्तै गंगामा हिन्दु धर्मावलम्वीहरुको धार्मिक कर्मकाण्डको इतिवृत छ ।
कर्नाली नदी वेसीनका अन्य शाखा नदीहरुमा मात्रै ६ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न अनुमति दिइएको देखिन्छ । ती नदीबाट बिजुली निकाल्ने तर चीन र भारत जोड्ने कैलाशदेखि गङ्गा जोड्ने मूल कर्णालीलाई निरन्तर बग्न दिनुपर्छ । नेपालमा ६ हजार नदीनाला छन् । एउटा नदीलाई पृथ्वीमा निरन्तर बग्न दिए के बिग्रिन्छ ?
यात्राको अनेकन गुण मध्ये एक छ– यसले मान्छे चिनाउँछ । सँगै हिँड्दा, बस्दा, खाँदा र बात मार्दा सहयात्री चिनिन्छ । हप्ता दिन यात्रामा सँगै हिँड्नुपर्छ, को कस्तो हो ? बखुबी चिनिन्छ । मेरो अनुभवले पनि मलाई बताएको कुरा हो यो । छालबाटोमा पनि लेखक र अस्टिनबीच सदैव एकखालको शीतयुद्धको अवस्था देखिन्छ ।
आफूसँग मात्र होइन, भुसालको अनुसार, अस्टिन टोलीप्रमुख मेघसँग पनि भित्रदेखि खुशी नभएकोजस्तो देखिन्छ । एकपटक कर्णाली र भेरीको दोभानमा अवस्थित घाटगाँउमा शीतयुद्ध विस्फोट हुन्छ ।
फकिर नामक वृद्धसँग लेखक कुराकानी गरिरहेको बेलामा लेखककै शब्दमा अस्टिन रन्किदै आउँछिन् र भन्छिन्, ‘तिमीहरुले हामीलाई डिस्टर्ब गर्यौ । ती वृद्धसँग हामीले कुरा गर्ने तयारी गर्दै थियौं । तर तिमीहरु आएर सीधै कुरा गर्यौ । तिमीहरुले हामीलाई सोध्नुपथ्र्यो ।’
अस्टिन वर्चस्व राख्ने टोनमा बोल्छिन् । यता भुसालको रिसको पारो चढ्छ र झोक्किँदै भन्छन्, ‘तिमी को हौ र मैले तिमीलाई सोधेर मान्छेसँग बोल्नुपर्ने ? तिमीमा समस्या छ, अस्टिन । जो मान्छे ३५ दिन यसरी सँगै हिँड्दा पनि साथी बन्न सक्दैन, समूहमा काम गर्न सक्दैन, उसले कहिल्यै यस्तो यात्रा गर्नु हँुदैन । तिमीलाई केही समस्या भए मेघ (टोली नाइके) सँग कुरा गर । तर यसरी मसँग बोल्न नआऊ ।’
यात्रा, त्यसमा पनि ४५ दिने लामो यात्रा, फरक सांस्कृतिक पृष्ठभूमिबाट आएका सहयात्रीहरुबीच केही यस्ता उठापटकी हुनु किंचित अचम्मलाग्दो छैन । बरु यात्राको अवधिभरि सोचेजस्तो सबै ठिक्क ठिक्क मिलेर चल्थ्यो भने अचम्मको हुने थियो । घटना जस्तो होस् नलुकाउने लेखकको इमान्दारी स्तूत्य छ ।
पुस्तकमा यात्राका चकचक पनि छन् । यात्रामै दशैं आइपर्छ । जख्खु बोका ढालिन्छ । सहयात्री मौसमले ६ वटा बियर भुसाल, नवीन र आफ्नो निम्ति किनेर ल्याएका हुन्छन् । रक्ति, भित्री र मासुसँग मज्जाले बियर पिउँछन् । दशैंको दिन, विश्रामको दिन । कर्णालीको बगरमा वियरको चुस्की अविश्राम जारी रहन्छ ।
तर बियर कर्नाली होइन, केही समयमा रित्तिन्छ । अब के गर्ने ? उपायको खोजी हुन्छ । एक जनाले गुह्य खोल्छ– सहयात्री गोराहरुले ६ वटा बियर कर्णालीको पानीमा चिसो बनाउन राखेका छन् । रमरम भइसकेको तर प्यास नमेटिएको दिमागले बियर चोर्ने योजना बनाउँछ ।
चोरेको झन् मिठो भन्ने त उखान नै छ ।
सात समुद्र पारीका एकै टोलीका सहयात्रीहरुको बियर गायब हुन्छ । गाइडहरुले सुनाउँछन्– गोराहरु चुर रिसाएका थिए रे !
अर्को चकचक झ्न रोचक छ । एक दिन तास खेल्ने सल्लाह हुन्छ । विदेशीहरु पनि खेल्न तम्सन्छन् । शर्त राखिन्छ, हारेकोले पैसा दिनु नपर्ने तर कर्नालीमा नाङ्गै डुबुल्की लगाएर आउनुपर्ने । अनि कपडा लगाएर खालमा बस्ने । पहिला हार्ने गोरा हुन्छन् । उनी सबैको अगाडि डुबुल्की मात्रै लगाउँदैनन्, नाङ्गै पौडिन्छन् । यो देखेर अरु पनि हारिएला र नाङ्गिनु पर्ला भनेर तर्सन्छन् ।
उचित अनुपातमा तथ्यहरु मिसाएर लेखकले आफ्ना अनूभतिलाई सरल शैलीमा लेखेका छन् । अतिशयोक्ति कतै भेटिँदैन । तथ्यहरु न त झिँझोलाग्दो लामा छन्, नत्र धित नमर्ने छोटा । तथ्यका कारण पुस्तक यात्रावृत्तान्तभन्दा माथि उठी कर्णाली नदीको समाजशास्त्रीय र प्राकृतिक विज्ञानको दस्तावेज भएको छ । छालबाटो रिभराइन इकोसिस्टम बुझ्न उपयोगी पुस्तक बनेको छ । भन्न सकिन्छ, छालबाटो नेपाली गैरआख्यानमा सम्प्राप्ति हो ।
लेखक भुसालको नदीसँग एउटा दुखद सम्बन्ध गाँसिएको रहेछ । २०३८ मा भुसालको बुवा पर्वतको कुस्मा बजार नजिकै उर्लंदै गरेको मोदी खोलामा हाम फाल्नुभएको रहेछ । कालीगण्डकीको भेलले बुवालाई खर्लप्प निलेछ । लास फेला परेन । नजन्मँदै उनले बुबा गुमाए । भुसालले लेखेका छन्, ‘दोष नदीको थिएन । तर पनि हाम्रा लागि नदी सधैं हत्यारा भइदियो ।’
व्यैयक्तिक पीडाको घटनालाई आफूमाथि हाबी हुन नदिइ नदीसँग वैरभाव नराख्ने व्यक्ति नै वास्तविक अर्थमा नदीको साथी हुनसक्छ ।
छालबाटोलाई नदीको साथीले लेखेको उत्कृष्ट प्रेमपत्र भन्दा अत्युक्ति हुँदैन ।