उज्यालो प्रकाशसँग सम्बन्धित छ। जसले अन्धकारलाई भगाउँछ। ज्योति चम्काउँछ। उज्जर बनाउँछ। धुम्मबाट खुलामा परिणत गर्छ। त्यसैले उज्यालो प्रगतिको प्रतीक हो। प्रकाश संसारलाई चमक प्रदान गर्ने स्रोत हो। सोचौँ त, धर्तीमा अँध्यारोको मात्र राज हुन्थ्यो भने के हुन्थ्यो होला ? कल्पनै पनि कठिन छ। यही कल्पना पनि गर्न नसकिने पक्षमाथि राज गरेर प्रकाशले दुनियादारको प्रगति/उन्नतिमा मुख्य भूमिका खेलेको छ।
त्यसैगरी फूल सुन्दरताको प्रतीक हो। यो सकारात्मकताको प्रतिविम्ब पनि हो। रंगीचंगी फूलले विरक्त मनलाई पनि खुसी तुल्याउने हैसियत राख्छ। चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।
उज्यालो अर्थात् प्रकाश र फूलको प्रसंग यहाँ त्यत्तिकै ल्याइएको हैन। जब हामी तिहारको वरपर हुन्छौँ, नेपालीको दसैँपछिको दोस्रो ठूलो चाड मनाउने तयारीमा हुन्छौँ, यी दुईबिना यो पर्व सम्पन्न हुनै सक्दैन। त्यसैले प्रकाश र फूल नै तिहारका दुई मुख्य विशेषता हुन् जसले सम्पूर्ण नेपाली मनलाई खुसी तुल्याउँछन्। अभावबीच पनि चम्किलोरूपमा प्रस्तुत गरिदिन्छन्। अनि प्रगति र सकारात्मकताको मार्ग प्रदर्शन गर्छन्। शायदै यही कारण पनि होला– तिहारकै आसपास सयपत्री, गोदावरी, मखमली जस्ता फूल उन्मुक्त हाँसोका साथ सर्वत्र फिँजारिदिएको प्रकृतिले पनि।
त्यसैले त यतिबेला दक्षिणी छिमेकी मात्र नभई उत्तरी छिमेकी चीनलगायत अन्यत्र देशबाट समेत ठूलो परिमाणमा उज्यालो प्रदान गर्ने सामग्री भित्रन्छन्। माला र फूल उत्तिकै ओइरिन्छन्। सप्तरंगी टीकाका सामग्री पनि यसरी नै भित्रन्छन्। जसले गाउँदेखि शहरसम्म, झुपडीदेखि महलसम्म झकिझकाउ तुल्याउन सघाउँछन्। सेलरोटी र मखमली अनि भाइमसलाले प्रत्येक घर चुम्न भ्याएका हुन्छन्। त्यसैले त यो पर्व साँच्चै विशेष उमंगको मानिँदै आएको हो।
दिदीबहिनी–दाजुभाइको सम्बन्ध
तिहारको अर्को विशेषता दिदीबहिनी–दाजुभाइबीचको सम्बन्ध नवीकरण पनि हो। लामो समयदेखि भेट नभएका दिदीबहिनी–दाजुभाइ यतिबेला सकेसम्म भेट गर्छन्। दिदीबहिनीले सप्तरंगी टीका लगाइदिएर दाजुभाइको प्रगति र दीर्घायुको कामना गर्छन्। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीको। यही पर्व हो, जसले टुटेका र फाटेका मनलाई पनि एकापसमा जोड्ने गर्छ। टीका लगाउने बेला यस्ता तीता पक्ष सबैले बिर्सन्छन्। त्यसैले यसलाई सम्बन्ध नवीकरण अवसरका रूपमा पनि लिइएको हो।
भाइमसला दिदीबहिनीले दाजुभाइलाई टीकापछि दिने विशेष उपहार हो। जुन अरू पर्वमा खासै दिइन्न। अनि आफ्ना दाजुभाइको गलामा लगाइदिएको माला कहिल्यै नओइलाओस् भन्ने अपेक्षासाथ लगाइने मखमलीको पनि आफ्नै विशेषता छ। यी यस्ता विशेषता हुन् जसले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई अझ गाढा बनाउँछ। त्यसैले त तिहार काटमारभन्दा पृथक अस्तित्व राख्छ। त्यसैले त तिहार तडकभडकभन्दा पनि भाइचाराको धारणा अंगाल्छ। त्यसैले त तिहार सकारात्मकताको सन्देशसहित आउँछ र यस्तै सन्देश दिएर बिदा हुन्छ। यसर्थ पनि तिहार सबैलाई प्रफुल्लित बनाउने चाड होभन्दा फरक पर्दैन ।
तिहारको आर्थिक साइनो
भाइमसला प्रत्येक दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकापछि दिने विशेष उपहार हो। त्यसैले यसको कारोबार लाखौँ होइन, करोडौँ हैन, अबौँमा हुने गर्छ। दियो, मैनबत्ती र विद्युत्द्वारा बालिने झिलिमिली बत्तीको व्यापार पनि एकदमै हुने गर्छ यतिबेला। प्रत्येक घरमा सेलरोटी पाक्ने भएकाले त्यसका लागि हुने किनमेल पनि उत्तिकै हुन्छ। अनि फलफूल र दिदीबहिनीलाई दिइने कपडा, ब्याग, फोन, घडीलगायतका उपहार पनि त्यत्तिकै बिक्री हुन्छ। यस अर्थमा तिहार व्यावसायिक दृष्टिकोणमा पनि सुन्दर छ। यतिबेला प्रयोग हुने दियो, ढक्की, मखमलीलगायतका सामग्री बेचेर त्यसैबाट धेरै समयको गुजारा चलाउनेहरू पनि उत्तिकै छन्। यसबाट पनि पुष्टि हुन्छ कि तिहारको आर्थिक साइनो दरिलै छ।
खर्च गर्न सक्नु अर्थात् किन्ने हैसियत बढ्नु पनि मानिसको सशक्तीकरणको एक मापक हो। त्यसैले जति धेरै किनबेच भयो त्यो मुलुकको आर्थिक कारोबार उत्तिकै चलायमान हुन्छ। यस अर्थमा चाडपर्वले बजारलाई जीवन्त तुल्याउन सक्छ। तिहार यस्तै एक विशेष पर्व हो जसले सुतेको बजारलाई उठाइदिन सक्छ। व्यवसायीमा रौनक ल्याइदिन सक्छ। धनतेरसका अवसरमा आफ्नो गच्छेअनुसारको सुन, चाँदी, तामा जस्ता सामग्री किनेर राख्दा वर्ष दिनभर घरमा सुख/शान्ति मिल्ने विश्वासले पनि व्यापार वृद्धिमा सघाएको छ। त्यसैले पनि तिहारको शीघ्र आगमनको कामना गरेर बस्ने व्यवसायी/व्यापारी टन्नै भेटिन्छन्।
सहयोगीहरूको कदर
मानिस एक्लै बाँच्न सक्ने प्राणी नै हैन। त्यसैले मानिसको जीवन सम्भव तुल्याउन प्रकृतिले नै विभिन्न जीवजन्तु तथा वनस्पति सिर्जना गरिदिएको छ। हुन त मानिस यस्तो स्वार्थी प्राणी हो जसले आफ्नो फाइदाका लागि बाँकी सबै चिजबिज र जन्तु/जनावरलाई सिध्याउन पनि पछि पर्दैन। तर तिहार मात्र यस्तो एक विशेष पर्व हो जतिबेला उसले ती जनावर र पन्छीहरूको गुन सम्झेर कदर गर्ने गर्छ। तिहारका बेला नेपालीले कुकुरदेखि कागसम्म, गाईदेखि गोरुसम्मलाई पूजा गर्नुको अर्थ आफूलाई प्राप्त उनीहरूको सहयोग नै हो।
जस्तो–तिहारको पहिलो दिन नै कागलाई पूजा गरिन्छ। जुन दिनको नामै कागतिहार हुने गर्छ। नेपाली परम्परागत विश्वासअनुसार काग सन्देशबाहक हो। त्यसैले ऊबाट सधैँ शुभ सन्देश मात्र प्राप्त भइरहोस् भन्ने अपेक्षाका साथ कागलाई पुजिन्छ। दोस्रो दिनको कुुकुर तिहारको प्रयोजन पनि कुकुरको बफादारिताको कदर नै हो। इमानदारिताको प्रतीकका रूपमा कुकुरलाई पुज्नुको अर्थ हामी पनि इमानदार हुन प्रयास गर्छौँ र त्यस्ताको कदर गर्छौँ भन्ने नै हो। प्रायः तेस्रो दिन पर्ने लक्ष्मीको पूजा धनधान्यसँग मात्र सम्बन्धित छैन, नारी शक्तिको सम्मान पनि जोडिएको छ यो पूजासँग। उनको महिमा, शक्ति र समृद्धिको सम्मान सम्पूर्णको यस्तै अवस्था होस् भन्ने अपेक्षासँग सम्बन्धित छ, जुन एकदमै सकारात्मक कामना पनि हो।
यही दिन गाईको समेत पूजा गरेर हामी आफूलाई सधैँ दूध खुवाउने, मल दिने र दुःखजिलो परेका बेला आर्थिक गर्जोसमेत टारिदिने सोझो प्राणीको सम्मान गर्छौँ। जसको अर्थ गुनको कदर गर्नुपर्छ भन्ने नै हो। त्यसैगरी चौथो दिन गोरु तिहारका अवसरमा गोवर्धन पूजाको विधिमार्फत गोरुको पूजाआजा गर्छौँ। हाम्रो बाँझो जमिनलाई जोतेर खेतीयोग्य बनाइदिने र हामीलाई भोको नराख्ने उसको योगदान यो पूजासँग जोडिएको छ। यसरी आफूलाई सदा सहयोग गर्नेहरूको थोरै नै किन नहोस्, कदर गरेर अनुग्रहित हुने बेला पनि हो तिहार। जसको सन्देश निकै सुन्दर छ। र, यस्तो सन्देश भावी पुस्तासम्म हस्तारण गर्न पनि तिहार गतिलैसँग मनाउनुपर्ने देखिन्छ।
भाइटीका
दिदीबहिनी र दाजुभाइबीच स्नेह आदान–प्रदान यो पर्वको मुख्य गहना हो। एकले अर्कोलाई दीर्घायु र समृद्धिको कामना गर्ने भएकाले उनीहरूबीच यतिबेला विशेषखालको सम्बन्ध स्थापित हुन्छ। आफ्नै बाबुआमालाई समेत तीन–चार वर्षमा एकपटक कफी पिउन निम्ता गर्ने पश्चिमा सभ्यताको तुलनामा आमाबाबु मात्र हैन, दिदीबहिनी र दाजुभाइको समेत योखाले वार्षिक मिलन वास्तवमै अनुपम भएकामा शंका छैन। त्यसैले पनि तिहारको विशेषता बहुआयामिक छ भन्ने पुष्टि हुन्छ। जसले हामीलाई हाम्रो चाडपर्वप्रति गौरवान्वित तुल्याउँछन् र बाँकी विश्वका लागि अनुशरणीय।
प्रकाशित: १४ कार्तिक २०८१ ०६:४० बुधबार