‘संगीतमा व्यापार खोज्ने कि कला भन्नेमा हामी स्पष्ट हुन जरुरी छ’

‘संगीतमा व्यापार खोज्ने कि कला भन्नेमा हामी स्पष्ट हुन जरुरी छ’


काठमाडौं । लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, तिमी पारि, फूलचोकीको डाँडैमा, विदेशिएर गइन् उनी । यी लोकपप गीत सुन्दा हामी अहिले पनि रोमाञ्चित हुन्छौं । ९० को दशकको चर्चित पोखरेली लोकपप ब्याण्ड कन्दराले अहिलेको ‘मिलेनियल पुस्ता’लाई बाल्यकालतर्फ लैजान्छ र नोस्टाल्जिक तुल्याउँछ ।

सरल शब्द, साहित्य मिश्रित मिठास, प्रकृतिसँगको सानिध्यको भावले कन्दरा परिचित छ । स्थापनाको ३२ वर्षको छेकोमा ब्यान्डले २४ कात्तिकमा काठमाडौंमा पहिलोपटक कन्सर्ट दिंदैछ । जनवरीदेखि वर्ल्ड टुर सुरु हुँदैछ । बीचमा कतै अलमलिएको ब्यान्ड यतिबेला पुनः जुर्मुराएको छ । नयाँपुस्तासँग कन्दरालाई जोड्ने पहल सुरु भएको छ । यी आयाममा रहेर ब्यान्डका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानी :

लामो समयपछि ब्यान्ड जुर्मुराएको छ । उद्देश्य र अपेक्षा कस्ता छन् ?

ब्यान्डले सबैभन्दा सास्ती खेप्नुपरेको कुरा भनेकै हामीले दिन नसकेको निरन्तरता हो । त्यसको ९९ प्रतिशत जिम्मेवारी त मैले नै लिनुपर्ने भयो । म विदेशमा थिएँ । १० वर्षदेखि म नेपालमै छु । नेपाल आउने जाने भैराख्या छ । मैले ब्यान्डलाई दिन खोजेको कुरा भनेको निरन्तरता हो । जब म यहाँ बसेर काम गर्छु, ब्यान्ड आफैं चलायमान हुन्छ । केही वर्षदेखि यो काम पनि भइराखेको छ । आशा गरौं, कन्दराको लामो ग्याप चाहिं अब नहोला ।

सन् २०१६ को एल्बम ‘भेडीगोठैमा’पछि नयाँ आएको छैन । हामीले नयाँ एल्बम कहिले सुन्न पाउँछौ ?

हामीसँग दुईवटा एल्बम तयारी अवस्थामा छन् । पहिला जस्तो आठवटा गीत बनाऔं, ६ वटा गीत बनाऔं, एल्बम बनाऔं भन्ने वातावरण अहिले रहेन । म्युजिक अब सुनिने कुरा मात्रै भएन । यही भएर ‘सिंगल्स’मा हामी जुटेका हौं । २-३ वटा गीत तयार छन् । एउटा एल्बम नै गर्नुपर्छ भन्ने हामीलाई लागिराख्या छ अहिले । यसको तयारीमा हामी छौं । यो एल्बम मात्र नभएर ‘एल्बम विथ प्रपोज’ नै हुन्छ । यसमा हामीले विशिष्ट साहित्यकारसँगको संगतलाई खुलासा गर्नेछौं । गीत चाहिं काठमाडौंको शोको लगत्तैपछि रिलिज गर्छौं । यो समसामयिक विषयमा बनाइएको गीत हो । अहिले देशमा जतासुकै चरम निराशा मात्र छ । निराशामा पनि आशा त छ नि । निराशालाई छाडेर आशातर्फ हामी लागौं भन्ने सन्देश बोकेको गीत हो । यो गीत रिलिज हुँदैछ ।

पछिल्लो समय नेपाली संगीतमा ‘कन्दरा’ले कस्ता आधारभूत परिवर्तन र चुनौत देखेको छ ?

सबैभन्दा मुख्य चुनौती भनेको संसारभर भाइरल हुने होड नै हो । कति छोटो समयमा, छिटो भाइरल हुने भन्ने कुरा । त्यो दौडमा त हामी छँदै छैनौं, लिगमै छैनौं । ३२ वर्षको हाम्रो यात्रामा हामीले कहिल्यै पनि यो गीत बनाएर हिट बनाउनुपर्छ अथवा यति धेरै पैसा कमाउनुपर्छ भनेर संगीत कहिल्यै गर्दै गरेनौं । हामी यो दौडमा छैनौं । हामीले नयाँपुस्तालाई गीत सुनाउने भन्दा पनि अनुभव सेयर गर्ने हो । हामीले आफ्नो जिम्मेवारीबोध गर्नुपर्‍यो ।

जे पायो त्यही हामीले गर्नै मिल्दैन । त्यो छुट हामीलाई छँदै छैन । यसको मतलब हामीले संगीतले मागेको आधारभूत कुराहरु जसमा स्वर, संगीत र शब्दको कुरा आउँछ । यसमा ध्यान दिनुपर्‍यो, समकालीन संगीतले के खोजिरहेको छ ? कन्दराको विशेषता के हो ? त्यसलाई पनि बिर्सनुभएन । हाम्रो जमानामा हामीले कानबाट गीत सुनेर हामीले आत्मामा जसरी गीत पास गराउँथ्यौं, हाम्रो अहिलेको ध्येय पनि यही नै हो ।

गीतले कति जनालाई छुन्छ, कति जनाले ग्रहण गर्नुहुन्छ, मलाई लाग्छ हामी आर्टिस्टको काम यो होइन । यसका लागि हामीसँग उपाय छन् । व्यवस्थापन होला, उनीहरुले गर्नुपर्ने काम हो । साधारण अर्थमा भन्नुपर्दा सरलता, कन्दराको आफ्नो शैली र नेपाली संगीतले मागेको कुराहरु हामीले दिने हो ।

कन्दराको जुन स्वर्णयुग थियो, त्यतिबेलाको उमेर समूह विदेशमा छ । नेपालमा नयाँपुस्ता हुर्किरहेको छ । अब ब्यान्डले संगीत मार्फत यी दुई पुस्तालाई कसरी जोड्ने काम गर्छ ?

हामीले काम गर्नुपर्ने भनेकै निरन्तरतामा हो, चाहे नेपालमा होस् या विदेशमा होस् । संगीतसँगै हामीले विभिन्न अभियानमा काम गरिरहेका हुन्छौं । संगीत सुन्ने एउटा विशिष्ट उमेर हुने रहेछ । हाम्रो गीत सुन्ने प्राइम-एज भएको पुस्ता त अहिले विदेशमा हुनुहुन्छ । उहाँहरु कतिपयलाई संगीत सुन्ने फुर्सद पनि हुँदैन । उहाँहरुले कुन समयमा संगीत सुन्नुहुन्छ, त्यो ‘अल्गोरिदम’लाई हामीले समात्न सक्नुपर्‍यो । यो अनुसन्धान गर्ने वैज्ञानिक पद्दति हो, हामीले यसका लागि काम गर्दैछौं । अहिलेको नयाँपुस्ता संगीतमा धेरै अभ्यस्त छ । उनीहरुले अहिले पुरानो-पुरानो गीत सुन्न खोजेका छन् । यसको अर्थ, त्यहाँ अवसर छ भन्ने हो । यसका लागि उनीहरुलाई कसरी आत्मसात गर्ने हो, त्यो व्यवस्थापन टिमले गर्नुपर्छ ।

अहिलेको परिवेशमा नेपाली संगीत कस्तो हुनुपर्छ ?

हाम्रो चुनौती पनि हो– नेपाली संगीत के हो ? यसको परिभाषा कस्तो हुनुपर्छ । अहिलेको यो सान्दर्भिक प्रश्न पनि हो । हामीले संगीत सुन्दै आइरहेको बेला संगीतमा एउटा विशिष्ट जनरा थियो । हामीले विशुद्ध लोकगीत सुन्थ्यौं । मानौं– रेशम फिरिरी, पानको पात । दोहोरी गीतको कुरा गर्न सक्छौं । त्यो विशुद्ध लोकगीत थियो । हामीसँग फिल्मी गीत थिए । हामीले आज पनि याद गर्छौं, रञ्जित गजमेरका गीत, गोपाल योञ्जनका गीत । विभिन्न संगीतकारले विशिष्ट रुपमा दिएका गीतहरु । एउटा खास जनरा थियो । सबैमा एउटा समानता थियो नेपालीपन ।

शुद्ध उच्चारण हुन्थ्यो, शब्दमा साहित्य हुन्थे । यो नेपाली गीत हो भनेर हामीले गर्वका साथ भन्न सक्थ्यौं । तर अहिलेको पुस्तामा यो नेपाली गीत हो भनेर कुन चाहिं तत्वबाट ग्रहण गर्ने त ? यो ठूलो चुनौती हो जस्तो लाग्छ । किनभने हामीले अहिले गीत बनाउनुअघि नै सोच्छौं, यो गीतबाट हामीले कति भ्युज पाउँछौं ? आफ्नो र दर्शक तथा श्रोताको सोलका लागि गीत बनाइएन । गीतलाई कति जनाले हेर्छन् ? कति समयसम्म त्यो गीतले कन्सर्ट पाउन सक्छ ? यसका लागि गीत बनाउने होइन । यो त संगीतको व्यापार भयो होइन र ?

हामीले संगीतमा व्यापार खोज्ने हो कि संगीतमा कला खोज्ने हो ? यो प्रश्नको उत्तर पाउन जरुरी छ पहिला । व्यापार नै गर्ने हो भने त संगीत कमर्सियल हो । यदि संगीत आर्ट हो भने त्यसलाई आर्टकै रुपमा लिन दिऊँ । कला यति बलियो होस् कि यसले व्यापारलाई पछ्याउन सकोस् । हामीले ‘लेककी हे माया’ गीत बनाउँदा यति धेरै भ्युज पाउँला र हिट होला भनेर बनाएकै होइन । हामीलाई त थाहा पनि थिएन त्यो कुरा । यत्तिकै गितार बजाएर बसेका थियौं, गीत बन्यो । मनबाट बन्यो । त्यसमा हामी लेकको कुरा गर्‍यौं, गुराँसको कुरा गर्‍यौं । गाउँको कुरा गर्‍यौं, प्रेमको कुरा गर्‍यौं । त्यो गीत हिट भएपछि हामीले प्रोग्राम पाउन थाल्यौं । मान्छेले चिन्न थाले । यो भन्दै गर्दा संगीतमा अहिलेको पुस्ताले गरिरहेको एक्सपेरिमेन्ट छ र यसलाई व्यावसायिक बनाउन खोज्नुभएको छ, यसको विरोध गर्न पक्कै पनि खोजेको होइन । सबैको आ-आफ्नो योजना हुन्छ ।

‘संगीतमा व्यापार खोज्ने कि कला भन्नेमा हामी स्पष्ट हुन जरुरी छ’

सबै जनराले नेपालीपन बोक्नुपर्‍यो हैन त ?

कि त हामी अन्तर्राष्ट्रिय संगीतमा जाऊँ, अन्तर्राष्ट्रिय कलाकारसँग प्रतिस्पर्धा गरौं । नेपालीले इङ्लिस गीत गाउन हुँदैन भन्ने त छैन नि त । नेपालीले हिन्दी गीत गाउनुहुन्न भन्ने पनि छैन । कि अन्तर्राष्ट्रिय रुपमै जाऊँ, नेपाली गर्ने हो भने नेपाली दर्शक-श्रोताका लागि नेपाली गीत गरौं । पश्चिमा र पूर्वीय संगीत मिसाउने काम नगरौं । उच्चारण शुद्ध होस्, शब्दहरु गहकिला र समसामयिक हुन्, बुझियोस् । शाब्दिक साहित्य नहुँदासम्म त्यो नेपाली गीत हुँदैन ।

कन्दराले संगीतलाई पर्यटनसँग जोडेर अभियान गर्दै आइरहेको छ । कसरी संगीतलाई पर्यटनसँग जोड्न सकिन्छ ?

संगीतकर्मीको नाताले गीतमार्फत सामाजिक दायित्वका सन्देश सधैं दिइरहेका छौं । हामीले सधैं प्रेमका मात्रै गीत गाइरहेका छौं । हिजो देशमा जातीय आगो सल्किंदा हामीले ‘के पहाड, के तराई’ गीत निकाल्या थियौं । आज युद्धको कुरा भइराख्या छ । यसमा पनि गीत बनाउँछौं । योसँगै हामीले गर्ने कन्सर्ट र जहाँ पनि जान्छौं, त्यहाँ सार्थक अभियानलाई बोकेर जान्छौं । अहिले नेपालले आशातीत फल पाउन सक्ने क्षेत्र भनेको पर्यटन हो । हामीसँग अथाह पर्यटनको सम्भावना छ । यसमा पनि कोभिडले देखाइहाल्यो कि भोलि केही भइहाल्यो भने विदेशबाट पर्यटक नआउन पनि सक्छन् ।

अहिले युद्ध चलेको छ, आर्थिक मन्दी छ । यो अवस्थामा पर्यटनको प्रवाह आन्तरिक पर्यटनबाटै गर्ने हो । अहिले पोखरा जानुस्, अफ सिजनमा त्यहाँको ७० प्रतिशत अकुपेन्सी आन्तरिक पर्यटनले धानेको छ । यो खालको जुन सम्भावना छ, त्यो सीमित सहरमा मात्र नरहोस् । हामी देश घुमौं । यति धेरै घुम्ने ठाउँ छन् । उत्तरतिर जानुभयो भने आफ्नै खालको सम्भावना छ । दक्षिणतिर आफ्नै सम्भावना छ । यो सन्देश फैलाउन अभियान सुरु गरेका हौं । सरकारले साथ दिएपनि, नदिएपनि अबको एक वर्ष यो अभियानमा अघि बढ्छौं ।

नेपाल र डायस्पोरालाई जोड्ने कुरामा संगीत कसरी सेतु बन्नसक्छ ?

म आफैं पनि एक प्रकारले डायस्पोरिक नेपाली नै हो । मेरो जीवनको पिक १५ वर्ष त मैले विदेशमै बिताएको हो । यो प्रश्नलाई मैले एकदमै नजिकबाट आत्मसात गर्न सक्छु । हामी जतिबेला विदेशमा हुन्छौं, त्यहाँ हामी सबैले मिस गर्ने कुरा नै नेपाल हो । चाहे त्यो नेपाली खाना होस्, चाहे त्यो नेपाली गीत होस्, चाहे त्यो नेपालको कुनै ठाउँ होस् । बिहान उठ्ने वित्तिकै विदेशमा बस्ने नेपाली नेपालबारे अपडेट हुन्छन् । यहाँ कतै बाढीपहिरो गयो भने उताबाट फोन आउँछ । भन्नुको मतलब, हामी एकदमै कनेक्टेड छौं नेपालसँग । हामी नेपाललाई एकदमै मिस गर्छौं ।

हामी जुन नेपाली गीत-संगीतको उत्पादनमा लागिरहेका छौं, यो हाम्रा लागि अथाह सम्भावना हो । हामीले नेपाललाई चिनाउने एउटा अवसर पाइरहेका छौं त्यहाँ । हामी कन्सर्ट गर्न जाँदा उहाँहरुले हाम्रो मुखबाट नेपाल सुन्नुहुन्छ, नेपाल देख्नुहुन्छ । यो चाहिं हाम्रा लागि ठूलो अवसर हो । कन्दराले यो सेतुलाई महसुस गराउने काम गर्छजस्तो लाग्छ । समाचार भनेजस्तै गीतमार्फत हामीले स्टोरी टेलिङ गर्दा उहाँहरु एकदमै कनेक्टेड हुनुहुन्छ जस्तो मलाई लाग्छ ।

‘संगीतमा व्यापार खोज्ने कि कला भन्नेमा हामी स्पष्ट हुन जरुरी छ’

नेपाल र यहाँका ठूला सहर कसरी सांगीतिक हब बन्न सक्लान् ?

संसारमा नेपाल यस्तो एउटा ठाउँ हो, जसको परिचय पर्यटनसँग जोडिन्छ । जब तपाईंले ब्रायन एडम्सलाई नेपालमा कन्सर्ट गर्नुपर्‍यो भनेर प्रस्ताव गर्नुहुन्छ, उहाँले सुरुमा कहाँ, त्यहाँ के छ भनेर सोध्नुहुन्छ । उहाँले हेर्ने भनेको माउन्ट एभरेस्ट, माछापुच्छ्रे, काठमाडौंको संस्कृति, विविधता र खाना हो । हामी अहिले शान्त छौं । राजनीतिक अस्थिरता आफ्नो ठाउँमा होला, हामीकहाँ अहिले कुनै विद्रोह भइरहेको छैन । ठूला आन्दोलन भएको छैन जसले शान्ति खलबलियोस् । हाम्रा लागि सुनौलो अवसर हो । विश्वस्तरीय कलाकार आएर नेपालमा पर्फम गर्ने क्रम बढेको छ ।

ब्रायन एडम्सको कन्सर्ट हेर्दा हामीले त्यो खालको कुरा पायौं । पछिल्लोपटक हामीले पोखरामा गरेको कन्सर्ट पनि हामीले त्यो प्रोडक्सनमा काम गर्न पायौं । आयोजकलाई पनि चुनौती भयो । अब हामीले नेपाली आर्टिस्टको गर्दा पनि त्योभन्दा कम चाहिं हुनुहुँदैन है भन्ने चुनौती भयो । समग्रमा नेपाली संगीतको लागि यो राम्रो कुरा हो । नेपालको लागि नै यो राम्रो कुरा हो । के कुरा सुन्नमा आएको छ भन्दा विदेशी कलाकार आउँछन्, अधिकांश पैसा विदेशमा जान्छ । स्थानीय स्रोतलाई प्रयोग गरौं । संगीतमा लागेर व्यवसाय गर्ने व्यवसायीलाई प्रोत्साहन गरौं ।

सामान सकेसम्म नेपाली नै प्रयोग गरौं । प्राविधिक नेपाली नै उत्पादन गरौं । यो हाम्रो आग्रह हो । सकेसम्म नेपालको पैसा नेपालमै रहोस् । एउटा कार्यक्रमबाट एउटा आर्टिस्टले ३-४ करोड रुपैयाँ लिएर जानु भनेको त आर्थिक रुपमा त हामी घाटामा छौं । क्षणिक समयको मनोरञ्जनका लागि देशले आर्थिक अभाव खेप्नुपर्‍यो भने त्यो पनि त राम्रो होइन नि त । यो पाटोलाई पनि मूल्यांकन गर्न जरुरी छ जस्तो लाग्छ ।

कन्दरालाई काठमाडौं आउन किन ३२ वर्ष लाग्यो ?

भइहाल्छ नि, काठमाडौं त्यहीं त हो नि गइहालिन्छ नि भनेर बसियो । काठमाडौं आउने साइत जुर्दै जुरेन । कहिले के, कहिले के भयो । कुर्दाकुर्दै समय ३२ वर्ष बितेको थाहै भएन । हामीलाई २५ वर्ष अगाडिदेखि नै हो काठमाडौंबाट कन्सर्टका लागि आग्रह भएको । तर ब्यान्ड आएर सोलो कन्सर्ट गर्ने साइत नै जुरेको थिएन । प्रायः ब्यान्ड मेम्बर पोखराकै थियौं । मिडियाले पनि सधैंभरि मोफसल नै भनेर हेरिरह्यो । ‘काठमाडौं कलिङ कन्दरा’ नाम पनि किन राख्यौं भन्दाखेरि वास्तवमा काठमाडौंले नै बोलाएको हो । अरु कार्यक्रम पछि गर्दै गरौंला, एकपटक काठमाडौं जाऊँ भनेर हामी आएका हौं । आशा गरौं, यो कन्सर्टपछि हामी लगातार आउटडोर इन्डोर कन्सर्ट र मासमा जाने कार्यक्रम गर्छौं ।

निकट भविष्यमा तपाईं र ब्यान्डका आफ्ना योजना के छन् ?

सुरुमा हामी आफैं अपडेट हुने कुरा च्यालेन्ज हो । यो हामी आफैं गर्नुपर्छ । जेन–जी जोडिनु जरुरी छ । उहाँहरुलाई पनि कन्दराको गीत के हो भनेर सुनाउन जरुरी छ । यो हामी गर्दैछौं । सोसल मिडियाको लक्ष्य नै यसमा केन्द्रित छ । यसबाहेक संगीतमा हामीले बहन गर्नुपर्ने दायित्व हो । किनभने ३२ वर्ष भनेको जोक होइन । कुनै क्षेत्रमा निरन्तर यति समय योगदान दिनु ठूलो कुरा हो । नेपाली संगीतमा कसरी योगदान दिन सकिन्छ भनेर हामीले यसतर्फ काम गर्दैछौं ।

भौगोलिक रुपमा म जहाँकहीं पनि रहन सक्छु । हामी प्राविधिक रुपमा एकदमै कनेक्टेड छौं । म अहिले काठमाडौंमा छु । अर्को साता पोखरामा बसेको हुनसक्छु । अर्को एक महिना सायद म अस्ट्रेलियामा गएर बस्छु होला । तर हामी जोडिएका छौं । म मेरो जीवनको उद्देश्यप्रति स्पष्ट छु । मेरो जन्म भएको नै संगीतको सेवा गर्नलाई हो । मबाट अरु काम हुँदैन भन्ने थाहा पाएँ । म पूर्णसमय संगीतमै लाग्छु । म मानसिक स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दैछु । यसमा म एकदमै नजिकबाट काम गर्दैछु । यो पनि मेरो एउटा चिनारी हुनसक्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School