रत्नकुमारी र नेत्रकुमारीलाई न्याय दिलाउने ‘टाइगर’ केनाइन

रत्नकुमारी र नेत्रकुमारीलाई न्याय दिलाउने ‘टाइगर’ केनाइन


१२ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापा १८ साउनमा आफ्नै घरमा मृत भेटिइन् ।

हात बाँधिएको अवस्थामा रत्नकुमारीको शव छिमेकी टोकमाया खत्रीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीय प्रहरी चौकीको टोली र इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोली घटनास्थल पुगेको थियो ।

हात बाँधिएको अवस्थामा मृत भेटिएपछि रत्नकुमारीको हत्या आशंका गर्दै सिन्धुपाल्चोक प्रहरीले कुकुरसहितको विशेषज्ञ टोली मगायो । नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा घटनाबारे जानकारी आएपछि खोज तथा उद्दारमा प्रयोग हुने जर्मन सेफर्ड जातको ‘टाइगर’ कुकुर परिचालन भयो ।

डग ह्याण्डलर (प्रहरी वरिष्ठ हवल्दार) भीमप्रसाद गौतम टाइगरलाई लिएर राति नै सिन्धुपाल्चोक गए । ‘राति मान्छेको भिडभाड पनि नहुने हुँदा काममा पनि सहज भएकाले सकेसम्म राति नै पुगेर काम गर्न सकियोस् । भनेर हामी राति नै टाइगरलाई सिन्धुपाल्चोक गएका थियौं’, डग ह्याण्डलर गौतमले भने ।

बिहानीपख करिब ९ बजेतिर घटनास्थल पुगेर टाइगरले काम सुरु गरेको थियो । जस्तापाताले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी रत्नकुमारी । घर वरपर कोदोबारी थियो । कोदोबारीमा पोतेका गेडाहरु छरिएका थिए । कोदो मडारिएको थियो । घरभित्र भुइँमा दुबै हात बाँधिएको अवस्थामा रत्नकुमारीको शव थियो ।

प्रहरीले सुरुमा रत्नकुमारीको शव भएको ठाउँमा केही प्रमाण छ कि भन्दै क्राइम सिन हेर्‍यो । तर अभियुक्तको कुनै सबुद प्रमाण भेटिएन । स्थानीय प्रहरीले घरलाई नै कर्डन गरेर राखेकाले कोदोबारीको मडारिएको ठाउँ पनि सुरक्षित थियो ।

केही दिनअघि पानी परेकाले हल्का चिसो थियो । कोदोबारीकै माटोमा एउटा जुत्ताको पाइला भेटियो । ‘फुटप्रिन्ट भेटिएपछि त्यसैलाई आधार मानेर मैले टाइगरलाई सुघाएर छाडे । अनि अनुसन्धानले गति लियो’, टाइगरका ह्याण्डलर गौतमले अनलाइनखबरसँग भने ।

त्यसपछि टाइगर एक पटक घर पछाडिबाट घुमेर घरभित्र छिर्‍यो । लास भएको ठाउँमा पुग्यो, बाहिर निस्कियो । बाँया साइडतर्फबाट अगाडि बढेर रोडमा निस्कियो र रोडैरोड अगाडि बढ्यो । लगभग १ किलोमिटर सडकमा दौडिएपछि फेरि पछाडि ब्याक भयो । त्यहाँबाट मुख्य रोड छाडेर सानो गोरेटोबाटोतर्फ अघि बढ्यो ।

अगाडि बढ्दै जाँदा टाइगर एउटा झरना भएको ठाउँमा पुग्यो । झरना पनि क्रस गरेर पारीतर्फ गयो । फेरि ओरालो झरेर केही पर दौडियो । त्यहाँबाट एउटा खोला नजिक पुग्यो । त्यसपछि टाइगर रोकियो । त्यहाँबाट अघि बढ्न सकेन ।

टाइगरले दिएको यही क्लुलाई आधार मानेर जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईको टोलीले थप अनुसन्धान अघि बढायो । टाइगरले ट्रयाक गरेको बाटो को–को हिँड्छन् । घटना भएको समय वरपर को–को त्यो बाटो हिँडे भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान गर्दा पत्ता लाग्यो रत्नकुमारीका हत्यारा ।

घटनाको तीन दिनपछि २१ साउनमा प्रहरीले काठमाडौंको गोंगबुबाट रत्नकुमारीको हत्या आरोपमा सोही ठाउँका ३६ वर्षीय सञ्जिव देउजा पक्राउ परे ।

सिन्धुपाल्चोकका तत्कालीन डीएसपी भट्टराईले अनुसन्धान सफल भएपछि टाइगरका ह्याण्डलर गौतमलाई फोन गरेर धन्यवाद दिएका थिए ।
‘ल कुकुर टिमलाई विशेष धन्यवाद छ । टाइगरकै ट्रयाकलाई पच्छ्याएर थप अनुसन्धान गर्दा अभियुक्त पक्राउ गर्न सफल भयौं’ डीएसपी भट्टराईले भनेका थिए ।

देउजालाई पक्राउ गरेर अनुसन्धान गर्दा उनले टाइगरले ट्रयाक गरेकै बाटो गएर हत्या गरेर फर्केको स्वीकार्दै बयानसमेत दिएका थिए । झरना क्रस गरेर खोला नजिक पुगेपछि टाइगरले ट्रयाक गर्न नसक्नुको कारण पनि देउजा पक्राउ परेसँगै खुलेको छ ।

खोला नजिकमा देउजाले चप्पल लुकाएर राखेका रहेछन् । त्यहाँ पुगेपछि आफूले लगाएको जुत्ता फुकाएर माथि आकाशतर्फबाट तल खोल्सातिर हाल्दै चप्पल लगाएर भागेको उनले बताएका थिए ।

जसकारण टाइगरले त्यहाँभन्दा अघि ट्रयाक गर्न नसकेको पनि गौतम बताउँछन् । ‘भुइँबाटै जुत्ता खसालेको भए टाइगरले ट्रयाक गरेर जुत्ता समेत पत्ता लगाउथ्यो । तर आकाशतर्फबाट फालेकाले टाइगरले ट्रयाक गर्न सकेन’, डग ह्याण्डरले भन्छन् । घटनास्थलबाट साढे ३ किलोमिटरसम्म अघि बढेर टाइगरले ट्रयाक गरेको थियो ।

रत्नकुमारी र नेत्रकुमारीलाई न्याय दिलाउने ‘टाइगर’ केनाइन

टाइगरकै क्लुलाई आधार मानेर अनुसन्धान गर्दा पक्राउ परेका देउजाले घटना स्वीकार्दै बृद्धभत्ताका लागि हत्या गरेको बताएका थिए । लुट्नका लागि भनेर दुई दिनसम्म रेकी गरेको र तेस्रो दिनमा हत्या गरेको खुलेको थियो ।

केही दिनअघि मात्रै रत्नकुमारीले १२ हजार रुपैयाँ वृद्धभत्ता लिएकी थिइन् । रत्नकुमारीको घरमा आउजाउ गरिरहने सोही ठाउँका देउजा यसबारे जानकार थिए । रत्नकुमारीको घरबाट देउजाको घरको दूरी पनि करिब १० मिनेटको दूरीमा मात्रै छ ।

छोरा पनि वैदेशिक रोजगारीमा विदेशमा र बुहारी र नाति नातिनाहरु काठमाडौं बस्दै आएका थिए । सोही मौकामा देउजाले लुटपाटको योजना बनाएर लुटपाट गर्ने क्रममा हत्या गरेको खुलेको थियो ।

हात बाँधेर घाँटी थिची हत्या गर्दै वृद्धभत्ताको १२ हजार र केही दिनअघि मात्रै छोरीले दिएको ५० हजार गरी ६२ हजार र डेढ तोला सुन देउजाले लुटेका थिए । पक्राउ परेका देउजा अहिले पुर्पक्षका लागि कारागार चलान भएको सिन्धुपाल्चोकका इन्सपेक्टर वीरेन्द्रप्रसाद यादवले बताए ।
खुर्पाको बिँडबाट पत्ता लागे हत्या आरोपी

१७ पुस २०८० को बिहान करिब साढे ७ बजेतिर नुवोकाटको शिवपुरी गाउँपालिका–९ बखतीटो बस्ने ७५ वर्षीया नेत्रकुमारी आफ्नै घर पछाडिको बाख्राको खोरमा मृत फेला परिन् । उत्तानो अवस्थामा मृत फेला परेकी नेत्रकुमारीको अनुहार ददारिएको थियो ।

नेत्रकुमारीको हत्या आशंका भएपछि प्रहरीको केनाइन कार्यालयबाट टाइगर र बेल्जियन शेफर्ड जातको रोज नामका केनाइन परिचालन भए ।
नेत्रकुमारी सुत्ने ठाउँमा टिनको बाकस पनि फुटाइएको थियो । बाकस फुटाउन प्रयोग भएको खुर्पाको बिँड टाइगरलाई ह्याण्डलर गौतमले सुघाए ।

बिँड सुघेपछि टाइगर नेत्रकुमारीको शव रहेको बाख्राको खोरमा पुग्यो । अनि घर अगाडि आई पश्चिमतर्फको गोरेटो बाटो हुँदै अन्दाजी १ किलो मिटरअघि बढी सवारी गुड्ने कच्ची सडकमा पुगेर अलमलियो ।

त्यसपछि पुनः कास्टिङ सेट दिई ट्रयाक छोड्दा अन्दाजी ५ सय मिटर अघिसम्म टाइगरले ट्रयाक लियो । घटनास्थलबाट दक्षिणतर्फको गोरेटो बाटो र मुल सडक जोडिने स्थानमा आइपुग्यो । त्यतिन्जेलसम्म टाइगर थाकिसकेको थियो ।

त्यसपछि रोजका ह्याण्डलरले रोजलाई खुर्पाको बिँड सुघाई छाडे । रोज त्यहाँबाट ६ मिटरतर्फ पूर्व गई चौबाटोमा पुगेर अलमलियो । पुन कास्टिङ सेन्ट दिई ट्रयाक छोड्दा त्यहाँबाट दक्षिणतर्फको कच्ची सडकको बाटो हुँदै अन्दाजी २ सय मिटर गई मूलबाटो छोडेर जंगलतर्फको बाटो हुँदै अघि बढ्यो । करिब २ सय मिटर अघि बढेपछि जस्तापाताले बनाएको भत्किएको घरसम्म पुगेको थियो ।

टाइगर र रोजले गरेको संकेत अनुसार थप अनुसन्धान गर्दा सोही घरमा बस्ने २२ वर्षीय सुकु तामाङ पक्राउ परे । त्यतिबेला नुवाकोटका एसपी सञ्जयसिंह थापा थिए । तामाङलाई पक्राउ गरेपछिको पत्रकार सम्मलेनमा उनले टाइगर र रोजको सहायताले हत्यारा पत्ता लागेको बताएका थिए ।

पक्राउ परेका तामाङ लागु औषध गाँजा सेवन गर्ने व्यक्ति रहेको खुल्यो । गाँजा खरिदका लागि पसा अभाव भएपछि नगद तथा गरगहना चोर्ने क्रममा थाहा पाएपछि नेत्रकुमारीको हत्या भएको स्वीकारेका थिए ।

वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार रुपैयाँ, सुनको एकजोडी बेरुवा र एकथान तिलहरी तामाङले नै दिएको सूचनाका आधारमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जंगलबाट प्रहरीले बरामद गरेको थियो । तामाङ अहिले पुर्पक्षका लागि थुनामा छन् ।

एनी र डेनीलाई पछि पार्दै उत्कृष्ट बन्यो टाइगर

नेपाल प्रहरीको केनाइन कार्यालयले हरेक वर्षको कुकुर तिहारका दिन उत्कृष्ट काम गर्ने कुकुरलाई अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको उत्कृष्ट कुकुर टाइगर बन्ने पक्का भएको छ । टाइगरकै अनुसन्धानले नेत्रकुमारी र रत्नकुमारीले न्याय पाएको भन्दै टाइगरलाई उत्कृष्ट केनाइन घोषणा गरिँदै छ ।

कुकुर तिहारको दिन टाइरलाई उत्कृष्ट केनाइन घोषणा गर्दै सम्मान गर्ने कार्यक्रम केनाइन कार्यालयको छ । २०७९ जेठमा काठमाडौंमै जन्मिएको टाइगर अहिले जम्माजम्मी दुई वर्षको भएको छ ।

६ महिना उमेरदेखि नै टाइगरले अपराध अनुसन्धानमा काम गर्दै आएको केनाइन कार्यालयका एसपी रामचन्द्र सत्याल बताउँछन् । टाइगरसँगै तीन वटा कुकुर प्रहरीले किनेर ल्याएको थियो । टाइगरसँगै ल्याएका २ वटा कुकुर भने बाँचेनन् । भाले जातको जर्मन शेफर्ड टाइगर आक्राकम विशेषता भएको केनाइन हो ।

रत्नकुमारी र नेत्रकुमारीलाई न्याय दिलाउने ‘टाइगर’ केनाइन

ह्याण्डलर गौतमका अनुसार अघिपछि शान्त भएपछि काम गर्ने बेलामा भने टाइगर आक्रामक बन्छ । एक पटकमा बढीमा आधा घण्टासम्म काम गर्ने क्षमता टाइगरसँग छ । त्यसपछि रेस्ट दिएर पुनः काममा लगाउनुपर्ने हुन्छ ।

पछिल्लो डेढ वर्षदेखि अपराध अनुसन्धानमा खटिएको टाइगर २ वर्षको उमेरमै उत्कृष्ट केनाइन बनेको छ ।

टाइगरले एनी र डेमी दुई कुकुरलाई पछि पार्दै यो वर्षको उत्कृष्ट कुकुर बनेको एसपी सत्याल बताउँछन् । एनी र डेनी लागु औषध विषयको अनुसन्धान गर्ने कुकुर हुन् । गोडेन रिट्रिभर जातको एनी र जर्मन शेफर्ड जातको डेनीले पनि लागु औषधमा उत्कृष्ट काम गरेका थिए ।

२७ मंसिर २०८० को साँझ सढे ६ बजेतिर कतार एयरवेजको जहाजमार्फतबाट कार्गो भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदाममा एउटा सामान आएको थियो ।

साउण्ड बक्सको रुपमा आएको उक्त सामान एनी र डेनीलाई सुघाउँदा लागु औषध रहेको संकेत गरेपछि साउण्ड बक्स खोलेर हेर्दा ५५ किलो गाँजा बरामद भएको थियो ।

पछि एनी र डेनीले नै ४ चैत २०८० मा २० किलो गाँजा पनि पत्ता लगाएका थिए । भन्सारको कार्गो कम्प्लेक्सको आयातर्फको गोदाममा कतार एअरवेजमार्फत आएको वासिङ मेसिन सुघाउँदा लागु औषध रहेको संकेत एनी र डेनीले गरेका थिए । त्यसपछि वासिङ मेसिन खोलेर हेर्दा २० किलो गाँजा फेला परेको थियो ।

यसको करिब १० दिनपछि १३ चैतमा ऐनी र डेनीले नै नेपालबाट कतार हुँदै लण्डन लैजान लागिएको १५ किलो गाँजा पनि पत्ता लगाएका थिए । १८ वटा फोटाका फे्रमभित्र लुकाएर गाँजा लण्डन लैजान लागिएको थियो ।

एनी र डेनीले पनि ३ वटा उत्कृष्ट कामहरु गरे पनि उनीहरुलाई पछि पार्दै टाइगर उत्कृष्ट बनेको छ । ‘एनी र डेनीको काम पनि उत्कृष्ट छ । तर मान्छेको बढी चासो, बढी महत्व भएको विषय टाइगरले पत्ता लगाएका एनी र डेनीलाई पछि पार्दै टाइगर उत्कृष्ट भएको हो’, सत्यालले अनलाइनखबरसँग भने ।

५५ वर्षदेखि अनुसन्धानमा प्रहरीका केनाइन

नेपाल प्रहरीले २०२६ सालदेखि अपराध अनुसन्धानमा केनाइनको प्रयोग गर्दै आएको छ । २०२६ सालमा मलेसियामा तालिम गर्न गएको प्रहरी कर्मचारीहरुले मलेसियन सरकारको सहयोगमा २ वटा तालिमप्राप्त केनाइन ल्याएका थिए । सोही वर्षमा प्रहरीले नेपालमा २ वटा केनाइन खरिद गरेको थियो । ४ वटा केनाइनबाट अपराध अनुसन्धान सुरु गरिएको थियो ।

२०३२ सालमा सईको कमाण्डमा १० जनाको दरबन्दी कायम गरी कुकुर शाखाको स्थापना गरिएको थियो । २०४७ सालमा तत्कालीन कुकुर शाखाको नाम परिवर्तन गरी केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल नाम राखियो । सोही वर्ष ५ वटा विकास क्षेत्रका लागि दरबन्दी समेत निकासा भएको थियो ।

यसलाई २०७५ सालमा केनाइन महाशाखामा स्तरोन्नती गरियो । २०७८ सालमा नेपाल प्रहरी केनाइन कार्यालय नामाकरण भयो । २०७५ सालदेखि भने प्रहरीले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन शब्द प्रयोग गर्न थालेको छ ।

अपराध अनुसन्धानमा खटिने तालिमप्राप्त कुकुरहरुलाई कुकुर नभनी केनाइन भन्ने आम प्रचलन रहेकाले अहिले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन भन्न थालिएको एसपी सत्याल बताउँछन् ।

‘घरमा आम मान्छेले पाल्नेलाई कुकुर भनिन्छ । तर अपराध अनुसन्धानमा खटिने कुकुरलाई केनाइन भन्ने आम प्रचलन रहेकाले अहिले डग स्कूलको नाम पनि परिवर्तन गरेर केनाइन कार्यालय राखिएको छ । हामीले पनि कुकुर शब्द प्रयोग नगरी फलानो केनाइन भनेर बोलाउँछौं’ एसपी सत्यालले भने ।

प्रहरीमा अहिले विभिन्न ४ विधाका १०० वटा केनाइन छन् । विभिन्न १२ स्थानबाट केनाइनहरुले सेवा दिइरहेका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School