वैदिक शास्त्रहरूले जीवोद्भव र विलयनको मूल अभीष्ट पञ्चतत्वलाई मानेको छ । पञ्चतत्व निर्मित र त्यसैमा विलयन हुने हाम्रो शरीरको संरचनासँग पृथ्वी, जल, तेज, वायु र आकाशीय तत्वहरूको प्रभावलाई सघन महत्व दिइएको छ । यिनीहरूको प्राकृतिक र वैज्ञानिक संरचना विज्ञानलाई आयुर्वेद तथा नक्षत्र विज्ञानहरूमा अलग विश्लेषण गरिएको छ ।
आकाशीय पिण्डहरूको आकर्षण क्षमता र तिनीहरूले मत्र्यवासी प्राणी, वनस्पति तथा अन्य तत्वहरूमा पार्ने सकारात्मक तथा नकारात्मक ऊर्जा प्रवाहको सन्दर्भमा अहिले अनेक अनुसन्धान भइरहेका छन् । त्यसको विश्लेषण र पटाक्षेप पनि समयक्रममा हुँदै रहला ।
यस लेखमा भने पूर्वजहरूले गहिरो खोज अनुसन्धान गरी निकालेका राशि अनुरूपका आकाशीय नक्षत्र र तिनीहरूबाट निस्कने प्रभाव र त्यसलाई रोक्न वा सकारात्मक ऊर्जा प्रवाह गर्ने सहायक वनस्पति के के छन्, तिनको रोपण गरी निर्माण गरिने वाटिका सन्दर्भमा चर्चा गरिएको छ ।
प्रसङ्ग सन्दर्भतर्फ
तपाईंको राशि के हो ? जवाफ तपाईंले सजिलै दिनुहुनेछ । तर, तपाईंको नक्षत्र के हो ? यो प्रश्नको जवाफ करिब १०–१५ प्रतिशतले मात्र दिन सक्नुहुनेछ । तपाईंको नक्षत्र अनुसार तपाईंको बिरुवा कुन हो ? यो तेस्रो प्रश्नको जवाफ म अनुमान गर्न सक्छु– यस्तो त थाहा छैन, सुनेको पनि छैन, यस्तो पनि हुन्छ र वा यस्तैयस्तै ।
यहाँ यही तेस्रो प्रश्नको जवाफ खोज्न नक्षत्र वाटिका बारे छलफल गर्नेछौं । आस्तिकता वा नास्तिकता जेमा विश्वास गरे पनि यो तपाईं हामी सबैको लागि उपयुक्त, आकर्षक र रमाइलो विषय हुनसक्छ । नक्षत्र वाटिका जान्नु अगाडि तपाईंले कम्तीमा नवग्रह, राशि र नक्षत्र के हो जान्न जरूरी छ ।
पंक्तिकार खगोलशास्त्र, ज्योतिषशास्त्र, संस्कृतको विद्यार्थी वा यसको ज्ञाता होइन । यद्यपि हाम्रा पितापुर्खाले वैदिक शास्त्र, तन्त्रशास्त्रसँग जोडेर प्रकृति र संस्कृतिको संगम बनाएका रूख बिरुवा, जनावर आदिलाई भुल्दै गएका हामीले यी विषयलाई आगामी दिनमा कसरी पुनर्स्थापना गर्न सकिन्छ भनेर छलफल गर्नु पंक्तिकारको चासो हो ।
राशि के हो ?
वैदिक ज्योतिषशास्त्र अनुसार हाम्रा ऋषि मुनिहरूले आकाश मण्डलको विभाजन १२ भागमा गरेका थिए जसलाई हामी राशि भन्छौं । यी १२ राशि मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन हुन् । खगोलशास्त्रीय सिद्धान्त अनुसार राशिचक्र ३६० डिग्रीको हुन्छ जसलाई १२ राशिले भाग गर्दा एउटा राशि भित्र ३० डिग्रीको कोण हुन्छ । खगोल विज्ञान अनुसारका राशिमध्ये पहिलो मेष राशिको अवस्थिति ० देखि ३० डिग्री हो र यसैगरी वृष राशि ३० देखि ६० डिग्रीमा अवस्थित छ र यसपछि क्रमशः अरू राशि हुँदै मीन राशिमा ३३० देखि ३६० डिग्री भएर एउटा चक्र पूरा हुन्छ ।
नक्षत्र के हो ?
आकाश मण्डलमा भएका ताराहरूको समूह नै नक्षत्र हो । हाम्रो वैदिकशास्त्रमा नक्षत्रको संख्या २८ भएतापनि अभिजित नक्षत्रलाई यसमा गणना गरिएको छैन । तसर्थ २७ नक्षत्रको मात्र गणना गरिन्छ । २७ मध्ये पहिलो नक्षत्र अश्विनी हो भने यसपछि क्रमशः भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आद्र्रा, पुनर्वसु, पुष्य, अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्ता, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र २७औं नक्षत्र रेवती हो ।
हाम्रा पुराणमा २७ नक्षत्रलाई दक्ष प्रजापतिका छोरीको रूपमा पनि व्याख्या गरिएको छ भने चन्द्रमालाई यिनको संरक्षक वा पतिको रूपमा स्वीकार गरेको पाइन्छ । राशि चक्र जस्तै आकाश मण्डललाई ३६० डिग्री मानेर २७ नक्षत्रले भाग गर्दा एउटा नक्षत्रको मान १३.३३३ डिग्री हुन्छ ।
खगोल विज्ञान अनुसार यो भनेको १३ डिग्री २० मिनेट हो । यसलाई १३ अंश २० कला पनि भनिन्छ । राशि जस्तै नक्षत्र पनि आफ्नो निश्चित कोणमा अवस्थित हुन्छ । नक्षत्रमध्ये पहिलो अश्विनीको अवस्थिति ० देखि १३ डिग्री २० मिनेट हो । यसपछि क्रमशः प्रत्येक नक्षत्रको अवस्थिति १३ डिग्री २० मिनेट थप हुँदै २७ वटा नक्षत्रको कोणको कुलमान ३६० डिग्री हुन्छ ।
अब राशितर्फ हेरौं । एक राशिको ३० डिग्रीलाई एक नक्षत्रको १३ डिग्री २० मिनेटले भाग गर्दा एक राशि भित्र २.२५ नक्षत्र हुन्छ । एक राशिभित्र २.२५ नक्षत्र परेतापनि ६ वटा राशि मेष, कर्कट, सिंह, वृश्चिक धनु र मीन राशिमा २ वटा पूर्ण नक्षत्र र केही अंश अर्को नक्षत्रको हुन्छ भने बाँकी ६ राशिमा एक पूर्ण नक्षत्र र २ आंशिक नक्षत्र हुन्छ ।
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ । चन्द्रमाले २७.३२२ दिनमा (लगभग २७ दिन) पृथ्वीको परिक्रमा पूरा गर्दछ । यसरी चन्द्रमाले औसतमा प्रतिदिन एउटा नक्षत्रको यात्रा गर्ने गर्दछ ।
प्रत्येक नक्षत्रको चार पाउ (पद) हुन्छ । नक्षत्रको १३ डिग्री २० मिनेटलाई चार पाउले भाग गर्दा एक पाउमा ३ डिग्री २० मिनेट हुन्छ । प्रत्येक पाउमा एक नाम वा अक्षर हुन्छ र यसरी एक नक्षत्रमा ४ नाम वा अक्षर हुन्छन् । २७ वटा नक्षत्रको ४ पाउको गणना गर्दा (२७×४) १०८ नाम हुन्छ । यसरी एक नक्षत्रमा ४ अक्षर भए जस्तै एक राशिमा ९ वटा अक्षर हुन्छ ।
जब यो धर्तीमा कुनै बच्चा जन्मन्छ, बच्चा जन्मिएको समय, राशि, नक्षत्र पाउको गणना गरी नामको पहिलो अक्षरको आधारमा पण्डितले बच्चाको नामकरण गर्दछन्, जसलाई हामी न्वारानको नाम भन्दछौं । यो नामकरण पद्धति पण्डितको मनचिन्ते कुरा नभई हाम्रो वैदिकशास्त्र, ज्योतिषशास्त्र एवं खगोलशास्त्रले बताएको कुरा हो ।
बिर्सिएका नक्षत्र
बच्चाको नामकरणको समयमा हामीमध्ये कसैले पनि मेरो बच्चाको नाम केको आधारमा राखियो अनि राशिको साथसाथै नक्षत्र के हो भनेर पण्डितलाई सोधेनौं । पण्डितले पनि न्वारानको नाम राखेपछि आफ्नो कर्तव्य पूरा भएको ठाने र यसको नामकरण केको आधारमा राखियो भनेर भनेनन् वा जरूरी ठानेनन् । कुनै पण्डितले बताए पनि हामी अभिभावकले नक्षत्रको बारेमा कुनै चासो राखेनौं । न्वारानलाई हामीले एक कर्मकाण्डी विधिको रूपमा मात्र ग्रहण गर्यौं ।
वैदिकशास्त्र तथा तन्त्रशास्त्रले प्रत्येक नक्षत्रमा जन्म भएका मानिसको भलाइको लागि एक–एक प्रजातिको बिरुवा सिफारिस गरेको छ ।
नक्षत्रको बारेमा जुन बेलामा थाहा पाउनुपर्ने हो त्यो बेला थाहा नपाएपछि पछि सोध्ने वा चासो राख्ने कुरै भएन । हाम्रा बज्यै, बाजे, आमा, बुवाको पालासम्म चिना बनाउने चलन थियो, यसमा पण्डितले राशि, नक्षत्र, घडी, पला आदि सबै उल्लेख गरेका हुन्थे तर आधुनिकता वा नास्तिकताको नाममा पछिल्लो समय यो क्रमशः लुप्त बन्यो, बनाइयो वा हामीले चासो राख्ने जरुरत नठानेकै कारण हराउँदै गयो ।
फलस्वरूप हामी आफ्नो नक्षत्रको बारेमा मात्र होइन वैदिकशास्त्रका जान्नुपर्ने कैयौं आधारभूत विषय पनि जान्दैनौं । कसैले तपाईंको नक्षत्र के हो भनेर भन्दा हामी अलमलमा पर्नु र नक्षत्र बिर्सदै जानु स्वाभाविक नै हो ।
हाम्रो वैदिक शास्त्रले नक्षत्रलाई उच्च महत्व दिएको छ । यिनै २७ नक्षत्रमध्ये १२ नक्षत्रको आधारमा हाम्रा १२ महिनाको नाम राखिएका हुन् भन्ने कुरा हामी कतिलाई अझै थाहा छैन । चन्द्रमा भ्रमण गर्ने क्रममा पूर्णिमाका दिन जुन नक्षत्रमा पुग्छन्, त्यही नक्षत्रको आधारमा महिनाको नाम रहन्छ ।
हामीले वैशाख महिना विशाखा नक्षत्रबाट नामकरण गरिएको हो । यसैगरी अन्य महिना र नक्षत्र क्रमशः ज्येष्ठाबाट ज्येष्ठ वा जेठ, पूर्वषाढा या उत्तराषाढाबाट आषाढ वा असार, श्रवणबाट श्रावण, पूर्वभाद्रपद या उत्तरभाद्रपदबाट भाद्र, अश्विनीबाट आश्विन वा असोज, कृत्तिकाबाट कात्तिक, मृगशिराबाट मार्ग वा मङ्सिर, पुष्यबाट पौष, मघाबाट माघ, पूर्व फाल्गुनी या उत्तर फाल्गुनीबाट फाल्गुन र चित्राबाट चैत्र महिनाको नामकरण गरिएका हुन् । यस विज्ञानलाई हामी धेरैले जानेका छैनौं ।
नक्षत्र वाटिका
वैदिकशास्त्र तथा तन्त्रशास्त्रले प्रत्येक नक्षत्रमा जन्म भएका मानिसको भलाइको लागि एक–एक प्रजातिको बिरुवा सिफारिस गरेको छ । वैदिक एवं ज्योतिषशास्त्र अनुसार कुनै व्यक्ति जन्मँदाको बखत निश्चित राशि, ग्रह, नक्षत्र आदिले व्यक्तिको आगामी दिनको गति, भाग्य आदि निर्धारित भएको ठानिन्छ ।
वैदिकशास्त्रले कुनै व्यक्तिको कुण्डलिनी, ग्रह, नक्षत्र आदिको दोष भएमा त्यसबाट मुक्त हुन विभिन्न रत्न एवं धातुको प्रयोगका साथै पूजा, पाठ, जप, तप आदिको सिफारिस गरेको हुन्छ । सबैसँग महँगा रत्न, धातु ग्रहण गर्ने अनुकूलता वा पूजा पाठको संयोग नमिल्न सक्छ र विधि पुर्याएर पाठपूजा गरिदिने विज्ञ नपाउन सकिन्छ । यिनको प्रयोगबाट पनि सबै दोष मुक्त नहुन पनि सक्छन् ।
यिनै सिफारिसमध्ये नक्षत्र अनुसारको बिरुवा रोपण, जलसेचन, गोडमेल, संरक्षण, तिनको फेदमा बसेर गरिने ध्यान लगायत अन्य सेवाले व्यक्तिको ग्रहदोषादि, मानिसमा उत्पन्न हुने नकारात्मक ऊर्जा, हट्ने वा घट्ने मान्यता छ ।
वनस्पति देव, वनदेवीको चर्चा हाम्रा अनेक ग्रन्थ तथा मान्यताहरूमा छन् । शास्त्र अनुसार रूखमा भगवान् देवी देवताको अंश रहेको हुन्छ र यी रूख बिरुवाको पूजा, सेवा गर्नु भनेको प्रत्येक नक्षत्र, नवग्रह र राशिको पनि सेवा गर्नु हो भन्ने विश्वास छ । यिनै नक्षत्र अनुसारका बहुगुणशाली र औषधीय महत्व बोकेका २७ वटा फरक फरक प्रजातिका बिरुवा निश्चित दिशा, दूरी र डिग्री आदि मिलाएर रोपेर तयार गरिएको बगैंचा वा वाटिका नै नक्षत्र वाटिका हो ।
यो प्रकृति एवं जैविक विविधता संरक्षणको हिसाबले पनि उत्कृष्ट अभ्यास हो किनकि एकै स्थानमा २७ प्रकारका प्रजाति रोपण एवं संरक्षण गर्नु दुर्लभ संयोग हो । यी अध्यात्म अनि संस्कृतिमा पृथक् प्रयोजनले सिद्ध छन् भन्ने विश्वास गरिन्छ । यिनीहरू एकै स्थानमा रहनु र पूजा, सेवा गर्न पाउनु तिनको पात, हाँगा एवं जराको प्रयोग गर्न पाउनु असिम आनन्द र सौभाग्यको विषय पनि हो ।
नक्षत्र अनुसार सिफारिस बिरुवा
नक्षत्र वाटिकामा वृक्षरोपणको लागि बहुउपयोगी र धार्मिक महत्वका राशि र नक्षत्र अनुकूल अलग अलग बिरुवा सिफारिस गरिएका छन् । केही विद्वान्ले नक्षत्र वाटिकाको लागि १०८ नाम अनुसार फरक प्रजातिको बिरुवा लगाउनुपर्ने बताएका छन् तर हामी यहाँ २७ नक्षत्र अनुसारका बिरुवाको मात्र चर्चा गर्नेछौं ।
यहाँ हामीले नक्षत्र, तिनका पाउ अनुसारका नाम, तिनको स्वामिग्रह, देवता, यिनको अवस्थिति, बिरुवाको नाम र वैज्ञानिक नाम समेत देखाएका छौं ।
क्र.सं. नक्षत्र राशि स्वामीग्रह देवता अवस्थिति नाम बिरुवा वैज्ञानिक नाम
क्र.सं. | नक्षत्र | राशि | स्वामीग्रह | देवता | अवस्थिति | नाम | बिरुवा | वैज्ञानिक नाम |
१ | अश्विनी | मेष | केतु | अश्विनी कुमार | ०°०’ – १३°२०’ | चु, चे, चो, ला | कुचिला | (Strychnos nux-vomica) |
२ | भरणी | शुक्र | यम | १३°२०’– २६°४०’ | ली,लू, ले, लो | अमला | Phyllanthus emblica | |
३ | कृतिका | सूर्य | अग्नि | २६°४०’– ४०°००’ | अ, ई, ऊ, ए | डुमरी | Ficus racemosa | |
४ | रोहिणी | मेष/वृष | चन्द्रमा | ब्रह्मा | ४०°००’– ५३°२०’ | ओ, वा,वी, वू | जामुन | Syzygium cumini |
५ | मृगशिरा | वृष | मङ्गल | चन्द्रमा | ५३°२०’– ६६°४०’ | वे, वो,का,की | खयर | Acacia catechu |
६ | आद्र्रा | वृष/मिथुन | राहु
| शिव | ६६°४०’– ८०°००’ | कू, घ, ङ, छ | सिसौ | Dalbergia sissoo |
७ | पुनर्वसु | मिथुन | बृहस्पति | अदिती | ८०°००’– ९३°२०’ | के, को, हा, ही | बाँस | Dendrocalamus strictus |
८ | पुष्य | मिथुन/कर्कट
| शनि | बृहस्पति | ९३°२०’–१०६°४०’ | हू, हे, हो, डा | पीपल | Ficus religiosa |
९ | अश्लेषा | बुध | नाग | १०६°४०’–१२०°००’ | डी, डू, डे, डो | नागकेसर | Mesua ferrea | |
१० | मघा | कर्कट | केतु | पितर | १२०°००’–१३३°२०’ | मा, मी, मू, मे | वर | Ficus benghalensis |
११ | पूर्व फाल्गुनी | शुक्र | भग | १३३°२०’–१४६°४०’ | मो, टा, टी, टू | पलाश | Butea monosperma | |
१२ | उत्तरफाल्गुनी | सूर्य | अर्यमा | १४६°४०’–१६०°००’ | टे, टो, पा, पी | पहरे पीपल | Ficus rumphii | |
१३ | हस्ता | सिंह | चन्द्रमा | सूर्य | १६०°००’–१७३°२०’ | पू, ष, ण, ठ | जाई/रिठा | Sapindus mukorossi |
१४ | चित्रा | मङ्गल | विश्वकर्मा | १७३°२०’–१८६°४०’ | पे, पो, रा, री | वेल | Aegle marmelos | |
१५ | स्वाति | सिंह/कन्या | राहु | पवनदेव | १८६°४०’–२००°००’ | रु, रे, रो, ता | अर्जुन | Terminalia arjuna |
१६ | विशाखा | कन्या | बृहस्पति | इन्द्राग्नि | २००°००’–२१३°२०’ | ती, तू, ते, तो | कंकेरो | Maytenus emarginata |
१७ | अनुराधा | कन्या/तुला | शनि | मित्र | २१३°२०’–२२६°४०’ | ना, नी, नू, ने | बकुलपुष्प | Mimusops elengi |
१८ | ज्येष्ठा | बुध | इन्द्रदेव | २२६°४०’–२४०°००’ | नो, या, यी, यू | सिमल/नीम | Bombax ceiba | |
१९ | मूल/मुला | तुला/वृश्चिक
| केतु | नैऋति -राक्षस_ | २४०°००’–२५३°२०’ | ये, यो, भा, भी | राजवृक्ष/साल | Cassia fistula |
२० | पूर्वाषाढ़ा | शुक्र | जल | २५३°२०’–२६६°४०’ | भू, धा, फा, ढा | बेत | Calamus rotang | |
२१ | उत्तराषाढ़ा | वृश्चिक
| सूर्य | विश्वदेव | २६६°४०’–२८०°००’ | भे, भो, जा, जी | कटहर | Artocarpus heterophyllus |
२२ | श्रवण | चन्द्रमा | विष्णु | २८०°००’–२९३°२०’ | खी, खू, खे, खो | आँक | Calotropis gigantea | |
२३ | धनिष्ठा | धनु | मङ्गल | अष्टबसु | २९३°२०’–३०६°४०’ | गा, गी, गू, गे | शमी/शनि | Prosopis cineraria |
२४ | शतभिषा | राहु | बरुणदेव | ३०६°४०’–३२०°००’ | गो, सा, सी, सू | कदम | Anthocephalus cadamba | |
२५ | पूर्वभाद्रपद | बृहस्पति | अज -अजैक_ | ३२०°००’–३३३°२०’ | से, सो, दा, दी | आँप | Mangifera indica | |
२६ | उत्तरभाद्रपद | धनु/मकर | शनि | अहिबर्धन्यु | ३३३°२०’–३४६°४०’ | दू, थ, झ, ञ/ण | नीम | Azadirachta indica |
२७ | रेवती | बुध | पूषा | ३४६°४०’–३६०°००’ | दे, दो, चा, ची | महुआ | Madhuca indica | |
२८ | अभिजित | मकर/कुम्भ | सरिफा | Annona squamosa |
नवग्रह एवं राशि वाटिका
संस्कृति संरक्षण पर्यावरण अनुकूलन तथा सांस्कृतिक विरासतको प्रवर्धनका लागि पनि प्रत्येक वडा, गाउँ वा टोल–टोलमा पनि यस्ता वाटिकाहरू निर्माण, रोपण तथा प्रवर्धन गर्नु आवश्यक छ । यदि वाटिका बनाउने स्थान अभाव भएमा वा तपाईंले नवग्रह वा राशिको मात्र रोपण गर्न चाहेमा १२ राशि अनुसारका बिरुवा रोपण गरेर राशि वाटिका र ९ वटा ग्रहका बिरुवा रोपण गरेर नवग्रह वाटिका बनाउन सक्नुहुनेछ । यसको लागि पनि फरक प्रजातिका बिरुवाको सिफारिस गरिएका छन् ।
हाम्रो शास्त्रले मानिआएको नवग्रहमा सूर्यको लागि आँक, चन्द्रको पलाश, बुधको दतिवन/अपामार्ग, शुक्रको डुमरी, मंगलको खयर, बृहस्पतिको पीपल, शनिको शनि/शमी, राहुको दुबो र केतुको कुश छन् ।
यसैगरी राशि वाटिकाको लागि मेष राशिको लागि रक्तचन्दन, वृषको छतिवन/सप्तपर्ण, मिथुनको कटहर, कर्कटको पलाश, सिंहको पदरी/कुबेरकच, कन्याको आँप, तुलाको बकुल, वृश्चिकको खयर, धनुको पीपल, मकरको सिसौ, कुम्भको शनि/समि, मीनको वर हुन् ।
नक्षत्र वृक्षरोपण
नक्षत्र वृक्षरोपणको लागि पहिलो काम भनेको सबै प्रकारका बिरुवा जुटाउनु हो । यीमध्ये केही बिरुवा हाम्रा वरिपरि सहजै उपलब्ध हुन्छन् भने केही बिरुवा खोज्न अलिक मिहिनेत नै गर्नुपर्दछ ।
विभिन्न लेखमा केही नक्षत्रको लागि एकभन्दा बढी प्रजाति र केही लेखमा एकै नक्षत्रको लागि पनि फरक–फरक बिरुवा सिफारिस गरिएका छन् । तसर्थ वृक्षरोपण गर्नु अगाडि कुन–कुन बिरुवा रोपण गर्ने, कहाँ रोपण गर्ने, व्यवस्थापन कसले गर्ने जस्ता विषयमा निक्र्योल गर्नुपर्दछ ।
स्थान छनोट
स्थान छनोट गर्दा सम्भव भएसम्म छेउकुना मिलेको, सम्म परेको कुनै ठूला रूख बिरुवा नभएको, पछिसम्म संरक्षण गर्न सकिने र सिंचाइको अनुकूल भए उत्तम हुनेछ । वाटिका बनाइने स्थान कुनै मठ, मन्दिर, सांस्कृतिक वा धार्मिक क्षेत्र, कुवा, नदी, कुलो, प्राकृतिक पानी मूल नजिक वा जोडिएको भएमा त्यसको महत्व र गरिमा अझै वृद्धि हुनेछ ।
बिरुवा रोपणमा सबैभन्दा धेरै ध्यान दिनुपर्ने पक्ष भनेको प्रजातिको छनोट, यसको अवस्थिति, बिरुवा रोपण गरिने दिशा आकाशीय पिण्डहरूकै अवस्थिति अनुरूप हुनु राम्रो हुनेछ अन्यथा यो फलविहीन हुन्छ ।
सधैं वाटिका बनाउन स्थान, बजेट आदिका कारणले अनुकूल नहुन सक्छ । यस्तो अवस्थामा तपाईं आफ्नो नक्षत्रसँग सम्बन्धित आफ्नो घर वरिपरिको सार्वजनिक तथा निजी जग्गामा पनि यी बिरुवा लगाउन सक्नुहुनेछ ।
तपाईंको टोल छिमेक वा परिवारमा आफ्नो नक्षत्र मिल्ने व्यक्तिहरूको सानो समूह बनाएर पनि रोपण, गोडमेल, घेरबार लगायत संरक्षणको काम गर्न सक्नुहुन्छ । तपाईंले कम्तीमा पनि आफ्नो नक्षत्रको बिरुवामा नियमित रूपमा पानी हाल्ने, गोडमेल आदि गरेमा आध्यात्मिक हिसाबले ठूलो पुण्य र प्राकृतिक हिसाबमा धर्तीको सेवा हुनेछ ।
रोपण प्रविधि
विभिन्न लेखलाई आधार मान्दा अहिलेसम्म नक्षत्र वाटिकाको दुई वटा मोडल देखिएको छ । यसमध्ये धेरैले अपनाएको विधि सर्कल (परिधि) हो, जहाँ ३६० डिग्रीलाई आधार मानिन्छ । वाटिका बनाउने स्थानको बीच भागमा उभिएर जग्गाको उपलब्धता एवं फैलावट अनुसार निश्चित अर्धव्यास बनाई टेप वा डोरीको माध्यमबाट चारैतिर घुम्ने ।
यसरी घुम्दा एक नक्षत्रदेखि अर्को नक्षत्रको बीचमा १३ डिग्री २० मिनेटको कोणमा बन्ने मिलाउन अधिकतम प्रयत्न गर्ने । यसको लागि टेप वा डोरी र सामान्य कम्पास वा मोबाइलमा भएको कम्पास प्रयोग गर्न सकिन्छ । एक नक्षत्रको बिन्दुदेखि अर्को नक्षत्रको बिन्दु बीचको सम्भावित दूरी निकाल्न सर्कलको परिधि (C= 2πR) को सूत्र प्रयोग गरेर त्यसलाई २७ ले भाग गर्ने जसले सहजताका साथ एकदेखि अर्को नक्षत्रको अनुमानित बिन्दु निस्कन्छ ।
यसरी निस्किएको दूरी अनुसार एक नक्षत्रको कोणदेखि अर्को नक्षत्रको कोण बीचको बिन्दुमा तोकिएको बिरुवा लगाउने । उदाहरणको लागिः यदि बिरुवा रोपिने स्थानको अर्धव्यास ५० फिटको छ भने त्यसको परिधि C= 2πR अनुसार ३१४ फीट हुन्छ र यसलाई २७ ले भाग गर्दा एक बिरुवादेखि अर्को बिरुवा बीचको दूरी ११.६३ फीट हुन्छ । यो बीचको बिन्दुमा रोपण गर्दै मिलाउँदै जाने । अर्धव्यास वा व्यास जमीनको अवस्था, भविष्यमा गरिने योजना र उद्देश्य अनुसार ठूलो वा सानो गर्न सकिन्छ ।
यदि जग्गा प्रशस्त उपलब्ध छ भने आगामी दिनमा सुन्दर बगैंचा निर्माणको समेत उद्देश्य राखेर नवग्रह र राशि वाटिकालाई समेत एकै स्थानमा वा एकै क्लस्टरमा रोपण गर्न सकिन्छ । दोस्रो विधिमा वर्गाकारमा बिरुवा रोपण गर्ने । वर्गाकारको नाप यति नै भनि स्पष्ट नभए तापनि रोपिने बिरुवाको प्रकृति हेर्दा कम्तीमा ६०×६० फीटको (३,६०० वर्गफीट) वर्गाकर वा सोभन्दा अधिकको वर्गाकारमा राम्रो हुन्छ । यसमा विभिन्न २७ वटा बिन्दु तोकिएको छन, सोही अनुसार रोपण गर्न सकिन्छ ।
यसैगरी नवग्रहमा एक ग्रहको विन्दुदेखि अर्को ग्रहको विन्दु बीचको कोण ४५ डिग्री र राशिमा ३० डिग्री बनाएर विन्दु मिलान गर्ने । एक विन्दुदेखि अर्को विन्दु बीचको दूरी पत्ता लगाउन नवग्रह वाटिकाको परिधिलाई ८ (सूर्य बीचमा रहने हुनाले ८ ले भाग गर्ने) र राशिमा १२ ले भाग गरेर दूरी निकाल्नुपर्छ ।
रोपण एवं संरक्षण
यसका लागि हामीले अन्य बिरुवा रोपेको जस्तै रोपण गर्न सक्छौं तर यीमध्ये वर, पीपल, कदम, अर्जुन जस्ता ठूला प्रजाति पनि हुनाले सकेसम्म ठूलो खाडल खन्ने र सबै खाल्डोमा कम्पोस्ट मल राख्ने । बिरुवाको संरक्षणलाई पहिलो प्राथमिकता दिने ।
संरक्षण हुन नसक्ने देखिएमा रोपण नै नगर्ने, यसमा तारबार भन्दा ट्री गार्ड धेरै सजिलो, सस्तो र प्रभावकारी हुन्छ । नियमित गोडमेल, सिंचाइको लागि स्थानीय धार्मिक समूह वा संरक्षण समिति बनाएर जिम्मा दिनु प्रभावकारी हुन्छ । ट्री गार्डमा वा रोपण गरिएको स्थानमा फलामको पातामा, फ्लेक्स वा होर्डिङ बोर्डमा नक्षत्र, नक्षत्रले जुराएका पद नाम, बिरुवाको नाम, वैज्ञानिक नाम र अन्य आवश्यकीय कुरा उल्लेख गर्ने र सबैले सजिलैसँग बुझ्ने र देखिने गरेर टाँस्ने ।
यो अत्यन्त मानव मैत्री र प्रकृतिमैत्री छ । बिरुवाले धर्तीमा पुर्याउने अन्य वातावरणीय सेवाका अतिरिक्त यसले व्यक्तिको आत्मविश्वासमा अतुलनीय रूपमा वृद्धि गरेर अगाडि बढ्न मद्दत गर्दछ भने अर्कोतर्फ बिरुवा रोपण एवं संरक्षणको माध्यमबाट व्यक्तिलाई प्रकृतिप्रति उसको प्रेम, विश्वास एवं निष्ठालाई बढावा दिएर आगामी दिनमा यी र यस्ता बिरुवा संरक्षणको अभियानमा लाग्न प्रेरणा समेत प्रदान गर्दछ ।
तसर्थ यो नक्षत्र बिरुवा रोपणले एकैपटक प्रकृति एवं संस्कृतिको सेवा गर्दछ । यसले हराउँदै गएको संस्कृतिको पुनःस्थापना गर्न समेत मद्दत गर्नेछ जुन अहिलेको प्रखर आवश्यकता हो ।
गर्नुपर्ने थप काम
नक्षत्र वाटिकाको सन्दर्भमा अधिकांश पुस्तक भारतीय ज्योतिष एवं लेखकद्वारा त्यहाँको स्थानीय परिवेश र सन्दर्भमा लेखिएका छन् । त्यसैले केही नामका द्विविधा र केही बिरुवा यहाँ नपाउने समस्या हुनसक्छ । अधिकांश ट्रपिकल र सब ट्रपिकल (उष्ण र उपोष्ण) क्षेत्रमा पाइने बिरुवा छन् ।
हिमाली क्षेत्रका जनताले नक्षत्र वाटिका वा यस्तै प्रकारका नवग्रह वा राशि वाटिका बनाउन चाहेमा कसरी बिरुवाको विकल्प खोज्ने भन्ने विषयमा स्पष्टता छैन । सिफारिस गरिएका बिरुवालाई ज्योतिषशास्त्री, खगोलशास्त्री, वनस्पति विज्ञ, वन विज्ञको टोलीले बृहत् अध्ययन गरेर हाम्रो स्थानीय सन्दर्भमा परिमार्जन गर्नुपर्ने देखिन्छ । यसले हाम्रो स्थानीय हावापानी, उचाइ र रैथाने बिरुवाको समेत प्रवर्धन गर्न मद्दत पुग्छ ।
देशका सबै पालिकाले आफ्नो वरिपरिको खाली, पर्ती तथा धार्मिक स्थानमा यस्ता बिरुवा रोपेर हरियालीको अलावा एउटा धार्मिक गन्तव्यको रूपमा विकास गर्न सक्छन् । तर दुर्भाग्य यो कुरा धेरै पालिका, समुदाय, व्यक्तिलाई अझै थाहा छैन ।
प्रकृति र संस्कृतिको संयोजन नै हाम्रो सभ्यताको प्रारम्भ र उन्नयनको आधार हो । जीवनको उचाइलाई शिखरारुढ बनाउन हाम्रा पुर्खाहरूको विशिष्ट अध्ययन, अनुसन्धान गरी अनेक आकाशीय पिण्डहरूबाट आउने ऊर्जाहरूलाई शमन गर्न, शान्त बनाउन र सकारात्मक ऊर्जा प्राप्त गर्न पनि यस्ता नक्षत्र वाटिका निर्माण तथा प्रवर्धन गर्न आवश्यक छ ।
बिरुवा भनेका केवल बिरुवा मात्र होइनन्, यसलाई वातावरणीय विज्ञान, जैविक विविधता वा अर्थोपार्जनसँग मात्र जोड्दै आयौं । तर रूख बिरुवा लगाउनु वा जोगाउनु भनेको केवल रूख लगाउनु, जोगाउनु वा वातावरण वा जैविक विविधताको संरक्षण मात्र होइन, यो भनेको इतिहास, सभ्यता र संस्कृति जोगाउनु हो । समृद्धि जोगाउनु हो । आउनुहोस्, रूख बिरुवा, वन्यजन्तु संरक्षणका अलावा इतिहास, सभ्यता र संस्कृतिसँग पनि जोडौं ।