‘हर्क दाइ, तपाईं जहाँ रहनुस्, मस्त रहनुस्’

‘हर्क दाइ, तपाईं जहाँ रहनुस्, मस्त रहनुस्’


१.

बाटो
जतिसुकै फराकिलो भए पनि
हिंड्नेहरुले त
छेउ लागेरै हिंड्नु पर्ने रहेछ ।
२.

मैले हिंडेको बाटो
फर्केर आयो मनिर
र माग्यो मसित
मेरो पाइलाको हिसाब,
अनि थाहा पाएँ
निरुद्धेश्य सडकमा
कहिल्यै हिंड्न नहुने रहेछ ।

तर, यो लेख मैले मभित्र अन्तर्निहित काव्यिक-क्षमताको जानकारी दिन लेखेको होइन । एकछिन टाइमपासका लागि मात्र मैले यहाँ दुई थान छोटा कविता पेश गरेको हुँ । मुशायराहरुमा गजलकारहरुले मुल गजलवाचन अगाडि श्रोतागण समक्ष एकदुई मुक्तक निःशुल्क पेश गरेजस्तै । या सिनेमाहरुमा मुख्य द्वन्द शुरु हुनुभन्दा ठीक अगाडि देखाइने हल्काफुल्का, रमाइला या रोमान्टिक दृश्यजस्तै ।

नयनराज पाण्डे

यो लेख मुलतः यात्रा-संस्मरण नै हो ।

००
यो मेरो समग्र लेखन-जीवनको पहिलो र सम्भवतः अन्तिम यात्रासंस्मरण हो । उसो त यो संस्मरण लेख्नै पर्छ भन्ने पनि थिएन । कसैले करकापमा पारेर लेख्न लगाएको पनि हैन । खासमा लेख्दिनँ नै भनेर बसेको पनि हुँ । तर, मनमा लामो समयसम्म चलेको अन्तद्र्वन्दलाई विराम दिने क्रममा मलाई लाग्यो-यो संस्मरण नलेख्नु भनेको मैले मेरा प्रिय पाठकहरुप्रति गरेको (या गर्ने) एक किसिमको सिर्जनात्मक बेइमानी नै हुनेछ ।

बेइमान हुन मनै लागेन । लेख्न बसें । शीर्षक माथि नै पढिसक्नु भयो । त्यसैले यो लेखौट कुनै अद्भूत तर अनुल्लेख्य बाटोको बारेमा हो भन्ने अनुमान पनि लगाइसक्नु भयो होला ।
तपाईंको अनुमान गलत होइन ।

तर, यसलाई बाटो पनि के भन्नु ! गोरेटो भन्नु ठीक । अझ पदमार्ग भन्नु सबैभन्दा उत्तम ।
००

यो पदमार्गका बारेमा धेरैलाई थाहै छैन । मैले नेपाली यात्रासाहित्यका किताबहरुमा पनि यसको चर्चा भएको कतै पढेको छैन । कुनै लेखकले कतै छुस्स यसको चर्चा गर्नु भएको रहेछ भने पनि मेरो मानसपटलमा स्थापित हुने गरी त्यस्तो केही पढेको पटक्कै सम्झना छैन । अहिले पनि मलाई लाग्छ, यो पदमार्गका बारेमा राम्ररी प्रचारप्रसार हुने हो भने यसले बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा एउटा नयाँ आयाम अवश्य थप्नेछ ।

तर, फेरि सोच्छु, केही कुरा अलिक ओझेलमै परेको या गोप्य नै रहेको राम्रै हो । यसबारेमा व्यापक प्रचारप्रसार भएको भए यो अति सुन्दर र पातलो पदमार्ग आजसम्म वर्षेनी पहिरो गैरहने र सयौंको जिउधन सखाप पार्ने अभिशप्त लोकमार्ग या राजमार्गमा परिणत भैसक्ने थियो । यो यही किसिमले अद्भूत, सुन्दर र कौतुकमय भएर रहने थिएन । यस हिसाबले सरकारी तवरबाट यसको उपेक्षा हुनु खासै चित्त दुख्ने कुरा भएन ।

तर, यात्राका सौखिन र पदयात्राका विज्ञहरुबाट पनि यसको चर्चा, परिचर्चा नहुनु (अझ कसैलाई यसको बारेमा थोरै पनि थाहा नहुनु) चाहिं साँच्चिकै चित्त दुखाइको विषय हो ।

कतै यसबारे फिटिक्कै चर्चा नहुनुको कारण हामीभित्र लुकेर बसेको रोगग्रस्त वर्गीय दम्भ अथवा जातीय, लिंगीय चिन्तन त होइन ? नत्र यो पदमार्गमा यस्तायस्ता वस्तीहरु पर्दछन् । ती वस्तीमा यी-यी जातजातिका मानिसहरु वसोवास गर्छन् । तिनको रहनसहन यस्तो-यस्तो छ । तिनका वेशभुष यस्ता-यस्ता छन् । तिनको आर्थिक, सामाजिक हैसियत यस्तो-यस्तो खालको छ । तिनीहरुको साँस्कृतिक मूल्य, मान्यता र गतिविधि यस्तो-यस्तो छ भनेर जानकारी दिन हामीलाई केले रोक्यो ?

प्रश्न अलिक गरुङ्गै उठाएँ क्या र ! तर, कसै न कसैले उठाउनु जरुरी पनि त थियो । प्रश्नहरु उठेनन् भने ती मानिसहरुको मथिंगलको पिंधमा ’मौनता’ भएर थेग्रिएर बस्नेछन् । यस्तोमा जब भविष्यमा कसैले प्रश्नको उत्खनन गर्ला, त्यो बेलासम्म त यसमा कस नै लागिसकेको हुन सक्नेछ । जुन प्रश्न कुनै बखत धारिलो हतियार बन्न सक्थ्यो, त्यतिबेलासम्म त्यो भुत्ते कर्द बनिसक्नेछ । त्यसैले ठीक समयमा, ठीक प्रश्न उठ्नु आवश्यक छ ।

वास्तवमा यो यात्रा-मार्गमात्र होइन, हाम्रो देशको विविधतालाई साह्रै नजिकबाट अनुभव गर्न सकिने एउटा अद्भूत भौगोलिक, साँस्कृतिक तथा जैविक राजमार्ग हो । यस्तो बाटोको प्रचारप्रसारमा संस्कृति तथा पर्यटन मन्त्रालय किन उदासीन छ ? पर्यटन बोर्ड किन मौन छ ? पर्यटनका क्षेत्रमा कार्यरत संघसंस्थाहरु आआफ्नो चेतनाको माटे-घैंटोमा बादल लगाएर किन बसेका छन् ? यो कुरा चिन्ताजनक मात्र हैन, रहस्यमय पनि छ । (यस्तै यस्तै कुराले गर्दा त हो नि ’थ्यौरी अफ कन्स्पिरेसी’का अम्मलीहरुले बडेबडे गफ हाँक्ने मौका पाउने ।)

आउनुस्, आज म यो बाटोको रहस्यबाट पर्दा हटाउँछु र आफूसँगै तपाईंहरुलाई यो पदमार्गमा यात्रा गराउँछु ।
००
उसो त मैले यो पदमार्गबाट गरेको अविस्मरणीय यात्रानुभूति गर्ने सौभाग्य पाएको पनि अब त लगभग दुई दशक नै नाघिसक्यो । तर, दुई दशकअघिको त्यो लगभग बाइस (या तेइस अथवा बढीमा पच्चिस) दिनको यात्राका एकएक क्षणहरु मेरो मगजमा केही रोचक, केही रोमान्चक र केही दुःखद स्मृतिहरु बनेर बसेका छन् । ती स्मृतिहरु पटक्कै बासी बनेका छैनन् ।

त्यसैले पनि यो पदमार्गमा आफ्ना पाइलाहरुका डोबहरु छाड्दै र अनेकन अनुभवहरु सँगाल्दै हिंड्न पाउनु मेरो जीवनकै अत्यन्त सुखद अनुभव हो । मेरा पाइलाका डोबहरु त हराइसके तर त्यो यात्राले मेरो मनमा बनाएको डोब भने जस्ताको तस्तै छ ।

पदयात्रीहरुलाई थाहा नभए पनि राजनीतिका केही सीमित खेलाडीहरुलाई यसबारे थाहा हुनसक्छ । तर, जजसले थाहा पाए, सबै मौन बसिदिए । मानौं उनीहरु यो रहस्यबाट पर्दा हटाउनै चाहन्नथे या यो मार्गलाई उनीहरु आफ्नो बाको बिर्ता ठान्दथे । नयाँ छिमलका राजनीतिज्ञले त यसबारेमा सुनेका पनि छैनन् होला ।

केही कमरेडहरुले भने आफूभन्दा अग्रज कमरेड या नेताबाट यसबारेमा हल्का केही सुनेको हुनुपर्छ । तिनका लागि यो मार्गसित जोडिएका किस्साहरु केही किम्बदन्तीजस्तो या केही लोककथाजस्तो लाग्न सक्छ ।

हिंड्दा-हिंडदै मोडमा
हिंडेको बाटो नै मोडिएपछि,
हिंड्नेको पनि केही लाग्दोरहेनछ ।
उक्लँदा-उक्लँदै उकालोमा
उक्लिएको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दोरहेनछ ।

यस्तै केही कविता लेखेका थिए क्यार कवि तुलसी दिवसले । बाटो शीर्षकमै । त्यही कविताको स्टाइलमा भन्न मन लाग्छ-

बुझेकाले या बुझाउनु पर्नेले नै
बुझ पचाएर बसिदिएपछि
बुझ्न चाहनेको पनि केही लाग्दोरहेनछ ।

यहाँ मैले ’केही राजनीतिज्ञलाई थाहा हुनुपर्छ’ भनेर किन भनेको हुँ भने, मैले यात्रा शुरु गरेको पहिलो दिन नै यो पदमार्गलाई दिइएको नामबारे थाहा पाएको हुँ-क्रान्तिकारी ट्रेल ।

नाम सुनेरै म बेस्कन झस्किएको ठीक साँचो हो । अनि म हल्का डराएको पनि ठीक साँचो हो । मलाई लागेकै हो, यात्राको लहडमा कतै मैले गलत बाटो त रोजिनँ ? तर म यात्रामा हिंडी नै सकेको थिएँ । अब फर्किनु उचित पनि थिएन ।
त्यो बेलासम्म मलाई ’ट्रेल’ भनेको के हो भन्ने नै थाहा थिएन । जसले यो नामबारे मलाई जानकारी दिए, उनीसित अर्थ सोध्दा उनले पनि उस्तै जवाफ दिए,  खै सर, ट्रेल भनेको के हो भन्ने त मलाई पनि थाहा भएन । अरुले जे भने पनि हाम्रालागि त यो गोरेटो नै हो ।’

यात्राको दोस्रो साँझ एउटा सानो वस्तीमा हाम्रो बास भयो । त्यहाँ केही ससाना कच्ची घरहरु रहेछन् । केही घरमा टुकीमारा बत्ती पनि रहेछ । अँध्यारोमा बाँचिरहेका दुर्गमका जनतालाई वितरण गरेर केकेन महान योगदान गरिएझैं यो ‘टुकीमारा’को तिनताक खूब हल्लाखल्ला थियो ।

तर जब मैले मधुरो न मधुरो टुकीमारामा आँखालाई सास्ती दिईदिई आफ्ना पाठ्यपुस्तक पढिरहेका सानासाना बालबालिकालाई देखें, मैले तत्काल बुझिहालें, भविष्यमा यी कलिला बालबालिका आँखाको डाक्टरका नियमित ग्राहक बन्नेछन् । जे होस्, त्यहाँ एउटा पुरानो संस्करणको र लगभग जीणर् भैसकेको अंग्रेजी-नेपाली शब्दकोश रहेछ । मैले टी-आर-ए-आई-एल ट्रेलको अर्थ त्यही शब्दकोशमा भेटें ।

बल्ल पो बुझें, ट्रेल भनेको त जंगलका बीचमा या पहाडका ढुंगाहरु खोपेर बनाइएको पदमार्ग या गोरेटो रहेछ ।

ट्रेल शब्दको अर्थ मोटामोटी बुझेपछि बुझ्न बाँकी कुरा थियो-यसको नाम किन ‘क्रान्तिकारी ट्रेल’ भयो ? स्वभावतः यतिखेर तपाईंको मनमस्तिष्कमा उठेको जिज्ञाशा पनि यही हो । तपाईंको मनको यो जिज्ञाशा शान्त पार्न म धेरै समय लिने छैन ।

बस्, एकछिन चाहिं धैर्य गरिदिनुस् ।

००
जसले मलाई पहिलोपल्ट त्यो बाटोको नाम ‘क्रान्तिकारी ट्रेल’ भनेर जानकारी दिएका थिए, उनको काम भने यात्राको क्रममा मेरा सामानहरु बोकिदिनु थियो । ठाडै भन्दा ती मेरा भरिया भएर मसित हिँडिरहेका थिए । त्यही ‘क्रान्तिकारी ट्रेल’मा । उनी मसित हिंडेकै भएर मेरो त्यो यात्रा यति रोमान्चक र अनुभवयुक्त भएको थियो ।

त्यसैले मेरालागि उनी भरिया थिएनन्, एक कुशल सहयात्री थिए । साथी पनि भन्न सक्थें । तर, उनी उमेरले मभन्दा दोब्बर ठूला थिए । लगभग बा पुस्ताका । काका भन्दा पनि हुन्थ्यो । तर, मैले उनलाई हर्क दाइ भनेर सम्बोधन गर्थें । हर्क दाइका लुगा पो मैला थिए, मन त कति सफा थियो कति ! त्यसैले त उनी मसित साह्रै आत्मीय व्यवहार गर्थें । कत्ति पनि झिंजो नमानी मलाई त्यो बाटो, बाटो छेउछाउका बोटबिरुवाका नाम, जाति प्रजातिका बारेमा जानकारी दिंदै हिंड्थे ।

त्यो बाटोले छुँदै हिंड्ने भूगोल, त्यहाँको परिवेश, त्यहाँका मान्छे, तिनका भाषा, रहनसहन, आनीबानी, खानपान, वेशभुषा, गानाबजाना, नाचगान आदिइत्यादिका बारेमा उपयोगी जानकारी दिंदै हिँड्थे ।
हर्क दाइले आफ्नो किशोरवयदेखि नै भरियाको काम गर्न थालेका रहेछन् । उनले गर्वसाथ भन्थे, ‘म भरियागिरी गर्छु’

मैले भनेको भए यो शब्द पक्कै अभद्र सुनिन्थ्यो । उनी आफैंले आफ्नो पेशालाई खुसीसाथ ’भरियागिरी’ भनिरहेका थिए । उनको मुखबाट निस्कँदा यो शब्द पनि गरिमापूणर् सुनिएको थियो । त्यसैले पनि यसलाई म यो लेखमा ढुक्कले प्रयोग गर्दैछु ।

भरियागिरीबाटै हर्क दाइले आफ्नो परिवार पालिरहेका थिए । मैले भेट्दा नै उनले जीवनमा हजारौं पटक भारी बोकेर पृथ्वीको दशबीस चक्कर लगाए बराबरको दूरी तय गरिसकेका थिए । उतिबेलै उनको आधा ज्यान त गरिबीले नै गलाइसकेको थियो । त्यसैले अहिलेसम्म उनी जीवित होलान् भन्ने मलाई खासै आस छैन ।

जीवित रहेछन् भने पनि आजसम्म चक्कर नै लगाइरहेका होलान् । यी दुई दशकमा हर्क दाइजस्तालाई आफ्नो वजनभन्दा गरुङ्गो भारी बोक्दै पृथ्वीको चक्कर लगाउने पेशा खुसी साथ त्यागेर अरु कुनै सम्मानजनक पेशा रोज्ने अवसर यो देशले उनलाई दिएको जस्तो लाग्दैन ।

हर्क दाइले भरियागिरी गर्ने क्रममा धेरै खालका मानिसका भारी बोकिसकेका छन् । विश्वविधालयका प्राध्यापकदेखि लिएर नेपाल सरकारका सचिव, मुख्य सचिबसम्मका । डाक्टरदेखि लिएर गाउँका पण्डित पुरोहितसम्मका । वडाध्यक्षदेखि लिएर सांसदसम्मका । मन्त्रीदेखि लिएर सभामुखसम्मका । राष्ट्रिय दैनिकका प्रधानसम्पादकदेखि संवाददातासम्मका ।

टेलिभिजनका सेलिब्रिटीदेखि मूढमतिका युट्युबरसम्मका । यार्सागुम्बाका दलालहरुदेखि लिएर डक्युमेन्ट्रीका लागि गरिब र गरिबी खोज्दै हिंडेका क्यामेराम्यान र निर्देशकसम्मका । यसरी भरियागिरी गर्ने क्रममा उनले आजसम्म कसैप्रति वर्गीय, जातीय, लिंगीय लगायत कुनै खालका विभेद गरेका छैनन् । सबैका भारी उस्तै सम्मान र सचेतताका साथ बोकेका छन् । उनका लागि सबै मालिक । सबै भगवान् । सबै समान । त्यसैले हर्क दाइले धनसम्पत्ति खासै कमाउन सकेनन् होला । तर, उनीसित अनुभवको पुँजी भने प्रशस्तै छ ।

दुःखको कुरा, यो पुँजी अहिलेको बजारका लागि त्यति नै अर्थहीन छ, जति अर्थहीन छ हर्क दाइको भारी बोक्ने ढाडको घाउ, राज्यको लागि । मैले भेट्दा उनको ढाडको घाउ सइन भएर निको हुनै सकिरहेको थिएन । तर, उनले कहिल्यै दुख्यो भनेको सुनिनँ । उनलाई सायद ऐय्या भन्ने छुट थिएन । दुख्यो भन्ने छुट पनि थिएन ।

हर्क दाइले भरियागिरी गरेर कमाएको अर्को महत्वपूणर् कुरा हो-सूचना । उनी सूचनाका भण्डार थिए । भारी बोकेर भारीका मालिकसित हिंड्दाहिंड्दै र बातमारी गर्दागर्दै उनले सबैका तीन पुस्ते थाहा पाइसकेका थिए । तिनका कर्म, नियत र नियति सबैका जानकार भैसकेका थिए ।

तर, उनको विशेषता नै भन्नु पर्ला, उनले आफूले प्राप्त गरेको अनुभव र सूचनाको कहिल्यै दुरुपयोग गरेनन् । तर, विडम्बना हेर्नुस्, म भने उनै हर्क दाइबाट चुहिएका केही सूचनाहरु बटुलबाटुल पारेर यो यात्रासंस्मरण तयार गर्दैछु । यस्तोमा अरु के भनुँ ? बस् यति भन्छु, हर्क दाइ ! तपाईं जहाँ रहनुस्, मस्त रहनुस् !
००

हर्क दाइलाई आफ्नो सबै भारी बोकाएर उनकै पछिपछि लागेर शुरु गरेको यात्राका प्रारम्भिक चार दिन त सामान्य रहे । हामी दिनभरि उकालोओरालो गरिरहन्थ्यौं र साँझ बास बस्थ्यौं । बास बसेकै ठाउँमा सिमीको दाल, सिमीकै तरकारी र भात खाएर सुत्थ्यौं । कतै सिस्नोको तरकारी र भात । हैन, म भात खान्थे, हर्क दाइ ढिंडो । मैले भात नै खान अनुरोध गर्दा उनी भन्थे, ’भो सर, हाम्लाई ढिंडै ठीक । भात पच्दैन अब । गरिबले के खानु हुन्छ, के खानु हुन्न भन्ने कुरा दैवले हाम्रो ललाट मै लेखिदिएको हुन्छ रे ।’

पाँचौं दिनको यात्रा भने सामान्य रहेन । मेरालागि त असामान्य नै रह्यो । किनभने त्यो ट्रेलमा हिंडेको केहीबेरमै मैले गोरेटोको दायाँबायाँ लमतन्न सुतिरहेका केही थान मानव-कंकाल देखें । पाँच, सात या त्योभन्दा पनि बढी । गन्ने आँटै भएन । म त आत्मादेखि नै काँप्न थालिहालें । आँखाअगाडि गाढा अन्धकार छायो । खुट्टाहरु लुला भए । म त अर्धचेतमा थुचुक्क भुइँमै बसेछु ।

‘आम्मामा, के विधि कंकाल !’

मेरो मुखबाट यतिमात्र निस्किरहेको थियो । शरीर पसिनाले निथ्रुक्कै भिजिसकेको थियो । म रुन पनि थालेछु । मलाई रोएको देखेर हर्क दाइले नजिकै भारी बिसाएर मसँगै बसे । मैले उनको काँधमा शिर राखें । उनको काँध मलाई संसारकै सबैभन्दा ढुक्कको ठाउँजस्तो लाग्यो । उनको काँधमा शिर राख्दाराख्दै मेरो आधा डर भाग्यो । केही संयमित भएँ । तर, बक् अझै फुटेको थिएन । मुटुको वेग भने केही कम हुन लागेको थियो ।

‘यो बाटोमा त यस्तो कति देखिन्छ कति ! अहिले नै डराएर भो त ? मन बलियो बनाउनुस् । बरु भन्ठान्नुस्, तपाईं सपनामा हुनुहुन्छ र सपनामै यी सबै दृश्य देखिरहनु भएको छ । यति भएपछि आधा डर हराउँछ ।’

तर, कति गर्दा पनि आँखैले देखेको यथार्थलाई सपना हो भनेर ठान्न सकिरहेको थिइनँ । यथार्थसित यति मजाक गर्नु जायज पनि लागेन । बिस्तारै फेरि कंकालहरुतिर आँखा छड्के पारेर हेरें । यसपटक उति डर लागेन । बरु मन कवित्वले भरिएर आयो र सोचें- मर्ने बेलामा त यी मनुवाहरु पक्कै पनि हाँसिरहेका थिएनन् ।

कोही असहनीय पीडामा छट्पटाइरहेका थिए होलान् । ठीक अगाडि मृत्यु आइपुग्दा आत्तिएर कति त रोए पनि होलान् । तर, कंकालमा रुपान्तरित सबका सब हाँसिरहेझैं देखिन्थे । एउटा गजबको कुरा के देखें भने, सबै कंकालका खुट्टामा गोल्डस्टारका जुत्ता थिए ।

‘यो बाटोमा कसैका लाश कुहिँदैनन् । बस्, यसरी नै ङिच्च हाँसेर बसिरहन्छन् । मैले देखेदेखि यिनीहरु यही हालतमा छन् । उहिले त मलाई पनि डर लाग्थ्यो । अब त बानी परिसक्यो ।’

हर्क दाइले कति ढुक्कले चुरोट सल्काउँदै भनेका थिए । डरलाई पचाइसकेका थिए हर्क दाइले । जबकि त्यतिबेला ’डर के आगे जित है’ लाई ’डरभन्दा अगाडि जीत छ’ भनेर कुनै चबन्नियाँ अनुवादकले स्लोगन बनाएर टेलिभिजनमा दुनियाँलाई कोका या पेप्सी घिचाइरहेको थिएन । र पनि हर्कदाई डरलाई उतिबेलै जितिसकेका थिए । उनले कंकालहरुतिर हेरेर हाँस्दै भनेको अझै पनि याद छ ।

उनले भनेका थिए, ‘जुत्ता चाहिं किन नफुकालेका होलान् अझै । अझै लडाँइमै जान खोजिरहेका जस्ता छन् । यिनका लागि युद्ध सकिएकै छैन कि क्या हो ! कमान्डरले आदेश नदियुन्जेल यिनले जुत्ता फुकाल्लान् जस्तो मलाई लाग्दैन ।’
यति भनेर मज्जाले हाँसे हर्क दाइ । उनको हाँसोले मेरो त्रासलाई ह्वात्तै घटाइदियो । त्यसैले त फेरि भन्छु, ‘डियर हर्क दाइ ! तपाईं जहाँ रहनुस्, मस्त रहनुस् ।’
००

‘हर्क दाइ, यी कस्का कंकाल हुन् ?’ डर कम भएपछि मैले सोधेको थिएँ । तर, मेरो प्रश्नको जवाफ दिंदै दिएनन् हर्क दाइले । यसको जवाफ दिन उनलाई वर्जित गरिएको थियो क्या र ! बेकारको लफडामा उनी किन पर्न चाहन्थे ! तर, कंकालहरुले पहिरिएको जुत्ताको सन्दर्भमा उनले मजाकै मजाकमा जे भने त्यसले मैले ती कंकाल कसका हुन् भन्ने धेरथोर अनुमान लगाइसकेको थिएँ ।

हामी त्यहाँ धेरै बेर बसेनौं । बस्नुको अर्थ पनि थिएन । त्यसपछि पनि कंकालहरुसित हाम्रो जम्काभेट भैरह्यो । बाटाभरि । बिस्तारै मभित्रको डर पनि हराउँदै गएको थियो । तर, डरको पटकथामा अझै खतरनाक दृश्यहरु बाँकी नै थिए । क्लाइमेक्स त झन् डल्लै बाँकी थियो ।

बाटोमा खुसुक्क अलिकति सूचना चुहाए हर्क दाइले अनायासै भने, ’बाटोमा केही गोल्डस्टार नपहिरिएका कंकाल पनि भेटिम् हामीले । ती कंकाल चाहिँ हाम्रा हजुरबाको पालामा पनि यसरी नै बाटोमा बेवारिसे ङिच्च हाँसिरहेका थिए रे ।

अझ बाटो काट्न ढिलो भो र रात पर्यो भने त कुनै कुनै कंकाल त जुरुक्क उठेर बटुवासित चुरोट माग्दै सोध्थे रे – ‘सशस्त्र क्रान्तिका लागि सुवणर् शम्शेरले पठाएको गोलीगट्ठा र हतियार बोकेका मुक्ति सेनाका साथीहरु अहिले कहाँ पुगे ? वीरगन्ज कब्जा गर्न थिरबम मल्ल सफल भए कि भएनन् ?’

मैले हैन, हर्क दाइले नै भने, ’मेरा बाजेले यो किस्सा अगेनुमा हामीलाई राखेर सुनाउथे र भन्थे मरेको यतिका वर्ष भैसक्दा पनि ती कंकालहरु सात सालकै क्रान्तिको धङ्धङीमा छन् । तिनीहरु राणा शासन फालियो कि फालिएन ?

प्रजातन्त्र आयो कि आएन ? भनेर कुनै बटुवाको जवाफ कुरेर बसिरहेका छन् आजसम्म पनि । तिनीहरुलाई कसले भनिदेओस्, तिनले खोजेको प्रजातन्त्र आइवोरी सकेर कछाड लगाएर ब्रह्मनालमा स्नान गर्न पनि गैसक्यो । केही हिमायतिहरु भने कछाड समातेर बसेका छन् अझै ।’

‘हर्क दाइ, तपाईंका बाजेलाई यति गहकिलो कुरा गर्न कसले सिकाएको ?’,मैले हिंड्दाहिंड्दै सोधेको थिएँ ।

‘टाइमले सब सिकाउँछ सर । यसै पनि मेरा हजुरबाको नामै टायम साइँला थियो ।’, यति भनेर फेरि हाँसे हर्क दाइ । करोडको हाँसो हर्क दाइको ।

पटकथामा अर्को ट्वीस्ट आयो ।

दिउँसोदेखि फुसफुस हिउँ पर्न शुरु भएको थियो । मैले र हर्क दाइले रेनकोट लगाइसकेका थियौं । हर्क दाइले नभिजोस् भनेर भारीलाई पोलिथिनले लुटुपुटु पारेर बेरेका थिए ।

त्यो दिनको गन्तव्यमा पुग्न अझै चार घण्टा जति बाँकी थियो । तर, दिउँसै झमक्कै रात परेजस्तो भएको थियो ।

एक्कासी हामीले टाढैबाट आगो बलेको देख्यौं । म त वस्ती आयो भनेर खुसी पनि भएको थिएँ । हर्क दाइले त भेउ पाइसकेका थिए क्या र ! तर, म फेरि डराएर रुन थाल्छु भनेर केही भनिरहेका थिएनन् । बरु भने, ‘सर, अहिले नै पिसाब फेरि हाल्नुस् । पछि समय मिल्ला नमिल्ला ।’

मैले उनको कुरा मानें । हल्का भएँ । र लागें हर्क दाइकै पछिपछि । मौसम यति धमिलो भैसकेको थियो कि एक हात अगाडिको वस्तु पनि देख्न गाह्रो हुन थालेको थियो ।

नजिक पुगेपछि एउटा बडेमानको रुखमा छेलिएर त्यो दृश्य हेर्न थालें । आगो दन्दनी बलिरहेको थियो । म जिल्ल परें, यस्तो एकलासको ठाउँमा यस्तो आगो कसले बाल्यो ? अनि मेरो नजर आगोमा केन्द्रित भयो । त्यो आगो रुखका हाँगाबिंगा या पातपतिंगरले बलिरहेका थिएनन्, त्यहाँ त किताबहरु बलिरहेका थिए । हर्क दाइ मेरो छेउमै आए । मैले सोधें, ’यी कसका किताबहरु हुन् दाइ ?’

‘कुनै वीपीका हुनन् । कुनै पुष्पलाल र मदन भण्डारीका हुनन् । परचन्नका पनि हुनन् । अब तिनका किताबका काम सकिए हुनन् । त्यसैले त जलायाका हुनन् । मलाई अरु मालुम नाइ । हाम्रा बा भरिया भएर आउँदा पनि यी आगाहरु बलिरहेकै थिए अरे ।’

अनि उनले गजबको सूचना दिए ।

‘एकपल्ट नडराइकन आगोनिर जानुस् त सर !’

हर्क दाइले भनेपछि मलाई पनि जिज्ञाशा भयो । कंकालहरु थिएनन् । त्यसैले डर पनि थिएन । म आगोनिर गएर उभिएँ । तर, अचम्म, त्यत्राविधि महान मानिएका मान्छेका भारिभरकम विचारका किताबहरुको आगोमा न्यानो राप थिएन । बरु त्यो आगोबाट चिसो न चिसो राप आइरहेको थियो । बिल्कुलै हिउँको रापजस्तो ।

‘अब यिनका किताबले आगा बाल्दैनन् सर । अब हामी अगाडि बढौं । वस्ती नजिकै पुगिसकिम् हामी ।’
००

यस्तो डरलाग्दो बाटोलाई क्रान्तिकारी ट्रेल किन भनेको होला ? अनि किन यो वर्जित बाटोजस्तो भएर चर्चाविहीन रहेको होला ? मनमा खुल्दुली कायमै थियो । तर हर्क दाइसित सोध्ने जाँगर पनि चलिरहेको थिएन । भोकले लखतरान परेको थिएँ नि त ।

‘सर, लेखक साहित्तेकार हुनुहुँदो रहेछ । त्यसैले अरु कसैलाई नभन्ने भए र यसको कथाकहानी पनि नलेख्ने भएमात्र केही कुरा भन्छु ।’

मैले कसम खाएँ-’कसैलाई भन्दिनँ’

(उफ् ! लेखकका कसम !)

‘मेरा बाजेले कसैलाई नभन्नू भनेर मेरा बालाई भनेका थिए । मेरा बाले पनि कसैलाई नभन्नू भनेर मलाई सुटुक्क भनेका थिए । म पनि उसरी नै सुटुक्क सरलाई भन्दैछु । सर पनि मेरो छोराजस्तै त हो नि ।’

अनि दुईपल्ट बुङबुङ आकाशतिर चुरोटको धुँवा उडाए र सुस्तरी भने, ‘देशमा हरेक परिवर्तन र क्रान्तिका लागि लडाकाहरु चाहियो नै । तिनीहरुको आयात र निर्यात यही बाटोबाट भएको हो । हरेक क्रान्ति र क्रान्तिकारीका लागि यो बाटो जरुरी हुँदोरहेछ । त्यसैले गुप्त रुपमा यो बाटोको नाम क्रान्तिकार ट्रेल भएको हो रे । क्रान्ति सकिएपछि यो बाटोको चहलपहल पनि बन्द हुँदोरहेछ र कंकालहरुमात्र बाँकी रहने रहेछन् ।’

कसैलाई नभन्नू है, यसबारे कथाकहानी नलेख्नू है भन्दैभन्दै हर्क दाइले मलाई भविष्यमा मैले लेख्ने पहिलो र अन्तिम यात्रासंस्मरणका लागि जरुरी खुराक दिइरहेका थिए । मैले ती खुराकहरुलाई असाध्यै जतन गरेर दिमागभित्रको सुर्के थैलीमा गाँठो पार्दै राखिरहेको थिएँ ।

मैले अन्तिम गाँठो पार्नै बाँकी थियो ।
००
त्यो मेरो यात्राको अन्तिम दिन थियो ।

अचानक पदमार्गमा अचम्मको ठाउँ आयो । बाटोको दायाँबायाँ भ्वाङैभ्वाङ थिए । दायाँतिर साना भ्वाङ । बायाँतिर बडेमानका भ्वाङ । बडो कलात्मक हिसाबले बनाइएका थिए ती भ्वाङ ।
‘जंगलको बीचमा यस्तो काव्यात्मक ठाउँ ?’

प्रश्न सोधेकै थिइनँ मैले । तर, हर्क दाइले जवाफ दिए ।

‘यी मुसाहरु र बाघहरु पस्ने भ्वाङहरु हुन् । क्रान्तिकारी थरिथरिका हुनेरहेछन् । कोही साना काँटीका । मुसाजस्ता । कोही अजंगका । बाघजस्ता । सोझासाझा क्रान्तिकारी ’लडाइँ सकिएको छैन, जारी छ’ भन्दै यहाँ नरोकिएर खुरुखुरु अगाडि बढ्दारहेछन् । अनि चनमते टाइपका क्रान्तिकारीहरु यहाँ टक्क रोकिँदारहेछन् । यी भ्वाङहरु गन्तव्यमा पुग्ने छोटा बाटा हुन् अरे । मेरा बाले कसैलाई नभन्नू भनेर भनेका ।’

त्यसपछि पनि हर्क दाइले भनिरहे, ’साना काँटीका मुसा क्रान्तिकारीहरु साना भ्वाङमा पस्दा रहेछन् । ठूला काँटीका बाघ क्रान्तिकारीहरु ठूला भ्वाङमा पस्दारहेछन् ।’
‘यो भ्वाङ सकिने चाहिं कहाँ पुगेर रहेछ ?’, मेरो जिज्ञाशा ।

‘खै, हजुरबाले कसैलाई नभन्नू भनेर मेरा बालाई भनेको अरे । यी भ्वाङहरु डाइरेक्ट सिंहदरबार पुगेर टुंगिन्छन् रे ।’

मैले त्यतिबेलै पक्कापक्की गरेको थिएँ, म यही प्रसंगलाई यात्रा-संस्मरणको क्लाइमेक्स बनाउने छु । तर, त्यतिन्जेल मलाई पनि के थाहा, त्यो प्रि-क्लाइमेक्समात्र थियो । हर्क दाइको अनुहारको हाउभाउले भनिरहेको थियो, ’क्लाइमेक्स तो अभी बाँकी है मेरे दोस्त !’

जे होस्, मेरो मथिंगल नै खल्बलिने गरी हर्क दाइले सूचना चुहाए, ‘तर, यी जाली भ्वाङ हुन् सर । त्यसैले बीचमा पुगेर ठूलो सुरुङ सानोसानो हुँदै जाने रहेछ र सानो सुरुङ ठूलोठूलो हुँदै जाँदोरहेछ रे । बाले भनेको मलाई ।’
‘अनि त्यसपछि के हुन्छ ?‘

म कहानीमा ट्वीस्ट पर्खिरहेको थिएँ ।

‘त्यसपछि सिंहदरबार पुग्दासम्म बाघ भएर पसेकाहरु मुसा र मुसा भएर पसेकाहरु बाघ भएर निस्कँदारहेछन् ।’
‘यो कसले भनेको ? हजुरबाले कि बाले ?’

हर्क दाइ मुसुक्क मुस्कुराए र भने, ‘यो चाहिं मैले नै भनेको हुँ ।’

म गम खान वाध्य भएँ । यो क्रान्तिकारी ट्रेलको केही रहस्य मेरो मथिंगलमा स्पष्ट भएर खुलेको थियो भने केही कहिले पनि नखुल्ने गरी उसैउसै रुमल्लिइबसेका थिए । मथिंगलमै । दुई दशकदेखि ।

यात्रामा सधैं म हर्क दाइको पछिपछि थिएँ । तर, गन्तव्य नजिक आउन थालेपछि ’अबको बाटो त सरले जानिहाल्नु हुन्छ नि’ भन्दै उनी मेरो पछिपछि हिंड्न थालेका थिए । म अलमल अलमलमा चुपचाप चुपचाप हिंडिरहेको थिएँ । हर्क दाइ पनि चुपचाप चुपचाप थिए ।

हामीबीचको मौनता अस्वाभाविक किसिमले अलिक लामै भएको थियो । मैले गन्तब्य धमिलो धमिलो देखेपछि मौनता तोड्दै भनें, ‘हर्क दाइ, तपाईंलाई धन्यवाद । यो यात्रामा गजबले साथ दिनु भयो । म तपाईंलाई कहिल्यै बिर्सने छैन ।’

यति भनेर म हर्क दाइसित जोडले हात मिलाउन चाहन्थें । मलाई अब स्मृतिको सुर्के थैलीमा अन्तिम गाँठो पनि पार्नु थियो । र थप भन्नु थियो-’हर्क दाइ, तपाईं जहाँ रहनुस्, मस्त रहनुस् ।’

त्यसैले, मनभरि भावुकताको उफान लिएर म फनक्क पछाडि फर्किएँ ।

मैले देखें, मेरो भारी बोकेर एउटा कंकाल हिंडिरहेको थियो ।

गोल्डस्टारको जुत्तासहित ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School